Comments Add Comment

नेकपाका जिल्ला सचिव भन्छन्– नर्सरीका बिरुवा बिक्री गर्न गाह्रो भयो

Photo Credit : अनिल खत्री

२२ असार, गुल्मी । नेकपा गुल्मीका जिल्ला सचिव वीरबहादुर कार्की राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को पुतलीबजारमा विभिन्न बिरुवाहरुको नर्सरी स्थापना गरेका छन् । तर, बिरुवा बिक्री गर्न गाह्रो भएको उनको गुनासो छ ।

सरकारले राष्ट्रिय दिवस नै घोषणा गरेर देशभर वृक्षारोपण अभियान चलाइरहेको बारेमा जानकार कार्कीले भने, ‘अघिल्लो वर्ष उत्पादन भएका बिरुवाहरु जिल्ला र जिल्ला बाहिर खपत भए पनि यस वर्ष भने बिक्री गर्न समस्या छ ।’

कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफीलगायत एक दर्जनभन्दा बढी फलफूल तथा घाँसका बिरुवाहरु नर्सरीमा छन् । उनको नर्सरीमा बिक्री गर्न मिल्ने खालका ४० हजार बिरुवा तयार भएका छन् ।

तर, बिभिन्न स्थानीय तहले जिल्लाभन्दा बाहिरबाट बिरुवा ल्याएकाले बिक्री गर्न समस्या रहेको उनको भनाइ छ । ‘नर्सरीलाई धेरै संख्यामा उत्पादन गर्ने सोच रहेपनि बजारको समस्याका कारण अन्योलमा छु,’ उनले भने ।

२०७४ सालमा घाँसका बिरुवा उत्पादन गरेर कृषि पेसामा हात हालेका कार्कीले पाँच रोपनीभन्दा बढी जग्गामा नर्सरी स्थापना गरेका छन् । समाजका अगुवा ब्यक्तिहरुबाट अरुले पनि केही सिकुन् भन्ने उद्देश्यले र यसैबाट परिवार खर्च पनि चलाउन सकिने भन्दै कृषि पेसा अंगालेको कार्की बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment