Comments Add Comment

कोसी अस्पतालमा ६ शैय्याको आइसोलेसन वार्ड तयार

५ चैत, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका बिरामीलाई विषेश निगरानीमा राखेर उपचार गराउन विराटनगरस्थित कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ ।

प्रदेश सरकारको सहयोगमा कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार गरिएको अस्पतालका डा डेनप्रसाद आर्चायले बताए ।

तीनवटा कोठामा दुई/दुई वटा वेड गरी १२ जनासम्म बिरामी राखेर उपचार गर्न मिल्ने गरी आइसोलेसन वार्ड तयार गरिएको उनले बताए । जसकालागि छुटै १० जनाको चिकित्सको टिम उपचारमा खटिने उनले बताए ।

‘कोरोना संक्रमणको आशंकामा भर्ना भएका बिरामीलाई उपचार गर्ने गरी आइसोलेसन वार्ड तयार पारिएको छ,’ डा आर्चायले भने, ‘अवश्यक जनशक्ति र उपकरणको पनि व्यवस्था मिलाएका छौं ।’

प्रदेश १ सरकारले दुई साताअघि कोरोनाका शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न कोसीसहितका चार वटा अस्पतालमा आइसोलेसन वेड तयार गर्ने घोषणा गरेको थियो । जसमा कोसीसहित नोवेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी २८ शैयाको आइसोलेसन वार्ड तयार गर्ने घोषणा गरेको थियो ।

सुरक्षाको चिन्ता

आइसोलेसन वार्ड तयार भएसँगै चिकित्सकहरुले आफनो सुरक्षाबारे चिन्ता व्यक्त गर्न थालेका छन् ।

आइसोलेसन वार्डमा खटिने चिकित्सकले व्यक्तिगत सुरक्षाका लागि प्रयोग गरिने सामाग्रीहरु (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, पीपीई) प्रर्याप्ता नहुँदा उनीहरुमा जोखिम बढने चिन्ता बढाएको हो ।

‘कोरोना संक्रमितिको आशंका गरिएको विरामीको परिक्षणमा खटिन चिकित्सको टोलीका लागि व्यक्तिगत सुरक्षा प्रणालीमा लागि आवश्यक उपकरण, बस्तुको अभाव छ,’ कोसी अस्पतालकी मेसु डा संगीता मिश्रले भनिन्,‘पीपीईमा गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चश्मा, मास्क, पञ्जा, बुट लगायतका सामग्री हुन्छन् । यो एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्दैन ।’

कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्नका लागि नमूना संकलन गर्दा पनि स्वास्थ्यकर्मीले पीपीई लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डमा उल्लेख छ ।

उनले अस्पतालमा थोरै मात्रामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, पीपीइए भएकाले थप आवश्यक सामाग्री प्रदेश सरकारसँग माग गरिएको पनि जानकारी दिइन् ।

पूर्वी नेपालका सबै नाकामा कडाइ

प्रदेश सरकारले स्थानीय तहसंगको समन्वयमा नेपालको मुख्य पूर्वी प्रदेशद्धार कांकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर र झापाको भद्रपुरमा विषेश निगरानीको थालेका जनाएको छ । ती प्रवेशद्वारहरुमा सहायता कक्ष समेत स्थापना गरिएका छन् ।

नाकाबाट नेपाल भित्रिने भारतीय वा नेपाली नागरिकको निगरानी र शंका लागेमा उनीहरुलाई आवश्यक स्वास्थय परीक्षण गरिने प्रबन्ध मिलाइएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

‘तीन तहको सरकारबीच आवश्यक समन्वय गरी कोरोनाप्रति उच्च सतकर्ता अपनाउन तीन तहका समयन्त्र परिचालन गरी नाकामा कडाइ गर्ने कार्यमा हामी जुटेका छौं,’ मन्त्री घिमिरेले भने, ‘नाकादेखि लिएर विमानस्थलमासम्म आवश्यक उच्च सतर्कता अपनाउने काममा कुनै कमीकमजारी गरिएको छैन ।’

मन्त्री घिमिरेले कुनै व्यक्तिलाई कोरोना संक्रमणको आशंका लागेमा तत्काल अस्पतालसम्म पुर्‍याउन स्टेनबाई एम्बुलेन्सको व्यवस्था समेत गरिएको बताए । उनले कोरोना सक्रमितको आशंका गरिएको व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको समेत जानकारी दिए ।

त्यसैगरी प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा सम्भावित जोखिम नियन्त्रणका लागि मोरङको टाँडी र सुनसरीको श्रीलका टापुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थापना गर्ने कामपनि अघि बढाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment