+
+

प्रथम महिला सीईओको बैंकिङ अनुभव

रोयल आचार्य रोयल आचार्य
२०७६ असोज ६ गते १०:५८

५ असोज, काठमाडौं । कुनै काम लिएर तपाई हामी बैंकमा पुग्यौं भने त्यहाँ महिला कर्मचारीको संख्या अत्यधीक देख्न सक्छौं । बैंकका कर्मचारीहरु कामको यति चापमा हुन्छन् कि खाजा खानसमेत भ्याइरहेका हुँदैनन् । देशमा यस्ता वाणिज्य बैंकहरुको संख्या २८ छ । बैंकिङ कारोबार गर्ने अन्य संस्था पनि प्रशस्त छन्, जहाँ महिला कर्मचारीको सहभागिता बढ्दो छ ।

बैंकमा कर्मीमौरीले झैं काम गरिरहेका कर्मचारीहरुको कथा भने सुखद मात्र छैन, दुःखद पनि छ । निजी क्षेत्रका बैंकहरूमा अहिलेसम्म एकजना मात्र महिलाले बैंकको सीईओ बन्ने अवसर पाएकी छिन् । बैंकमा महिलाको संख्या धेरै भए पनि उनीहरु तल्लो तहबाटै रिटाडर्य हुँदै आएका छन् ।

नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशका रूपमा महिला नेतृत्व पाइसकेको छ । मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै राष्ट्रको उच्चतहमा मात्रै होइन, अब निजी क्षेत्रमा पनि महिलाको नेतृत्व स्थापित हुने क्रम विस्तारै बढ्न थालेको छ । अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र मानिने बैंकिङ क्षेत्रमा पनि महिला नेतृत्व फस्टाउन थालेको छ । र, यसैको एक दृष्टान्त हुन् मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली ।

निजी क्षेत्रकाे वाणिज्य बैंकको इतिहासमा अनुपमा खुञ्जेली नै पहिलो कार्यकारी प्रमुख हुन् । मेगा बैंकको सञ्चालक समितिले उनलाई ०७५ वैशाखमा बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

कुलीन परिवारमा जन्मेकी सुञ्जेलीलाई जागिरै खानुपर्ने गरी दुःख थिएन । तर, उनले समयमा खाना वा खाजासमेत खान नपाएर अल्सर नै हुने गरी बैंकिङ क्षेत्रमा साधना गरिन् र त्यसैको प्रतिफलस्वरुप अहिले प्रथम महिला सीईओ बन्न सफल भएकी छिन् ।

साधनाविना कोही पनि मानिसले प्रगति गर्न सक्दैन भन्ने एउटा उदाहरण हुन् सीइओ खुञ्जेली । भनिन्छ, निरन्तर हिँडिरह्यो भने खोरियामा पनि बाटो बन्छ ।

सीइओ खुञ्जेलीले मुलुकको इतिहासमै प्रथम महिला सीईओ भएर काम गरेको डेढ वर्ष पुग्न लागेको छ । विद्यार्थी कालमा पढ्दा पढ्दै बैंकको जागिर खान जाँदा समयमा खाजा खानसमेत नपाउँदा धेरै पटक राजीनामा दिन मन लागेको उनले अनुभव सुनाइन् ।

सरकारी हाकिमको घरमा जन्मिएकी अनुपमा

सीईओ खुञ्जेलीको परिवारका कोही पनि सदस्य बैंकर थिएनन् । उनका बुवा राष्ट्र सेवक कर्मचारी थिए भने आमा गृहणी । खुञ्जेली पूर्वसचिव अकुर नरसिंह राणाकी छोरी हुन् । उनी काठमाडौं जन्मिइन् । बालापन काठमाडौंमै बिताइन् । र, विद्यालय तहसम्म काठमाडौंमै पढिन् ।

एसएलसीपछि उनी प्रवीणता प्रमाण पत्र तह अध्ययनका लागि नयाँदिल्ली गइन् । भारत पुगेकी उनी कुन विषय अध्ययन गर्ने भनेर शुरुमा दोधारमा परिन् । ‘त्यसबेला डाक्टर, इञ्जिनियर बन्नुपर्छ भन्ने धेरैको सोचाइ हुन्थ्यो’ उनी भन्छिन्, ‘तर मलाई विज्ञान विषय मनपर्दैनथ्यो, त्यसैले एकाउन्ट पढ्ने निर्णय गरेँ ।’

विषय छनोटकै कारण उनलाई बैंकिङ क्षेत्रमा प्रवेश सहज भयो । व्यवस्थापन संकायमा प्लस टु अध्ययन पूरा गरेपछि उनी स्वदेश फर्किइन् र व्यवस्थापन संकायमा शंकरदेव क्याम्पसबाट स्नातकसम्म अध्ययन गरिन् ।

ग्रिनलेजबाट बैंकिङ करियर

सीईओ खुञ्जेलीले २८ वर्ष बैंकिङ क्षेत्रमा बिताइसकेकी छिन् । उनले स्नात्तकोत्तर अध्ययन गर्दागर्दै ०४८ सालमा तत्कालीन ग्रिनलेज बैंक (हालको स्टाण्डर्ड चार्टर्ड) बाट बैंकिङ करियर शुरु गरिन् । ‘बुवाले सधंै आफ्नो खुट्टामा उभिनुपर्छ भन्नुहुन्थ्यो’ खुञ्जेली भन्छिन्, ‘बुवाको त्यो प्रेरणाले नै मैले त्यसबेला जागिर शुरु गरें ।’

खुञ्जेलीले सहायक पदबाट जागिर शुरु गरेकी थिइन् । स्नात्तकोत्तरमा भर्ना भएर जागिर शुरु गरेकी उनको जागिरकै कारण पढाइ डिस्टर्भ भयो । कामको चापका कारण उनले जागिरसँगै पढाइलाई समय दिन सकिनन्, जसका कारण उनको स्नात्तकोत्तर अधुरै रह्यो । निकै पछिमात्रै उनले स्नात्तकोत्तर पूरा गरिन् ।

त्यसबेला नेपालमा कमै मात्र बैंकहरु थिए । उनले काम गरेको बैंक अन्तर्राष्ट्रिय स्तरको भएका कारण ग्राहकहरुको चाप धेरै हुन्थ्यो । कामको चापले गर्दा कर्मचारीलाई खाजा, खानासमेत समयमा नभ्याइने अवस्था हुन्थ्यो । अनुपमा ती दिनहरु सम्झन्छिन्, ‘कामको प्रेसर र समयमा खाजासमेत खाना नपाउँदा मलाई अल्सर भएको थियो ।’

अनुपमाले १३ वर्ष त्यही बैंकमा बिताइन् । बैंकको नाम ग्रिनलेजबाट स्टाण्डर्ड चार्टड बनिसकेको थियो । उनी बढुवा हुँदै म्यानेजर बनिसकेकी थिइन् । तर, १३ वर्ष बिताइसकेपछि उनलाई नबिल बैंकमा जागिर खाने अवसर आयो ।

नेपालीहरुको लगानी भएको बैंक भएका कारण पनि उनले नबिलमा जाने सोचिन् । अन्ततः उनले स्टाण्डर्ड चार्टर्डबाट राजीनामा दिएर मेनेजर पदमै नबिलमा काम शुरु गरिन् । ‘इन्टरनेशनल बैंकमा १३ वर्ष बिताएर अब त्यो अनुभवलाई नेपालीहरुको लगानी भएको बैंकमा पनि सदुपयोग गरौं भन्ने लाग्यो’ खुञ्जेली भन्छिन्, ‘यसकारण पनि म नबिलमा गएँ ।’

नबिलमा उनले ६ वर्ष काम गरिन् । त्यसपछि मेगा बैंकतर्फ लागिन् । जुन बैंकको कार्यकारी नेतृत्व अहिले उनले आफैं सम्हालिरहेकी छिन् ।

मेगा बैंकको करिअर

सीईओ खुञ्जेली मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत छिन् । मेगा बैंक धेरै व्यक्तिहरुको सानो–सानो लगानीबाट जन्मिएको बैंक हो ।

जतिबेला बैंकको स्थापना भयो, त्यसबेला बैंकको कार्यकारी नेतृत्व बैंकर अनिल केसरी शाहले गरेका थिए । नबिल छाडेर खुञ्जेली मेगा पुग्नुमा शाहको समेत योगदान छ । खुञ्जेली जतिबेला ग्रीनलेज बैंकमा जागिरे थिइन्, बैंकर शाह पनि त्यहीँ थिए । नबिलमा पनि शाह र खुञ्जेलीले सँगै भए । र, मेगामा पनि सँगै काम गरे ।

मेगामा अनुपमाले काम गर्दै गइन् । बढुवा पनि हुँदै गयो । अनिल केसरी शाहले ८ वर्षे कार्यकाल पूरा गरेर मेगा बैंक छाडे । शाह सीईओ हुँदा बैंकको दोस्रो बरियतामा कार्यरत खुञ्जेली कार्यवाहक सीईओ भइन् । अन्ततः मेगा बैंकको सञ्चालक समिति बैठकले सीईओका रुपमा खुञ्जेलीलाई नियुक्ति दियो । योसँगै उनी नेपालकी पहिलो महिला सीईओ बनिन् ।

‘सीईओ बन्ने सपना थिएन’

२९ वर्षअघि सानो पदबाट बैंकिङ करियर शुरु गरेकी अनुपमा आफूले बैंकको सीईओ होइन, अधिकृतसम्म बन्ने सोचेको बताउँछिन् । सीईओ बन्छु भन्ने आफूले कल्पना पनि नगरेको उनी बताउँछिन् ।

जतिबेला उनले जागिर शुरु गरिन्, त्यसबेला बैंकिङ क्षेत्रको जागिर महिलाहरुका लागि राम्रो मानिन्थ्यो । आफूसँगै अध्ययन गरेका अन्य साथीहरु पनि बैंकिङ क्षेत्रमा काम गर्ने भएका कारण पनि उनले जागिरका लागि बैंक रोजिन् ।

शुरुमा सानो पदमा हुँदा पदको खासै मतलव नभए पनि अनुभव र पद बढ्दै गएपछि बैंककै नेतृत्व गर्न सक्छु भन्ने आँट आएको उनी बताउँछिन् । ‘मैले सहायक स्तरबाट काम शुरु गरेकी थिएँ, सहायक स्तरबाट शुरु गरेपछि अधिकृत बनांै भन्ने सोच हुन्छ, अधिकृत बनेपछि म्यानेजर बनौं भन्ने हुन्छ’ खुञ्जेली भन्छिन्, ‘त्यसरी नै सिनियर म्यानेजर हुँदै सकेण्ड म्यान र सकेण्ड म्यान भएपछि सीईओ बनौं भन्ने हुनेरहेछ ।’

सम्पन्न र शिक्षित परिवारमा जन्मेकी अनुपमालाई परिवारको साथ सहयोग पनि राम्रो रह्यो । अनुपमाका दाजु अभिनव नरसिंह राणा अहिले होटल व्यवसायी हुन् । बिवाहअघि आमाबुवा र दाजुको सहयोग त हुने नै भयो, विवाहपछि पनि उनको परिवारले जागिरे जीवनमा राम्रो साथ सहयोग गरेको उनी सुनाउँछिन् । जागिर खाँदाखाँदै उनी रवीन्द्र खुञ्जेलीसँग बैवाहिक बन्धनमा बाँधिइन् । रवीन्द्र फोक्सो रोग विशेषज्ञ डाक्टर हुन् ।

‘विवाहपछि जागिरे जीवनमा गाह्रो कहिल्यै भएन, सासूआमा सरकारी जागिरबाट अवकाशप्राप्त भएका कारण महिलाले बाहिर काम गर्नुहुँदैन भन्ने सोच उहाँमा भएन’ अनुपमा भन्छिन्, ‘म घरकी एक्ली बुहारी हुँ, तर सासूआमाले धेरै नै सहयोग गर्नुभयो, जसका कारण आज म यो स्थानमा आइपुगेकी छु ।’

खुसी र तनाव दुवै

सीईओ खुञ्जेली जीवनमा आफूले खुसी र तनाब दुबै महशुस गरेको बताउँछिन् । छोरी जन्मेको दिन आफू जीवनकै सबैभन्दा धेरै खुसी भएको उनी बताउँछिन् । उनकी छोरी अहिले कोलम्बिया युनिभर्सिटीमा अध्ययनरत छिन् । अध्ययन पूरा गरेपछि अनुभवका लागि केही वर्ष विदेशमा बसे पनि आफ्नै देशमा आएर काम गर्न छोरीलाई उनले सुझाएकी छिन् ।

बैंकिङ करियरका क्रममा भएको खुसी भने उनी प्रमोशन भएको बेलालाई मान्छिन् । तर, काम गर्ने क्रममा धेरै तनाब अनुभव हुने गरेको उनी बताउँछिन् ।

बैंकिङ जागिर शुरु गरेको ६ महिनामै अल्सर भएपछि एकपटक जागिर छाड्न मन लागेको उनले सुनाइन् । त्यसपछि पनि आफूले तनाव अनुभव गरेर पटक–पटक राजीनामा दिन खोजेको उनले बताइन् । ‘बैंकमा काम गरेपछि विभिन्न किसिमका तनाबहरु सामना गर्नुपर्ने हुन्छ, मैले पनि धेरै तनाव खेपेर यहाँसम्म आइपुगें’ उनी भन्छिन्, ‘जुनसुकैबेला पनि जागिर छाड्नुपर्ने हो कि भनेर गोजीमा राजीनामा नै बोकेर हिँड्थे ।’


अनुपमाको नेतृत्वमा मेगा बैंक

महिलाले नेतृत्व सम्हालेको बैंकको अवस्था कस्तो छ त ? नौ वर्षदेखि लगातार गरेको मेहनत देखेर नै आफूलाई बोर्डले नेतृत्व दिएको भन्दै अनुपमा यो विश्वासलाई कहिल्यै गुम्न नदिने र टिमवर्कमा काम गर्ने बताउँछिन् ।

सिइओ सुञ्जेली भन्छिन्, ‘बैंकको अवस्था अहिले एकदमै राम्रो छ । निस्कृय कर्जा १ प्रतिशत भन्दा कम छ । ग्रोथ रेटका आधारमा उत्कृष्ट ५ बैंकमा पर्छ । निक्षेप र कर्जाका आधारमा हेर्ने हो भने २८ वाणिज्य बैंकहरु मध्ये १९ औं र मुनाफाका आधारमा हेर्ने हो भने १८ औं स्थानमा मेगा बैंक छ ।’

राष्ट्र बैंकको नीतिअनुसार मर्जरमा मेगा जान तयार रहेको सीईओ खुञ्जेलीले बताइन् । ‘अहिले नेपाल राष्ट्र बैंकले मर्जरको विषय उठान गर्‍यो, हामीले पनि मर्जर कमिटी बनाएर काम गरिरहेका छौं,’ उनी भन्छिन्, ‘भोलि राम्रो संस्था पाएको खण्डमा हामी मर्जरमा जान सक्छौं ।’

मेगाले कसमस डेभलपमेन्ट बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज गरेको अनुभव लिइसकेको बताउँदै सीइओ खुञ्जेली भन्छिन्, ‘हामीकहाँ आउनुअघि टुरिजमले २ वटा साना विकास बैंकहरुलाई मर्ज गराइसकेको थियो, यसकारण हामीसँग मर्जरको राम्रो अनुभव छ ।

मेगा बैंक स्थापनाकै बेलामा हलोदेखि हाइड्रोसम्म भन्ने नारा लिएको थियो । अनुपमाको विश्लेषण अनुसार नेपालमा बैंकिङ साक्षरता अझै पनि कमजोर छ । वित्तीय साक्षरता कमी भएका कारण सबै क्षेत्रका नागरिक बैंकिङमा जोडिएका छैनन् । यसकारण पनि साना कृषकदेखि उद्योग योजनाहरु समेतलाई समेट्ने उद्देश्यका कारण हलोदेखि हाइड्रोसम्म भनने नाराका साथ मेगा बैंक स्थापना भएको उनी बताउँछिन् ।

राष्ट्र बैंकले विपिन्न वर्गमा ५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने बनाएको छ । त्यसलाई ध्यान दिँदै अहिले मेगा बैंकले पञ्चवर्षीय योजना बनाएको अनुपमाले जानकारी दिइन् । यस योजना अनुसार १० प्रतिशत विपन्न वर्गमा लगानी गर्ने उल्लेख गरेकोमा योजनाको ३ वर्षमा नै ८ प्रतिशत पुर्‍याइए सकिएको उनले बताइन् ।

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?