
२८ वैशाख, चितवन । भनिन्छ पानीको बिजनेसमा मनग्गे फाइदा छ, तर आपसी खिचातानी र अस्वस्थ प्रतिस्पर्धाका कारण चितवन र नवलपुरका पानी उद्योगहरु भने फस्टाउन सकेका छैनन् । पानीको बजार विगतको तुलनामा बढे पनि उनीहरूको अवस्था भने जस्ताको तस्तै छ ।
पछिल्लो दुई वर्षको अवधिमा मात्रै यस क्षेत्रमा एक दर्जनभन्दा बढी पानी उद्योग खुलेका छन् । सानो लगानीमा, थोरै क्षेत्रफलमा पानी उद्योग सञ्चालन गर्न सकिने भएपछि यसमा आकर्षण बढेको देखिन्छ । उद्योग बढ्दै जाँदा मूल्यमा प्रतिस्पर्धा तीव्र छ । एक कार्टुन पानीको मूल्य १५० निर्धारण गरिए पनि १२० देखि ११० मा नै बेच्ने गरिएको छ ।
चितवनमा मात्रै १९ वटा पानी उद्योग छन् । चितवनमा उत्पादन भएको पानी हेटौंडा, बीरगञ्ज, कलैया, लमजुङ, गोरखा, तनहुँसम्म जाने गरेको छ । नवलपुर क्षेत्रमा १० वटा पानी उद्योग सञ्चालित छन् । ११ उद्योगले बोतल र जार दुवैमा पानी बेच्छन् भने १० उद्योगले जारमा मात्रै पानी बिक्री गर्दै आएका छन् । चार उद्योगले चिसो पानी उत्पादन गर्छन् । तीमध्ये चार उद्योग बन्द छन् ।
पानी उद्योग खोल्न कम्तिमा १ करोड ५० लाख खर्च लाग्ने चितवन-नवलपुर पानी उद्योग संघका अध्यक्ष केशव पौडेल बताउँछन् । उद्योग खोल्न एक कठ्ठा जग्गा भए पुग्छ । उद्योगका उपकरणहरू भारत, चीन लगायतका देशबाट ल्याउनुपर्दछ । यहाँका पानी उद्योगमा ३६ करोडको लगानी छ । ४५० भन्दा बढीले यी उद्योगमा प्रत्यक्ष रोजगारी पाएका छन् ।
यहाँका उद्योगीहरूले चितवन-नवलपुर पानी उद्योग संघ स्थापना गरेका छन् । त्यसमा २३ वटा उद्योग संलग्न छन् । गएको असोजमा अधिकांश उद्योगले स्वचालित प्रणाली भित्राएर मापदण्ड पूरा गरेका छन् । विगतमा चितवनमा मापदण्ड नपुर्याएको भन्दै १० वटा उद्योग बन्द भए । ७ वटा केही समयपछि नै मापदण्ड पूरा गरी सञ्चालनमा आए । दुई उद्योगले अटोमेटिक प्लान्ट नराखी चिसो पानी मात्रै बेच्दै आएका छन् । एउटा उद्योगले अटोमेटिक प्लान्टविना नै पानीको उत्पादन गर्दै आएको छ ।
गत वर्षको असोज २६ गते सरकारले निर्देशिका जारी गरेर चैतभित्र सबै पानी उद्योगलाई स्वचालित मेसिन राख्न निर्देशन दिएको थियो । तर, उद्योगहरुले गत असोज महिनामा मात्रै मापदण्ड पूरा गरेका थिए ।
स्वचालित प्रणाली राखेपछि उद्योगमा लगानी पनि बढेको छ । निर्देशिकामा प्रत्येक ४ महिनामा कम्तिमा एकपटक पानीको गुणस्तर मापन गर्नुपर्ने, प्रयोगशाला निर्माण गर्नुपर्ने, सुरक्षण शिल गरेको हुनुपर्ने, अनुज्ञापत्र लिनुपर्नेलगायतका विषय उल्लेख छन् । स्वचालित प्रणाली अन्तर्गत स्टेज फिल्टर, बालुवा फिल्टर, कार्वन फिल्टर, रेक्जिन फिल्टर, माइक्रोन फिल्टर, रिभर अस्मोसिस् फिल्टर, ओजनाइजड् र अल्ट्राभ्वाइलेट रेबाट ब्याक्टेरीया मार्ने काम पर्दछ । साथै मेसिनले स्वचालित रूपमा खाली बोतल सफा गर्ने, पानी भर्ने, बिर्को लगाउने, लेभलिङ गर्ने र उत्पादन मिति र मूल्य हान्ने काम गर्दछ ।
‘सरकारी नीति नहुँदा समस्या’
लगानी बढे पनि नाफा हुने लोभमा उद्योगहरु थपिने क्रम नरोकिएको चितवन-नवलपुर पानी उद्योग संघका उपाध्यक्ष सोमप्रसाद काप्रीले बताए । ‘पानी उद्योगहरूको भित्री कथा नबुझी लगानी गर्दा धेरै जना फस्ने गरेका छन्,’ उपाध्यक्ष काप्रीले भने, ‘दलालहरुले मेसिन खरिदमा कमिसन खाने उद्देश्यले पानी उत्पादनमा फाइदा हुन्छ भनेर उद्योग खोल्न नयाँ युवालाई फसाउँछन् ।’ यस क्षेत्रमा आवश्यकताभन्दा बढी पानी उद्योग भएको काप्रीको भनाइ छ ।
‘अटोमेटिक प्लान्ट’ राखेपछि पानी उद्योगहरुले प्रतिघण्टा १ हजार ९ सय २० लिटर पानी उत्पादन गर्दै आएका छन् । अधिकांशले ८ घण्टा मात्रै उद्योग चलाउँदै आएका छन् । पानी उद्योग धेरै हुँदा उत्पादन अवधि बढाउन नसकिएको उद्योगीहरूको भनाइ छ । ‘उद्योगको क्षमता बढ्यो, बजार पनि बढ्यो तर पानी उद्योगको संख्या हृवात्तै हुँदा समस्या आयो,’ चितवन-नवलपुर पानी उद्योग संघका अध्यक्ष केशव पौडेलले भने, ‘अवस्था डामाडोल छ, गर्दै आएको पेशा के छाड्ने भनेर अडिएका मात्रै छौं, न हुरुक्क न जुरुक्क भइयो ।’
विगत २० वर्षदेखि पानीको मूल्य नबढेको उद्योगी सोमप्रसाद काप्रीले गुनासो गरे । ‘हरेक चिजको भाउ बढेको छ, लेबर महंगो भयो, कच्चा सामाग्रीको भाउ बढ्यो, समग्रमा लागत बढ्यो,’ उद्योगी काप्रीले भने, ‘कुन ठाउँका लागि कति उद्योग आवश्यक हो भन्ने सरकारी नीति नहुँदा समस्या भयो । देखासिकी गर्ने बानीले उद्योग थपिए, अस्वस्थ्थ प्रतिस्पर्धा बढी भयो ।’
शतप्रतिशत नाफा, बिचौलिया मालामाल
पानी उत्पादकका अनुसार एक लिटर पानी (बोतलको) उत्पादनका लागि बढीमा १० रूपैया खर्च लाग्छ । खाली बोतलको मात्रै पाँच रुपैयाँ बीस पैसा खर्च आउँछ । जिल्लामा बोतल मात्रै उत्पादन गर्ने तीन उद्योग छन् । उनीहरूले भारतबाट सामान ल्याएर बोतल बनाउँछन् ।
पानी उद्योगहरूले बीचका बिचौलियालाई फाइदा खाने गरी पानीको मूल्य १८ देखि २५ रुपैयाँ राखेर बजारमा ल्याउने गरेका छन् । यसरी हेर्दा पानी उत्पादनमा लाग्ने लागतभन्दा दोब्बरभन्दा बढी मूल्य विचौलियाहरूले उपभोक्तासँग उठाइरहेका छन् । पानी बेच्ने विचौलियाहरूले पानी राख्न प्रयोग हुने स्पेशले धेरै ठाउँ लिने र महंगो भाडा तिर्नुपर्ने हुनाले बढी मूल्य राख्न उद्योगहरूलाई दबाव दिँदै आएका छन् ।
कानुन अनुसार उत्पादनमा जम्मा २० प्रतिशत मात्रै नाफा खानुपर्नेमा बिचौलियाले शतप्रतिशतभन्दा बढी नाफा खाँदै आएका छन् । यसमा कसैले पनि आवाज उठाएको पाइँदैन । प्रशासनको पनि ध्यान गएको पाइँदैन ।
पानी उद्योगका सञ्चालक सोमप्रसाद काप्रीले आफैले उत्पादन गरेको एक बोतल पानीलाई एक होटलमा ३२० रुपैयाँमा किन्नुपरेको बताउँछन् । उनी भन्छन्, ‘हामी त चाहान्छौं उत्पादन लागतमा २० प्रतिशत मात्रै नाफा राखेर बजारमा लैजाऔं, तर बिचौलियाहरुले मान्दैनन्, प्रशासनबाट सहजीकरण छैन ।’
बिचौलियाले उपभोक्ता मात्रै होइन उद्योगीहरुलाई पनि उत्तिकै दुःख दिँदै आएका छन् । उपभोक्ताहरूले चर्को मूल्यमा नगद तिरेर पानी उपभोग गरेपनि बिचौलियाहरुले समयमा नै पैसा नदिने र बक्यौता राखेर दुःख दिने गरेको पानी उद्योगीहरूको गुनासो छ ।
एउटै होटल वा विचौलियासँग ४/५ वटासम्म पानी उद्योगको रकम लिन बाँकी हुने चितवन-नवलपुर पानी उद्योग संघका अध्यक्ष केशव पौडेलले बताए । विचौलियाहरूले उद्योगीहरूलाई जुधाउने, हेप्ने, लडाउने काम गरेको अध्यक्ष पौडेलले बताए ।
पानी उद्योगीलाई अर्को पनि समस्या छ । विभिन्न कार्यक्रममा संघसंस्थाहरुले निःशुल्क पानी माग्ने चलन नराम्रोसँग मौलाउँदै गएको छ । ‘हरेक दिन २/४ वटा संघसंस्थाका विभिन्न कार्यक्रमका लागि भनेर पानी माग्छन्, कसलाई हुन्छ भन्ने कसलाई हुन्न भन्ने,’ अध्यक्ष पौडेलले भने, ‘यो त महारोगको रूपमा विकास हुँदैछ ।’
मिनरल्सको नाममा ठगी
बजारमा उपभोक्ताले ‘मिलरल वाटर’ भनेर पानी किने पनि पानीमा खासै मिनरल्स हुँदैन । यहाँका उद्योगमा मिनरल्स नाप्ने कुनै प्रविधि छैन । पानीमा मानव शरिरका लागि आवश्यक कुन-कुन मिनरल्स कति परीमाणमा चाहिन्छ भन्ने जानकारी पनि छैन । अब भने यहाँका उद्योगहरुले फ्लेवरसहितको मिनरल्स पानी उत्पादन गर्ने योजना बनाएका छन् ।
सुमन मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज गैंडाकोटका सञ्चालक समेत रहेका सोमप्रसाद काप्रीले फलेवरसहितको पानी उद्योग सञ्चालन गर्ने सोच बनाएको बताए । नेपालमा पानीका उपभोक्ताहरुको ब्राण्ड छनौट गर्ने बानी छैन, ब्राण्ड विकाउन पनि फ्लेवरमा जानुपर्ने अवस्था आएको छ,’ काप्रीले भने, ‘अब फ्लेवरसहितको पानी निकाल्ने सोचमा छौं ।’
नेपालमा कुनै पनि उद्योगले अहिलेसम्म फ्लेवरसहितको पानी उत्पादन गरेका छैनन् । मानव शरिरका लागि आवश्यक पर्ने मिनरल्ससहित फ्लेवर राखेर पानी उत्पादन गर्ने योजना अघि बढेको काप्रीले बताए । त्यसका लागि आवश्यक प्रविधी भित्राउने उनको भनाई छ । विश्वका विभिन्न देशमा फ्लेवरसहितको पानी उत्पादन हुने गरेको काप्रीले जानकारी दिए ।
प्रतिक्रिया 4