
१० वैशाख, काठमाडौं । श्रींलकांले नेपालसहित दक्षिण एसियाली मुलुकमा रोकिएका आफ्ना विद्यार्थीलाई फिर्ता लैजान सुरु गरेको छ । नेपाल, भारत र पाकिस्तानमा रोकिएका आफ्ना विद्यार्थी लैजान श्रीलंकाले चार्टर्ड उडान गरी घर लैजान थालेको हो ।
श्रीलंकन विदेश मन्त्रालयले विदेशमा फसेका आफ्ना विद्यार्थीको उद्धार गर्ने नीतिअनुसार यी तीन मुलुकमा विशेष उडानको व्यवस्थापन मिलाइएको हो ।
यसअघि अन्य मुलुकमा फसेका आफ्ना नागरिकलाई फिर्ता लैजान श्रीलंकाले विशेष उडान गरिसकेको छ । त्यसमध्ये चीनको बुहानबाट समेत श्रीलंकाले विद्यार्थीलाई फिर्ता लगेको थियो ।
श्रीलंकाले मंगलबार पाकिस्तानको लाहोर र कराँचीबाट क्रमशः ९३ र २० नागरिकको उद्धार गरेको छ । बिहीबार र शुक्रबार श्रीलंकाले भारतका विभिन्न सहरबाट आफ्ना विद्यार्थीलाई फिर्ता लैजाने भएको छ ।
त्यसमा अमृतसर तथा कोयम्बटुरजस्ता सहरमा विशेष उडानको तयारी छ । शुक्रबार नै श्रीलंकाले काठमाडौंबाट ९३ जना नागरिकलाई श्रीलंका फिर्ता लैजाने तालिका बनाएको छ ।
यी सबै सहरमा श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्स उडान गर्ने भएको छ । नेपालबाट यसअघि बंगलादेश र माल्दिम्भले आफ्ना नागरिकलाई फिर्ता लगेका छन् ।
प्रतिक्रिया 4