
२१ भदौ, काठमाडौं । पाँचवटा हिमाली जिल्ला मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला र मुगुमा शैक्षिक सत्र सकिन अब २ महिना बाँकी छ । यी जिल्लामा फागुन १ देखि पढाइ सुरु भएर मंसिरमा वाषिर्क परीक्षा हुन्छ ।
१४ भदौमा बसेको मन्त्रिपरिषद बैठकले कम्तिमा भदौभरि विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरिसकेको छ । यो निर्णयअनुसार यी पाँचवटा हिमाली जिल्लामा यो शैक्षिक सत्रको असोज र कात्तिक मात्र बाँकी छ । त्यसमा पनि दशैं, तिहार, छठ लगायतका पर्वको बिदा त छँदैछ ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) लक्षित लकडाउनका कारण देशभरि नै चैत पहिलो सातादेखि पढाई रोकिएको छ । यसले गर्दा विद्यालय तहमा मात्रै ९० लाखभन्दा बढी विद्यार्थीको पढाई प्रभावित बनेको छ ।
हिमाली जिल्लाहरूमा पढाइ सुरु भएलगत्तै लकडाउन सुरु भयो । जिल्ला शिक्षा कार्यालय, डोल्पाका ईकाई प्रमुख दलबहादुर बस्नेत हिमाली जिल्लाहरूमा फागुन एक महिना भने पढाइ भएको बताउँछन् । ‘शैक्षिक सत्र सकिन दुई महिना बाँकी छ, जम्मा पढाइ एक महिना भएको छ’, उनी भन्छन्, ‘कोरोनाले कर्णालीको पढाइ ध्वस्त पार्यो सर ।’
जिल्ला शिक्षा कार्यालय मुस्ताङका ईकाई प्रमुख टंकराज बराल भने घुम्ती विद्यालय सञ्चालन हुने माथिल्लो मुस्ताङका केही विद्यालयले त्रैमासिक परीक्षासमेत सञ्चालन गरेको बताउँछन् ।
उनका अनुसार, लोमाथाङ गाउँपालिकाका- १०, लो-घेकर दामोदरकुण्डका ८ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका दुई गरी २० वटा विद्यालयले पोखरामा घुम्ती विद्यालय सञ्चालन गर्छन् । ती विद्यालयहरूले पहिलो त्रैमासिक परीक्षा लिइसकेको बरालले बताए ।
सबभन्दा न्यून साक्षर जिल्ला
‘जो होचो उसैको मुखमा घोचो’ भनेझैं कोभिड-१९ को बढी असर साक्षरता दरमा सबभन्दा पछाडि परेको जिल्लाहरूमै परेको देखिन्छ । राष्ट्रिय जनगणना- २०६८ अनुसार नेपालको औसत साक्षरता दर ६५.९ प्रतिशत हो ।
शैक्षिक सत्र सकिन दुई महिना मात्रै बाँकी रहेका पाँचमध्ये मनाङ बाहेक सबै जिल्लाको साक्षरता दर देशको समग्र साक्षरता दर भन्दा कम छ । डोल्पाको ५४.१५ प्रतिशत, जुम्लाको ५४.६६ प्रतिशत, मुगुको ५१.२५ प्रतिशत र हुम्लाको साक्षरता दर ४७.८ प्रतिशत छ । हुम्लाको साक्षरता देश देशभरका जिल्लामध्ये सबभन्दा न्यून हो । २४ सामुदायिक र एउटा निजी विद्यालय रहेको यो जिल्लाको महिला साक्षरता दर त जम्मा ३३ प्रतिशत छ ।

साक्षरता दर न्यून भएका जिल्लामा वैकल्पिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहल नै नगरेको जिल्ला ईकाई प्रमुखहरूको गुनासो छ । इन्टरनेट, रेडियो, टेलिभिजन मात्रै होइन टेलिफोनको समेत न्यून पहुँचका कारण दुरशिक्षा असम्भव प्रायः रहेको उनीहरूको भनाइ छ ।
संक्रमित पनि छैनन्, पढाइ पनि छैन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म मुगुमा १३, डोल्पामा ६, हुम्ला र मनाङमा ५-५ तथा मुस्ताङमा एकजना कोरोना संक्रमित देखिएका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, यी जिल्लामध्ये मुस्ताङ, डोल्पा, हुम्ला र मुगु संक्रमणमुक्त जिल्ला हुन् ।
मनाङको कुल ५ संक्रमितमध्ये तीनजना निको भइसकेका छन् । अर्थात् मंसिरमा शैक्षिक सत्रको अन्तिम परीक्षा हुने जिल्लाहरूमध्ये मनाङमा २ जना संक्रमित छन् । दुबै संक्रमित आइसोलेसनमा रहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मुगुमा २२ हजार ३९०, हुम्लामा २१ हजार १०५, डोल्पामा १२ हजार ५४८, मुस्ताङमा ३ हजार ४४२ र मनाङमा ८०० विद्यार्थी भर्ना भएका थिए । ‘दुईजना संक्रमित भएको हाम्रो क्षेत्रमा ६० हजारभन्दा बढी विद्यार्थी पढाइबाट बञ्चित छन्’, एक जिल्ला शिक्षा कार्यालयका ईकाई प्रमुख भन्छन्, ‘शैक्षिकसत्र गुम्न दिनु भन्दा सरकारले तोकेको मापदण्ड पालना गरेर पढाईलाई निरन्तरता दिनु बेश होला ।’
सह्रानीय प्रयास
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सुरक्षा मापदण्ड अपनाएर भदौ दोस्रो सातादेखि पढाइ सुरु गरेको छ । तर, १५-२० जना भन्दा बढी विद्यार्थी नआएको गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ बताउँछन् । जबकि, त्यहाँको जनशान्ति माविमै १५० विद्यार्थी छन् ।
वारागुङ गाउँपालिकाको २५ साउनमा बसेको बैठकले सम्पूर्ण शिक्षक-कर्मचारीलाई साउन मसान्तभित्र विद्यालयमा उपस्थित हुनुपर्ने निर्णय गर्यो । पालिका प्रवेश गर्दा अनिवार्य पीसीआर परीक्षण गराउनुपर्ने, १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र परीक्षणको ५० प्रतिशत खर्च पालिकाले व्यहोर्ने निर्णय गरेको थियो ।
‘तर सबै शिक्षक आइपुगेका छैनन्’, गाउँपालिका अध्यक्ष गुरुङ भन्छन्, ‘शिक्षिका भने प्रायः सबै उपस्थित भएका छन् ।’
मुगुमा भने गैरसरकारी संस्था कर्णाली गरिबी न्यूनीकरण तथा विकास मञ्चले सातवटा सामुदायिक शिक्षा केन्द्र चलाइरहेको छ । मञ्चकै कर्मचारीले गत साउनदेखि दैनिक तीन घण्टा पढाइरहेका छन् । एउटा केन्द्रमा २० जनाको दरले १४० विद्यार्थीलाई पढाइरहेको मञ्चका अध्यक्ष शिवशम्भु मल्ल बताउँछन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई सामाजिक दुरी कायम गरेर, मास्क लगाएर पढाएको उनले बताए ।
दुरी कायम गर्न गाह्रो हुने भएकाले एउटा केन्द्रमा २० जनाभन्दा बढी राख्न नसकिएको मल्लको भनाइ छ । ‘अभिभावक र विद्यार्थीले केन्द्र थप्न दबाव दिइरहेका छन्’, उनी भन्छन्, ‘त्यसका लागि थप स्वयम सेवक खोजिरहेका छौं ।’
‘शैक्षिक सत्रमा एकरुपता ल्याउँ’
जिल्ला बाहिरका शिक्षकहरू हुँदा पनि कोरोनाका बेला कक्षा सञ्चालन गर्न कठिन भएको सम्बद्धहरू बताउँछन् । जस्तो- मुस्ताङमा कक्षा १-५ सम्मका ४० प्रतिशत र ६ कक्षा भन्दामाथिका ९० प्रतिशत शिक्षक जिल्ला बाहिरका छन् ।
ईकाई प्रमुख टंकराज बराल कक्षा १२ सम्म विद्यालय तह भए पनि शैक्षिक सत्रमा एकरुपता नभएको बताउँछन् । कक्षा १० सम्मको शैक्षिक सत्र पाँच हिमाली जिल्लामा फागुन र बाँकी जिल्लामा बैशाखमा सुरु हुन्छ । त्यस्तै कक्षा ११-१२ को नयाँ सत्र साउनमा मात्रै सुरु हुन्छ ।
शिक्षाविदहरूले देशभर विद्यालय तहको शैक्षिक सत्र साउन-भदौबाट सुरु गर्नुपर्नेमा जोड दिँदै आएका छन् । उनीहरूका अनुसार, यही वर्ष सुरु गर्ने हो भने शैक्षिक सत्र खेर पनि जाँदैन र एकरुपता पनि आउँछ । आगामी मंसिरबाटै पढाउन पाउने हो भने पनि शैक्षिक सत्रको ८/९ महिना बाँकी रहन्छ ।
प्रतिक्रिया 4