
३० साउन, खोटाङ । बाह्रै महिना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ ।
एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर (बस्ने ठाउँ) छैन ।
बढेर ठूलोसमेत नहुने माछा कहिले उत्पादन भएको हो पत्तो छैन । रुखको फेदमा अनौठो किसिमले जमीनमुनिबाट निस्कने शुद्ध पानीको मुहानसँगै सानो प्राकृतिक पोखरी जोडिएको छ । प्राकृतिक पोखरीका बीचमा किराँत समुदायको पहिलो राजा यलम्बरको पूर्णकदको शालिक राखिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको दृश्य हो यो । यीनै दृश्य हेर्न र दर्शन गर्न अहिले भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । विशेषगरी किराँत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि पछिल्लो समय स्तरोन्नतिको काम पनि धमाधम भइरहेको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने नेर्पामा अवस्थित भुलभुले दूधकुण्डको प्रवर्द्धन गर्न नगरपालिकाको ४१ लाख रुपैयाँ लगानीमा पुरानो संरचनालाई संरक्षण गर्दै स्तरोन्नति गरिएको स्थानीयवासी एवं निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए ।
सचिव राईका अनुसार प्रवेशद्वार, रेलिङसहितको सिँढी, सात धारा, गणेशको मूर्तिसहितको राउण्ड पोखरी, कम्पाउण्ड, छानासहितको बस्ने फलामे बेञ्च, बगैँचा, रातको समयमा आउने पर्यटकका लागि बत्ती, फोहर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने र्याक, तस्बीरसहितको सूचना पाटीलगायतका संरचना निर्माण गरिएको छ ।
बाह्रै महिना उत्रै पानी हुने उम्रने भुलभुले दूधकुण्डमा जलशिकारी र सातकन्या देवीको पूजाअर्चना गरिन्छ । जमिनमुनिबाट भुलभुल गरेर उम्रने भुलभुले दूधकुण्डको पानीले नुहाएमा तथा स्नान गरेका रोगव्याधी नष्ट हुने जनविश्वास रहिआएको छ ।
पछिल्लो समय सबैको गन्तव्यस्थल बन्दै गएको भुलभुले दूधकुण्डमा आउने भक्तजनले पूजापाठसँगै परेवा जोडी उडाउने गरेका छन् । दिक्तेल बजारबाट यातायातका सवारी साधन प्रयोग गरेर जाँदा करीब आधाघण्टामा पुगिने भुलभुले दूधकुण्डमा प्रेमी/प्रेमिकाले आपसमा गरेको प्रेमले पूर्णता पाओस् भन्ने कामनासमेत गर्ने गर्छन् ।
भुलभुले दूधकुण्डमा खोटाङका सबै स्थानीय तहसँगै छिमेकी जिल्ला भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, सिन्धुली तथा भारतका समेत दर्शनार्थी आउने गरेका छन् । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग फराकिलो हुनुका साथै बाह्रै महीना यातायातका साधन सञ्चालन भएपछि दर्शनार्थी तथा पर्यटकको संख्या वृद्धि हुँदै गएको वडा अध्यक्ष माधव राईले बताए ।
भुलभुले दूधकुण्डबाट करिब एक किलोमिटर उकालो पैदल चढेपछि एकनासले झररर ! गरिरहेको आवाज सहित मनोरम दृश्य देखिन्छ ‘रुवालुङ’ झरनाको । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक १५० बढी आन्तरिक तथा वाह्य पर्यटक अवलोकन र सेल्फी खिच्ने आउने गरेको स्थानीयवासीले बताएका छन् ।
ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वन झाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको छ । गुफामा गएर वन झाँक्रीको पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब दश किलोमिटर उत्तरमा पर्ने भुलभुले दूधकुण्डमा सवारी साधन पार्किङ गरेर झरनासम्म पुग्न पैदल यात्रा गर्नुपर्छ ।
प्रतिक्रिया 4