Comments Add Comment

यी प्रश्नोत्तरले जाँच्नेछ तपाईं कति स्वस्थ र तन्दुरुस्त ?

हामी आफैँले आफ्नो स्वास्थ्य स्थितिबारे थाहा पाउन सक्छौँ। यसका लागि एउटै शर्त हो, केही प्रश्न आफैँसँग गर्ने । उक्त प्रश्नको इमान्दारीपूर्वक जवाफ दिने । यो प्रश्नोत्तरबाट हामीले थाहा पाउन सक्छौँ कि मेरो स्वास्थ्य स्थिति ठिक छ वा यसलाई अरू सुधार गर्नुपर्ने खाँचो छ ?

यसका लागि एउटा कपी र पेन्सिल लिनुपर्छ । प्रश्नहरू टिपोट गरौँ । ती प्रश्नहरूको उत्तर लेखौँ । यसमा प्रश्नकर्ता हामी आफैँ, उत्तर दिने पनि हामी नै र त्यसको मूल्यांकन गर्ने पनि हामी आफू नै ।

प्रश्नहरू यसरी तयार गरौँ।

१. मेरो सुत्ने र उठ्ने तालिका कस्तो छ ?

स्वस्थ जीवनका लागि सुत्ने र उठ्ने तालिका नियमित हुनु जरुरी छ । राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी राम्रो हो । कम्तीमा ७ घण्टा मस्त निद्रा लिनुपर्छ । यदि योभन्दा फरक छ वा निद्रा अनियमित छ भने हाम्रो सुत्ने तालिका ठिक छैन भन्ने बुझ्दा हुन्छ ।

२. उठ्नेबित्तिकै के गर्छु ?

निद्रा खुलेपछि केही क्षण ओछ्यानमै बस्ने, शरीरलाई यताउता चलाउने र उठ्ने गर्नुपर्छ। त्यसपछि मनतातो पानी पिउने र शौच क्रिया गर्नुपर्छ । यदि यस किसिमको बानी छ भने त्यो उत्तम कुरा हो । तर, उठेर लामो समय ओछ्यानमै मोबाइल चलाउने, दूध चिया पिउने, शौच क्रिया नगर्ने जस्ता बानी छ भने यो खराब कुरा हो ।

३. के म नियमित व्यायाम गर्छु ?

बिहान उठेपछि नियमित रुपमा व्यायाम गर्नुपर्छ । योग, ध्यान, प्राणायाम गर्नुपर्छ । उठेपछि व्यायाम गर्ने बानी छ भने त्यो आफैँमा उत्तम कुरा हो । यदि उठेर टिभी हेर्ने, मोबाइल चलाउने जस्ता गतिविधिले भने हाम्रो बानी स्वस्थ्यकर छैन भनेर बुझ्नुपर्ने हुन्छ।

४. म बिहानको नास्ता लिन्छु ?

बिहान शरीरका लागि ताजा र पोषिलो खानेकुरा खानु आवश्यक हुन्छ । यसले दिनभरको लागि हाम्रो शरीरलाई उर्जा दिने गर्छ। तर, नास्ता सेवन नगर्ने वा लामो समय भोको बस्ने, चुरोट, चिया पिउने बानी छ भने त्यसलाई सुधार्नु आवश्यक हुन्छ, त्यो खराब बानी हो ।

५. म शारीरिक रुपले सक्रिय छु ?

शारीरिक रुपले सक्रिय हुन जरुरी छ । कुनै न कुनै शारीरिक श्रम वा गतिविधि गर्नु आवश्यक छ । त्यसैले आफ्नो दैनिक तालिकामा यस्तो गतिविधि पनि हुन जरुरी छ । जसले शरीरलाई जागरुक र सक्रिय राख्न सक्छ । यदि शारीरिक गतिविधि गर्न जाँगर चल्दैन वा निस्क्रिय बस्छौँ भने हाम्रो दिनचर्या अस्वस्थ्यकर छ ।

६. मेरो खाना कस्तो छ ?

खाना स्वादिलोभन्दा पनि स्वस्थ्यकर हुनु जरुरी छ । ताजा, सुपाच्य र सन्तुलित हुनुपर्छ । तर, तारेको, भुटेको, मसेदार खाना शरीरले पचाउन सक्दैन । यसले शरीरमा बिकार पैदा गर्छ ।

७. म कति पटक खान्छु ?

पाचन प्रक्रियालाई सहज बनाउनका लागि दिनभर थोरैथोरै तर धेरै पटक खानु राम्रो हो । दिनमा औसत चार वा पाँच पटक खानुपर्छ । खाना बिहान धेरै र त्यसपछि क्रमश: कम गर्दै जानुपर्छ । तर, एकै पटक धेरै खाने, लामो समय केही नखाने बानी छ भने राम्रो होइन।

८. साँझको खाना खाएपछि के गर्छु ?

साँझको खाना खाइसकेपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । खाना खाइसकेपछि केही क्षण टहल्ने वा हल्का व्यायाम गर्ने बानी राम्रो हो । तर, खाना खानासाथ सुत्ने वा ओछ्यानमा गएर मोबाइल चलाउने, टिभी हेर्ने बानी खराब हो ।

नास्ता किन ?

बिहान उठेपछि हामीले नास्ता लिनुपर्छ । किनभने रातभर केही नखाने हुनाले हाम्रो मोटाबोलिज्म धीमा हुन्छ, जसको कारण तनाव सिर्जना गर्ने हर्मोनको मात्रा बढ्न पुग्‍छ। यसले हृदय रोग, तौल बढ्ने, मधुमेह हुने सम्भावना रहन्छ । जब हामी लामो समय केही खाँदैनौँ, तब हाम्रो शरीरमा पोषक तत्वको कमी हुन्छ । त्यही कारण बिहान उठ्नसाथ नास्ता गर्नुपर्छ ।

खानेकुरा ताजा, पोषिलो र स्वस्थ्य किन ?

भोक मेट्ने वा नास्ता गर्ने भन्दैमा जस्तो पनि खानेकुरा सेवन गर्नु ठिक होइन । कतिले छिटो छरितोका लागि जंकफुड सेवन गर्छन्। यो हाम्रो शरीरको लागि अखाद्य पदार्थ हो, जसमा ट्रान्स फ्याट (बोसोको सबैभन्दा खराब प्रकार) हुन्छ । यसले शरीरमा एलडीएल कोलेस्टोरको स्तर बढाइदिन्छ र एचडीएल कोलेस्टोरको स्तर कम गर्छ । नतिजा, हृदय रोगको खतरा हुन्छ । त्यसैले नास्ता स्वस्थ्य, पोषिलो र ताजा हुनुपर्छ ।

नियमित फल र सब्जी किन ?

यदि तपाईं प्रतिदिन एक फल र दुई कप सब्जी खानुहुन्न भने शरीरमा भिटामिनको कमी हुन्छ र पाचनको समस्या हुन्छ । यसले हृदय रोगको खतरा बढाउँछ । आफ्नो छाला, केस स्वस्थ्य राख्न, हड्डी बलियो बनाउन भिटामिनको आवश्यक हुन्छ । त्यसैले मध्याह्न एवं रातको खानामा सब्जीको उचित सेवन आवश्यक हुन्छ ।

शारीरिक सक्रियता किन ?

यदि तपाईं कुनैपनि काम गर्न अल्छी मान्नुहुन्छ, धेरै समय बसेर बिताउनुहुन्छ भने तपाईंको शरीर कमजोर हुँदै जान्छ । मांसपेशी र हड्डी कमजोर हुन्छ, जसले आस्टियोपोरोसिस(हड्डी सम्बन्धी एक रोग, जसले हड्डी फुट्ने सम्भावना बढाउँछ) को सम्भावना बढ्छ । तपाईंको शरीरको कार्यसञ्चालन ठिक ढंगले हुँदैन । फलतः अनेकन रोगहरू लाग्न सक्छ । यस्तो खतराबाट बच्नका लागि सक्रिय जीवनशैली अपनाउनुहोस् । नियमित व्यायाम गर्ने, हिँड्ने, कुद्ने, काम गर्ने जस्ता गतिविधि बढाउनुहोस् ।

७ घण्टाभन्दा बढी किन सुत्ने ?

प्रत्येक व्यक्तिका लागि पर्याप्त निन्द्रा आवश्यक हुन्छ । मस्त निदाउन सकिएन भने शरीर भद्दा हुन्छ । हाम्रो दिनचर्या अस्तव्यस्त हुन्छ । मानसिक थकानको महसुस हुन्छ । यसले अनेक किसिमको रोग पनि निम्त्याउँछ । त्यसैले पर्याप्त निदाउनुपर्छ स्वास्थ्यको लागि आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment