+
+

सांसदको प्रश्न : कर्मचारीले किरिया विदा कति पटक पाउँछ ?

‘बेतलबी’ कि ‘असाधारण’ भन्नेमा एक घण्टा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १९:४३

१७ मंसिर, काठमाडौं । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति कर्मचारीले पाउने विदाहरुको विषयमा छलफल चल्दै थियो । त्यसमध्ये एक थियो – मृत्यु संस्कार (किरिया) विदा ।

सरकारले विधेयकमा किरिया विदा भनेर लेखेको थियो तर, यसअघि समितिमा ‘किरिया विदा’ नभनी ‘मृत्यु संस्कार विदा’ भनेर सहमति भएको थियो । सोही सहमति अनुसार तयार मस्यौदा प्रतिवेदनमाथिको छलफलमा मंगलबार यो विषय फेरि उठ्यो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद झपट रावलले ‘मृत्यु संस्कार’ भन्ने शब्द बृहत रहेको भन्दै ‘किरिया विदा’ नै लेख्नुपर्ने बताए । मृत्यु संकार भन्नाले ‘श्राद्ध’ समेत पर्ने उनको तर्क थियो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले पनि किरिया भन्ने शब्द चलनचल्तीको रहेको भन्दै सोही शब्द प्रयोग गरिनु उचित हुने बताए ।
अन्य सांसदहरुले भने मृत्यु संकार नै ठीक हुने तर्क गरिरहे ।

यही बीचमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बोले, ‘कर्मचारीले किरिया विदा कति पटक पाउँछ ? त्यो पनि यहाँ लेख्नुपर्यो ।’ त्यसपछि समितिमा केही बेर हाँसो चल्यो ।

मन्त्रालयका सचिव यादव कोइरालाका अनुसार आमा बाबु र श्रीमानको मृत्यु भएको अवस्थामा कर्मचारीले किरिया विदा लिने गरेका छन् । कसैले श्रीमतीको किरिया गर्छु भनेको अवस्थामा पनि किरिया विदा पाउँछ । छोरा नभएका ठूलोबुबा र काका (बाबुका दाजु र भाइ) को मृत्यु भएको अवस्थामा पनि शर्तसहित किरिया विदा पाउने ब्यवस्था छ ।

हाल किरिया विदा एक पटकमा १५ दिन पाउने कानुनी प्रावधान छ ।

‘बेतलबी’ कि ‘असाधारण’ भन्नेमा एक घण्टा छलफल

कर्मचारीले पाउने विदाहरुमा असाधारण विदाको ब्यवस्था पनि छ ।

अध्ययनका लागि, कुनै रोग लागेर लामो समय उपचार गर्नु परेको अवस्थामा कर्मचारीले तलब नलिने गरी असाधारण विदा लिने ब्यवस्था प्रचलित कानुनमा समेत रहेको भन्दै सरकारले यसलाई निरन्तरता दिने प्रस्ताव गरेको छ ।

तर, असाधारण विदालाई कर्मचारीले दुरुपयोग गर्ने गरेको भन्दै नेकपाका सांसद झपट रावलले ‘बेतलबी विदा’ नै लेख्नुपर्ने अड्डी लिए । असाधारण विदा भन्दा जनताले नबुझ्ने र बेतलबी भन्दा तलब नलिने रहेछ भनेर जो कोहीले बुझ्ने भन्दै उनले कानुन बुझिने गरी बनाउनुपर्ने तर्क गरे ।

तर, संघीय मामला मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले असाधारण विदा भन्ने अभ्यासमा रहेको भन्दै असाधारण नै लेख्नु उपयुक्त हुने तर्क गरे । समितिका अधिकांश सांसदले मन्त्रालयका प्रतिनिधिको भनाइमा सहमति जनाए ।

तर, सांसद रावलले असाधारण विदा लेखे आफूले फरक मत राख्ने भन्दै मतविभाजनकै प्रस्ताव गरे । ‘पहिले गणतन्त्र भन्दा जेल जाने अवस्था थियो अहिले त्यस्तो छ ? पहिले जे थियो त्यही राख्नुपर्छ भन्ने तर्क पनि हुन्छ ?’ रावल कड्किए ।

नेकपाकै सांसद पम्फा भुसालले रावलको प्रतिवाद गर्दै भनिन् ‘कि बेतलबी विदा नै नदिने भन्नु्स्, होइन भने शब्दमा नभई कन्टेन्टमा छलफल गरौं ।’ तर यसबारे कुनै निर्णय नगरी समिति सभापति श्रेष्ठले बैठक स्थगित गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?