+
+

पशुपतिभित्रका अवैध संरचना हटाउन कोषको उर्दी

हटाउन माघ ७ सम्मको समयसीमा, अटेरी गरे कोषले भत्काइदिने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ४ गते ९:४१

४ माघ, काठमाडौं । पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोष कस्सिएको छ । सातदिने समयसीमा तोकेर कोष अवैध संरचना हटाउन कस्सिएको हो ।

पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् । कोषका अनुसार, पशुपतिभित्र व्यापार तथा बसोबास गर्दै आइरहेकाहरूले कोषसँग अनुमति लिनुपर्छ । तर, अधिकांशले अनुमति लिएका छैनन् ।तैपनि उनीहरूले उन्मुक्ति पाउँदै आइरहेका थिए ।

कोषको अनुमतिबेगर निर्माण भएका संरचनाले पशुपति क्षेत्रभिको सौन्दर्यताका साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेकाले त्यसलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

त्यस्तै, पशुपति क्षेत्र बाहिर अतिक्रमण गरेर निर्माण भएको संरचना हटाउन पनि कोषले ताकेता गरेको छ । पशुपति क्षेत्रभन्दा बाहिर कतिपयले निजी क्षेत्र अतिक्रमण गरेर टहरा तथा पाली बनाएका छन् । यसरी बनाइएका संरचनाका कारण पैदल यात्रु निर्वाध हिँड्डुल गर्न सकिरहेका छैनन् । यहीबीच कोषले त्यस्ता संरचना हटाउन पनि आग्रह गरेको हो ।

कोषले आफ्नो क्षेत्रभित्र र बाहिर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माघ ७ गतेसम्मको समय दिएको छ । निर्धारित समयभित्र पनि अटेरी गरेमा आफैंले त्यस्ता संरचना हटाउने चेतावनी कोषले दिएको छ ।

‘आ–आफ्ना घर टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूलसडक तथा सहायक सडकमा हिँड्ने पैदलयात्रुहरूलाई असर पर्नेगरी राखिएका पाली टहरा नहटाएमा प्रचलित कानूनको अधीनमा रही कोष आफैं भत्काउन बाध्य हुने व्यहोरा जानकारी गराइन्छ,’, कोषद्वारा जारी सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?