+
+

नेकपालाई चिनियाँ कम्युनिष्टको सुझाव- आत्मक्रान्ति गरौं

चिनियाँ नेता सोङ ताओले भने- कम्युनिष्ट पार्टी र अरुमा फरक हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते २२:१३

६ असोज, काठमाडौं । सोमबार साँझ दरबारमार्गस्थित पाँचतारे होटलमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरु धमाधम प्रवेश गरिरहेका थिए । ५ बजे सुरु हुने भनिएको कार्यक्रममा नेपाली मौलिकता झल्काउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको शीर्ष टोली ५ बजेर ३७ मिनेटमा प्रवेश गर्‍यो ।

होटलको सजिजाऊ हलमा तीनसय भन्दा बडी नेकपाका नेताहरु तैनाथ भइसकेका थिए । चिनियाँ अनुहारहरु पनि कार्यक्रम स्थलमा यताउति गरिरहेका देखिन्थे । हलको प्रवेशद्वारैमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ६२० पृष्ठ मोटो किताब उपहार दिनका लागि राखिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीत्रय प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल लगायत नेकपाका सबै शीर्ष नेताहरुको सहभागिता रहेको कार्यक्रमस्थलमा रहेको डिजिटल बोर्डमा लेखिएको थियो- ‘सि जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनष्टि पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीवीच विचारधारात्मक छलफल कार्यक्रम उदघाटन समारोह’

दुई देशका सत्तारुढ कम्युनिष्ट पार्टीवीचको छलफल कार्यक्रमको आयोजक थियो- नेकपाको केन्द्रीय पार्टी स्कुल विभाग । यो विभागका प्रमुखसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यक्रमको अध्यक्षता आशन ग्रहण गरेका थिए ।

कार्यक्रमका सभापति पोखरेलले शुभारम्भमा मन्तव्य राखिसकेपछि नेकपा अध्यक्ष प्रचण्डले सम्वोधन गरे । प्रचण्डको सम्वोधनपछि बोल्ने पालो आयो चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय कमिटीका अन्तरराष्ट्रिय विभागका मन्त्री सोङ ताओको ।

ताओले आफ्नो मन्तव्यका क्रममा नेकपाका नेताहरुलाई मुख्यतः चारवटा सुझाव दिए । चिनियाँ कम्युनिष्ट पार्टीका नेताले आफ्नो सम्वोधनमा के-के भने ? यसबारे चर्चा गरौं-

१. मार्क्सवाद जडसूत्र होइन

चिनियाँ कम्युनिष्ट नेता सोङले आफ्नो भाषणको प्रारम्भमा मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तको चर्चा गरे । चीन र नेपालका दुबै कम्युनिष्ट पार्टीले मार्क्सवादको विकास गरिरहेको र चीनले चिनियाँ विशेषतायुक्त समाजवादको विकास गरिरहेको उनले बताए । आफ्नो देशमा मारक्सवादको सिद्धान्त र अभ्यास चिनियाँ विशेषतायुक्त रहेको बताउँदै सोङले भने, ‘मार्क्सवाद जडसूत्रवाद होइन, तथ्यवाट सत्य खोज्ने सिद्धान्त र अभ्यास नै चिनियाँ विशेषतायुक्त चिनियाँ मार्क्सवाद हो । चिनियाँ जनताको पुनरुत्थान हो ।’

चिनियाँ नेता सोङले ७० वर्षअघि दुबै देशका कम्युनिष्ट पार्टी सँगसँगै जस्तो स्थापना भएको बताउँदै दुबै देशका कम्युनिष्ट पार्टीहरुले मार्क्सवादको विकास गरिरहेको बताए । उनले भने, ‘नेपालको कम्युनिष्ट पार्टीले बहुदलीय जनवाद र एक्काइशौं शताब्दीको जुन सिद्धान्त लियो, यसबाट हामीवीच सहकार्यको आधार छ । दुबै पार्टीले मार्क्सवादको विकासको लक्ष लिएका छन् ।’

२. आर्थिक उन्नतिमा जोड देऊ

नेकपाका केन्द्रीय नेताहरुलाइ चिनियाँ अनुभव सुनाउँदै सोङले आफ्नो भाषणको दोस्रो बुँदामा आर्थिक उन्नतिलाई विशेष जोड दिए ।

‘उत्पादक शक्तिको विकास समाजलाई अघि बढाउन महत्वपूर्ण तत्व हो,’ ताओले भने, ‘यही उत्पादक शक्तिको विकासका कारण पुँजीवाद भन्दा समाजवाद श्रेष्ठ भएको हो ।
चिनियाँ कम्युनिष्ट नेता ताओले सि जिन पिङको लाइन अनुसार आर्थिक निर्माण सम्पूर्ण समस्या समाधानको अस्त्र भएको तर्क गरे । उनले भने, ‘आर्थिक निर्माण सबै समस्या समाधान गर्ने प्रमुख नीति हो । हामीले ठूलो ऐतिहासिक उपलब्धी हासिल गरेका छौं, किनभने आर्थिक विकासलाई अहत्व दिएका छौं । चीनले असन्तसुलित विकासको समस्या समाधान गर्दैछ ।

राष्ट्रपति सि जिनपिङले समाजको आधुनिकीकरणमा जोड लिएको बताउँदै सोङले नेपालजस्तै विकासोन्मुख मुलुकको आधुनिकीकरणमा चीनले सघाउने बताए ।

३. जनताको सेवा गर

चिनियाँ नेता सोङले नेकपाका नेताहरुसँग भनेको तेस्रो बुँदा हो- जनताको सेवा ।

‘जनतालाई सेवा दिनु कम्युनिष्ट पार्टीको उद्देश्य हो । मार्क्सले कम्युनिष्ट पार्टीको घोषणापत्रमा सर्वहारावर्गको चर्चा गर्दा सबै जनताको हितलाई हेरेर गरेका हुन,’ सोङले अगाडि भने, ‘जनताकै लागि कम्युनिष्ट पार्टीको स्थापना भएको हो, चीन र नेपाल दुबै देशमा कम्युनिष्ट पार्टीले शासन गर्दैछन्, जनताको जीवनस्तर राम्रो बनाउनु हाम्रो लक्ष हो ।’

सी जीनपिङ विचारधाराले जनतालाई मुख्य स्थानमा राखेको सोङले बताए ।

सोङले अगाडि भने, ‘दुबै सत्तारुढ पार्टी हुन्, त्यसैले जनतालाई सेवा दिनुपर्छ, यसका लागि नेपाललाई सहयोग गर्न सकिन्छ, आउने वर्षहरुमा गरीवी निवारण गर्न सकिन्छ ।’
चिनियाँ नेता सोङले नेपालमा स्वच्छ खानेपानी, शिक्षा आदिमा चीनले सहयोग गर्न सक्ने बताए ।

४. आत्म-क्रान्ति

चिनियाँ नेताले नेकपाका नेताहरुलाई सुझाएको चौथो सिकाइ हो- आत्मक्रान्ति अर्थात शुद्धीकरण ।

कम्युनिष्ट पार्टी र अरुवीचको फरक नै यही आत्मिक शुद्धीकरण भएको सोङले बताए । कम्युनिष्टहरुले अरुको हितमात्रै नभएर आफूलाई शुद्धीकरण गर्ने, आफ्नो क्षमता बढाउने र राजनीतिक संस्कार विकासमा जोड दिनुपर्ने उनले बताए ।

पार्टीभित्रको शुद्धीकरणका लागि चिनियाँ कम्युनिष्ट पार्टीले झन कडा निर्णयहरु गरिरहेको उनले सुनाए । उनले भने ‘हामीले भनाइ र गराईमा एकरुपता कायम गर्नुपर्छ, आफ्नो क्षमता र आत्मसफाइमा ध्यान दिँदै विचारको निर्माण गर्नुपर्छ । पुरानो आस्था नबिर्सने र आफ्नो दायित्व पूरा गर्ने गर्नुपर्छ ।’

प्रशिक्षण एवं शिक्षामार्फत यस विषयमा सुधार ल्याउन सकिने सोङले बताए । चिनियाँ कम्युनिष्ट पार्टीले सिजिनपिङको विचारलाई पार्टीले निर्देशक सिद्धान्त बनाएको पहिलो चरणको प्रशिक्षण अभियान सम्पन्न गरेको जानकारी दिए ।

नेकपालाई सघाउने बचन

चिनियाँ कम्युनिष्ट नेता सोङले आफ्नो सम्वोधनमा नेकपालाई सहयोग गर्ने वचनसमेत दिए । ‘हिमालपारिबाट यता आएर हामीले दुई पार्टीवीच विचार आदान-प्रदान गरेका छौं,’ सोङले भने,’नेकपा एकतावद्ध भएको छ, हामी पार्टी निर्माणको अनुभव आदान-प्रदान गर्न इच्छुक छौं, नेकपा स्कुललाई चिनियाँ कम्युनिष्ट पार्टीले सहयोग गर्ने छ । नेकपाको क्षमता, शासनको क्षमता बढाउन सकिाउन सकिन्छ ।’

चिनियाँ राष्ट्रपति सि जिनपिङले विश्वका सबै सर्वहारा वर्गवीच एकताको आह्वान गरेको सोङले बताए । दुई देशका कम्युनिष्टपार्टीको दुई दिने कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने,’चिनियाँ जनताको सपना र विभिन्न देशका जनताको सपना एउटै भएको छ । चीनले आपसी हितयुक्त, दिगो, समावेशी, सुरक्षित विश्वको प्रयास गर्दैछ । नेपालसँग हातमा हात मिलाएर अघि बढ्ने आशा छ ।’

चिनियाँ नेता सोङले बोलिसकेपछि सोमबार साँझ नै चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल विभागका नेता काओ लीले ‘मध्यम सुविधायुक्त समाजको निर्माण’ बारे बारे नेकपा नेताहरुलाई डेढ घण्टाको प्रस्तुती दिएका थिए । यो प्रस्तुतीपछि नेकपाका केन्द्रीय नेताहरुलाई पाँचतारे होटलमै डिनरको प्रवन्ध मिलाइएको थियो ।

मंगलबार पनि विहान १० बजेदेखि साँझ ६ बजेसम्म दुबै देशका कम्युनिष्ट नेताहरुवीच छलफल हुने छ । मंगलबारको छलफलमा तीनजना चिनियाँ नेताले नेकपाका नेताहरुलाई प्रशिक्षणात्मक प्रस्तुती दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?