+
+

श्रीमद्भागवत गीता : महाभारतको एउटा पर्वभित्र ओझपूर्ण भाव

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १७:१२

महाभारतको भीष्म पर्वमा एउटा श्लोक भनिएको छ :

गीता सुगीता कर्तव्या किमन्यैः शास्त्र विस्तरैः ।

या स्वयं पद्मनाभस्य मुखपद्मादि्वनिःसृता ।।

अर्थात् गीता राम्रोगरी मनन गरेर हृदयान धारण गर्न योग्य छ । जुन पद्मनाभ भगवानको श्रीमुखबाट निस्केको वाणी हो भने अरु शास्त्रको संग्रह गर्ने आवश्यकता किन ?

महाभारतको एउटा पर्वको एउटा खण्डको श्रीमद्भागवत गीता । तर, त्यही महाभारतमा नै यसको महत्वको बारेमा यसरी व्याख्या गरिनुले गीताको महत्व बढाएको छ । गीता केवल एउटा धार्मिक पुस्तक होइन । यो भित्र नै एउटा सिंगो जीवन लुकेको छ । एउटा दर्शन लुकेको छ । त्यतिमात्रै नभएर मोक्षमा विश्वास गर्नेहरुको लागि त्यसको सहज मार्ग पनि यही भित्र पाउन सकिन्छ ।

महाभारत युद्ध रोक्नको लागि त्यतिबेला श्रीकृष्णले धेरै प्रयास गरेका थिए । दुबै पक्षलाई मिलाउनको लागि मध्यस्थताको भूमिका पनि खेलेकै हुन् । तर, कौरव पक्षको घमण्डको कारणले यो सम्भव भएन । भगवान श्रीकृष्ण आराम गरिरहेको बेलामा दुई पक्षको विवाद लिएर पाण्डवहरुको तर्फबाट युधिष्ठिर र अर्काे तर्फबाट दुर्याेधन उनलाई भेट्नको लागि पुगेका थिए । त्यतिबेला श्रीकृष्ण मस्त निद्रामा थिए । त्यहाँ पुगेपछि शयनावस्थामा बसिरहेका श्रीकृष्णलाई दुबैले कुरेर बसे । त्यहीँ बस्ने बेलामा पनि दुर्याेधन श्रीकृष्णको टाउको पट्टी बसेका थिए भने युधिष्ठिर खुट्टापट्टी बसेका थिए । यसैभित्र पनि ठूलो दर्शन लुकेको छ ।

श्रीकृष्ण उठेपछि उनले दुबैलाई अब युद्ध नरोकिने भन्दै तयार रहनको लागि दुबै पक्षलाई सुझाव दिए । त्यही बेलामा श्रीकृष्णले दुबै पक्षलाई एउटा मौका दिए । एकातिर हजार बढी घोडा सहितको सेना र अर्काे तर्फ आफू स्वयं मध्ये कसलाई के चाहिन्छ ? भन्दा युधिस्ठिरले स्वयं श्रीकृष्णको सहायता मागेका थिए । यो पनि अर्काे गीताको ज्ञानको एउटा आधार हो ।

महाभारतमा विभिन्न घटनाहरु छन् जसले श्रीमद्भागवत गीताको यो ज्ञानको लागि आधार तयार पारेका छन् । यी सबै विषयबस्तुहरु पृष्ठभूमि सकिएपछि सुरु भएको भीष्म काण्डमा अर्जुनले युद्धबाट पछि हट्न लागेपछि श्रीकृष्णले उनलाई सिकाएको कर्तव्यको पाठ हो श्रीमद्भागवत् गीता । यहाँ सुरुमा युद्धको लागि सुरिएका अर्जुनले आफ्नो निर्णयबाट पछि हट्नु एउटा सबैभन्दा ठूलो आधार हो । जुन गीताको यो ज्ञानको आधार पनि हो ।

मानिसको कर्तव्य के हो ? पाप र धर्मको निर्णय कसरी गर्ने ? कर्म ठूलो कि भक्ति ठूलो ? भन्ने जस्ता जिज्ञासालाई यही गीताले नै तृप्त गराएको छ । मोक्ष के हो ? जीवनको सुख के हो ? भन्ने कुरा पनि यसैमा देख्न सकिन्छ ।

गीताको दोस्रो अध्यायमा भनिएको छ :

न जायते मि्रयते वा कदाचिन्, नायं भूत्वा भविता वा न भूयः ।

अजो नित्यः शाश्वतोऽयं पुराणो, न हन्यते हन्यमाने शरीरे ।।२०।।

अर्थात्, आत्माका लागि न कहिल्यै जन्म छ, न मृत्यु । ऊ आजन्मा छ, नित्य छ, शाश्वत छ र सबैभन्दा पुरानो छ । शरीर मर्दा पनि यो मर्दैन । यसैबाट हामीले आत्मको ज्ञान पाउन सक्छौं । आफ्नै आत्मालाई खुशी बनाउनु नै सबैभन्दा ठूलो मोक्ष हो भन्ने ज्ञान पनि हामीबाट नै पाउन सकिन्छ ।

त्यस्तै, दोस्रो अध्यायको नै ४७ औं श्लोकमा भनिएको छ :

कर्माण्यवाधिकारस्ते मा फलेषु कदाचन ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्माणि ।।

यो श्लोकको तात्पर्य के हो भने कर्म गर्ने वा नगर्ने कुरा मात्र तिम्रो अधिन वा अधिकारमा छ । तर, कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधीनमा छैन । तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नसोच र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ । तिम्रो अधिकार कर्ममा छ, फलमा होइन ।

विद्याविनयसंपन्ने ब्रहृमणे गवि हस्तिनि ।

शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।

अर्थात्, विनम्र साधु पुरुष आफ्नो वास्तविक ज्ञानबाट प्राप्त गुणका कारणले एउटा विद्धान तथा विनित ब्राहृमणलाई र गाई, हात्ती, कुकुर तथा चण्डाललाई समान दृष्टिले हेर्दछन् ।

श्रीमद्भागवत गीताको ज्ञानको बारेमा धेरैले अध्ययन र आ-आफ्नो हिसाबले व्याख्या गर्ने गरेका छन् । गीता के हो ? यसमा हामीले के लिन सकिन्छ ? भन्ने कुरा यकीन नहुँदा नहुँदै समेत धेरैले यसको महत्व र विशेषता बारे चर्चा गर्ने गरेको पाइन्छ । धेरैलाई लाग्छ कि गीता एउटा धार्मिक पुस्तक हो । तर, बाहिर पृष्ठमा श्रीकृष्णको तस्बिर छापिएको आधारमा यसलाई एउटा धार्मिक पुस्तकको रुपमा लिइनु तर्कसंगत नहुन सक्छ ।

गीता एउटा सम्पूर्ण जीवन हो र यो जिउन सिकाउने गुरु पनि हो । यसको मार्गदर्शक कृष्ण हुन् । यसमा उल्लेख भएका सबैभन्दा महत्वपूर्ण कुरा पनि श्रीकृष्ण नै हुन् । जीवन जिउने क्रममा आउने सबै किसिमका प्रश्नहरुको उत्तर गीतामा नै पाउन सकिन्छ । गीताको दर्शनले केवल ज्ञान, कर्म र भक्तिमा मात्रै केन्द्रित भएर अर्काे पक्षलाई भुल्ने गल्ती गरेको छैन । त्यसैले यो संसारका सबैप्रकारका मानिसहरुको लागि उपयोगी छ ।

अर्जुनलाई कृष्णको सुझाव

जब अर्जुनले विपक्षमा आफ्नै बन्धुवान्धवहरु देखेपछि युद्धबाट पछि हट्ने निर्णय गरे । त्यो सत्यले हार्न लागेको निर्णय थियो । सबै युद्धको तयारीमा थिए । युद्ध त हुने नै थियो । अर्जुन जस्ता व्यक्तिले युद्ध बन्द गर्नुभनेको युद्धमा कौरब पक्षको हार हुनु थियो । यस्तो अवस्थामा कृष्णले उनलाई युद्धको लागि प्रोत्साहित गरेका थिए । त्यसैले श्रीकृष्ण गीतामा केवल अर्जुनका सारथि होइनन् । उनी सिंगो मानव जीवनका दार्शनिक व्याख्याता हुन् ।

युद्धको समयमा उनले भनेका थिए ‘तपाईले मात्र क्षेत्रीय धर्म अनुसरण गर्नुपर्छ । धर्मको अभ्यास गर्न लड्नै पर्छ ।’ त्यही उनको दिव्य ज्ञानको विश्वास गराउनको लागि कृष्णले अर्जुनलाई आˆनो महान रूप देखाउँदै भने ‘कौरवहरू अधर्मको कारण नष्ट भएका छन् ।’

युद्ध सुरु हुनु अघि युधिष्ठिर रथबाट तल झरे र पीतामह भीष्मको अगाडि गएर उनलाई अभिवादन गरे । त्यस्तै युधिष्ठिरले कृपाचार्य र द्रोणाचार्यलाई अभिवादन पनि गरे र विजयको आशिष पनि पाए । धृतराष्ट्रका छोरा युयुत्सु युधिष्ठिरको धार्मिक नीतिबाट अत्यन्त प्रभावित भए कि उनी कौरव सेना छोडेर पाण्डवमा सामेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?