+
+

श्रीमती हुँदाहुँदै बालविवाह गर्न खोज्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १८:२६
Photo Credit : गणेश साह र केटीको बुवा ।

९ माघ, वीरगञ्ज । प्रहरीले बारामा १६ वर्षकी किशोरीसँग विवाह गर्न लागेका युवकलाई पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिका–८ धर्मपुरका ३० वर्षका गणेश साह कलवारलाई पक्राउ गरेको हो । त्यस्तै १६ वर्षकी किशोरीको विवाह गराइदिन लागेका उनका बुवालाई नियन्त्रणमा लिएको हो । किशोरीलाई पनि प्रहरीले नै संरक्षणमा राखेको छ ।

महागढीमाई–१ स्थित गढीमाई मन्दिरको परिसरबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।, कलवारले जेठी श्रीमती हुँदाहुँदै १६ वर्षकी किशोरीसँग विवाह गर्न लागेकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । ‘मन्दिर परिसरमा बाल विवाह हुँदैछ भन्ने जानकारी आयो, त्यसपछि गएर उनीहरुलाई नियन्त्रणमा लिएर आएका हौं’ उनले भने ‘कलवारले घरमा श्रीमती हुँदाहुँदै बालिकासँग विवाह गरेका रहेछन् ।’

किशोरीलाई उनकै बुबा र युवक गणेशले फकाई फुलाई गरी बिवाह गर्न बाध्य बनाएको तथ्य प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी मिश्रको भनाइ छ । गणेशको जेठी श्रीमतीले कारबाहीका लागि उजुरी समेत दिएकी छन् ।

उनीहरु दुवै जनालाई बहुविवाह तथा बालविवाह उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जनाएको छ ।

के हुन्छ कारबाही ?

मुलुकी संहिताको दफा १७१ मा विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी विना कसैले कसैलाई विवाह गर्न वा गराउन नहुने भनिएको छ । कसूर गर्ने व्यक्तिलार्ई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ । २० वर्ष उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी नमानिने पनि उल्लेख गरिएको छ ।

दफा १७३ मा बीस वर्ष नपुगी गरिएको वा गराइएको विवाह पनि स्वतः बदर हुने उल्लेख छ । कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुन्छ । दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहँदै अर्को विवाह गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?