+
+

‘हिँडेर पनि गाउँ जान पाइएन, काठमाडौंमा कसरी बसौं ?’

प्रहरी पनि अलमलमा, मानवीयता हेर्ने कि कानून ?

रोयल आचार्य रोयल आचार्य
२०७७ वैशाख ३ गते ९:५५

३ वैशाख, काठमाडौं । ‘तपाईंको पनि त परिवार होला, तपाईं मेरो ठाउँमा उभिएर हेर्नोस् न’ ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई एक युवकले भने ।

‘तपाईं पनि मेरो ठाउँमा उभिएर हेर्नोस्, मैले यहाँ छाडे पनि अगाडिबाट जान पाउनुहुँदैन’ प्रहरी हवल्दारको जवाफ ।

युवक फेरि बोले, ‘खानै नपाएर मर्ने कुरा त भएन नि, कमसेकम खान पाउने ठाउँसम्म त जान दिनू ।’

यो दृश्य बुधबार बिहान काठमाडौं, जडिबुटीको हो । बिहान ५ः३० बजे सडकमा प्रहरी र युवकवीच यस्तै बादविवाद चलिरहेको थियो ।

काँधमा  झोला र साथमा बच्चा लिएर आएकाहरु पनि थिए । सबै काठमाडौं छाडेर पैदलै गाउँ हिँडेका रहेछन् ।

तर, प्रहरीले उनीहरुलाई जडिबुटीबाट अघि बढ्न दिएनन् ।

‘हिजो पनि मान्छे गइरहेका छन्, मेरै साथी पनि कति गइसके, मलाई आज किन रोकेको ?’ युवा केही आक्रोशित बन्न खोजे ।

प्रहरीले भने सकेसम्म सम्झाई बुझाई गर्दै उनीहरुलाई फर्कन आग्रह गरे । ‘हाम्रो पनि ड्युटी हो, कसैलाई दुःख दिने मन होइन’ त्यहाँ भेेटिएका सुरक्षाकर्मीले भने, ‘उहाँहरु मैले व्यक्तिगत रिसले रोकेको झैँ गर्नुहुन्छ, कुरा बुझ्नुहुन्न ।’

झोला बोकेर आउने क्रम चलिरहेको थियो । प्रहरीले सम्झाएपछि धेरै त जुन बाटो आए, त्यही बाटो फर्किहाले । कोहीचाहिँ केहीबेर पछि प्रहरीले जान दिन्छ कि भन्ने आशले सडक पेटीमा झोक्राएर बसे ।

प्रहरी हवल्दारसँग हारगुहार गर्ने युवक पनि त्यही आशमा प्रतिक्षालयमा बसिरहे । उनीसँगै २ बालक पनि थिए ।

हामीले उनको परिचय माग्यौं ।

‘नाम विमान राई, अहिले काभ्रे हिँडेको ।’

‘अनि यी बाबुहरु …..?’

‘उनीहरु घर हिँडेका, मामा फुपूका छोरा हुन् ।’

विमानले हामीलाई थप प्रष्ट पार्न खोजे, ‘दुई बालकमध्ये एकजना ६ वर्षका प्रताप घिसिङ र अर्का १२ वर्षका अश्विन खत्री रहेछन् । ‘अश्विनका बाबा काभ्रेमा हुनुहुन्छ, प्रतापकी मम्मीचाहिँ सामाखुशीमा…।’

हाम्रो चासो- बाबा काभ्रेमा भएका बालक किन काठमाडौं आएका थिए ? अनि मम्मी काठमाडौंमै भए प्रतापलाई किन काभ्रे जानुपर्‍यो ?’

प्रताप र अश्विन दुवै जना सँगै बस्ने रहेछन् । प्रतापकी आमा काठमाडौंमै ज्याला मजदूरी गर्ने । बुवाले चाहिँ छाडेर हिँडेका रहेछन् । अश्विनका बुवा प्रतापका मामा रहेछन् । आमा ज्याला मजदूरी गरेर काठमाडौंमा बस्ने, अनि बाबा नभएका कारण मामाघरमा बसेर पढ्दै आएका प्रताप कक्षा एकको वार्षिक परीक्षा दिएर मम्मीलाई भेट्न काठमाडौं आएको विमानले सुनाए । स्कुल बिदामा आमालाई भेट्न काठमाडौं आएकै बेला दुवै वालक काठमाडौंमै लक भए ।

लकडाउन वैशाख १५ सम्म लम्बिएपछि उनीहरुलाई समस्या भयो । र, काभ्रेसम्म पुयाइदिन प्रतापकी आमाले नातेदार विमान राईको साथमा पठाएकी रहिछन् । तर उनीहरुलाई जडीबुटी भन्दा अगाडि बढ्न प्रहरीले दिएन ।

‘ए ए तपाईंहरु अब फर्कनुस्, यहाँ धेरैबेर नबस्नुस’ त्यहाँ खटिएका प्रहरी नायव निरीक्षकले उनीहरुलाई भने । ‘यति धेरै हिँडेर आएको, अब बच्चा लिएर कसरी फर्कनु ?’ विमानले प्रहरीलाई प्रश्न गरे ।

उनले कुनै गाडीमा हालेर फर्कने व्यवस्था गराइदिन नभए काभ्रेतिरै जान दिन अनुनय गरे । तर, प्रहरीले सहयोग गर्न सक्ने अवस्था नरहेको बताए ।

०००

टाउकोमा बोरा, काँधमा झोला र हातमा बच्चा डोर्‍याइरहेको ३ जनाको समूहलाई पनि प्रहरीले फर्कायो ।

उनीहरु सर्लाही हिँडेका रहेछन् । दक्षिणढोका बस्ने उनीहरु बिहान ३ बजे नै उठेर कुम्लोकुटुरो तयार पारी बच्चालाई केही खानेकुरा खुवाएर बाटो लागेका रहेछन् । तर, काठमाडौं कटेर भक्तपुर जिल्ला प्रवेश गर्नै लाग्दा उनीहरु पनि जडिबुटी पुलमा प्रहरीबाट रोकिए ।

प्रहरीले पैदल जान नमिल्ने बताएपछि उनीहरु निराश भएर फर्किए ।

उनीहरु कारखानामा काम गर्ने रहेछन् । कारखाना बन्द भएपछि बचेखुचेको पैसाले जेनतेन खर्च टारिरहेका उनीहरुलाई वैशाख ३ गते लकडाउन खुल्छ भन्ने आशा थियो । तर, १५ गतेसम्म लम्बिएपछि उनीहरु आत्तिएर बाटो तताउने निर्णयमा पुगेका थिए । तर, पुनः कोठामै फर्कनुपर्‍यो ।

सर्लाही हिँडेकामध्ये एकको नाम सुशील राम । उनीसँगै थिइन् फुपू उर्मिला । सानो बालकचाहिँ उर्मिलाको छोरा ।

उर्मिलाको गाउँका मान्छेहरु पनि यसअघि हिँडेरै घर गएका रहेछन् । त्यही सोचेर उनीहरु पनि बिहानै उठेर जडिबुटी पुगेका थिए । तर, प्रहरीले जान दिएन ।

अब उर्मिलालाई चिन्ताको विषय भनेको तीन वर्षको बच्चालाई कसरी खुवाउने भन्ने छ । उनी भन्छिन् ‘हामी ठूलो मान्छे त जसोतसो बाँचिन्छ, समस्या छोराको छ ।’

०००

गाउँमा लाहुरे फर्केजस्तै गरेर काँध काँधमा झोला बोकेका ७ युवा जडिबुटीबाट पेप्सीकोलातिर लम्बिरहेका थिए । उनीहरु मध्ये ६ जना उदयपुर हिँडेका रहेछन् । एकजना चाहिँ पाँचथर ।

‘बिहानै २ बजे नै उठ्यौं, झोला प्याक गरेर हिँड्यौ’ समूहका एक युवकले भने, ‘तीन घण्टा हिँडेर जडिबुटी आइपुगेपछि फर्कनुपर्‍यो ।

अर्का युवकले थपे, ‘घरमा फोन गरेर, आमा म हिँडें , कहिले आइपुग्छु थाहा छैन भनिसकेको थिएँ ।’

अर्का युवकले भने, ‘चैत ११ गतेदेखि लकडाउन हुन्छ भन्ने थाहा पाएको भए पहिल्यै जाने थिएँ । अब त खुल्छ भन्दाभन्दै खुलेन, यहाँ कसरी बस्नु ?’

समूहमा रहेका तीनजना एकै घरका दाजुभाइ रहेछन् । ‘घरका कमाउनेजति सबै यतै छौं, घरमा पैसा पनि छैन, हामी पनि छैनौं’ समूहमा रहेकामध्ये जेठाले भने, ‘गाउँ जान पाए कमसेकम मकै त रोपिन्थ्यो ।’

०००

काँधमा झोला भिरेर लम्किरहेको एउटा टोलीलाई नयाँ बानेश्वर चोकमै प्रहरीले रोक्यो । ५ जनाको समूहमा रहेका ती सबै धादिङबाट आएका रहेछन् । पुग्नुपर्ने काभ्रे ।

उनीहरुले राति पनि नसुतिकन हिँडेको सुनाए ।

टोलीमा थिए- रमेश रम्तेल, विजय राई, अनिल चौधरी, देवीराम राई र राजुकमार कार्की । उनीहरु धादिङमा फलाम वेल्डिङको काम गर्ने जमजदुर रहेछन् । लकडाउनसँगै उनीहरुको काम बन्द भएको छ ।

चैत ११ गते लकडाउन भएपछि शुरुका केही दिन त उनीहरुले मस्तले बिताए । १८ गते खुल्छ भन्ने आश रहेछ । तर, लकडाउन थपियो । २५ चैतमा खुल्छ भन्ने आश राखेर उनीहरु बसे । तर, खुलेन, सरकारले ३ वैशाखसम्म थप्यो । लकडाउन बैशाख ३ मा पनि खुलेन, वैशाख १५ सम्म लम्बियो । अब उनीहरुलाई तनाब भयो । र, बाटो लाग्ने निष्कर्षमा पुगे ।

‘हामी सबै एकैठाउँमा बस्छौं, १५ गतेसम्म लकडाउन थपेको सुनेपछि रातभरि सुतेनौं ‘ रमेश रम्तेलले भने, ‘गफ गदागर्दै १२ बजेछ, लु हिँडेर जाऔं भन्ने सल्लाह भयो, अनि हामी साढे १२ बजे धादिङबाट हिँड्यौं ।’

जीवनसँग हार्न नसकेर रातभरि हिँडेका उनीहरुलाई प्रहरीले बानेश्वरमा रोकेर राख्यो ।

प्रहरी पनि अलमलमा छन् ।

‘कानून हेरौं कि मानवीयता ? हामी पनि सोचमग्न छौं’ त्यहाँ खटिएका एक सुरक्षाकर्मी भन्छन्, ‘कानून हेर्दा उनीहरुलाई धादिङ नै फर्काउनुपर्ने हुन्छ, त्यतिधेरै हिँडेर आएका छन्, हाम्रो मानवीयताले उनीहरुलाई फर्काउन दिँदैन ।’

‘अनि के गर्नुहुन्छ त ?’ हामीले ती सुरक्षाकर्मीलाई सोध्यौं ।

ती प्रहरी भन्छन्, ‘अब २ घण्टा यहीँ राख्नुपर्ने हुन्छ, त्यसपछि के गर्ने माथि सोध्नुपर्ला ।’

तस्वीर : आर्यन धिमाल   

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?