Comments Add Comment

के श्राद्ध गर्दा दिवंगत पितृहरु स्वर्ग पुग्छन् ?

श्राद्धहरु मध्येको सबैभन्दा महत्वपूर्ण पार्वण श्राद्ध वा महालय श्राद्ध अहिले चलिरहेको छ । वेदले महत्वपूर्ण समय मानेको शरद ऋतुमा भाद्र शुक्ल पक्षको पूर्णिमापछि आश्विनको आमावश्यासम्म १६ दिनसम्म चल्ने भएकोले यसलाई हामी सोह्र श्राद्धको रुपमा समेत चिन्ने गर्दछौं । वेदले उल्लेख गरेको पितृ-यज्ञको पौराणिक नाम हो श्राद्ध कर्म ।

श्राद्ध कर्म पौराणिक युगपछि वैदिक कालमाभन्दा केही परिस्कृत विधिद्वारा गर्ने गरिएको छ । पहिले आफ्ना जीवित पितृहरुको सम्मान र सेवासँग जोडिएको यो कर्म पौराणिककालपछि दिवंगत व्यक्तिलाई ध्यानमा राखेर गर्न थालियो । यद्यपि अहिले हामीले महत्वदिने सोह्र श्राद्धको यो समयलाई भने वैदिककालदेखि विशेष महत्वदिएको पाईन्छ ।

विशेषगरी शास्त्रहरुमा श्राद्ध गर्न सक्ने समयलाई नित्य, नैमित्य र काम्य गरी ३ प्रकारमा विभाजन गर्ने गरिएको छ । नित्य तिथि भन्नाले यो श्राद्ध मृतकको निधन भएकै तिथिमा गर्ने गरिन्छ । नैमित्तिक तिथि अन्तर्गत् कुनैपनि विशेष पारिवारिक उत्सव, जस्तो सन्तान जन्मको समय आदिमा आफ्ना पितृहरुको याद गर्ने गरिन्छ । त्यस्तै, काम्य तिथि अन्तर्गत् कुनैपनि विशेष कारणले कृत्तिका या रोहिणी नक्षत्रमा यस्तो श्राद्ध गर्ने गरिन्छ । अहिले पनि श्राद्ध वैदिक विधिद्वारा नै गरिने भएपनि वैदिक र पौराणिक श्राद्ध विधिमा केही भिन्नता पाईन्छ ।

कर्मसँग जोडिएको गति र अगतिको भेद के हो ?

हिन्दू धर्मको मान्यता अनुसार कुनैपनि मानिसले मोक्ष पाएको छैन भने उसको पुनर्जन्म हुने गर्दछ । जब कुनैपनि आत्मा एउटा शरीरबाट निस्कन्छ त्यो आत्मा अर्को शरीरमा धारण हुन पुग्दछ । यदि सो आत्माले समयमा दोस्रो शरीर प्राप्त गर्न सकेन भने आफ्नो कर्म अनुसार ऊ देवलोक, पितृलोकमा जाने या प्रेत योनी बन्ने गर्दछ ।

कुनैपनि मानिस मरेपछि आत्माको तीन तरहको गति हुने गर्दछ ।

१ उर्ध्व गति

२ स्थिर गति

३ अधोगति

यसलाई अगति वा गतिको रुपमा समेत विभाजित गर्ने गरिएको छ । अगति परेको व्यक्तिले मोक्ष पाउँदैन भन्ने विश्वास छ। जसका कारण उसले फेरि पनि जन्मलिनु पर्दछ । गति परेको व्यक्तिले भने ब्रह्मलोक, देवलोक, पितृलोक तथा नर्कलोक मध्ये एक लोक प्राप्त गर्ने गर्दछ ।

अर्कोतर्फ अगतिको पनि चार प्रकार हुने गर्दछ ।

१ क्षिणोदर्क,

२ भूमोदर्क,

३ अगति

४ दुर्गति

क्षिणोदर्क अगति भित्र पनि जीव पुनस् पुण्यात्माको रुपमा मृत्यु लोक‌वा मर्त्यलोकमा आउँछ र सन्तको जीवन जीउँछ । भूमोदर्कमा मानिसले सुखी र ऐश्वर्यशाली जीवन पाउँछ। अगतिमा मानिसले नीच या पशु जीवन बिताउन बाध्य हुन्छ भने दुर्गतिमा परेको मानिसले किराहरुको जीवन बिताउनुपर्ने हुन्छ ।

वैदिक कालको पितृ-यज्ञ र अहिलेको श्राद्ध

वैदिक साहित्य अनुसार पितृ-यज्ञको पौराणिक नाम नै श्राद्ध कर्म हो । वेदले पितृहरुको सम्झना र सेवाको लागि नित्य रुपमा गर्नुपर्ने यज्ञको बारेमा उल्लेख गरेको छ । जसलाई हामी पञ्चमहायज्ञ मध्येको एक यज्ञको रुपमा जान्ने गर्दछौं । वेदहरुमा पितृ-यज्ञको सम्पूर्ण कर्मकाण्डको सांकेतिक प्रमाण पाइएको छ । तर, यसमा स्पष्टसँग श्राद्धको बारेमा लेखिको छैन ।

पितृ-यज्ञको क्रममा कुनैपनि हवन आदि कार्य बर्जित गरिएको छ । यद्यपि परिवारमा माता, पिता तथा वृद्धहरुको श्रद्धापूर्वक सेवा गर्नु नै पितृ-यज्ञ हो । सतपथ ब्राह्मणले उनीहरुलाई समयमा भोजन, आवश्यकताका वस्तुहरु, रोगी अभिभावकहरुको लागि औषधिहरु दिएर उनीहरुको सेवा-सुश्रुषा गर्नु नै पितृ-यज्ञको रुपमा उल्लेख गरेको छ । वैदिक कालमा परिवारका सबै वृद्ध मानिसहरु पितृ-यज्ञको परिभाषामा सम्मिलित थिए ।

तर, अहिले श्राद्धको शैली फेरिएको छ । अहिले श्राद्धमा पिण्ड दान वा ब्राह्मण भोजन मध्ये एकलाई अनिवार्य गराईएको छ । जीवित अवस्थामा भन्दा पनि मृत्यु भएका पितृहरुलाई अधोगतिबाट मुक्त गराउनको लागि गरिने धार्मिक कृत्यको रुपमा नै अहिले श्राद्धको परिभाषा गर्ने गरिएको छ । विभिन्न प्रमाणहरुको आधारमा पितृलाई उद्दार गर्नको लागि श्राद्ध कर्म अनिवार्य रहेको कुरा वेदमा उल्लेख छैन । बरु वेदले जीवित हुँदा या मृत्यु भइसकेका पितृहरुको सेवा र सम्झनालाई भने जोड दिएको छ । तर, पुराण आदिले भने श्राद्ध कर्मले दिवंगत पितृलाई उद्दार गर्न सक्ने दाबी प्रस्तुत गरेको छ ।

वेदमा पितृ-यज्ञको प्रमाण

यजुर्वेदले कुनैपनि आत्माले शरीर छाडेपछि उसको गन्तव्य उसले गरेको कर्मको आधारमा निर्धारण हुने उल्लेख छ । जसले मानव चोलामा तप-ध्यान आदि क्रिया गरेका छन् उनीहरु ब्रह्मलोक जानेछन् वा ब्रह्मलीन हुने प्रमाण यजुर्वेदमा छ । केही सत्कर्म गर्नेहरु स्वर्ग जाने गर्दछन् । स्वर्ग गएपछि उनीहरु स्वतः देवता बन्नेछन् । राक्षसी कर्म गर्नेहरु प्रेत योनिमा अनन्तकालसम्म भड्किएर रहने गर्दछन् र पछि फेरि पुनर्जन्म लिनेछन् ।

पितृ-यज्ञलाई संकेत गर्नेगरी यजुर्वेदमा भनिएको छ ।  हे अग्नि १ हाम्रो श्रेष्ठ सनातन यज्ञलाई सम्पन्न गर्ने पितृहरुले देहान्त भएपछि जसरी श्रेष्ठ ऐश्वर्यसहितको स्वर्ग प्राप्त गरेका छन् । त्यसैगरी यज्ञमा यी ऋचाहरुको पाठ गर्दै र समस्त साधनद्वारा यज्ञ गर्दै हामी पनि त्यस्तै ऐश्वर्यवान स्वर्गलाई प्राप्त गर्न सकौं ।  यसमा मरेका पितृको स्मरणमा आफ्नो मृत्योपरान्तको सुख प्राप्तिको कामना गरिएको छ ।

वेदकै ब्राह्मण ग्रन्थहरु र पुराण आदिमा भने पितृ-यज्ञको तीन विधि उल्लेख गरिएको छ । पहिलो विधिमा पितृलाई जल चढाएर वा तर्पणद्वारा गरिने यज्ञ पर्दछ, दोस्रो विधिमा पक्वानहरुको एक अंश स्वधा शब्दको उच्चाहरण गर्दै पितृलाई चढाउने कार्य पर्दछ भने तेस्रोमा श्राद्ध कर्म गरेर पितृ-यज्ञ गर्ने गरिन्छ । जुन पञ्चमहायज्ञ अन्तर्गत्को महत्वपूर्ण यज्ञ मान्ने गरिएको छ ।

श्राद्ध कर्मलाई शाब्दिक रुपमा नै उल्लेख नगरेको भएपनि पितृहरुको स्मरणमा गरिने यज्ञको बारेमा अथर्ववेदले पनि उल्लेख गरेको छ ।

अहमेवास्म्यमावास्या ।।। समगच्छन्त सर्वे ।। -अथर्व ७र७९र२

अर्थात्, सूर्य – चन्द्र दुबै आमाको साथ-साथ बस्ने गर्दछन् । त्यो तिथि आमावस्या म नै हुँ । यस दिन ममा सबै साध्यगण, पितृविशेष र इन्द्र प्रभृति देवता एकट्ठा हुन्छन् ।

परा यात पितर ।।। अधा मासि पुनरा यात नो गृहान् ।। –अथर्व १८र४र६३

अर्थात्, हे सोमपानकर्ता पितृगण १ तपाई आफ्नो पितृलोकको गम्भीर असाध्य पितृयाण मार्गबाट आफ्नो लोकमा जानुहोस् । मासको अन्तिममा आमावस्याको दिन हविष्यको सेवन गर्नको लागि हाम्रो घरमा पुनस् आउनुहोस् । हे पितृगण १ तपाईं नै हामीलाई उत्तम प्रजा र श्रेष्ठ सन्तति प्रदान गर्नको लागि सक्षम हुनुहुन्छ।

आश्विन महिनाको पितृ पक्षको महत्व

सर्वास्ता अव रुन्धे स्वर्गस् षष्ट्यां शरत्सु निधिपा अभीच्छात्।। -अथर्व। १२र३र२१

अर्थात्, शरद ऋतुमा छैटौं संक्रान्ति कन्यार्कमा अभीप्सित ९पितृलाई मनपर्ने० वस्तुहरु पितृहरुलाई प्रदान गर्ने गरिन्छ । यसले पितृहरुलाई खुशी पार्ने गरिन्छ ।

महाभारत र रामायणकालमा श्राद्ध

वेदका विभिन्न शाखा ग्रन्थहरु र पुराणहरुले श्राद्ध कर्मलाई मृतकहरुको आत्मवल विकसित गर्ने कार्यको रुपमा परिभाषित गरेका छन् । वैदिक शास्त्रहरुमा सन्ताप मेटिँदा दिवंगत आत्मा प्रेत योनीबाट मुक्त हुने र सद्गति प्राप्त गर्ने उल्लेख रहेको छ । यसको लागि एउटा छु्ट्टै मन्त्रको समेत व्यवस्था गरिएको छ ।

धर्मशास्त्रीय मान्यता अनुसार श्राद्धको आरम्भ महाभारत कालभन्दा पहिलेदेखि सुरु भएको मान्ने गरिएको छ । आदिकालमा पितृ-यज्ञको रुपमा रहेको यो परम्परालाई श्राद्धको रुपमा कसले सुरु गर्यो रु भन्ने विषयमा एक मत नपाईएपनि यसबारेमा महाभारत र रामायणमा समेत उल्लेख भएकोबाट श्राद्धकर्म त्रेता युगमा पनि प्रचलनमा थियो भन्ने निश्चित गरेको छ ।

महाभारतको अनुशासन पर्वमा यसको बारेमा उल्लेख गरिएको छ । सो पर्वका अनुसार भीष्म पितामहले युधिष्ठिरलाई श्राद्ध कर्मको बारेमा बताएका छन् । जस अनुसार सबैभन्दा पहिले श्राद्धको उपदेश महर्षि निमिले अत्रि मुनिलाई दिएका थिए । महर्षि निमि जैन धर्मका २२ औं तीर्थकर हुन् भन्ने सम्भावना छ । महाभारतको युद्धपछि युधिष्ठिरले कौरव र पाण्डव पक्षबाट मारिएका सबै वीरहरुको केवल अन्तिम संस्कार मात्रै गरेका थिए । सोही क्रममा जब श्रीकृष्णले कर्णको समेत श्राद्ध गर्न सुझाव दिएपछि युधिष्ठिरले कर्ण आफूहरुको कूलको नरहेको र बाहिरी कुलको मानिसको श्राद्ध गर्न नमिल्ने बताएका थिए । त्यसपछि पहिलो पटक श्रीकृष्णले कर्ण पनि उनकै वंशको रहेको र उनको दाजु रहेको राज खोलेका थिए ।

रामायणमा उल्लेख भए अनुसार श्रीरामले पनि आफ्ना पिता दशरथको मृत्यु पश्चात् श्राद्ध गरेका थिए । यसको मतलब यो हो कि महाभारत कालभन्दा पहिलेदेखि नै श्राद्धको परम्परा निरन्तर चलिआएको छ । हिन्दू धर्मको ४ वर्णाश्रम व्यवस्था अनुसार सन्यास आश्रममा प्रवेश गरिसकेका सन्यासीहरुको अन्तिम संस्कार र श्राद्ध कर्म आवश्यक छैन । त्यो बाहेक वानप्रस्थ आश्रमसम्म दिवंगत भएका पितृहरुको मुक्तिको लागि पितृ पक्षमा श्राद्ध गर्ने गरिन्छ । गरुण पुराणका अनुसार कुनैपनि खराब कर्म गर्नेहरु तल्लो लोक अर्थात् नरकमा केही समयको लागि रहन्छ या त चिरनिद्रामा अनन्तकालसम्म रहने गर्दछ । त्यसैबाट आफ्ना पितृहरुलाई जोगाउनको लागि श्राद्ध कर्म गर्ने पौराणिक मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment