Comments Add Comment

चीनलाई नजिक्याउन काठमाडौं–छहरे–रसवागढी टनेल सडक

२३ भदौ, काठमाडौं । नेपालले चाहेको छ कि चीनले अनुदानमा काठमाडौं केरुङ रेलमार्ग बनाइदिओस् ।

तर भर्खर प्रारम्भीक अध्ययन मात्र भएको यो रेलमार्गको बन्न समय लाग्छ । सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) भएपछि मात्र लगानीको विषय आउँछ । त्यसपछि मात्र रेल कहिलेसम्म बन्छ भन्ने भन्न सकिएला ।

रेल अगाडि चीनको दुरी छोट्याउन काठमाडौं–छहरे–रसवागढी टनेल सडक बनाउने योजना अगाडि सारिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डामा पनि यो सडक परेको छ ।

चार लेनको हुने भनिएको रसुवागढी–छहरे–काठमाडौं सडकमार्गको प्रारम्भीक अध्ययन भइरसकेको छ । सडक विभागले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेर वैदेशिक सहायता जुटाउन अर्थ मन्त्रालयमा प्रस्ताव गरेको एक वर्ष बढी भइसकेको छ ।

सुरुङमार्ग र त्यसलाई गल्छी–स्याफ्रुबेंसी सडकमा जोड्ने पहुँच मार्ग बनाउन २६ अर्बभन्दा बढी लाग्ने अनुमान छ । यसका चीनमा मुख्य कार्यालय रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी)लाई अनुरोध पनि गरिएको हो ।

चिनियाँ राष्ट्रपति सीको २५ असोजबाट हुने नेपाल भ्रमणबारे यसबारे सहमति जुट्ने सम्भावना छ ।

सरकारी अधिकारीहरुका अनुसार काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँट छेउ पुग्ने सुरुङमार्ग करिब चार दशमलव दुई किलोमिटरको हुनेछ ।

टोखासम्म सडक विस्तार भइसकेको छ । थानसिंह फाँटबाट नुवाकोट र रसुवासम्म बन्ने सडक गल्छी–स्याफ्रुबेंसी खण्डमा जोडिनेछ । यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमा रसुवागढी अढाइ घण्टाको ‘ड्राइभिङ’ दुरीमा आउनेछ । र, चीनसँग काठमाडौंको दूरी अझै नजिकिनेछ ।

यसका साथै भूकम्प र भाटेकोशीको बाढीले क्षतिग्रस्त भएको अरनिको राजमार्गको स्तरोन्नतिबारे पनि राष्ट्रपति सीको भ्रमणका क्रममा समझदारी गर्ने दुबै देशको तयारी छ ।

अहिले पनि चीन सरकारकै सहयोगमा बाह्रबिसेदेखि तातोपानी नाकासम्म सडक स्तरोन्नतीको काम गरिररहेको छ । त्यसलाई निरन्तरता दिने गरी चीनसामू प्रस्ताव गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यस्तै चीनसँग जोडिएको मुस्ताङको कोरला नाका र संखुवासभाको किमाथांका पुग्ने सडकमार्गको स्तरोन्नतिबारे पनि सीको भ्रमणका क्रममा सहमति खोजिनेछ ।

कोरला नाकामा सुख्खा बन्दगाह बनाउने तयारी भइरहेकाले यो सडकलाई चीनको सहयोगमा कालोपत्रै गर्ने योजना बनेको छ । ‘जोमसोमभन्दा माथि उच्च हिमाली भागमा हामीले कालोपत्रे गन सक्ने अवस्था छैन’ एक अधिकारीले भने, ‘त्यहाँ चिनियाँ प्रविधि र लगानीमा कालोपत्रे गर्न सकियो भने राम्रो हुन्छ ।’

यस्तै चिनियाँ नाका किमाथांकासम्म सडकको ट्रयाक खोल्ने काम भइरहेको छ १४ किलोमिटरको चट्टानयुक्त क्षेत्रमा ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको छ । विराटनगरको रानीबाट सुरु हुने यो सडकमार्गको खाँदबारीसम्म कालोपत्रे छ भने त्यसभन्दा माथि पुरै ट्रयाक खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment