
२६ फागुन, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा आएको मिस वर्ल्ड को टोली शनिबार फर्कियो । आगामी मिस वर्ल्ड नेपालमा गर्न इच्छा व्यक्त गरे पनि सरकारसित कुनै ठोस समझदारी नगरी टोली फिर्ता भएको हो ।
मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस वर्ल्ड टोनी एन सिंहसहितको टोलीलाई मिस नेपालको आयोजक संस्था हिडेन ट्रेजरले नेपाल ल्याएको थियो । उनीहरु मकवानपुर र हेलम्बुसम्म पुगेर पूर्व मिस नेपाल श्रृंखला खतिवडा र हालकी मिस नेपाल अनुष्का श्रेष्ठको प्रोजेक्ट अवलोकन गरेका थिए ।
त्यसअघि उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग शिष्टाचार भेटघाट गर्दै नेपालमा मिस वर्ल्ड आयोजना गर्न सकिने विषयमा छलफल गरेका थिए ।
पर्यटन सचिव केदारबहादुर अधिकारीले फर्किनुअघि मिस वर्ल्डको टोलीसँग संवाद नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हिडेन ट्रेजरसँग उहाँहरुको थप कुरा भयो कि ? सरकारसँग चाहिँ छलफल अघि बढेको छैन ।’
पर्यटनमन्त्रीसँग मिस वर्ल्डको टोलीले गरेको भेटघाट ‘शिष्टाचार’ का लागि मात्रै भएको अधिकारीले बताएका छन् ।
‘नेपाल आएको बेलामा भेट गर्ने इच्छा उहाँहरुले राखेपछि मन्त्रीज्यू पनि तयार हुनुभयो । त्यसमा उहाँहरुको तर्फबाट मिस वर्ल्ड नेपालमा गर्न सकिने आशय प्रस्तुत हूँदा मन्त्रीज्यूले पनि सरकारबाट सकेको सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । यो एकदमै प्रारम्भिक कुराकानी भएकाले दुवैतर्फबाट कुनै प्रस्ताव पेश भएको छैन,’ अधिकारीले भने ।
हिडन ट्रेजरका प्रमुख गोपाल कक्षपतिले भने मिस वर्ल्डको टोलीले काठमाडौंको ‘लोकेसन’ मन पराएको बताए । आगामी दिनमा सरकार र मिस वर्ल्ड आयोजकबीचको कुरानकानीमा हिडन ट्रेजरले मध्यस्थता गर्ने उनको भनाइ छ ।
‘काठमाडौंमा मिस वर्ल्ड गर्ने विषयमा उहाँहरु एक्साइटेड देखिनुभएको छ, अब यो हिडन ट्रेजरले सरकार र आयोजक संस्थाबीच संवाद अघि बढाउने छ,’ कक्षपतिले भने, ‘नेपालमा मिस वर्ल्ड आयोजना गर्न सम्भव छ र गर्नुपर्छ भन्ने पक्षमा हामी छौं ।’
७० औं मिस वर्ल्डको मिति र स्थान अहिलेसम्म तय भएको छैन । तर, डिसेम्बरभित्रमा यसको आयोजना गर्नुपर्छ । त्यसैले यसका लागि बढीमा ९ महिना समय बाँकी छ । पर्यटन सचिव अधिकारी मार्चभित्रै टुंगो लागेमा मात्रै मिस वर्ल्ड नेपालमा गर्न सकिने सम्भावना रहेको बताउँछन् ।
‘मुख्य कुरा उहाँहरुको इच्छा हो । हाम्रो तर्फबाट आवश्यक सहयोग हुन्छ भनेका नै छौं । उहाँहरुले मार्चभरिमा निर्णय दिएमा मात्रै यसको आयोजना नेपालमा गर्न सकिने सम्भावना रहन्छ,’ उनले भने ।
मिस वर्ल्ड आयोजना गर्न सबैभन्दा पहिलो चुनौती आयोजनास्थलकै हुने बताउँछन्, हिडन ट्रेजरका कक्षपति । विश्वका सयौं पाहुना सहभागी हुने कार्यक्रमका लागि ठूलो क्षेत्रफलमा फैलिएको आयोजनास्थल नेपालमा छैन । तर, पनि अस्थायी संरचना बनाएर कार्यक्रम गर्न सकिने उनको राय छ ।
‘हालै काठमाडौंमा हामीले विभिन्न देशका हजारौं खेलाडी भेला गराएर साग प्रतियोगिता सफल रुपमा सम्पन्न गर्यौं । मिस वर्ल्ड पनि गर्न नसक्ने भन्ने नै छैन । यसमा म कुनै ठूलो चुनौती देख्दिनँ,’ उनले भने ।
मिस वर्ल्ड नेपालमा आयोजना हुँदा नेपालको पर्यटन प्रवद्र्धन हुने मात्र नभएर विश्वस्तरमा नेपालको छवि बदलिन सक्ने उनको दावी छ ।
‘टेलिभिजनमा विश्वका पचासौं करोड मानिसहरुले मिस वर्ल्ड प्रत्यक्ष हेर्छन् । उनीहरुले नेपाललाई चिन्ने छन् । हामीले मिस वर्ल्डका सहभागीलाई विभिन्न पर्यटकीय गन्तव्यहरुमा पुर्याएर हामीले आफ्नो पर्यटन क्षेत्रको कायापलट गर्न सक्छौं,’ उनले भने ।
यता सरकार भने यसअघि आईफा अवार्डको तीतो अनुभवले गर्दा मिस वर्ल्ड आयोजनामा तत्परता देखाउन हच्किएको छ । भारतीय फिल्म अवार्ड आईफालाई नेपाल सरकार आयोजक बनेर काठमाडौंमा आयोजना गर्ने तयारी हुँदा तीव्र विवाद उत्पन्न भएको थियो । अन्ततः सरकार यसबाट पछि हटेको थियो ।
तर, आईफा र मिस वर्ल्ड निकै फरक इभेन्ट भएको बताउँछन् कक्षपति ।
‘यो विश्वभरिका देशले भाग लिने इभेन्ट भएकाले विवाद हुने वा गर्नुपर्ने प्रश्नै आउँदैन,’ उनले भने । साथै आयोजनाको सम्पूर्ण खर्च नेपालले बहन गर्नु पनि नपर्ने कक्षपतिको भनाइ छ ।
‘मिस वर्ल्डमा आउने सहभागीहरुको हवाई टिकट सम्बन्धित देशका संस्थाले नै बहन गर्छन् । उनीहरु हाम्रो एयरपोर्टमा उत्रिएपछि मात्रै नेपाल सरकारको जिम्मेवारी हुन्छ । समारोहमा लाग्ने खर्च आयोजककै हुन्छ,’ उनले भने । सहभागीहरुलाई नेपालका पर्यटकीय गन्तव्यहरुमा पुर्याउन सरकारले खर्च गर्नुपर्ने उनी बताउँछन् ।
‘यो नेपालका लागि दीर्घकालीन फाइदाको कुरा हो । अहिले थोरै खर्च गर्दा लामो समय यसबाट फाइदा लिन सकिन्छ,’ उनले भने, ‘भिजिट नेपाल मनाइरहँदा यसलाई सफल पार्न पनि यस्ता इभेन्ट जरुरी छन् ।’
प्रतिक्रिया 4