
३० वैशाख, चितवन । लकडाउनले अन्य क्षेत्र सुस्ताइरहेका बेला चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा रहेको बिउ प्रशोधन केन्द्र तथा बिउ परीक्षण प्रयोगशालामा भने निकै चटारो र हतारो छ ।
बर्खा नजिकिएसँगै किसानहरूलाई धानको बिउ दिनुपर्ने भएकोले बिउ प्रशोधनको काम धमाधम भैरहेको छ । प्रतिघण्टा एक टन बीउ प्रशोधन गर्न सक्ने क्षमता भएको केन्द्र तथा प्रयोगशालामा अहिले रामधान र सावित्रीको बीउ प्रशोधन र प्याकेजिङ भैरहेको छ ।
विश्वविद्यालयले २३ टन सावित्री र ९७ टन रामधानको बिउ प्रशोधन गरिरहेको छ । प्रशोधन केन्द्रमा दैनिक ८ जना कामदार र प्राविधिकहरूले काम गरिररहेका छन् । यहाँ उत्पादन गरिएको धानको प्रजनन बिउ किसानहरूलाई समक्ष पुर्याउनुपर्ने भएकाले प्रशोधनदेखि व्यवस्थापनको काम चलिरहेको छ ।
वार्षिक करिब ७ सय टन गहुँको उन्नत बिउ विश्वविद्यालयले प्रशोधन गरेर बेच्ने गरेको छ । यहाँ आदित्य, तिलोत्तमा, गौत्तम, विजय र बीएल ४३४१ बिउ प्रशोधन गर्ने गरेको छ ।
विश्वविद्यालयले बिउ प्रयोजनका लागि ३२ बिघा आफ्नो जमिनमा र एक सय ६८ बिघा किसानको जमिनमा गहुँको खेती लगाउँदै आएको छ । यस्तै ६५ बिघा आफ्नो जमिनमा र ५७ बिघा किसानको खेतमा धान खेती लगाउँदै आएको छ । विश्वविद्यालयले गत आर्थिक वर्षमा २५० टन गहुँको र १२० टन धानको बिउ प्रशोधन गरी किसानहरू समक्ष पुर्याएको विश्वविद्यालयको योजना निर्देशनालयका निर्देशक प्रा.डा. अर्जुन श्रेष्ठले जानकारी दिए ।
विश्वविद्यालयले मूल बिउ नेपाल कृषि अनुसन्धान परिषद् नार्कसँग लिएर आफ्नो फर्ममा स्रोत बिउ उत्पादन गर्दै आएको छ । स्रोत बिउ उत्पादन गर्ने किसानलाई दिएर उन्नत बिउ बाली उत्पादन गर्ने अन्य किसानलाई दिने गरिएको छ ।
विश्वविद्यालयले उत्पादन गरेको बिउ राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेड र केही निजी बिउ बेच्ने कम्पनीहरूलाई दिने गरिएको छ । योजना निर्देशनालयका निर्देशक प्रा.डा. अर्जुन श्रेष्ठले किसानका बीचमा उन्नत बिउको पहुँच स्थापित गर्ने गर्दै सिड भिलेज मोडलमा बिउ प्रशोधन केन्द्रको विकास गरिने बताए ।
नेपालमा बिज व्यवस्थापनलाई दीगो, प्रभावकारी र गुणस्तरीय बनाउन विश्वविद्यालयभित्र २०७३ सालमा ‘डेलिभरिङ जेनेटिक गेन्स इन ह्विट’ नामक संस्थाको सहयोगमा झण्डै तीन करोडको लगानीमा प्रशोधन केन्द्र स्थापना गरिएको थियो । यो संस्थासँगको सम्झौता यस वर्षबाट सकिएकाले विश्वविद्यालयले अन्य केही साझेदार संस्था वा कम्पनीसँग सहकार्य गर्न खोजेको प्रा.डा. श्रेष्ठले बताए । त्यसो नभएमा पनि आफ्नै लगानीमा स्रोत केन्द्र सञ्चालन गरिने उनले बताए ।
गहुँ, धान, मकैको बीउलाई प्रशोधन तथा गुणस्तरीयता जाँच गरिने केन्द्रमा बिउलाई प्रिक्लिनर, फाइन क्लिनर, ग्राभिटी सेप्रेटर मार्फत बिउहरूको गुणस्तरीयता छुट्टाउने काम गरिन्छ । प्रयोगशालामा बिउको गुरुत्व नै विभाजन गर्ने प्रविधिको व्यवस्था छ ।
किसानसँग किन्ने, किसानलाई नै बेच्ने
विश्वविद्यालयले मूल बिउ किसानहरूलाई बेच्ने र किसानहरूसँग उन्नत बिउ लिएर फेरि अन्य उत्पादक किसानहरूलाई नै बेच्ने गरेको छ । २०७४ सालमा ४७ जना किसानहरूलाई तालिम तथा प्रशिक्षण दिएर प्रजनन् बिउको उत्पादन थालेको विश्वविद्यालयसँग अहिले गहुँको बिउ लगाउने दुई सय २३ किसान छन् ।
विश्वविद्यालय आफैँले उत्पादन गरेको स्रोत बिउ, उन्नत बिउ उत्पादन गर्ने किसानहरूलाई दिने गर्दछ । वार्षिक दुई सय ५० टन उन्नत बिउ गहुँ किसानबाट लिएर प्रशोधन गरी खाने प्रयोजनका लागि उत्पादन गर्ने किसानलाई दिने गरिएको छ । गुणस्तरीय बिउ उत्पादनका लागि विश्वविद्यालयले दक्ष प्राविधिकको सहभागितामा चार सयभन्दा बढी किसानहरूलाई तालिम दिइसकेको छ ।
किसानको प्रत्यक्ष सहभागितामा गुणस्तरीय बिउविजन उत्पादन, प्रशोधन र वितरण गर्दा किसानलाई प्रत्यक्ष लाभ मिलेको विश्वविद्यालय बताउँछ ।
विश्वविद्यालयले नौ वटा क्लष्टर बनाएर धान र गहुँको खेती गर्न लगाएको छ । ०७५ सालमा आठ जना किसानबाट धानको उन्नत बिउ उत्पादन गर्न सुरु गरेको विश्वविद्यालयसँग अहिले २७ जना किसान छन् ।
आवश्यकताअनुसार किसानहरू थप्दै लैजाने योजना छ । विश्वविद्यालयले स्रोत बिउ किसानको खेतमा नै लगेर झारिदिने, किसानहरूलाई आवश्यक तालिम दिने, रोग किराका बारेमा जानकारी दिएर लगाउने गरेको छ ।
विश्वविद्यालयका उपप्रध्यापक सुमन ढकालले बिउ उत्पादन गर्ने किसानलाई प्रत्यक्ष तालिम, प्रविधि, उपकरण दिएर सहयोग गरेको बताए । उनले भने, ‘यसबाट किसानहरू दक्ष बनेका छन्, विश्वविद्यालयसँग टु-वे कम्युनिकेसन जोडिएको छ, बिउ उत्पादनमा विश्वविद्यालयले प्रत्यक्ष निगरानी र सहयोग गरेको छ, बिउ किन्ने ग्यारेन्टी गरेको छ, यसबाट किसानहरूले फाइदा लिएका छन् ।’
उपप्रध्यापक ढकालले खेती गर्ने पुरानो पद्धति र बिउसम्बन्धी परम्परागत धारणा रहेका किसानमा उन्नत बिउ उत्पादन गरेर उत्पादकत्व कसरी बढाउने भन्ने बारेमा विश्वविद्यालयले सहयोग गरिरहेको बताए ।
भरतपुर फूलबारीका कृषक कृष्णप्रसाद दवाडीले व्यापारीबाट बिउ किनेर ल्याउँदा किसान मर्कामा परेको भन्दै विश्वविद्यालयको प्रशोधन केन्द्रबाट नै तयार बिउ प्रयोग गर्दा बढी विश्वसनीयता बढेको बताए ।
अर्का किसान चन्द्रप्रसाद अधिकारीले विश्वविद्यालयले बिउ प्रशोधन केन्द्र तथा आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याउँदा त्यसको प्रत्यक्ष फाइदा किसानलाई पुगेको बताए ।
विश्वविद्यालयले स्थापनाको उद्देश्यमध्येको एक अनुसन्धान तथा प्रचार–प्रसार पनि भएकाले चितवन र यस वरपरका किसानहरुलाई लक्षित गरी बीउ प्रशोधनका माध्यमबाट जोडिएको विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलियाले बताइन् ।
आफ्नै ब्रान्डमा बिउ बेच्ने योजना
विश्वविद्यालयले अहिलेसम्म विभिन्न निजी संस्था तथा फर्मको लागि बिउ उत्पादन गर्ने गरेको छ । विश्वविद्यालयको बिउ प्रशोधन केन्द्र तथा परीक्षण प्रयोगशालामा बिउ प्रशोधन भए पनि निजी संस्थाहरूकै नाममा बजारमा जाने गरेको छ । त्यसमा विश्वविद्यालय काहीँ कतै जोडिन सकेको छैन । बिउ बेचेर जुन अनुपातमा विश्वविद्यालयले आम्दानी गर्न सक्थ्यो त्यो पनि गुमेको छ ।
तर, अब विश्वविद्यालयले आफ्नै ब्रान्डमा बिउ उत्पादन गरेर किसानलाई सहज हुने गरी बजारमा पठाउने योजना बनाएको विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शारदा थपलिया बताउँछिन् ।
विश्वविद्यालयले प्रशोधन केन्द्रको दिगो व्यवस्थापनका लागि यसलाई स्वायत्त केन्द्रका रुपमा सञ्चालनमा ल्याउने योजना बनाएको उपकुलपति प्रा. डा. थपलियाले बताइन् । ‘एकपटकका लागि विश्वविद्यालयले लगानी गर्ने योजना बनाएको छ,’ उपकुलपति थपलियाले भनिन्, ‘बिउ प्रशोधन केन्द्रलाई बिउ बेचेर आफैँ सञ्चालन गराइरहन सकिन्छ ।’
विश्वविद्यालय परिसरमा नै प्रशोधित बिउ किसान तथा अन्य विक्रेताहरूलाई बेच्ने केन्द्रको समेत स्थापना गर्ने विश्वविद्यलायले जनाएको छ । विश्वविद्यालयले तोरी, मसुरो र मकैको पनि बिउ प्रशोधन गर्ने योजना बनाएको छ । प्रशोधन केन्द्रको मेसिनमा सामान्य जाली परिवर्तन गरेमा पनि बिउ प्रशोधन गर्न सकिने प्रविधि छ ।
प्रतिक्रिया 4