Comments Add Comment

परराष्ट्रमन्त्रीले भने : ठूलाले जे गरे पनि हुने अवस्थाले नेपाल जस्ता साना देश अप्ठेरोमा

२४ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्ला वर्षहरुमा परिवर्तित विश्व परिस्थितिले नेपालजस्ता साना मुलुकलाई अप्ठेरोमा पारेको अनुभव सुनाएका छन् ।

मन्त्री ज्ञवालीले ठूला देशले जे गरे पनि हुने अवस्था देखिएको भन्दै साना मुलुकले राष्ट्रिय हितमा अझ बढी सजग हुनुपर्ने बताए ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको प्रकाशन र पत्रकार तथा लेखक बिष्णु रिजालको सम्पादनमा प्रकाशित नेपालको कुटनीतिक अभ्यास नामक पुस्तकको मंगलबार सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले साना मुलुकको दुःख सुनाए । उनले यस्तो प्रतिकुल अवस्थामा नेपाल जस्ता मुलुकले कुटनीतिक कौशल देखाउनुपर्ने बताए ।

मन्त्री ज्ञवालीले भने- ठूला मुलुकहरुसँग अरु पनि सामथ्र्य छन् । तर, हामीले देखाउने भनेको कुटनीतिक कौशल नै हो । किनकि हामीसँग उनीहरुको जस्तो अन्य सामथ्र्य छैन । ठूला देशले पनि बुझ्नुपर्छ, एउटा मात्र देशले चाहेर केही हुनेवाला छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको दुई पटकको वार्ता सन्दर्भ जोड्दै मन्त्री ज्ञवालीले ठूला देशले आफ अनुकुल परिस्थिति र अन्तर्राष्ट्रिय नियम बनाउन खोज्ने गरेको बताए । नेपाल बहुपक्षीय अन्तर्राष्ट्रिय सन्धी सम्झौता र मान्यताहरुको पक्षमा रहेको उनको भनाइ थियो ।

ज्ञवालीले भने- अमेरिका र उत्तर कोरियाका नेताहरुले यसबीचमा भेटवार्ता गरेको देख्नुभयो । तर, अन्य मुलुकले उत्तर कोरियासँग सम्बन्ध बढाउँदा वा भेट्दा पनि सोच्नुपर्ने अवस्था छ । ठूला देशले आफ अनुकुलका मान्यता बनाउँछन् । तर, हामीजस्ता सानालाई अप्ठेरो छ ।

मन्त्री ज्ञवालीले मुलुकको परराष्ट्र नीतिमा परिमार्जन गर्दै राजदूत नियुक्तिको मापदण्डलाई समेत राष्ट्रिय हित अनुकुल बनाइएको बताए ।

विभिन्न २० पूर्व बरिष्ठ कुटनीतिज्ञरुका अनुभव समेटेर तयार पारिएको पुस्तक तत्कालीन कुटनीतिको अभिलेख रहेको उनले बताए ।

यो पनि पढ्नुहोस नेपालको कूटनीतिक अभ्यास : ऐतिहासिक कालखण्डका रोचक किस्सा

पुस्तकमाथि परराष्ट्रविद डा.भेषवहादुर थापा, डा.मदनकुमार भट्टराई र बरिष्ठ पत्रकार युवराज घिमिरले टिप्पणी गरेका थिए । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले ८ महिनाको बीचमा प्रकाशित पुस्तक नेपालको परराष्ट्र नीति बुझ्न र बुझाउन महत्वपूर्ण दस्तावेज हुने बताए ।

पुस्तकका सम्पादक बिष्णु रिजालले सकेसम्म व्यक्तिका अनुभव, ज्ञान र घटनाक्रमलाई तथ्य र प्रमाणहरु भिडाएर पुस्तकलाई अन्तिम रुप दिइएको बताए । पुस्तकमा २० जना पूर्वराजदूतका अनुभवहरु उनीहरुको शब्दमा राखिएको र उनीहरु ८० देखि ९९ वर्ष उमेर समूहका रहेको रिजालले बताए ।

पुस्तक निकाल्ने क्रममा बिभिन्न २५ जना बरिष्ठ कुटनीतिज्ञसँग कुराकानी गरिए पनि तथ्यगत अस्पष्टता लगायत बिभिन्न कारणले ५ जनाको समावेश गर्न नसकिएको उनले बताए । ८० हाराहारीदेखि ९९ वर्ष उमेर समूहका व्यक्तिको अनुभव समेट्दा धेरै प्रसंग पञ्चायतकालीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment