Comments Add Comment

किन मान्छेलाई झोंक चल्छ ?

मान्छेलाई बेलाबखत झोंक चल्छ । झोंक चलेको बेला विवेक नियन्त्रणमा हुन्न । विवेक नियन्त्रणमा नभएको बेला जे पनि हुनसक्छ । त्यसैले हाम्रा पितापूर्खा भन्ने गर्छन्, ‘विवेक गुमाउनु हुन्न ।’

सबैलाई थाहा छ, विवेक गुमाउनुहुन्न । विवेकपूर्वक गरिने हरेक कार्य सार्थक र सही हुन्छ । तर, जब हामीले विवेक गुमाउँछौ, तब नतिजा खराब आउनसक्छ ।

सबै कुरा थाहा हुँदाहुँदै पनि हामी झनक्क रिसाउँछौ । रिसाएपछिको अवस्था हो, झोंक । रिसाएको अवस्थामा हाम्रो विवेक र संयमको ढोका बन्द हुन्छ । विवेक र संयमको ढोका बन्द भएपछि हामी अनियन्त्रित हुन पुग्छौ ।

त्यसैले झोंकको स्रोत रिस हो । रिसको स्रोत चाहि के हो त ? रिस त मान्छेलाई त्यसै उठ्दैन । रिस भयानक कुरा हो । मान्छेलाई रिसले जलाउँछ । नष्ट गर्छ । रिसले अरुलाई होइन, आफैलाई पोल्छ । त्यसैले त भन्ने गरिन्छ, ‘रिस हो सबको सत्रु, रिसले सब मासिने । रिसले उठ्छ झगडा, रिसले सब भाँसिने ।’

जब रिस उठ्छ

रिस उठेको अवस्थामा तपाईंको टाउको रनक्क रन्किन्छ । मुटुको चाल बढ्छ । हात-खुट्टा काँप्न थाल्छ । बोलीको मिठास हराउँछ । आँखाले धमिलो देख्न थाल्छ । यो क्षणिक रोग हो, शरीरको । तर असर दीर्घकालसम्म गर्छ ।

रिस उठेको बेला मुटुले सही ढंगले काम गर्दैन । त्यसैले त धेरै रिसाउने मान्छेमा उच्च रक्तचापको समस्या हुने गर्छ । मुटुको समस्या हुनेगर्छ । हृदयघातको जोखिम हुनेगर्छ ।

रिसाउनु पटक्कै फाइदाजनक छैन । रिसाउनु भनेको आफैलाई जलाउनु हो । आफैलाई रापिलो भुंग्रामा राख्नु हो । मान्छेलाई यो कुरा थाहा नभएको होइन । मान्छेलाई थाहा छ कि, रिसले आफैलाई पोल्छ । रिस मनको विकार हो । यसले शरीरमा कतिपय रोग पैदा गर्छ ।

रिसले निम्त्याउने विध्वंश थाहा हुँदाहुँदै पनि मान्छेलाई रिस उठ्छ । रिसको झोंकमा उनले उत्पात मच्याउन सक्छ । कुटपिट, तोडफोड, तथानाम गाली जे पनि गर्न सक्छ । अतः हामी यहि नतिजालाई लिएर चियोचर्चा गर्न थाल्छौ । फलानोले यसो गरेछ, उसो गरे । यस्तो भएछ, उस्तो भएछ ।

रिस कसरी पैदा हुन्छ ?

हामी रिसको झोंकबाट उत्पन्न नतिजा मात्र देख्छौ । तर, उक्त व्यक्तिमा रिस-आवेग कसरी पैदा भयो ? यसमा विचार गर्दैनौ । मन्थन गर्दैनौ । हामी त उनले गरेको गल्ती र दोष मात्र देख्छौ । जबकी कुनैपनि मान्छे जानेर रिसाउँदैन । बुझेर उनलाई झोंक चल्दैन । कोही व्यक्ति रिसाउँछ, झोंक चल्छ भने उनको पछाडि कस्तो परिस्थिती निर्माण भएर आएको छ, त्यो कुराले निर्भर गर्छ ।

हामी रिसाउने मान्छेलाई गाली गर्छौ । तर, उसको रिस उनी स्वयम्को कारणले पैदा भयो वा अरु नै कारणले ? बुझ्नुपर्ने हुन्छ ।

सामान्यत कुनै शान्त मान्छेको अघिल्तिर गएर तपाईंले नकारात्मक टिप्पणीबाट कुरा सुरु गर्नुहोस् । के उक्त व्यक्तिको शान्त कायम रहन्छ ?

कुनै इमान्दार मान्छेलाई अनावश्यक आरोपहरु लगाउनुहोस्, के उक्त व्यक्ति संयम कायम रहला ?

कुनै भलाद्मी मान्छेलाई उटपट्याङ कुरा गर्नुहोस्, के उक्त व्यक्ति भलाद्मी नै रहला ?

कुनै शिष्ट मान्छेलाई अभद्र व्यवहार गर्नुहोस्, के उक्त व्यक्तिको शिष्ठता कायम रहला ?

यसको अर्थ के भने, मान्छेलाई तब रिस उठ्छ, जब उनलाई रिस उठाउने काम गरिन्छ । मान्छेलाई झोंक चल्छ, जब उनलाई झोंक चल्ने काम गरिन्छ । सबै अवस्थामा यस्तो नहुन सक्छ । तर, धेरैजसो अवस्थामा मान्छेलाई उत्तेजित बनाउने, क्रोधित बनाउने काम अर्को पक्षले वा व्यक्तिले गरिरहेको हुन्छ ।

रिस : नतिजा होइन कारण खोजौ

रिस सबैभित्र हुन्छ । विश्वमा ७ अर्ब मानिस छन्, तिमध्ये कोही छैनन् जसको मनमा रिस भन्ने तत्व छैन । सबैसँग छ । मान्छेमा मात्र होइन, अवोध प्राणीमा पनि रिस छ । तर, रिस सधै उत्पन्न हुँदैन । मान्छेले रिसलाई सकेसम्म नियन्त्रण गरेर, दबाएर राख्ने प्रयास गर्छन् ।

रिस उठ्दा मान्छेलाई रमाइलो लाग्दैन । रिस उठ्दा मान्छेले आनन्द अनुभूत गर्दैन । त्यसैले रिसलाई मनबाट हटाउने प्रयास नै गर्छन् । यति हुँदा हुँदै पनि मान्छेले रिसाउनुपर्छ । किन रिसाउनुपर्छ ? किनभने उनको व्यवहारिक जीवनमा आउने कतिपय उल्झन र असमझदारीले यस्तो रिस उत्पन्न गरिदिन्छ ।

त्यसैले कोही व्यक्ति रिसाउँछ । रिसको झोंकमा कुनै काम बिगार्छ । हामी त्यसको नतिजा होइन, त्यसको कारण पहिल्याउनतर्फ लाग्नुपर्छ । रिस आवेग उत्पन्न हुनु आफैमा राम्रो होइन । तर, अरु कसैलाई पनि रिस आवेगमा ल्याउने काम गर्नु अझ नराम्रो हो ।

रिस कसरी शान्त गर्ने ?

रिस उठ्नका लागि हामी आफै पनि कारक हुनसक्छौ । हामीले गर्ने कतिपय व्यवहारले अन्ततः हामीभित्रै रिस उत्पन्न गराइदिन्छ । हामी जानेरै गल्ती गर्छौ, कुकर्म गर्छौ, अरुलाई चिढ्याउने काम गर्छौ, अरुलाई नष्ट गर्ने नियत राख्छौ भने त्यसको प्रतिक्रियाले हामीमा रिस उत्पन्न गराइदिन्छ ।

यसकारण रिस शान्त गर्नका लागि पहिलो सर्त हो, आफै ठिक ठाउँमा बस्नु । आफै संयमित र अनुशासित हुनु ।

अरुको कारणले हामीमा जुन रिस पैदा हुन्छ, त्यसलाई व्यवस्थापन गर्ने पनि केही विधी छन् । यसका लागि हामीसँग नभइ नहुने दुई तत्व हुन्, धैर्यता र संयम । यी दुबै तत्वलाई मनमा स्थान दिइरहनु सजिलो छैन । तर, यहि असजिलो काम गरेर जब हामी इन्द्रियलाई वसमा राख्छौ, तब हामी रिसलाई शान्त तुल्याउन सक्छौ । आवेगलाई साम्य बनाउन सक्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment