+
+

नेपालमा प्याजखेती : सम्भावना मनग्य, उब्जनी नगन्य

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ मंसिर १७ गते १४:२१

१७ मंसिर, काठमाडौं । यतिबेला नेपाललगायत दक्षिण एसियाली देशहरूको साझा चिन्ताको विषय बनेको छ–प्याज । भारतले निर्यातमा रोक लगाएसँगै यस क्षेत्रमा प्याजको मूल्य आकाशिएको छ ।

प्याजको प्रमुख निर्यातकर्ता मुलक भारतले यसपालि आफ्नै देशभित्र अभावको सामना गर्नु परेपछि निर्यातमा रोक लगाएको हो । उसले प्याज बिक्रीमा समेत कोटा प्रणाली लागू गरेको छ । बंगलादेशकी प्रधानमन्त्रीले अनियन्त्रित मूल्य बढेपछि प्याज नखाने घोषणा गरेकी छन् । नेपालमा चाहिँ सरकारले यो समस्यालाई खासै ध्यान दिएको छैन ।

नेपालमा अहिले भारतबाट चोरबाटो भएर आएका प्याज महँगोमा बिक्री भइरहेको छ । सोमबार नेपाली बजारमा प्याजको थोक मूल्य औसत १७० रुपैयाँ र खुद्रा मूल्य औसत २ सय रुपैयाँ थियो । तर किराना पसलसम्म पुग्दा प्याजको मूल्य व्यापारीले मनलाग्दी बढाएका छन् ।

प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि प्याज खेतीमा सरकारी र निजी क्षेत्रबाट पहल नहुँदा अहिले दुःख झेल्नुपरेको हो । नेपालमा आर्थिक वर्ष ०७४/७५ मा १९ हजार ८ सय २१ हेक्टर जमिनमा प्याज खेती भएको सरकारी तथ्यांक छ । सो वर्ष २ लाख ३९ हजार मेक्ट्रिकटन प्याज नेपालमा उत्पादन भएको थियो ।

किन भयो अभाव ?

गत वर्ष भारतमा अत्यधिक उत्पादनका कारण बजार नपाएर कृषकले सडकमै प्याज फ्याँकेका थिए । पाँच महिनासम्म कुरेर फल खाने बेला प्याज नबिकेकाले कृषकहरूले आत्मा हत्यासमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्पादनले बजार नपाएपछि प्याज खेती गर्न किसान डराए । फलतः प्याज खेती गर्ने क्षेत्रफल र उत्पादन दुवैमा यस वर्ष भारी गिरावट देखियो । अर्कोतर्फ जुलाईमा उत्पादन गर्न भनेर रोपिएको प्याज भारी वर्षातका कारण सखाप भएपछि अभाव सिर्जना भएको हो । यसैको असर दक्षिण एसिया  क्षेत्रमा परेको राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका प्रवक्ता एवं वरिष्ठ बागवानी अधिकृत भरतबहादर आचार्यले बताए ।

‘यसपालि अभाव भयो भनेर किसानलाई प्याज खेती गर्न प्रोत्साहन गर्न पनि सकेका छैनौं,’ उनले भने, ‘फेरि अर्को वर्ष भारतमा प्याज उत्पादन बढ्दा नेपाली किसान मारमा पर्न सक्छन् कि अधिक उत्पादन हुने कि न्यून उत्पादन हुने गर्दा समस्या आएको हो ।’

नेपालमा प्याज खेती

राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार प्याजखेती उच्च हिमालीबाहेक नेपालका सबै ठाउँमा हुन्छ । घाम लाग्ने पारिलो ठाउँमा प्याजको खेती राम्रो हुने केन्द्रले जनाएको छ ।

प्याजको बोट १३ देखि २४ डिग्री सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ । पानीको राम्रो निकास भएको, हलुका दोमट मलिलो माटोमा प्याज खेती गर्न उपयुक्त हुने केन्द्रको सुझाव छ । नेपालमा एक पाउदेखि आधा किलोसम्मका प्याजको गाना उत्पादन हुने तरकारी बाली विकास केन्द्रका बागवनी अधिकृत डोलराज पाण्डे बताउँछन् ।

प्याजका बीउहरू नसिक ५३, रेड क्रियोल, सुपरेकस, टीआई १७२, कास, भेनस र विन्टर सिल्भर गरी ७ जातका हुन्छन् । प्रायः सबै जातका प्याजहरू नेपालमा खेती गर्न सकिन्छ । बीउ छरेर, उमारेको बेर्नालाई सारेर र प्याजको साना दानाका सेट तयार गरेर प्याजको खेती गर्न सकिन्छ ।

नेपालको तराईमा असोजदेखि कात्तिक अन्तिम र पहाडमा कात्तिकदेखि पुसको दोस्रो सातासम्म प्याज रोप्ने सिजन हो । बीउ उमारेर प्याजको बेर्ना तयार हुन एक महिना लाग्छ । तरकारी बाली विकास केन्द्रका बागवानी अधिकृत डोलराज पाण्डेका अनुसार एक महिनापछि रोपेको बेर्नाबाट १६० देखि ६५ दिनमा प्याज फल्छ ।

खेती कसरी गर्ने ?

राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार प्याजखेतीको लागि करिब १ मिटर चौडाइ र ३ मिटर लम्बाइको ड्याङ बनाउन मिल्ने जमिन हुनुपर्छ । जमिन पारिलो हुनु एकदमै राम्रो हुन्छ । एक र अर्को डयाङको बीचमा करिब ७ इन्चजतिको खाली ठाउँ छोडिनुपर्छ ।

बीउ रोप्ने जमिन तयार गर्दा प्रांगारिक र गोबर मल, पिना, डीएपी, युरिया, म्युरेट ओफ पोटास, जिङ्क सल्फेट बोरेकस, बायोजाम र हर्मोनहरू प्राविधिकको सल्लाहबमोजिम राख्नु पर्छ ।

गर्मी महिनामा प्याजको बीउ छरेको एक महिनापछि र जाडो महिनामा २ महिनामा बेर्ना सार्नका लागि ठीक हुन्छ । बीउ सार्दा मोटो तथा स्वास्थ्य छानेर सार्नु पर्छ । प्याजको बेर्ना रोपेको ७ दिनसम्म दिनको दुईपटक पानी हाल्नु पर्छ । बिरुवा सारेपछि आवश्यकतानुसार विषादीको प्रयोग पनि गर्नुपर्छ । यस्तै, बरुवा रापेको एक महिनादेखि आवश्यकतानुसार मल हाल्दै पनि गर्नुपर्छ ।

प्याजखेती गर्ने जमिनमा उम्रिने झारपात बेलाबेलामा उखेल्नु पर्छ । रोपेको आधा जीवन चक्रसम्म प्रशस्त चिस्यानको आवश्यकता पर्ने र बाँकी समय कम पानी लाग्ने तरकारी हो प्याज । सुरुको दुई महिना प्रशस्त पानी हाल्ने र विस्तारै घटाउँदै लगेर खन्ने १५ दिनअघिदेखि पानी बन्द गरी बोट लडाएर राख्नुपर्ने बागवनी अधिकृतहरूको सुझाव छ ।

बीउकै मार

प्याजको उत्पादनमा नेपालका किसानको रुचि खासै नदेखिएको राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रले जनाएको छ । कृषकहरूले घरमा आफ्नो आवश्यकताका लागि रोप्नेबाहेक व्यावसायिक खेतीमा प्याजबाट नाफा देखेका छैनन् । नेपाल प्याजमा परनिर्भर बन्नुको कारण यही हो ।

प्याजखेतीमा कृषकलाई आकर्षण गर्न केन्द्रले ०६६/६७ मा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर श्रमिक लागत धेरै लाग्ने, महँगो बीउ र बजार अनुकूल नहुँदा कृषकहरू उक्त खेतीबाट विस्थापित बनेको बागवनी अधिकृत भरतबहादुर आचार्य बताउँछन् । प्याजको बीउ भारतबाट मात्रै किन्न पर्ने र बीउको प्रतिकिलो मूल्य नै ३ हजार रहेको केन्द्रले जनाएको छ ।

प्याज रोप्ने सिजनमै भारतीयहरूले बीउ बिक्री नगर्ने र मूल्य अझै बढ्न जाने हुनाले कृषकहरू मारमा पर्ने गरेको केन्द्रको बुझाइ छ ।

‘महँगो बीउ किनेर गरेको खेती उब्जाउ हुन ५ महिना लाग्छ र त्यही समयमा भारतीय उत्पादनले बजार सस्तो बनाइ दिँदा कृषक मारमा पर्छन्,’ बागवनी अधिकृत पाण्डेले भने ।

प्याज आयातको अवस्था

नेपालमा वार्षिक ५ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरैको प्याज आयात हुने गरेको छ । भन्सार विभागका अनुसार आव ०७५/७६ मा एक लाख ७८ हजार क्विन्टल सुकेको प्याज नेपाल आयात भएको थियो । उक्त परिमाणको प्याज आयात गर्न पाँच अर्ब ६२ करोडभन्दा धेरै रकम विदेशिएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयात भइसकेको छ ।

नेपालमा सबैभन्दा बढी प्याज निर्यात गर्ने मुलुक भारत नै हो । चीनलगायतका मुलुकबाट पनि नेपालमा प्याज भित्रिन्छ । चालु आर्थिक वर्षको चार महिनामै भारतबाट एक अर्ब ५६ करोड ४० लाखको र चीनबाट दुई करोड ३२ लाखको प्याज भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार नामिबियाबाट पनि तीन लाख रुपैयाँ हाराहारीको १२ क्विन्टल प्याज नेपाल भित्रिएको छ ।

सरकारी योजना

कृषि विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रले पकेट क्षेत्र तोकेर प्याज उत्पादनका लागि कृषकलाई प्रोत्साहन गर्ने तयारी थालेको छ ।

‘विभिन्न कृषक समूह र तरकारी खेती गर्ने व्यवसायिक फर्महरूसँग समन्वय गरेर प्याज खेतीका लागि काम गर्न थालेका छौं’, केन्द्रका प्रवक्ता भरतबहादुर आचार्यले भने । नेपाली किसानले गरेको उत्पादनमा सहयोग पुग्ने गरी मल, बीउमा अनुदानदेखि बजार सुनिश्चिताका विषयसमेत सम्बोधन गर्ने गरी तयारी थालिएको केन्द्रले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?