Comments Add Comment

हरितालिका तीजको पौराणिक कारण

हरितालिका तीज कसरी मनाउन थालियो भन्ने एउटा रोचक कथा आजको पावन अवसरमा रुचिपूर्ण हुन सक्छ । वास्तवमा यो कथा शिवजीले पार्वतीलाई सुनाएका थिए । शिव भगवानले पार्वतीलाई यो कथामा आफ्नो पूर्वजन्मको बारेमा सम्झाएका थिए । कथा यसप्रकार छ ः

पार्वतीले पहिलो जन्ममा महादेव श्रीमान् पाउनका लागि सानो उमेरमा अति नै कठोर र घोर तपस्या गरेकी थिइन् । पार्वतीले केही नखाइ हावा र सुकेको पात खाएर यो व्रत बसेकी थिइन् । प्रचण्ड गर्मी र काम्ने जाडोले पनि पार्वतीको व्रतलाई भंग गर्न सकेन । आकासबाट बर्सिएको पानी पार्वतीको मुखमा पर्दासमेत त्यसलाई उनले पिइनन् ।

छोरी पार्वतीको यस्तो हालत देखेर उनको पिता हिमालय दुःखी भए । हिमालय दुःखी भएको देखेर नारद उनी भएको ठाउँमा आए र भने ‘भगवान म विष्णुले भनेर यहाँ आएको हुँ । विष्णु तपाईंको कन्यासँग विवाह गर्न चाहन्छन् । तपाईंको राय बुझ्न म यहाँआएको हुँ ।’

नारदजीको कुरा सुनेपछि हिमालयले भगवान विष्णु त्यस्तो चाहन्छन् भने आफूलाई केही आपत्ति नभएको बताउँछन् । तर जब पार्वतीलाई यो कुरा थाहा भयो उनी अत्यन्त दुःखी भइन् । पार्वतीलाई उनका साथीले उनको दुःखका कारण सोध्दा उनले आफूले सच्चा मनले भगवान शिवलाई चाहेको, तर आफ्नो पिताले आफ्नो विवाह विष्णुजीसँग गर्ने निश्चित गरेको कुरा सुनाइन् । पार्वतीले आफू विचित्रको धर्मसंकटमा परेको र आफूसित प्राण त्याग्ने बाहेक अन्य कुनै उपाय नरहेको बताउँछिन् ।

शिवले कथा सुनाउँदै भन्छन्- प्राण त्याग्नु पर्ने कारण नै के छ ? संकटको समय धैर्यले काम लिनु पर्छ । हिन्दु नारीको जीवनको सार्थकता केमा छ भने जसलाई मनदेखि श्रीमानको रुपमा एक पटक वरण गरियो, जीवनपर्यन्त उसैसँग निर्वाह गर्नु पर्छ । म तिमीलाई घनघोर वनमा लिएर जान्छु, जुन साधनास्थल पनि हो र जहाँ तिम्रा बुवाले तिमीलाई खोज्न पनि सक्दैनन् । मलाई पूर्णविश्वास छ, ईश्वरले अवश्य तिम्रो सहायता गर्नेछन् ।

तिमीले त्यसै गर्यौ । तिम्रो बुवाले तिमीलाई घरमा नभेटेपछि निकै चिन्तित दुःखी भए । उता तिम्रो खोजी भैरह्यो, यता तिमी आफ्नो साथीहरुसँग नदीको किनारमा एउटा गुफामा मेरो आराधनामा लीन भैरह्यौ । तिमीले बालुवाको शिवलिङ्ग बनायौ । तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन नै हल्लियो र तुरुन्त तिमी भएको ठाउँमा आएँ । तिमीलाई वर माग्न भनें ।
आफ्नो तपस्याका कारण मलाई आफ्नो अघिल्तिर पाएपछि तिमीले भन्यौ, ‘मैले तपाईंलाई सच्चा मनले श्रीमानको रुपमा वरण गरिसकेकी छु । यदि तपाईं साँच्चिकै मेरो तपस्याबाट प्रसन्न भएर यहाँ आउनु भएको हो भने मलाई आफ्नो अर्धाङ्गिनीको रुपमा स्विकार गर्नुहोस् । त्यसपछि ‘तथास्तु’ भनेर म कैलाश पर्वत फर्किएँ ।

त्यहीबेला गिरिराज आफ्ना बन्धु-बान्धवसँग तिमीलाई खोज्दै त्यहीँ पुगे । तिमीले सम्पूर्ण वृतान्त बतायौ र भन्यौ- म घर त्यतिबेला मात्र आउँछु, यदि तपाईंले महादेवसँग मेरो विवाह गरिदिनुहुन्छ भने । तिम्रो बुवाले तिम्रो कुरा मान्नु भयो र उहाँले हाम्रो विवाह गरिदिनु भयो ।

उक्त व्रतको महत्व के छ भने म यो व्रतलाई पूर्ण निष्ठापूर्वक बस्ने प्रत्येक स्त्रीलाई मनवान्छित फल दिन्छु । यसरी पूरै प्रकरणमा तिम्री साथीले तिमीलाई हरण गरेकी थिइन् । त्यसैले यो व्रतको नाम नै हरितालिका व्रत हुन गयो ।

कसरी गरिन्छ हरितालिका तीजको व्रत ?

हरितालिका अर्थात् तीज व्रतसँग सम्बन्धित एउटा मान्यता के छ भने यो व्रत बस्ने महिलाहरु पार्वती मातासमान नै सुखपूर्वक पतिरमण गर्दै शिवलोकमा रहन सफल हुन्छिन् ।

सौभाग्यवती महिलाहरु आफ्ना श्रीमानलाई अखण्ड बनाउनका लागि तथा अविवाहित युवतीहरु मनले चाहेको जस्तो श्रीमान् पाउनका लागि हरितालिका तीजको व्रत बस्ने गर्दछन् । यो दिन व्रत बस्ने महिलाहरु सूर्योदयभन्दा पहिला नै उठेर चोखो भएपछि पूर्ण श्रृंगार गर्छन् ।

पूजाका लागि केराको पातले मण्डप बनाएर गौरी-शंकरको प्रतिमा स्थापना गरिन्छ । यसका साथै पार्वती मातालाई सौभाग्यका सम्पूर्ण सामाग्रीहरु चढाइन्छ । राति भजन गाउँदै जागरण गरेर तीन पटक आरती गरिन्छ र शिव-पार्वतीको विवाहको कथा सुनिन्छ ।

यो व्रत बस्ने महिलाहरुलाई राति सुत्न निषेध गरिएको हुन्छ, त्यसका लागि उनीहरु रातभरी भजन गाउँदै जाग्राम बस्नु पर्छ । भोलिपल्ट बिहानै नुहाएर श्रद्धा एवं भक्तिपूर्वक कुनै विवाहित महिलालाई श्रृंखला सामग्री, वस्त्र, खाद्य सामग्री, फल, मिष्ठान्न एवं यथासक्य गरगहनाहरु दान गर्नु पर्छ । बालुवाको शिवलिङ्ग बनाइएको छ भने त्यसलाई जलाशयमा विसर्जन गर्नु पर्छ र काँक्रो खाएर ब्रतलाई सम्पन्न गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment