+
+

बिमा अभिकर्ताको बदमासी: कागजमै सीमित हुन्छ अर्बौंको कारोबार

बीमा समिति भन्छ- कडाइ गर्छौं

रोयल आचार्य रोयल आचार्य
२०७७ असार १७ गते ११:२५

१७ असार, काठमाडौं । केही वर्षअघि बैंकहरुमा एउटा बेतिथि थियो । एउटा बैंकले अर्को बैंकलाई १० करोड रुपैयाँ निक्षेप दिने र सोही बैंकबाट जसले निक्षेप दियो, त्यही बैंकले १० करोड रुपैयाँ निक्षेप दिने ।

१० करोड लिने-दिने गरे पनि बैंकमा पैसा त हुँदैनथ्यो । तर, निक्षेप धेरै देखाउनका लागि बैंकहरुले यसो गर्थे । यो बेतिथिले उग्र रुप लिँदै गएपछि नेपाल राष्ट्र बैंकले यसलाई बन्द गरिदियो ।

अहिले बीमा कम्पनीहरुमा पनि पनि झन्डै झन्डै यस्तै परिपाटी देखिएको छ । कागजमात्रै बीमा पि्रमियम लिएको देखाएर बीमा अभिकर्ताहरुले रकम नै नलिई बीमा गराउने गरेको तथ्य बाहिर आएको छ ।

यस्तो काम खास गरी ठूला अभिकर्ताहरुले गर्ने गरेको बीमा कम्पनीका अधिकारीहरुले बताएका छन् ।

केही दिनअघि एक बैंकरसँग एकजना अभिकर्ताले एक करोड रुपैयाँको बीमा रकम नतिरीकन कागज गरिदिने भन्दै अफर ल्याएका थिए । आफ्नो नाम नबताउने शर्तमा ती बैंकरले दिएको जानकारी अनुसार चिनजानकै अभिकर्ताले त्यस्तो अफर गरेका हुन् ।

एक करोड रुपैयाँको १० वर्षे जीवन बीमा गर्दा वाषिर्क १० लाख २० हजार रुपैयाँ हाराहारीमा किस्ता तिर्नुपर्ने हुन्छ । उक्त किस्ता नतिरीकन नै एउटा कागजमा हस्ताक्षर गराएर बीमा गराइदिने ती अभिकर्ताको अफर थियो ।

‘यो त ठूला अभिकर्ताको खेलो नै रहेछ, म कहाँ आएपछि पो बल्ल थाहाँ पाएँ’ ती बैंकरले अनलाइनखबरसँग भने, ‘बीमा गराइदिएपछि २ वर्षसम्म १५ प्रतिशत कमिशन र १८ प्रतिशत इनिसियटिभ अभिकर्ताले पाउने रहेछन्, अनि हामीलाई चाहिँ एक पैसा नतिरी नै बीमा गराइदिने रहेछन् ।’

ती बैंकरले सुनाएको यो घटनापछि हामीले केही बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग पनि यस विषयमा जिज्ञासा राख्यौं । बीमा कम्पनीका सीईओहरुले पनि ठूला अभिकर्ताहरुले यस्तो बद्मासी गर्ने गरेको जानकारी दिए ।

यसरी बद्मासी गर्ने अभिकर्ताहरु ठूला पहुँचवाला हुने भएकाले आफ्नो नाम भने उल्लेख नगरीदिन आग्रह गर्दै एक बीमा कम्पनीका सीईओले भने, ‘यो त ठूला अभिकर्ताहरुका लागि ठूलो खेती नै हो, यसले बिमितलाई पनि फाइदै हुन्छ, घाटा केवल कम्पनीलाई हो ।’

रकम नै नतिरी कसरी हुन्छ त कारोबार ?

मानाैं, एक व्यक्तिको एक करोड रुपैयाँको १० वर्षका लागि बीमा गराउनुपर्ने भयो भने उसले वाषिर्क १० लाख २० हजार रुपैयाँ हाराहारीमा किस्ता तिर्नुपर्ने हुन्छ । एक वर्षअघिकै मितिमा पनि बीमा गराउन पाइने कानूनी व्यवस्थासमेत छ ।

अर्थात, एकै पटकमा दुई किस्ता तिर्नेगरी बीमा गराउन पाइने व्यवस्था छ । यहाँ अभिकर्ताले खेल्ने ठाउँ भनेको कर्जा दिन पाउने व्यवस्था हो । २ किस्ता पि्रमियम भुक्तानी गरिसकेपछि बीमा कम्पनीबाट बिमितले कर्जा लिन पाउछन् ।

१ करोडको बीमा गर्दा २ किस्तामा २० लाख रुपैयाँ किस्ता बुझाउनुपर्ने हुन्छ । अभिकर्ताले एक वर्षअघिको मिति -ब्याक डेट) मा बीमा गराउँछन् र दुई किस्तामा २० लाख ४० हजार रुपैयाँ बिमितले तिरिसकेको कागज बनाउँछन् ।

२० लाख किस्ता तिरिसकेपछि १७ लाख रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था छ । यसलाई टेक्दै अभिकर्ताले बिमितले १७ लाख रुपैयाँ ऋण लिएको बनाउँछन् । यसो गर्दा नगद लिएको रकमबाट एजेन्टले कमिशन खान्छन् भने बीमा कम्पनीमा पैसा नै नपुगी १ करोड रुपैयाँको बीमा गराइदिन्छन् ।

बीमा कम्पनीले पैसा आफ्नो ठाउँमा नआइकनै बिमितको जोखिम बहन गरिदिनुपर्ने हुन्छ । यस्तो बीमा फेरि यी एक वर्षपछि किस्ता तिर्न नसकेको भन्दै सरेन्डर -आत्मसर्पण) गर्ने गरेको बीमा कम्पनीका सीईओहरु बताउँछन् । यसरी सरेन्डर गर्दा बिमितको केही रकम त काटिन्छ नै, तर अभिकर्ताले भने कमिशन पाइहाल्छन् ।

असार लागेसँगै नाम चलेका जीवन बीमा कम्पनीका टाठा बाठा अभिकर्ताहरु स्रोत हुने व्यापारी, बैंकर, रियलस्टेट व्यवसायी र उद्योगपति कहाँ धाउने क्रम अत्याधिक बढेको बीमा कम्पनीका ती सीईओ बताए ।

उनका अनुसार अभिकर्ताले बीमा गरेपछिको एक वर्ष अर्थात ब्याक डेटको एक वर्ष र पोलिसी काटेको एक वर्ष समेत २ वर्ष पुर्‍याएर पोलिसी काटेको १ वर्षपछि पोलिसीको समर्पण मूल्य निकाल्छ र त्यहाँ त्यो समर्पण मूल्यको रकमले बीमितको नाममा निकालिएको १६ देखि १७ लाखको पोलिसी कर्जा चुक्ता भुक्तानी गरिन्छ । कर्जा चुक्तापछि पनि २ देखि ३ लाख नाफा आउँछ, त्यही रकम पोलिसी होल्डरलाई बीमा गरेवापत फाइदा दिइन्छ र डिल क्लोज गरिन्छ ।

अब बीमित, अभिकर्ता र कम्पनी क-कसले कति फाइदा गरे, त्यो हेर्दा यो खेल झनै रोचक देखिने उनले बताए । बिमित प्रत्येकले एक पैसा नलगाई परिवारका प्रत्येक सदस्यको नाममा १/१ करोड वा चाहेको बीमांकको बीमा गर्न पाए ।

ब्याकडेटबाट गर्दा पनि अर्को वर्ष समर्पण नगरुन्जेल आउने एक वर्षको निशुल्क जोखिम कभर भयो । एक वर्ष पछि १ करोडको बीमा गर्दा पनि परिवारमा ५ जना सदस्य छन् भने सबैको जोखिम कभर भयो र समर्पण मूल्य भुक्तानी लिई जनही २/३ लाखको दरले १० देखि १५ लाख पाउने भए ।

जोखिम  कभर र नगद पनि पाउने भएकाले विमितले कही पनि घाटा खाएन, फाइदै फाइदामा रहन्छ । बीमा अभिकर्तालाई झन् कमिसनदेखि इनिसियटिमसम्मका फाइदै फाइदा हुनेछ । यसले बीमा कम्पनीलाई भने केही फाइदा नहुने तर, पि्रमियम पनि नआई जोखिम बोक्नुमात्रै पर्ने बीमा कम्पनीका ती सीईओ बताउँछन् ।

बीमा समिति भन्छ- यस्तो हुन दिदैनौँ

यो विषय बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिसम्म समेत पुगिसकेको छ । ब्याक डेटमा गर्न पाइने नियमन नै छ । अनि २ किस्ता तिरिसकेपछि ऋण लिन पाइने व्यवस्थाका कारण अभिकर्ताहरुले चलाखी गरेको बीमा समितिले बताएको छ  ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले यसमा बीमा समितिले कडाई गर्ने बताए । उनले यस्तो कार्य नियन्त्रणका लागि आवश्यक नीति लिइने बताए । यसका लागि जीवन बीमा कम्पनीले बीमालेख धितोमा दिने ऋणको व्यवस्था परिवर्तन गर्न लागिएको अध्यक्ष चापागाईंले बताए ।

अहिले एक वर्षअगाडिको जोखिम बहन गरेर बीमा गरेको दुई महिनामा नै बीमालेख धितोमा कर्जा पाउने व्यवस्था कारण यो समस्या देखिएको भन्दै एक वर्ष अगाडिदेखि हुने भए पनि ऋण लिनका लागि भने २ वर्ष नै हुनुपर्ने व्यवस्था लागु गरिने जानकारी दिए । यसपछि भने यस्तो कार्य नहुने उनले बताए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?