+
+

प्रमाणपत्रले मान्यता नपाएपछि विद्यार्थीद्वारा इन्जिनियरिङ क्याम्पस तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ५ गते २०:४३

५ असार, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

इन्जिनियरिङ काउन्सिलमा क्याम्पस दर्ता नभएका कारण उतीर्ण भएका विद्यार्थीहरुले भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीले मंगलबार क्याम्पसमा तोडफोड गरेका थिए । बिहीबार पुन आन्दोलन गर्दै विद्यार्थी क्याम्पसमा तोडफोड गरेका हुन् ।

इन्जिनियर उतीर्ण भए पनि काउन्सिलमा दर्ता नभए सम्म विद्यार्थीको प्रमाणपत्रले मान्यता पाउँदैन । दुई वर्षअघि पास भएका विद्यार्थीहरुले दर्ता नपाएका कारण मंगलबार र शुक्रबार क्याम्पसमा तोडफोड गरेका हुन् ।

लोकसेवा आयोगले ९ हजार १ सय ६१ कर्मचारीका लागि विज्ञापन आह्वान गरे पनि काउन्सिलबाट मान्यता नपाएका कारण प्रतिस्पर्धा गर्न नपाएको पुसेटका पहिलो व्याचका विद्यार्थी ललित साह बताउँछन् । साह सहित सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेका २२ विद्यार्थीले सरकारी जागिरमा फारम भर्न पाएका छैनन् ।

सात वर्षअघि स्थापना भएको पूविको आंगिक क्याम्पस पुसेटबाट दुई व्याचका विद्यार्थी पास भएर निस्कीएका छन् । भदौमा तेस्रो ब्याच निस्कने तयारीमा छन् । तर नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता नभएका कारण उत्तीर्ण भएका विद्यार्थीले सरकारी जागिरमा प्रतिस्पर्धा गर्न नपाएको साहले बताए । ‘म एउटा सरकारी प्रोजेक्टमा काम गर्थे तर अनुगमन आउदा जागिर छाड्नुपर्‍यो’ साह भन्छन् ‘क्याम्पसले लापरवाही गर्दा भविष्य अन्योलमा पर्‍यो ।’

स्वीकृति बिना कोटा दोब्बर

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस पुसेटले सात वर्षयता सिभिल इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलको अनुमति बिना सञ्चालन भएको क्याम्पसले विश्वद्यिालयबाट ४८ विद्यार्थी अध्यापन गराउने कोटा पाएको थियो ।

पटक पटक फिल्ड अनुगमनमा आएको काउन्सिलले मान्यता दिएको थिएन । तर काउन्सिलको मान्यता नदिए पनि कलेजकले दुई वर्षअघि विद्यार्थी कोटा बढाएर ९६ जना पुर्‍यायो । काउन्सिलले मान्यता नदिए पनि कलेजले विस्तारै मान्यता लिने बताउँदै कोटा थपेर अध्यापन गराइरहेको छ । ‘काउन्सिलमा दर्ताको विषय ६ वर्षदेखि उठाउँदै आएका छौं’ पूर्व विद्यार्थी साह भन्छन् ‘तर क्याम्पसले मान्यता नपाउँदा विद्यार्थीको भविष्य अन्योलमा छ ।’

इन्जिनियरिङ काउन्सिलले पास भएका विद्यार्थीलाई काउन्सिल नम्बर नदिएका कारण विद्यार्थीहरु आन्दोलनरत रहेको अनेरास्ववियु मोरङका अध्यक्ष गोकर्ण घिमिरेले बताए ।

विद्यार्थीहरुले काउन्सिलमा दर्ता हुन पाउनु पर्ने माग गर्दै एक वर्षदेखि आन्दोलनमा उत्रिएको उनले बताए । तीन महिना अघि विद्यार्थीहरुले रिले अनसन गरेका थिए । अनसनपछि तत्काल समस्या सामधान गर्ने पहल गरेको विश्वविद्यालयका पदाधिकारीले पनि चासो नदिएको उनको भनाई छ ।

प्रमुख भन्छन– फाइल क्याबिनेटमा छ

पुसेट क्याम्पस विराटनगरका प्रमुख मनोजकुमार हलुवाई इन्जिनियिरिङ काउन्सिलमा दर्ताकालागि तयार भएको फाइल मन्त्रिपरिषदमा पुगेको बताउँछन् ।

काउन्सिलबाट भौतिक पूर्वाधार तथा योजना मन्त्रालय हुँदै क्याबिनेट पुगेकाले चाडो निर्णय हुने उनको भनाइ छ । तर विद्यार्थीहरुले भने एक वर्षयता क्याम्पस प्रशासन र विश्वविद्यालयका पदाधिकारीले फाइल क्याबिनेटमा छ भन्दै झुक्याउने गरेको बताउँछन् ।

प्रदेश संसदमा कुरा उठ्यो

पुसेट कलेज इन्जिनियरिङ काउन्सिलमा दर्ता नहुँदा इन्जिनियरिङ उत्तीर्ण गरेका विद्यार्थीको भविष्य अन्योलमा परेको विषेश प्रदेशसभामा उठेको छ ।

बुधवार प्रदेश १ को प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद केदार कार्कीले विद्यार्थीको भविष्य अन्योलमा परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?