Comments Add Comment

कोरोनाको महामारीमा घरेलु हिंसा, बेलैमा सचेत बनौँ

इटालीमा महिला हिंसा निराकरणका लागि काम गर्ने अभियन्ता लेला पालादिनोका अनुसार त्यहाँ एकजना महिला घरेलु हिंसाको यो हदसम्म शिकार भइन् कि उनी न बाहिर निस्किन सकिन्, न त फोन गरेर उजुरी दिन । असह्य भएपछि बाथरुमको ढोका बन्द गरी सहयोग गरिदिन याचना गरिन् ।

स्पेनस्थित भेलेन्सिया प्रान्तमा एक महिला घरेलु हिंसाबाट जोगिन सकिनन्। श्रीमानले उनका बच्चाहरुकै सामु हत्या गरिदिए ।

लैङ्गिक हिंसा अहिले पनि एउटा विश्वव्यापी महामारी हो। यो कुनै पनि किसिमको विपदका समयमा झनै गंभीर रुपमा प्रकट हुने गर्दछ ।

नेपालमा पनि लकडाउनका बेला यस्तै घटना यसै महिनामा घटेका छन् । घरेलु हिंसाबाट दुई महिलाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस पर्सामा जलाउँदै गरेको शव नियन्त्रणमा, हत्या आशंकामा सासूससुरा पक्राउ

२०७२ सालको महाभूकम्पका समयमा नेपालमा यसको बिकराल प्रकटरुप हामीले अनुभव गरेकै हो । अहिले विश्व कोभिड १९ नामको एउटा अदृश्य भाइरसका कारण अकल्पनीयरुपमा आक्रान्त छ । डब्ल्युएचओले यसलाई मानवजातिका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो संकटको रुपमा उल्लेख गरेको छ ।

हामी सबैले कुन मुलुकमा कति मानिस यसबाट प्रभावित भए‚ कतिको ज्यान गयो‚ विश्व अर्थ व्यवस्थामा यसले कस्तो प्रभाव पार्छ‚ अबको विश्वको अवस्था कस्तो हुनेछ भन्ने आँकलनमा व्यस्त छौं ।

तर, यो महामारीले हाम्रो घरभित्र के गरिरहेको छ‚ विश्वमा स्थायी महामारीको रुपमा रहेको घरभित्र हुने लैङ्गिक हिंसामा झन कति कहर थपेको छ भन्ने बारेमा सम्बन्धित केही अभियन्ताहरु त सकृय भएका छन् । तर, सरकारहरु र यो समस्यालाई सम्वोधन गर्न कृयाशील जिम्मेवार निकाय र समुदायले यसलाई ध्यान दिएको देखिँदैन ।

सामाजिक समस्याको समाधान नगरिएसम्म कुनै पनि राजनीतिक वा आर्थिक ढाँचाले काम गर्न सक्दैन । यो कोरोना महामारीले हाम्रो विद्यमान महामारी घरेलु हिंसालाई जसरी थप भयाभह बनाउँदैछ । यसलाई समयमा नै सोचिएन र सम्वोधन गरिएन भने हामी भोलि यो कोरोना महामारीबाट त मुक्ति पाउँला, तर यसले समाजमा छोडेर जाने भयाभह सामाजिक प्रभाव अकल्पनीय हुनेछ भन्ने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गर्नु नै यो लेखको अभिप्राय हो ।

कुनै पनि विपत्तिको समयमा घरेलु हिंसा बढी हुने विश्वव्यापी अनुभवको सन्दर्भमा यो विपदको प्रकृतिका कारण पनि यो झनै गम्भीररुपमा प्रकट हुन सक्ने भएकाले नीति निर्माता मात्र होइन, सबै सामाजिक अभियन्ता र समाचार माध्यमहरुका पनि यसमा ध्यान जाओस् भन्ने पनि यो लेखाइको उद्देश्य हो ।

यो पनि पढ्नुहोस लकडाउनमा घरेलु हिंसा, लुटपाट र साइबर अपराधको जोखिम

घरेलु हिंसा मूलतः घरभित्र हुन्छ । कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिएको छ । विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको छ । बासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको छ । पुरुषले कमाउने महिलाले पुरुषको सेवा गर्ने र बच्चाबच्चीहरुको रेखदेख गर्ने र त्यही अर्थमा घर चलाउने भन्ने हाम्रो र हाम्रोजस्तै सामाजिक सोंच संरचना भएका विश्वका सबैजसो मुलुकमा घरको कथित मुखिया पुरुष बाध्यताबस घरमा बस्नुपर्दाको अवस्थामा महिलामाथिको हिंसा झनै बढ्ने कुरा स्वतः अनुमान गर्न सकिन्छ ।

हुन त लैंगिक वा घरेलु हिंसाले पुरुषबाट महिला वा महिलाबाट पुरुष उपर हुने दुबै प्रकारका हिंसालाई बुझाउँछ । तर, घरभित्रको शक्ति संरचनामा जो हावी छ‚ उसले नै हिंसा गर्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि यो सन्दर्भमा पनि घरेलु हिंसा भन्नाले महिलाउपर हिंसा नै गम्भीर हो । माथिका प्रतिनिधि तीनवटै घटना महिलामाथि भएका घटनासँगै सम्बन्धित छन् ।

यो महामारीमा भएका घरेलु हिंसाको यथोचित रिपोर्टिङ्ग भएको छैन । यसै पनि घरेलु हिंसाका घटना अत्यन्त कममात्रै जानकारीमा आउँछन् । त्यसमाथि सबैलाई घरभित्रै बस्नु भनेको समयमा यसको रिपोर्टिङ्ग अत्यन्त न्यून हुने कुरा स्वतः अनुमान गर्नुपर्ने हुन्छ ।

तथापि अष्ट्रेलिया, ब्राजिल, अमेरिका, फ्रान्सलगायत विभिन्न मुलुकमा घरेलु हिंसाका घटना बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । यो महामारी अलि मत्थर भएपछि धेरै घटना सार्वजनिक हुनेछन् ।

अहिलेसम्म सार्वजनिक भएकै आधारमा अमेरिका र बेलायत जस्ता विकसित देशमा पनि उत्पीडनमा परेका महिलाहरुले फोनबाट उजुरी दिइरहेका सूचना सार्वजनिक भएका छन् ।

स्पेनमा घरेलु हिंसाबारे उजुरी दिने सरकारी हेल्पलाइनमा आएका उजुरी संख्या झण्डै तीन सय प्रतिशतले बढेको छ भने सम्बन्ध बिच्छेदका मुद्दा ३० देखि ४० प्रतिशतले बढेको छ ।

फ्रान्समा लकडाउनमा घरेलु हिंसा ३२ प्रतिशतले बृद्धि भएको छ भने राजधानी पेरिसमा मात्र ३६ प्रतिशतले वृद्धि भएको छ । चीनको हुवेइमा अघिल्लो बर्ष जम्मा ४७ वटा घरेलु हिंसाका घटना भएकोमा लकडाउनको अवधिमा १ सय ६२ पुगेको छ ।

साइप्रसमा यस्ता उजुरी ३० प्रतिशतले बढेको छ । अमेरिकामा दैनिक २ हजार घरेलु हिंसाका उजुरी फोन मार्फत आइरहेका छन् जसमध्ये ९ सय ५० घटना कोरोना भाइरस संक्रमणपछि आएको दी गार्जियनले लेखेको छ ।

युरोन्युजका अनुसार युरोपमा उच्च दरमा घरेलु हिंसा हुने फ्रान्समा बर्षेनी करिव २ लाख १९ हजार जना १८ देखि ७५ बर्षभित्रका महिला आफ्नो पति वा पूर्वपतिबाट शारीरिक वा यौनिक हिंसामा पर्छन् । तर, जम्मा २० प्रतिशतले मात्रै उजुरी गर्छन् ।

फ्रान्समा हरेक तीन दिनको बीचमा एकजना महिलाको पति वा पूर्वपतिबाट हत्या हुने गरेको तथ्यांकसमेत छ । हजारौं मानिसले ज्यान गुमाएको र लाखभन्दा बढी मानिस आक्रान्त भएका फ्रान्स, जर्मनी लगायतका मुलुकमा यो बीचमा घटेका घरेलु हिंसाको तथ्यांक सार्वजनिक हुँदा त्यो कहालीलाग्दो हुने निश्चित छ ।

हाम्रै छिमेकी मुलुक भारतमा राष्ट्रिय महिला आयोगको तथ्यांकअनुसार लकडाउन शुरु भएको एक हप्तामै इमेलबाट २ सय ९१ वटा उजुरी परेका थिए । यस्तो उजुरी फेब्रुअरी महिनाभर जम्मा २ सय ७० वटा थियो । मार्च पहिलो साता १ सय मात्र उजुरी परेकोमा अन्तिम साता २ सय ६० उजुरी परेको थियो ।

विकसित मुलुकहरु अझ सामाजिक सुरक्षाका दृष्टिले राम्रो प्रबन्ध भएका मुलुकमा घरेलु हिंसामा उजूर गर्ने र त्यसलाई दण्डित गर्ने कुरामा बढी प्रभावकारी प्रबन्ध रहेका छन् । सोबमोजिम फ्रान्समा, महिला घरेलु हिंसामा परेको उजुरी दिएमा र घरमा बस्न नसक्ने अबस्था भएमा होटेलमा बस्ने व्यबस्था गरिने र उक्त खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।

यसरी घरेलु हिंसाविरुद्ध गरिने खर्चमा ११ लाख डलर खर्च थप गरिएको छ । स्पेनमा पहिलेदेखि नै यस्तो व्यवस्था थियो भने जर्मनीमा पनि ’सेफ हाउस’को व्यवस्था गरिएको छ । इटालीमा त घरेलु हिंसा गर्ने ब्यक्तिले घर नै छोड्नुपर्ने व्यवस्था छ ।

धेरै देशले क्वारेन्टाइन र लकडाउनको विशेष परिस्थितिमा घरेलु हिंसालाई रोक्न विशेष कानुनी व्यवस्था समेत गरेका छन् । बेलायतमा विशेष प्रहरीको व्यवस्था गरिएको छ भने यस्ता उजुरी र अदालती प्रक्रियामा लाग्ने शुल्क छुट गरिएको छ ।

भारतको उत्तर प्रदेश सरकारले ’कोरोनालाई दवाऔं, आवाजलाई होइन’ नारासहित विशेष हेल्पलाइन शुरु गरेको छ । यसको सुनुवाइ पनि महिला प्रहरी अधिकृतले गर्ने व्यवस्था गरिएको छ ता कि महिलाहरुलाई कुरा गर्न सजिलो होस् ।

नेपालमा घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरु बढेको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालय अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी प्रहरी नायब उपरीक्षक दीप्ति कार्कीले बीबीसी नेपाली सेवालाई बताएअनुसार प्रहरीमा बर्सेनी दर्ता हुने मुद्दामध्ये ४० प्रतिशत लैङ्गिक हिंसासँग सम्बन्धित भएको कुराले पनि यो कुरा पुष्टि गर्छ ।

कार्कीको भनाइमा यसको ठूलो हिस्सा घरेलु हिंसाले ओगट्छ । ९० प्रतिशत घरेलु हिंसा श्रीमान् र श्रीमतीबीच हुने गर्छ । लकडाउनको अवस्थामा मानिसहरू घरभित्रै बस्न बाध्य भएर रिपोर्टिङ नभएको हुन सक्ने कार्कीको भनाइ छ । पछिल्ला दिनहरुमा घरेलु हिंसाका घटनामा उजूर गर्ने कुरा बढेको कुराले पनि तथ्यांक प्रभावित भएको होला । तर, संख्या बढ्ने कुराले हिंसा कम नभएको कुरा भने स्वाभाविक रुपमा पुष्टि गर्छ ।

हाम्रो पुरुष प्रधान सामाजिक शक्तिसम्बन्ध‚ परिवारमा महिलाको स्थान‚ उजुरीलाई सामाजिक प्रतिष्ठासँग जोडेर यसलाई भित्रभित्रै सामसुम पारिने प्रवृत्तिको कारण घरेलु हिंसाका घटनाको वास्तविक संख्या र उजुरीमा धेरै ठूलो अन्तर रही आएकै हो । करिव ७० प्रतिशत घटना घरभित्रै सामसुम पारिने गरेको अनुमान पनि छ ।

ओएचसीएचआरको घरेलु हिंसासम्बन्धी एउटा अध्ययनले शारीरिक वा यौन हिंसा खेप्ने मध्ये ६६ प्रतिशत महिलाहरूले सहयोगको खोजी नगरेको देखाएपछि नेपालमा घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रणको क्षेत्रमा उच्च दण्डहीनता रहेको निश्कर्ष निकालेको थियो ।

अघिल्लो आर्थिक वर्ष करिव तीन हजारको संख्यामा बलात्कार तथा बलात्कारको प्रयास, झण्डै १५ हजार घरेलु हिंसा र २ सय ११ वटा बाल यौन दुर्व्यवहारका उजुरी परेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयसँग छ ।

राष्ट्रिय महिला आयोगका अनुसार लकडाउनपछि २५० वटा उजुरी परेका छन् जसमध्ये ६९ वटा उजुरी घरेलु हिंसाका छन् र यो संख्या बढ्दो क्रममा छ ।

नेपाल घरेलु हिंसा धेरै हुने देशमा पर्ने भएकाले लकडाउनका बेला यस्तो हिंसा झन बढेर गइरहेको हुन सक्ने स्वाभाविक अनुमान गर्नुपर्ने हुन्छ । राष्ट्रिय महिला आयोगको माथिको संख्या नगण्य हुन सक्छ । समयसंगै धेरै घटना बाहिर आउने पक्का छ ।

किनकि लकडाउनको बिशेष परिस्थितिमा महिलाहरुलाई कामको बोझ थपिएको छ । घरको “मुखिया” पुरुषको बाह्य स्वच्छन्दतामा ठूलो अंकुश लागेको छ । उसले आफ्नो त्यो फ्रस्टेसन घरमा महिलाउपर प्रकट गरेको हुन सक्छ । सबैभन्दा ‘सुरक्षित’ हुनुपर्ने आफ्नै घर पनि कतिपय अवस्थामा महिलाका लागि ‘यातनाकेन्द्र’ बनिरहेको र महिला तथा बालबालिकाहरु चुपचाप घरेलु हिंसा सहन बाध्य भएका हुन सक्छन् ।

लकडाउनको अबस्थामा एक त घरबाट बाहिर निस्कनै नपाउने र बाहिर निस्के पनि सम्बन्धित निकायमा यो विषयले प्राथमिकता नपाउने कारण अहिले उजूरी नपरेका हुन सक्छन् । समयसँगै यी प्रकट हुनेछन् । प्रकट हुँदा दोषीलाई सजायँ दिने वा पीडितलाई सजाय दिने विषय होला तर, त्यसले यसबीचमा यसका कारण पीडित हुने बालबालिका र सामाजिक विघटनको समस्या झनै डरलाग्दो हुनेछ । त्यसैले यसलाई स्रोतमै सम्वोधन गर्न आवश्यक छ ।

नेपालमा यो कोरोना महामारीलाई ‌औपचारिक रुपमा विपदका रुपमा घोषणा नगरिए पनि विपदकै जस्तो व्यवस्थापन विधि अपनाइएको छ । विपद् व्यवस्थापनमा महिला र बालबालिकाको विषयलाई अलग क्लष्टर मानी व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अहिले पनि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई महिला, बालबालिका र जेष्ठ नागरिकहरुको अवस्थाको विषयमा जानकारी लिन र समन्वय गर्न जिम्मेवारी दिइएको छ ।

तर, क्वारेन्टाइन वा लकडाउनका अवस्थामा माथि भनिएका बिभिन्न कारणले विशेषरुपमा सम्वोधन गरिनुपर्ने कुरामा छुट्टै नीतिगत वा संरचनात्मक व्यवस्था भएको छैन । यो तत्काल आवश्यक छ । यसका लागि पहिलो त क्वारेण्टाइन वा लकडाउनका समयमा बढी घरेलु हिंसा हुन सक्ने‚ यसबाट महिला र बालबालिका बढी प्रभावित हुन सक्ने कुराको व्यापक प्रचार प्रसार हुन आवश्यक छ ।

हिंसा हुनासाथ उजुरी दिने, उजुरीकर्तालाई शारिरिक तथा मानसिक सुरक्षा दिने, तत्काल क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्ने नीतिगत र संस्थागत व्यवस्था हुनु जरुरी छ ।

कोरोनाको जोखिमले निम्त्याएको लकडाउनको परिस्थितिमा जोखिममा रहेका महिला, बालबालिका वा ज्येष्ठ नागरिक सहितलाई लक्षित गरी प्रहरीले अनलाइनबाट पनि उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

प्रहरीको यो कदम शहरी क्षेत्रमा प्रभावकारी हुन सक्ने देखिए पनि ग्रामिण क्षेत्रमा भने प्रभावकारी हुन सक्दैन । नेपाल प्रहरीले घरेलु तथा लैङ्गिक हिंसा सहित कुनै पनि अपराधका बारेमा प्रत्येक जिल्लामा १०० र बालहिंसाका बारेमा १०४ नम्बरमा टेलिफोन गरेर जानकारी दिन सकिने उल्लेख गरेको छ । यसको प्रयोग र प्रभावकारिताको समीक्षा जरुरी छ । १०० मा फोन ग¥यो भने प्रहरीको प्राथमिकता अहिले अरु नै बिषयमा बढी केन्द्रित छ, जुन स्वाभाविक जस्तो देखिन्छ ।

राष्ट्रिय महिला आयोगको हटलाइन ११४५ मा महिला हिंसा सम्बन्धी उजुरी गर्न सक्ने व्यवस्था छ र यसमा यो कोरोना केन्द्रीत उजूरीहरुका लागि छुट्टै थप प्रबन्ध गर्ने बारेमा सोच्नु आवश्यक छ । स्थानीय तहमा उजुरी गर्न सक्ने व्यवस्था छैन । यसमा स्थानीय तहले अग्रणी भूमिका निर्वाह गर्न सक्छन् । उनीहरुलाई यो भूमिका निर्वाह गर्न निर्देशित गर्नु आवश्यक छ ।

महिलाकै विषयलाई उठान गर्ने ध्येयले सञ्चालित एनजीओ÷आइएनजीओको भूमिका सचेतनता अभिवृद्धि र नागरिक खबरदारीका दृष्टिले अग्रणी हुनुपर्नेमा सो अनुरुप हुन सकेको देखिएको छैन । सञ्चारमाध्यमहरुले संक्रमित कति भए‚ कतिको ज्यान गयो‚ कति पीपीई वा मास्क बाँडिए भन्ने कुराको समाचारलाई मात्रै प्रधानता दिएका छन् । सरकारले यस्ता संस्था‚ सञ्चारमाध्यम र स्थानीय तहसमेतको सहभागितामा यससम्बन्धी विशेष संरचनासहितको कार्यक्रम लागू गर्नुपर्छ ।

घरेलु हिंसाबाट पीडित परिवार सुरक्षित परिवार मानिन्न । असुरक्षित परिवारले सुरक्षित समाज बन्दैन र असुरक्षित समाजले सम्बृद्ध मुलुक बन्दैन । परिवार सुरक्षित गर्न लकडाउनको पूर्ण पालना गरौं । तर, त्यसो गर्दा कुनै किसिमले पनि घरेलु हिंसा नगरौं । कसैले ग¥यो भने पनि नसहौं । हिंसा पीडित समाजबाट सभ्य र समृद्ध समाज कदापि बन्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment