Comments Add Comment

सम्झनामा डोमिनिक

प्रिय डोमिनिक,

कोरोना भाइरसको महामारीले घरभित्र सीमित भै बस्नुपर्दाको यस घडीमा मलाई फेरि एकपटक ३७ वर्षपछि तिमीसँग जोडिदिएको जस्तो लाग्छ । तिम्रो मोन्ट्रियल शहरमा खुकुलो भएता पनि हाम्रोमा भने घरमै सीमित छौं । यस सीमितताले गर्दा स्मृतिको विस्तारित आकाशमा मलाई पुर्याइरहेको छ । र, फेरि एकपटक तिमीसित जोडिदिएको छ । तिमी अहिले सायद तिम्रो काकाको अनुशरण गर्दै बनाएको ल फर्ममा काम गरिरहेकी छौ । म यता समय कति चाँडो जाँदोरहेछ भनी अचम्म मान्दैछु ।

मलाई लण्डनको युस्टन रेलवे स्टेशनको त्यो घटनालाई ताजा बनाइदिएको छ । मलाई विदाइ गर्न आएकी तिमी रेल नआउँदासम्म स्टेशनसँगैको बेन्चमा बसिरहँदा तिमी टोलाइरहेको याद छ । एक्कासी तिम्रा आँखाबाट आँसु झरेका र सुँक्कसुँक्क गर्दै तिमी रोइरहेको दृश्य मैले देख्न नसकि तिमीलाई अंगालो मारेको थिएँ । तिमी किन यसो गर्छ्यौ भनी सोधेको थिएँ । तिमीले बेलिविस्तार लाएकी थियौ । कसरी तिम्रो काकाको ल फर्ममा सानो क्लर्कको रुपमा काम गरेर जोगाएको पैसाले तिमीले लण्डन युनिभर्सिटीमा पढ्ने खर्च जुटाएकी थियौ । त्यही पैसाले कसरी तिमी लण्डन आइपुगेकी थियौ ।

तिम्रो यात्रा कठिन थियो । कसरी तिम्रो काकाले तिमीलाई दिएको सापटी पढाई सकिएपछी कमाएर पूर्ति गर्ने भन्ने चुनौती तिम्रो सामुन्ने थियो । तिम्रा यी चुनौतीहरूलाई फ्रेड पार्किन्सन्स जस्तो घोर नश्लवादी प्रोफेसरले चकनाचुर पारिदिएको थियो । तिमी दिग्भ्रमित थियौ । भविष्य अन्धकारमय देखिरहेकी थियौ । तिम्रो सामु फ्रेड पार्किन्सन्स एउटा ठूलो दैत्यको रुपमा उपस्थित थियो । जसले तिमीलाई भनेको थियो, ‘तिमी जाँचमा फेल हुन्छ्यौ ।’ त्यसबाट तिमी आन्तरिक रुपले छियाछिया थियौ । तिम्रो लागि बिरानो त्यस लण्डनमा मनका कुरा साट्ने र त्यस अँध्यारोबाट कसरी उम्कने कुनै बाटो देखिराखिएको थिएन । त्यसलाई विस्तारै तिम्रो आँसुले प्रकट गर्दा म द्रबित थिएँ ।

मैले सोधेको थिएँ, ‘डोमिनिक किन यस्तो? किन तिम्रा आँखाबाट आँसु बगिरहेछन् ? तिमीलाई के भयो । म केही मद्दत गर्न सक्छु कि ?’ तर, तिमी मलाई भनिरहेकी थियौ एस.एन. आँसुलाई बग्न देऊ । यसले मलाई राहत पु-याउँछ, सन्चो हुन्छ । तर, किन हो मैले बुझिनँ । तिम्रो भित्रको गाँठो कसैसित शेयर गर्न तिमी तयार थिइनौं । मैले विस्तारै तिमीलाई साहस दिएँ । तिमीले मनका कुरा पोख्यौ । म अचम्मित भएँ । म के गरुँ ? किनभने, म पनि त्यही बाटोको र त्यही समस्यालाई भोग्दै थिएँ । फ्रेड पार्किन्सन्स मेरा लागि पनि महादैत्य थियो । उसले मलाई पनि त्यही स्थितिमा पु-याएको थियो । तर, मैले साहस गरें । संसारमा जति अँध्यारो छ । त्यति नै उज्यालो पनि छ । अवश्य नै यसको कुनै बाटो निक्लने छ । तर, दैत्यरुपी त्यो प्रोफेसर पार्किन्सन्सलाई पराजित गरेरै छोडिनेछ । मैले त्यो बाटो पत्ता लाइसकेको थिएँ । र, म दृढ थिएँ ।

पार्किन्सन्सविरुद्ध प्रोफेसर चाङ समक्ष उजुरी र त्यसपछि प्रोफेसर इडी ब्राउनको अमूल्य सहयोगले गर्दा म बलियो थिएँ । तिमी भने विचरी एउटी निसहाय विदेशमा एक्लै थियो । हामी दुईबीच स्थिति एउटै थियो । तर, ममा साहस थियो । तिमी भने अत्तालिएकी थियौ । तिमीलाई सम्झना होला, मैले तिमीलाई भनेको थिएँ, डोमिनिक तिमी नआत्तेउ । म छु र त्यस्तै हाम्रा धेरै साथीहरू छन् । यस अँध्यारोबाट हामी निश्चय नै मुक्ति पाउँछौं ।

बल्लबल्ल सम्झाएर तिम्रा आँसु रोकिएका थिए । यस बीचमा धेरैपटक हाम्रो स्टेशनमा रेल आयो र गयो । यात्रु आए र गए । तर, हामी आफ्नै उहापुहमा रुमल्लिएका थियौं र आखिरमा शान्त भैसकेकी तिमीलाई मैले उत्साहित बनाउँदै र हाम्रो पढाईको आखिरीसम्म तिमीलाई सहयोग गर्ने बचन दिँदै तिमीलाई विस्तारै हिडेर तिम्रो होस्टेलमा पु-याएको थिएँ । त्यसपछिका दिनहरू हाम्रा धेरै सजिला भए । हामीमा घनिष्ठता भयो । हामीमा बल आयो । र आफ्नो गन्तव्यमा हामी दृढ भयौं ।

हेर डोमिनिक, संसार धेरै फेरिएको छ, त्यो घटना पछीका दिनहरु धेरै फेरिए । समय आयो र गयो । क्लासमा प्रोफेसरहरु आए, पढाए र हिडें । आखिरमा हामीले सबै एक दोस्रोलाई मद्दत गर्दै आफ्नो पढाइको नाउ खियाउँदै पार लाग्यौं । क्याम्पसमा रिजल्ट प्रकाशित हुँदाको त्यो दिन असफल भएपछि कोलम्बियाबाट आएकी तिम्री साथी धर्धरी रोएको दृश्य मेरो सामु त्यत्तिकै ताजा छ ।

जति एथेन्सबाट आएकी निभालाई चेरिङ क्रस स्टेशनको अगाडि कुन्नि किन हो ? सायद लण्डनको विशालतामा एक्लोपनाको महसुस भएर हो । वा यस बिरानो ठाउँमा कसैको सहारा नभएर हो । निभा एक्लै रोइरहेकी थिई । र, मैले त्यहाँ पनि सोधेको थिएँ, निभा तिमी किन रुन्छ्यौ ? उसले मलाई प्रष्टै भनेकी थिइ, अरु केही होइन, मलाई एक्लोपनको महसुस हुन्छ । मलाई लाग्छ, म एक्लै छु ।

यस विशाल धर्तीमा म कसरी बाँचुला ? यसपछि म बुझ्न सक्दिनँ । निभा कता गइन् र अहिले कहाँ छे । तर, तिमी भने मोन्ट्रियलमा अहिले पनि तिमी छौ र जीवनको उत्तराद्र्धतिर आइसकेकी तिमीमा जाँगर र उत्साह त्यत्तिकै होला । भन्ने मलाई लाग्छ । जति, युस्टनको त्यो रेल स्टेशनबाट विदा हुँदा तिमीमा उत्साह अंकुरित भएको थियो । पछी प्रस्फुटित पनि भयो । तिमीलाई सम्झना छ, छैन, केम्रुनबाट आएको एउटा हाम्रो साथीले भनेको थियो, यो लण्डन बडो नश्लवादी छ । यसले कालो कपाललाई मन पराउँदैन । तर, पनि जीवनलाई उसले नकार्न सक्दैन । र, अनेकौं देशका अनेकौं नागरिकको मेहनत र पसिना विगत, वर्तमानमा पनि यो लण्डन बनाइराख्न खर्च भैराखेको छ । यहाँको प्रगति, विकास र सम्बृद्धि त्यहाँभन्दा धेरै टाढाका देशहरुको योगदानबाट नै सम्भव भएको हो ।

प्रिय डोमिनिक,

संसार हाम्रो लागि रोकिँदैन । यो आफ्नै गतिमा छ । र हिडिरहन्छ । तिमी र हामी भनेका बाटामा आउनु एउटा घटना मात्रै हो । तर, त्यो हाम्रा लागि प्रर्याप्त र पूर्ण छ । महान संसारका लागि समयका लागि त्यो एउटा क्षण मात्रै हो । हामी आउँछौं, जान्छौं । समय पनि आउँछ र जान्छ । त्यसैमा हामी पर्छौं । नौलो कुरा हाम्रा लागि केही छैन ।

फेरि एकपटक,

प्रिय डोमिनिक, म तिमीलाई भन्न चाहन्छु, हामी अहिलेको संसारमा यसरी बाँधिएका रहेछौं तिम्रो एउटा कामले मलाई र मेरो एउटा कामले तिमीलाई नजिक ल्याउँदो रहेछ भन्ने कुरा यस कोरोना भाइरसले सम्झाइदिएको छ ।

अब हामी बेग्लै हुन चाहेर पनि बेग्लै हुन सक्दैनौं । प्रोफेसर पार्किन्सन्सको नश्लवादी भ्रम यसै पनि परास्त भैसकेको छ । अब ऊ गोरो र हामी काला छैनौं । न तिमी मोन्ट्रियलमा भएर सुरक्षित छौ । न नेपालमा भएर असुरक्षित छु । केम्रुनको र अल्जेयर्सको हाम्रो साथी वा एथेन्सकी निभा हामी सबै एउटै भएका छौं । फेरि हामीलाई कोरोनाले सम्झाइदिएको छ । एक दोस्रोको हाम्रो समृद्धि र हाम्रो विगत, विलौनाका आँसु, हाम्रा खुसी, आनन्द सबै एउटै हुन् ।

तिमी खुसी हुँदा म रोइरहनु पर्ने या म रोइरहँदा तिमी खुसी भैरहनसक्ने अवस्था छैन । हाम्रो नियति र वर्तमान त्यसैगरी जोडिएको छ । जसरी, प्रोफेसर पार्किन्सन्सविरुद्ध हामी सबै एक भएका थियौं । तिनको नश्लवादीतालाई परास्त गरेका थियौं । मलाई लाग्छ, हाम्रा ती साथीहरु जहाँ बसेका भएता पनि हामीले कोरोना भाइरसलाई भोगिरहेका छौं र परास्त गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment