Comments Add Comment

बजेटमा समेटिए कला, संस्कृति क्षेत्रका चार नयाँ कार्यक्रम

तिलौराकोट विश्वसम्पदा सूचीमा राख्न प्रस्ताव गर्ने, रामायण परिपथ बन्ने

फाइल तस्वीर

१५ जेट, काठमाडौं । चालु आर्थिक वर्षका धेरै कार्यक्रमलाई निरन्तरता र केही नयाँ कार्यक्रमलाई थप गरेर सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक गरेको छ । नयाँ कार्यक्रममा संस्कृति र कला क्षेत्रका ४  याेजना पनि छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको भागमा परेको कुल २६ अर्ब ६२ करोड रुपैयाँको बजेटबाट सञ्चालन गर्ने गरी संस्कृति क्षेत्रमा चारवटा कार्यक्रमहरू थपिएका हुन् ।

चालु आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यका भित्रको मौलिक संस्कृति, परम्परा, संगीतको अवलोकन गर्न रात्रिकालीन काठमाडौैं उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने भनिएको थियो । सो कार्यक्रम अहिले भक्तपुरमा मात्रै सञ्चालित छ । यही कार्यक्रमलाई यो वर्षको बजेटमा पनि समेटिएको छ ।

अघिल्लो आर्थिक वर्षमा कीर्तिपुरमा परम्परा, भाषा, संस्कृति, रीतिरिवाज झल्काउने राष्ट्रिय सांस्कृतिक संग्रहालय निर्माण गर्ने योजना समेटिएको थियो । आगामी आर्थिक वर्षको बजेटमा यसलाई पनि निरन्तरता दिइएको छ ।

यसवर्ष चार वटा नयाँ कार्यक्रमहरू पनि ल्याएको छ । सरकारले लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको ध्यान केन्द्र तथा सभा हलको निर्माण गर्ने नयाँ कार्यक्रम ल्याएको हो ।

त्यस्तै, तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने कार्यक्रम पनि थपिएको छ । विगत नौ वर्षदेखि सञ्चालित उत्खनन् अन्तिम चरणमा पुगेसँगै यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सरकार अघि सरेको हो ।

त्यस्तै, बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याइएको सरकारले दाबी गरेको छ । यो अघिल्लो वर्षको बजेटमा प्रस्तुत गरिएको कार्यक्रम थियो ।

त्यस्तै, सरकारले रामायण परिपथ निर्माण कार्य सुरु गर्ने तथा अमूर्त सम्पदाको संरक्षण र जगेर्नाका लागि राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्नको लागि बजेट विनियोजन गर्ने भएको छ । यो पनि नयाँ कार्यक्रमको रूपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै, सरकारले जानकी मिथिला क्षेत्र र मिथिला संस्कृतिको संरक्षण र विकासका लागि गुरूयोजना तर्जुमा गर्ने, देवघाट, पाथीभरा, रुरु, विराट क्षेत्र, बराह क्षेत्र, खप्तड क्षेत्र, काँक्रेबिहार, हलेसी, गौरीशंकरलगायतका धार्मिक क्षेत्रको विकासका लागि समेत बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, राष्ट्रियस्तरको वृहत् शहीद पार्कको निर्माण बढाउने, विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरू संरक्षण र सम्वद्र्धन गर्ने र साहित्य, कला तथा संगीत क्षेत्रको उत्पादन तथा विकासका लागि साथै सबै समुदायको परम्परागत सीप र सांस्कृतिक मूल्य मान्यताको संरक्षण र संवद्र्धनको गर्ने कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलगायतलाई बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment