Comments Add Comment
टिप्पणी :

‘सांसद अपहरण’को आरोपमा प्रधानमन्त्री किन मौन ?

कार्यकारी प्रमुखमाथि यस्तो आरोप लाग्नु सामान्य विषय होइन

वैशाख १० गते बुधबार नेपालको राजनीतिक वृत्तमा एउटा अनौठो घटना भयो । समय सान्दर्भिक नदेखिएको उक्त घटना क्षणभरमै सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा छरपस्ट छरियो । मान्छेले आ–आफ्ना अनुभूति पोखे, प्रायः विपक्षमा । समाजवादी पार्टीले आफ्ना नेता डाक्टर सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अपहरण गरिएको दाबी गर्‍यो ।

उक्त पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले फेसबुकमा स्टाटस लेखे— ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ ।’

‘मुलुकको कार्यकारी प्रमुख नै अपहरणकारीको योजनाकार बनेको’ आरोप सायदै पहिला कहिल्यै थियो । यो सूचना सार्वजनिक भएसँगै अपहरणमा परेका भनिएका डा. यादवको सञ्चार सम्पर्क विच्छेद भयो । उनको परिवारले ‘जनकपुर अर्को घर गएको’ जानकारी दियो । तर उनी त्यहाँ फेला परेनन् । ‘उनी कहाँ छन् ?’ सांसदजस्तो जिम्मेवार पदलाई न राज्य संयत्रले खोज्ने प्रयास गर्‍यो, न त समाजवादीको दाबीबारे स्पष्टीकरण दिनै आवश्यक ठान्यो ।

कृष्णा पौडेल

मुलुकको कार्यकारी प्रमुखलाई एउटा राजनीतिक दलले आफ्ना कार्यकर्ता अपहरण गरेको आरोप लगाइरहँदा राज्यका संयन्त्र चुपचाप छन् ? यो एउटा समाचारको विषय मात्रै थिएन र होइन पनि । सामान्य अवस्थामा कसैले आफन्त वा चिनजानका व्यक्तिको अपहरणको सानो सूचनाकै भरमा सीमित सुराकीबाट समेत सुरक्षा निकायले तत्काल खोजी र उद्धार सुरु गर्छ । यहाँ त नेपाल प्रहरीका पूर्वप्रमुखको प्रत्यक्ष निगरानीमा सरकारबाटै उनलाई काठमाडौँ ल्याइँदै गरेको सूचना चुहिसक्दा पनि राज्यले घटनाबारे बोल्न आवश्यक ठानेन ।

पानीजहाज चलाउने, ग्यासका पाइप घर–घरमा पुर्‍याउने, हावाबाट बिजुली निकाल्ने, मुटु नभएका सम्पादकलाई नटेर्ने, मिडियाले बजाएको बेमौसमी बाजा सुन्न बाध्य सरकार प्रमुखको सामाजिक सञ्जालमा आएका झिनामसिना विषयमाथि पनि कडा टिप्पणी गर्ने बानी नै हो । तर, स्वयं प्रधानमन्त्री आफूलाई अपहरणकारीको आरोप लगाएको १८ घण्टा भइसक्दा पनि केही बोलेका छैनन् ।

सामाजिक सञ्जालमा उठ्ने गरेका सानामसिना विषयमा लामो टिप्पणी गर्न रुचाउने प्रधानमन्त्रीको स्वभावमा नेकपा युवा नेतृ माननीय रामकुमारी झाँक्रीले केही समयअगाडि भनेकी थिइन्— ‘मुलुकको कार्यकारी प्रमुखले सडक र सामाजिक सञ्जालमा उठेका विषयमा टिप्पणी र जवाफ दिएर बस्ने होइन ।’

तर, यसपटक भने प्रधानमन्त्री न आफैं बोलेका छन्, न उनले प्रयोग गर्ने सामाजिक सञ्जालमा स्पष्ट पारिएको छ, न त राज्यका सरोकारित संयन्त्रले त्यसबारे केही बोलेका छन् । वैशाख १० साँझदेखि रातभर माननीय यादव सम्पर्क बाहिर रहे । अपहरणमा परेको हो/होइन ? वास्तविकिता के हो ? न सुरक्षा निकायले उनको खोजी गर्ने तत्परता देखायो न त कडा सुरक्षामा रहेको जानकारी नै गरायो ।

‘पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा अपहरण गरी काठमाडौं ल्याइएका सांसद डाक्टर सुरेन्द्र यादव फुत्किएर बिहीबार बिहान समाजवादी पार्टीको सम्पर्कमा’ भन्ने समाचार पनि उसै गरी भाइरल बन्यो ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले ‘यादव पार्टीको सम्पर्कमा आएको’ पुष्टि गरे । उनले ‘डाक्टर यादवलाई नेकपा सांसद र पूर्व प्रहरी महानिरीक्षकसहितको टोलीले राति ३ बजे काठमाडौं ल्याएको’ पनि दाबी गरे । उनले काठमाडौंकै एक होटलमा यादव सहित केही सांसदहरुलाई राखिएको पनि बताए ।

समाचारमा ‘डाक्टर यादव बिहीबार बिहानै होटलबाट बाहिर निस्कन सफल भएको र पार्टीको सम्पर्कमा आएको’ बताइयो । रातभर सम्पर्कविहीन सांसद यादवको बिहीबार बिहान पाण्डेसँगै कालो चिया पिउँदै गरेको तस्वीर सार्वजनिक भयो ।

डाक्टर यादव पार्टीको सम्पर्कमा आएको समाचारसँगै अर्को समाचार पनि भाइरल भएको छ— ‘सरकारी संरक्षणमा म्यारियट होटलमा राखिएका सांसदहरुको भागाभाग ।’

पछिल्लो घटनाले राजनीतिक वृत्तमा पनि असुरक्षा र भय पैदा गरेको छ । यो घटनामा प्रधानमन्त्री चुप बस्ने हो भने घटनासँग जोडिएर आएका अन्य विषयमा पनि प्रधानमन्त्रीको भूमिका प्रस्ट हुने आमबुझाइ हुनेछ

समाजवादी पार्टीले केपी शर्मा ओलीको जोडबलमा पार्टी फुटाउने प्रयास भएको खुल्लमखुला आरोप लगाएको छ । त्यसका लागि आफ्ना कार्यकर्तालाई अपहरण गर्नेदेखि दबाब र प्रभावमा पारेर काठमाडौंको होटलमा राखेको दाबी पनि गरेको छ । समाजवादीका महासचिव गङ्गा श्रेष्ठले त ‘होटल म्यारियटमा रहेका समाजवादीका सांसदहरुलाई रातो गाडीमा राखेर बाहिर निकालिएको र प्रहरीले आफूहरुलाई भेट्न नदिएर धरपकड गरेको’ दाबी पनि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४० प्रतिशत सांसद भए दल त्याग गरी अर्को दल दर्ता गर्न मिल्ने गरी अध्यादेश ल्याएको भोलिपल्टै ‘पार्टी फुटाउन आफ्ना सांसदहरुलाई अपहरण गर्नेसम्मको काम भएको’ दाबी गरिरहेको छ कुनै दलले ।

‘समाजवादीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने खेल पनि रातारात गरिएको, अन्य केही सांसदलाई मधेसबाट काठमाडौँ ल्याइएको’ भन्ने विषयमा पनि आमजनता दोस्रो पक्षको धारणा सुन्न चाहिरहेका छन् । तर, न सरकार बोल्यो, न त सरकार प्रमुख केपी ओलीको मुखारविन्दबाट कुनै हँसिलो उखानै प्रस्फुटन भयो ।

‘प्रधानमन्त्रीलाई गालीगलोज गरेको’ आरोपमा पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले बुधबार साँझ ललितपुरबाट पक्राउ गर्‍यो । उपाध्यायमाथि ‘सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली विरुद्ध जथाभावी टिप्पणी गरी विद्युतीय अपराध गरेको’ अभियोग लाइएको छ ।

यसअघि पनि सामाजिक सञ्जालमा गालीगलोज गर्नेहरुलाई विद्युतीय अपराधअन्तर्गत प्रहरीले अभियोग दर्ता गरी मुद्दा चलाउँदै आएको छ । तर, प्रधानमन्त्रीलाई नै अपहरणकारीको मुख्य योजनाकार र निर्देशक भएको दाबी गरिरहँदा सरकार कहाँ छ ?

सङ्कटको समयमा राज्यका संयन्त्रसँगै मिडिया पनि अलि बढी नै तरल हुने गर्छ । अनि पछिल्लो समय प्रथम बन्ने होडका कारण मिडियाका सत्य र तथ्य जाँचका सूचक कमजोर बन्ने गरेका छन् ।

यो घटनामा पनि मिडिया तरल बनेको र बाल्टिनबाट पोखिएको पानीसँगै बगेको निष्कर्ष प्रधानमन्त्रीले निकाल्न कत्ति बेर छैन । किन कि लकडाउनमा सडकमा पैदययात्री देखिनुलाई उनले हिजो रहस्यपूर्ण मानेका थिए । प्रहरीले, प्रमुख जिल्ला अधिकारीले नदेखेका पैदलयात्रीलाई पत्रकारले मात्रै देख्नु रहस्यको मूल कारण थियो भने उनले यो घटनालाई पनि त्यस्तै मान्न बेर छैन !

तर अहिलेको विषय साधारण होइन, साह्रै गम्भीर कुरा हो । जनताको सेवामा आफू दैनिक १८ घण्टा खटिरहेको बताउने प्रधानमन्त्री ओलीले कि आफूमाथि लागेको सङ्गिन आरोपको सप्रमाण खण्डन गर्न सक्नुपर्छ कि त नैतिकताको आधारमा राजीनामा दिनुपर्छ !

किनभने मुलुकको कार्यकारी प्रमुखमाथि नै अपहरणको आरोप लाग्नु सानो विषय कदापि होइन । यो राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चुनौतीको विषय हो । ‘घर चोरियो भनेर होइन, चोर पल्किएकोमा’ समस्या खडा भयो । तर ‘चितुवा कराउनु सिँगारी हराउनु’ ले सरकारले पुच्छर लुकाएको त होइन ? किनकि यस्तो कुरा मुलुकको इतिहासमा ‘राजनीतिक कू’ को अत्यन्तै लज्जास्पद र कायर घटनाको रुपमा चित्रित हुनेछ ।

राजनीतिक अपराधीकरणको योजना बुनेर कार्यान्वयनको निर्देशन दिने व्यक्ति सही र सो निर्देशन कार्यान्वनय गर्ने काममा खटिने व्यक्ति मात्रै दोषी ?

स्थित सरकार । दुई तिहाइको शक्तिशाली सरकार । सर्वहाराको सैद्धान्तिक राजनीति बोकेको कम्युनिस्टको सरकार । तर, यही सरकारका काम यति भयानक ? यति डरलाग्दा ? सरकार नै जनताको अपहरणमा लाग्छ भने जनताले सरकार भएको महसुस कसरी गर्न सक्नु ?

हुन त ‘अरुलाई फुटाउ र आफू राज गर’ भन्ने सामन्तवादी सोच बोकेका प्रधानमन्त्रीले जनताको आशा र विश्वास जित्न नसकेको त काठमाडौंबाट दैनिक गाउँ फर्किएकाहरुको लर्कोले स्पष्ट पारेकै हो ।

तर, अब यो पछिल्लो घटनाले राजनीतिक वृत्तमा पनि असुरक्षा र भय पैदा गरेको छ । यो घटनामा प्रधानमन्त्री चुप बस्ने हो भने घटनासँग जोडिएर आएका अन्य विषयमा पनि प्रधानमन्त्रीको भूमिका प्रस्ट हुने आमबुझाइ हुनेछ ।

होइन भने प्रदेश २ को सरकार ढाल्ने, अर्का अध्यक्षलाई कानुन र विधिसम्मत् ढङ्गले पाखा लाउने, विपक्षी दललाई निश्तेज गर्ने लगायतका विषयमा प्रधानमन्त्री ओली बालुवाटारबाट गोटी चलाइरहेका छन् भन्नेमा दुईमत हुनुपर्ने अवस्थै रहँदैन ।

यो घटनामा प्रत्यक्ष संलग्न भएको मानिएका नेकपाका सांसदहरु किसान श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई कारवाही गर्नुपर्ने कुरा पनि आएका छन् । पार्टी फुटाउने नाटकका मुख्य योजनाकार नै प्रधानमन्त्री हुन् भने उनको निर्देशनमा ओलीको मोहरा बनेकालाई कारवाही गर्नुपुर्व कारवाहीको निशाना प्रधानमन्त्रीतर्फ फर्काइनुपर्दैन र ?

राजनीतिक अपराधीकरणको योजना बुनेर कार्यान्वयनको निर्देशन दिने व्यक्ति सही र सो निर्देशन कार्यान्वनय गर्ने काममा खटिने व्यक्ति मात्रै दोषी ?

त्यसैले सरकार कि यस्ता घटनामा आफू संलग्न नभएको प्रमाण देऊ कि त जिम्मेवारी लिएर नैतिकता देखाऊ । तिम्रो मौनता मुलुकको राजनीतिमा एउटा विषाक्त घटनाका रुपमा दस्तावेज नबनोस् । इतिहासले टिप्न बाध्य नहोस् ।पार्टी फुटाएर आफू सधैँ सत्तामा विराजमान भइरहने कुत्सित योजनाको अभियोग त लागिसकेकै छ ।

फेरि सधैँका लागि कार्यकर्ता अपहरणको गम्भीर आरोप पनि लागिरहने छ ओलीको टाउकोमा । मुलुक कोरोना भाइरस सङ्क्रमणका गम्भीर समस्यासँग जुधिरेहका बेला बालुवाटारमा बसेर ‘अर्काको घर फुटाउने अनि आफू सधैँ सत्तामा बसी शक्तिको दाइँ गरिरहने प्रधानमन्त्री ओलीको यो बद्नियतपूर्ण कार्यशैली’ अब आलोचनाको विषय मात्र रहेन, देशीय सङ्कट देखियो ।

(पौडेल संसदीय मामिला पत्रकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

…अब त के बाँचुला र ?

Advertisment