Comments Add Comment

उपनिर्वाचनको रस्साकस्सी, दलहरूको आ-आफ्नै दाउ

के गर्दैछन् नेकपा, कांग्रेस र साना पार्टी ?

४ कात्तिक, काठमाडौं । आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले २१ कात्तिक र स्थानीय तहका उम्मेदवारले २७ कात्तिकमा मनोनयन दर्ता गर्नुपर्ने तालिका सार्वजनिक गरेको छ । मनोनयनको मिति नजिकिँदै गर्दा विभिन्न दलका आकांक्षीहरू टिकटको दौडधुपमा लागेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा) ले १० कात्तिकभित्र सम्बन्धित कमिटीलाई केन्द्रमा सिफारिस गर्न भनेको छ भने नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाउने लगायत उपनिर्वाचनका विषयमा छलफल गर्न ७ कात्तिकमा केन्द्रीय कार्य समिति बैठक बोलाएको छ ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन र स्थानीय तहका ४८ गरी जम्मा ५२ पदका लागि हुने उपनिर्वाचनका अधिकांश उम्मेदवारको नाम टुंगिन बाँकी छ ।

नेकपामा मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष उम्मेदवारको हकमा भने सम्बन्धित नगर वा गाउँपालिका कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने व्यवस्था छ । यस्तै, वडाध्यक्षको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको नाम छान्नेछ ।

कांग्रेसमा प्रतिनिधिसभाका लागि क्षेत्र र जिल्ला तथा उपमहानगरपालिकाका लागि प्रदेश समितिले उम्मेदवार सिफारिस गर्ने व्यवस्था छ । गाउँपालिका र नगरपालिकाको निर्णय जिल्लाले र वडाको निर्णय क्षेत्रीय समितिले गर्छ ।

प्रदेश कमिटी गठन नभइसकेकाले धरान उपहानगरपालिकाको मेयरको उम्मेदवारको नाम सुनसरी जिल्ला कमिटीले सिफारिस गरेको छ । नेपाली कांग्रेस सुनसरी जिल्ला कमिटीले तिलक राईलाई मेयरको उम्मेदवारमा सिफारिस गरेको छ ।

उपनिर्वाचन हुने अधिकांश स्थानमा भने उम्मेदवारको नाम सिफारिस हुन बाँकी रहेको सम्वद्ध दलका नेताहरू बताउँछन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ जिल्ला र क्षेत्रीय कमिटीबाट नाम सिफारिस भएर आएपछि उम्मेदवारबारे केन्द्रीय कमिटीले निर्णय लिने बताउँछन् । उनी भन्छन्, ‘सम्बन्धित कमिटीको सिफारिस नहेरी अहिले नै को-को बन्छ भन्न सकिँदैन ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा कात्तिक ६ गतेसम्म केन्द्रमा सम्बन्धित समितिको सिफारिस आइसक्ने बताउँछन् । एकभन्दा बढीको नाम सिफारिस भएको अवस्थामा केन्द्रले अन्तिम निर्णय गर्ने शर्माले जानकारी दिए ।

कास्की-२ मा को ?

हेलिकोप्टर दुर्घटनामा परेर तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि कास्की-२ प्रतिनिधिसभा सदस्यविहीन छ । नेकपा नेता वामदेव गौतम र स्वर्गीय अधिकारीकी पत्नी विद्या भट्टराईको नाम चर्चामा रहेको यो क्षेत्रमा नेकपाबाट कसले टिकट पाउँछ भन्ने निधो भइसकेको छैन ।

यो पनि पढ्नुहोस वडा तहको उपनिर्वाचनमा झिँगालाई मेसिनगन ! नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले तीनजनाको नाम छान्न कात्तिक ८ गते जिल्ला कमिटीको बैठक बोलाएको जानकारी दिए । उनी भन्छन्, ‘उम्मेदवार बन्न चाहनेहरूको सूचि लामो छ, तीनजनाको नाम सिफारिस गछौर्ं, केन्द्रले जसलाई छान्छ, त्यही उम्मेदवार बन्छ ।’

स्व. अधिकारीले साढे आठ हजार मतान्तरले जितेको यो क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बन्न चाहनेहरूको पनि कमी छैन । गत निर्वाचनमा स्व. अधिकारीका निकटतम प्रतिद्वन्द्वी रहेका देवराज चालिसेका साथै खेमराज पौडेल, महादेव गुरुङ, सोभियत अधिकारी, निर्मल कर्माचार्य, माधव बास्तोला, ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्र बिजुक्छे, विजय आचार्य, गुरु बराल, केशर निर्दोषी, लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगीला आचार्य र विमला भण्डारी कांग्रेसका आकांक्षी हुन् ।

कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसी ६ कात्तिकसम्म उम्मेदवारको नाम टुँगो लागिसक्ने बताउँछन् । यद्यपि सर्वसम्मत बन्ने अवस्था नआउँदा तीन भन्दा बढीको नाम सिफारिस गर्न सकिने केसीले अनलाइनखबरलाई जानकारी दिए ।

धनराज गुरुङको चर्चा

कांग्रेस क्षेत्रीय समितिमा पुगेको १६ जना बाहेक कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । स्याङ्जा स्थायी घर भएका गुरुङलाई सिफारिसमा पार्न उनी पक्षधर नेताहरू लागिपरेको कांग्रेस जिल्ला कमिटीका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक संविधानसभा सदस्य रहेका गुरुङले २०७४ को निर्वाचनमा टिकट पाएका थिएनन् । आफैले जिल्ला समितिका नेताहरूसँग कुरा नगरे पनि उम्मेदवार बन्न इच्छुक रहेको गुरुङ निकट एक जिल्ला नेताले अनलाइनखबरलाई जानकारी दिए ।

जिल्ला र क्षेत्रीय समितिमा गुरुङको नाम सिफारिस गर्न नहुने मत पनि बलियो छ ।

साझा पार्टीका लागि जनमत संग्रह !

आगामी मंसिरमा निर्वाचन हुन लागेको प्रतिनिधिसभाको एक र प्रदेशसभाका तीनवटै स्थानमा नेकपा गठबन्धनले चुनाव जितेको थियो । नेकपाका अधिकारीले जितेको कास्की-२ मा कांग्रेस दोस्रो स्थानमा आएको थियो भने तेस्रो स्थानको विवकेशील साझा पार्टीले दुई प्रतिशत भन्दा कम भोट पाएको थियो । निर्वाचनपछि साझा विवेकशील विभाजित भइसकेको छ ।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य मंगलबार बस्ने केन्द्रीय समिति बैठकले कास्की-२ को उम्मेदवारको नाम टुंगो लगाउने बताउँछन् । आफ्नो पार्टीले उपनिर्वाचनलाई जनमत संग्रहका रुपमा लिएको आचार्यको भनाइ छ ।

बैठकका लागि पोखरा पुगेका प्रवक्ता आचार्य सत्तारुढ र प्रमुख प्रतिपक्षी दुबै दलप्रति मतदाताको आकर्षण नरहेको बताउँछन् । उनी भन्छन्, ‘कास्की-२ को उपचुनाव सांसद छान्नका लागि मात्र होइन, देशको राजनीति कता जाँदैछ भन्ने जनमत संग्रह पनि हो ।’

स्थानीय तहकेन्द्रित रणनीति

तत्कालीन एमालेका हरिशरण लामिछानेले जितेको भक्तपुर १ (१) मा कांग्रेस दोस्रो र नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा आएको थियो । बाग्लुङ २ (२) मा एमाले र माओवादीको समर्थनमा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले जितेका थिए । यी दुई स्थानमा नेकपा वा कांग्रेस बाहेकका उम्मेदवारले पनि जित्न सक्ने सम्भावना देखिन्छ ।

यो पनि पढ्नुहोस प्रदेशसभाका ३ सीट जोगाउन कम्युनिस्टलाई सकस नेकपा र कांग्रेसले ५२ मध्ये अधिक स्थानमा जित्ने रणनीति बनाइरहँदा अन्य दलले भने स्थानीय तहमा जोड गरेका छन् । राष्ट्रिय दलको मान्यता पाएको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी -राजपा) को उपनिर्वाचन रणनीति समेत स्थानीय तह केन्द्रित छ ।

दुबै पार्टीका नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचन संगठन विस्तार र मतदाता बढाउन उपयोग गरिने बताउँछन् ।

समाजवादी-राजपाबीच तालमेल हुने

स्थानीय तहमा एक उपमहानगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । पार्टी एकीकरणको तयारीमा रहेको समाजवादी पार्टी र राजपाले उपनिर्वाचनमा गठबन्धनको तयारी गरिसकेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव उपनिर्वाचनमा समाजवादी पार्टीसँग तालमेल हुने बताउँछन् । उनी भन्छन्, ‘एकताको तयारीमा रहेको र प्रदेशमा सँगै सरकार पनि चलाइरहेकाले समाजवादीसँग उपनिर्वाचनमा तालमेल गर्छौं ।’

राजपाले १३ कात्तिकभित्र प्रत्येक पदका लागि सम्भावित ३/३ उम्मेदवारको नाम सिफारिस गर्न सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ ।

सत्ता साझेदार समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले पनि राजपासँग आफ्नो पार्टीले चुनावी तालमेल गर्ने बताए । खासगरी प्रदेश २ मा राजपासँग मिलेर चुनाव लड्न लागेको उनले जानकारी दिए । सोलखम्बु र खोटाङका केही स्थानीय तहमा भने आफ्नो पार्टीले एक्लै चुनाव जित्ने श्रेष्ठको दाबी छ ।

समाजवादी पार्टीले स्थानीय तहको उम्मेदवार प्रदेश समितिले र प्रदेशसभा तथा प्रतिनिधिसभाको उम्मेदवार संघीय परिषद बैठकले टुंगो लगाउने निर्णय गरिसकेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी चुनावमा भाग लिने तयारी गरिरहेको छ । तर, उसको अवस्था जित्ने भन्दा पनि उपस्थिति जनाउने खालको मात्र छ ।

उता मोहन वैद्य निकट क्रान्तिकारी माओवादीले भने उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment