Comments Add Comment

तीज बहस : संस्कृति मास्ने कि विकृति ?

२९ साउन, काठमाडौं । तीज आउन लाग्यो । नेपाली महिलाहरुका लागि निकै महत्वको यो पर्वलाई लिएर यसपाली फरक बहस भइरहेको छ । केही जिल्लामा तीज आउनुभन्दा अगाडिदेखि पार्टी प्यालेसमा नाचगान नगर्न चेतावनीयुक्त सूचना जारी भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले साउन १० गते एक सार्वजनिक सूचना जारी गर्दै हप्तौं अघिदेखि तीजलाई भड्किलो रुपमा नमनाउन आग्रह गर्‍यो । भड्किला तीजका गतिविधिलाई प्रशासनले सुक्ष्म निगरानी गरिरहेको भन्दै कास्की प्रशासनले कारबाहीको गर्ने चेतावनी पनि दिएको छ ।

यस्तै, कास्की प्रशासनलाई पछ्याउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले साउन २१ गते सार्वजनिक प्रेस नोट जारी गर्‍यो । उक्त प्रेसनोटमा तीज आउनु अगाडि नै संघ संस्था, क्लब, समूहका नाममा भेला भएर दर खाने, फजुल खर्च गर्ने, तडकभडक प्रस्तुत गर्ने तथा गरगहना प्रर्दशन र सांगितिक कार्यक्रमका नाममा ध्वनी प्रदुषण नर्गन जिल्लाबासीलाई अपिल गरिएको छ ।

दुई दिन अगाडि काठमाडौं जिल्ला प्रशासनले पनि सोही आशयको सार्वजनिक सूचना जारी गर्दै तीजलाई भडि्कलो नबनाउन आग्रह गरेको छ । बुझिएअनुसार अरु थुप्रै जिल्लाले यस्तो सूचना जारी गर्ने तयारी गरिरहेका छन् ।

यसरी फुटकररुपमा जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरे तापनि केन्दि्रय सरकारले भने यसमा केही बोलेको छैन । यस सम्वन्धमा गृह मन्त्रालयले जिप्रकाहरुलाई कुनै परिपत्र पनि जारी नगरेको अवस्था छ । मन्त्रालयका अनुसार शान्ति-सुरक्षा र अमनचयनका लागि हरेक जिप्रकाले आफूखुशी यस्तो सूचना जारी गर्न पाउँछन् ।

कास्की जिप्रकाका अनुसार यसपाली भदौ १७ मा पर्ने तीजका लागि साउन पहिलो सातादेखि नै पार्टी प्यालेस, होटल र रेष्टुरेन्टमा कार्यक्रम गर्ने क्रम सुरु भएको छ । विभिन्न संस्था, क्लब, महिला समूहदेखि पुरुषहरुका समूहले समेत चेली सम्मान तथा भेटघाट जस्ता नाममा तीजका कार्यक्रम राखेका छन् ।

यस्ता कार्यक्रमहरुमा महँगो प्रवेश शुल्क लिने गरिएको उजुरी कास्की प्रशासनमा परेको थियो । तनहुँ र काठमाडौंका विभिन्न स्थानमा पनि यस्ता उजुरी परेका छन् । आर्थिक हैसियत कमजोर भएका महिलाहरुलाई एक महिनादेखि लगातार दर खाने कार्यक्रममा जानु पर्ने र टिकटसमेत काट्नुपर्ने स्थितिले चरम दवाव परेको उजुरी आएको तनहुँ प्रशासनले जनाएको छ ।

जिप्रका प्रमुखहरु भन्छन्ः वाध्यताले कडाइ

समाजले थेग्नै नसक्ने गरी बिकृति मौलाएपछि परम्परा र संस्कृति बचाउन कडारुपमा प्रस्तुत हुन परेको कास्कीका प्रमुुख जिल्ला अधिकारी चक्रबहादुर बुढा बताउँछन् ।

‘प्रशासन धर्म-संस्कृतिबिरुद्ध लाग्यो भनेर प्रचार गरेको मैले सुनेँ,’ प्रजिअ बुढाले भने, ‘त्यो सहि होईन, बिकृतिका बिरुद्ध लडेर धर्म-संस्कृति जोगाउन यस्तो प्रयास गरिएको हो ।’

तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित अघिल्ला वर्षको अनुभवका आधारमा यस वर्ष तीज भडि्कलो नबनाउन सूचना जारी गर्नुपरेको बताउँछन् । धर्म-संस्कृतिको नाममा बिकृति मौलाउन थालेको र यसले समाजलाई नराम्ररी गाँजेपछि कडाई गर्न बाध्य भएको उनको भनाइ छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता एवं सहायक प्रजिअ कृष्णबहादुर कटुवाल भने तीजका समयमा अपराधका घटना नहोस भनेर सजगता अपनाइएको बताउँछन् । प्रहरी, स्थानीय तह तथा बिभिन्न सामाजिक संघ संस्थाहरुसंगको सहकार्यमा तीजलाई चोरी, डकैती तथा झैझगडा नहुने गरी मनाउन अपिल गरिएको उनले जानकारी दिए ।

विकृति मास्नुपर्छः डा. लुईंटेल

तीजका कार्यक्रममा जाँदा सामान्य पहिरन लगाएर हुँदैन । महंगा साडी ढल्काउँदै गरगहनाले झपक्क भएर हिँड्न महिलाहरुबीच प्रतिस्पर्धा हुने गर्छ । पछिल्लो समय त मदिरापानको समेत सिलसिला बडढेको छ ।

यस्ता कार्यले समाजमा एकाथरी मानिसमा नैरश्यता तथा अर्कोथरीमा बड्प्पन सिर्जना गर्ने समाजशास्त्री डा. युवराज लुईंटेल बताउँछन् । यस हिसाबले विभिन्न जिल्लाका सिडियोमार्फत जारी भएका सूचनालाई उनी सकारात्मक ठान्छन् ।

उनले अनलाइनखबरसँग भने, ‘तीज मात्रै नभई अरु सबै चाड-पर्वलाई राज्यले नियमन नगर्ने हो भने समाजले ठूलो संकट ब्याहोर्नु पर्नेछ । समाज र संस्कृतिलाई बजारले पूर्ण रुपमा थिचिसकेको र बजारको सीमा असिमित हुने भएकाले त्यसलाई मानिसको आम्दानीले थेग्न नसक्दा दुर्घटना निम्तिने अवस्था आउँछ ।’

तीजका नाममा शरीर, कपडा र सम्पत्तिको प्रर्दशन गर्ने होड चलेको र यसले गर्दा परिवारमा आर्थिक चाप थपिएको समाजशास्त्री लुईंटेलको बुझाई छ ।

उनी भन्छन्, ‘उपार्जन र आम्दानी नबढ्ने तर बजारको मागले आवश्यकता र बाध्यता बढ्दै जाँदा हखतरा हुने भएकाले सोच्न ढिला गर्न हुँदैन ।’ जिल्लाबाट भन्दा पनि सरकारले केन्द्रीय तहबाटै एकीकृत कार्यक्रम बनाएर सबै चाडपर्व र फजुल खर्चको कार्यक्रम निरुत्साहित गर्न थाल्नु पर्ने लुईंटेल बताउँछन् ।

प्रशासनको अनुचित कदमः डा. पौडेल

संस्कृतिविद प्रा. डा. विना पौडेलको विचारमा भड्किलो तीज भनेर महिलाहरुले गर्ने कार्यक्रमको विरोध गर्नु पितृसत्तात्मक सोच हो ।

उनले भनिन्, ‘संस्कृति परिवर्तनशील छ, तर परिवर्तन कतातिर उन्मुख छ भन्ने महत्वपूर्ण हुन्छ । तीजका नाममा भए पनि महिलारु घरबाट निस्किएका छन्, यो हाम्रो लागि अवसर हो । पर्व मनाउँदा मितव्ययीता र अनुशासन चाहिन्छ तर यसैलाई लिएर बर्बादै भयो भन्ने सोच्नु हूँदैन ।’

डा. पौडेल प्रश्न गर्छिन्, ‘बिहान ५ बजेदेखि राति १ बजेसम्म युवायुवतीहरु भट्टी र डिस्कोमा उफ्रिँदा विकृति नदेख्ने प्रशासनले तीज कार्यक्रममा कसरी विकृति देख्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment