Comments Add Comment

चिसोले कठ्यांग्रिएर पर्सा र बारामा तीन जनाको मृत्यु

१३ पुस, वीरगञ्ज । अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईको पर्सा र बारामा तीन जनाको मृत्यु भएको छ ।

शीतलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर पर्साको पर्सागढी नगरपालिका-४ वर्वाटांडीका ७५ वर्षीय बिक्रम सहनी र परिचय खुल्न नसकेका एक जना पुरुषको मृत्यु भएको हो । सहनीको उपचारको क्रममा वीरगञ्जस्थित नरायणी उपक्षेत्रीय अस्पतालमा आइतबार मृत्यु भएको हो भने परिचय खुल्न नसकेका पुरुषको शव वीरगञ्जको शंकरचार्य गेटदेखि दक्षिण तर्फ फेला परेको हो ।

चिसोमा रातभर खुल्ला आकाशमुनि बसेकाले परिचय नखुलेका व्यक्तिको ज्यान गएको हुन सक्ने आशंका प्रहरीको छ । तर पोष्टमार्टमपछि मात्रै उनको मृत्युको कारण खुल्ने डीएसपी वीरेन्द्र शाहीले बताए ।

अत्याधिक चिसोका कारण कठ्यांग्रिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको मृत्यु भएको वडा अध्यक्ष अस्लम देवानले जानकारी दिए ।

दुई सातादेखि घाम नलागेका कारण मध्य तराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लामा अत्याधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ । चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहल कम देखिएका छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धाहरु चिसोबाट बढी प्रभावित छन् । त्यस्तै बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ ।

वीरगञ्जको रानीघाटस्थित अटोमेटिक वेदर स्टेशनका अब्जर्भर कामेश्वर राउत कम्कडका अनुसार यस क्षेत्रको तापक्रम ६ डिग्रि भन्दा कम छ । वेदर स्टेशनमा बिहान ८:४५ बजे न्यूनतम र बेलुकी ५:४५ बजे अधिकतम तापक्रम मापन गर्ने गरिएको छ । जस अनुसार आइतबार बिहान ७ डिग्री देखिएको छ । बिहान ८:४५ भन्दा अघिको समयमा तापक्रम त्यो भन्दा कम हुने अनुमान उनको छ ।

तराई मधेसका जिल्लामा न्यानो कपडाको अभावमा गरिब विपन्न समुदायमा बढी चिसोको असर देखिने गरेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने उपायका बारेमा जानकारी नहुँदा कतिपयको ज्यान समेत जाने गरेको छ । तर यसवर्ष त्यस्तो घटना भने सार्वजनिक भइसकेको छैन । चिसोबाट बच्न मानिसहरु सार्वजनिक स्थलमा आगो तापेर बसिरहेका छन् ।

जिराभावानी गाउँपालिका ३ परसवाका ६० वर्षीय विश्वनाथ पासवान चिसोले गर्दा निकै कठिनाई भइरहेको बताउँछन् । ‘ जवानी छँदा कुखुरा बास्नु अघि नै धानको बोझा ओसार्न थालिसकेका हुन्थ्यौं, १८ दिनसम्म शीतलहर चल्दा जाडो लाग्दैनथ्यो,’ उनले भने, ‘ अहिले कठ्यांग्रिएर बस्नु परेको छ ।’

चिसोले तराई-मधेसका मुसहर, डोम, चमार लगायतका दलित विपन्न समुदाय बढी प्रभावित हुने गरेको सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका अगुवाहरु बताउँछन् । जाडोबाट बच्न चिसो सुरु अघि नै न्यानो कपडा, आगो ताप्ने दाउराको बन्दोबस्त गर्नुपर्ने हुन्छ । तर दलित विपन्न समुदायले पूर्व तयारी गरेका हुँदैनन् र गर्न पनि सक्दैनन् । किनकी उनीहरुलाई बिहान बेलुका हातमुख जोड्न नै धौधौ हुन्छ । वीरगञ्ज १३ का प्रल्हाद मेस्तर यस वर्षपनि जाडोमा परिवारलाई न्यानो कपडा जोड्न नसकेको बताउँछन् ।

चिसोकै कारण विद्यार्थीको पठन पाठन प्रभावित बनेको छ । बारा-पर्सा अधिकांश पालिकाले विद्यालय बन्द गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका, विन्दबासिनी गाउँपालिका, बाराको कलैया, जितपुर सिमरा उपमहानगरपालिकामा सामुदायिक मात्रै नभएर निजी विद्यालय पनि बन्द छन् ।

शीतलहरबाट कसरी बच्ने ?

हावामा पानीको मात्रा मिलेर गह्रौं हुने हुँदा पृथ्वीको सतहमै जमेर बसिदिने गर्छ । जुन धुवाँ जस्तो देखिन्छ । त्यसलाई कुहिरो भनिन्छ ।  त्यो सँगै चिसो हावा चल्न थालेपछि त्यसलाई शीतलहरु भनिन्छ । शीतलहर नेपालको चुरे पर्वत भन्दा दक्षिणको भागमा पर्ने गरेको छ । यस क्षेत्रमा विशेष गरी पुस र माघ महिनामा चिसो बढी हुने गरेको छ । यसवर्ष पुषको पहिलो साताबाट नै तराईका जिल्लामा चिसो शुरु भएको छ ।

कुहिरो र शीतसँगै चल्ने चिसो हावाका कारण स्थानीयको दैनिकी सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिति घटेको छ । सर्वसाधरणको भिड लाग्ने सरकारी कार्यालयमा समेत चिसोले गर्दा सेवाग्रहीको संख्या पातलिएको छ ।  व्यापारिक क्षेत्रका पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् । खुला स्थानमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेला चालकहरु चिसोका कारण बढी प्रभावित छन् ।

वीरगञ्ज स्थित नारायणी अस्पतालका फिजिसियन एवं पेट रोग विशेषज्ञ डा राकेश झा चिसो बढेका कारण रुघाखोकी, भाइरल फिभर, कोल्ड डायरियाका विरामी अस्पतालमा उपचारका लागि आइरहेको बताउँछन् । ‘ मेडिकल ओपीडिमा दैनिक १ सय जनाको हाराहारीमा विरामी आइरहेका छन्, विरामी संख्या त अन्य समयमा भन्दा निकै कम हो, तर चिसोका कारणले बिरामी हुनेको संख्या बढेको छ,’ डा झाले भने,  ‘ पिसाबमा इन्फेक्सन देखिएर आउने महिला सामान्य भन्दा बढी छन् ।’

अत्याधिक चिसोले मानिसको शरीरमा विभिन्न समस्या आउने हुँदा सतर्क रहनुपर्ने सुझाव उनको छ । ‘ चिसोबाट बच्नका लागि शरीरलाई तातो राख्नुपर्छ, त्यसको नाममा बन्द कोठामा हिटर, आगो बालेर ताप्नु हुन्न । झ्याल खोलेर हावा ओहोरदोहोर गर्न दिनुपर्छ,’ डा झाले भने, ‘ चिसो छ भनेर पानी कम खाने बानी हुन्छ,  त्यसो गरेमा डिहाईड्रेसन हुने संभावना हुन्छ, पानी पर्याप्त पिउनुपर्छ, गर्मी मौसममा जस्तै जुस, फलफुल खानुपर्छ ।’

धेरै मानिस एकै ठाउँमा बस्दा एक अर्काका बीचमा रोगको सक्रमण हुन सक्ने भएकोले सतर्क रहनुपर्ने उनको भनाइ छ ।

वीरगञ्जको नारायणी अस्पताल र निजी अस्पतालहरुमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धाहरु बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकले जनाएका छन् ।

शीतलहरबाट जोगाउने तयारी फितलो

तराई-मधेसमा शीतलहर विपदकै रुपमा आउने गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारले विपद व्यवस्थापनका लागि काम गर्नुपर्ने जिम्मेवारी दिएको छ । जिल्लामा पमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद व्यवस्थापन समिति हुन्छ । तर पर्सामा जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा स्थानीय सरकारका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुले खासै चासो दिएर सहभागी नहुने गरेको पाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा मंसिर २७ गते बसेको बैठकमा पनि १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लाका अधिकांश स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित देखिएका थिए । बैठकमा वीरगञ्ज महानगरपालिका, बहुदरमाई, पर्सागढी नगरपालिका, छिपहरमाई, विन्दबासिनी, जिराभवानी, कालिकामाई र पटेर्वासुगौलीका प्रमुख सहभागी थिएनन् भने बहुदरमाई, कालिकामाई, सखुवाप्रसौनी र पोखरियाका प्रमुख प्रशासकीय अधिकृत मात्रै सहभागी थिए ।

जिल्ला प्रहरी कार्यालय पर्सा मार्फत संकलन गरिएको विवरण अनुसार पर्सामा १ हजार ६ सय २१ घरधुरीका ६ हजार ७ सय ७१ जना संकटापन्न नागरिक छन् । केही स्थानीय तहले अझै संकटापन्न नागरिकको तथ्याङ्क बुझाएका छैनन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले विपद व्यवस्थापन समितिको बैठकमा स्थानीय पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता एकदमै न्यून हुने गरेको बताए । ‘ विपद व्यवस्थापन समितिको बैठकमा पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता खासै देखिँदैनन्, ठाउँ ठाउँमा राहत वितरण भइरहेको छ, समन्वय गरेर मात्रै राहत वितरण गर्न भनेका छौं, तर स्थानीय सरकारले विवरण समेत पठाउँदैनन्,’ बस्नेतले भने, ‘ त्यसैले पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई विवरण सहित आउनु भनेर छुट्टै बोलाएका छौं ।’

मंसिर २७ को विपद व्यवस्थापन समितिको बैठकले शीतलहरबाट पर्न सक्ने जोखिम विश्लेषण, पूर्व तयारी र प्रतिकार्य योजनाका बारेमा निर्णय गरेको छ । बैठकले शंकटापन्न नागरिकका लागि आवश्यक पर्ने कम्बल र म्याट्रेस क्रमश: संघ र प्रदेश सरकारसँग ३ हजार र १ हजार ५ सयको संख्यामा माग गर्ने, जिल्ला प्रशासन कार्यालयभित्र सहायता कक्षको स्थापना गरी तोकिएको न्यूनतम शुल्क लिएर जिल्ला विपद व्यवस्थापन समिति कोषमा जम्मा गर्ने, सोही रकमबाट कर्मचारीको आवश्यक पारिश्रमिक एवं मसलन्द खर्च भुक्तानी गर्ने र बाँकी रकम विपद व्यवस्थापन प्रायोजनका लागि खर्च गर्ने निर्णय गरेको छ ।

बैठकले चिसोबाट प्रभावित क्षेत्रका परिवारका लागि आवश्यक पर्ने इन्धन, न्यानो कपडा, कम्बल लगायतको सामाग्रीको सुरक्षण तथा भण्डारण गरी विपदको समयमा तुरुन्त प्रयोग गर्ने सक्नेगरि व्यवस्था गर्ने, दाउराको प्रबन्ध मिलाउने, औषधी, एम्बुलेन्स र चिकित्सकको व्यवस्था गर्ने, न्यानो रहनका लागि आगोको प्रयोग गर्दा आगलागी, निसास्सिने समस्या आउने हुँदा बच्नका लागि सन्देशमुलक सूचना प्रशारण गर्ने लगायत निर्णय गरेको थियो ।

महानगरपालिका प्रमुख सरावगी भन्छन : किन्नको लागि दाउरा नै पाईंदैन

नगर प्रमुख विजय सरावगी चिसोबाट प्रभावित नागरिकको जीवन रक्षाका लागि महानगरपालिकाले सहयोग गरिरहेको दाबी गर्छन् । सार्वजनिक स्थानमा आगो बाल्ने व्यवस्था मिलाउन प्रत्येक वडामा ३ सय किलोका दरले काठ दाउरा वितरण गरिएको उनको भनाइ छ । ‘ ६ चट्टा दाउरा किनेर वडा मार्फत सार्वजनिक स्थानमा बाल्नका लागि पठाइसकेका छौं, कतिपय वडाले पनि बन्दोबस्त गरेका छन्, केही स्थानीय संघ संस्थाले समेत सहयोग गरेका छन् ।’ उनले भने, ‘ आइतबार बिहान मात्रै रामगढवामा ५१ घर दलित बस्तीमा कम्बल वितरण गरेर आएको छु ।’

तर संघ सरकार मातहत रहेको जिल्ला वन कार्यालय पर्साले काठ दाउरा पर्याप्त बन्दोबस्त नगरेकोमा भने उनी असन्तुष्ट छन् । नगर प्रमुख सरावगीले किन्नका लागि समेत काठ दाउरा पर्याप्त नपाएको गुनासो गरे । ‘ यति ठूलो महानगरपालिका छ, कम्तिमा १ सय चट्टा काठ चाहिन्छ, हामीले किन्नका लागि २५ चट्टा काठ मागेको छौं, तर त्यो पनि पाइरहेका छैनौं ।’ नगर प्रमुख सरावगीले भने, ‘ संघ सरकारले निशुल्क उपलब्ध गराउनुपर्ने काठ दाउरा हामीले खरिद गर्न समेत पाइरहेका छैनौं । अनि कसरी नगरबासीलाई शीतलहरबाट जोगाउने ?’

जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेपनि सोही अनुसार महानगरपालिकाले काम गरिरहेको दाबी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment