+
+

भर्चुअल श्राद्ध गर्न मिल्ने शास्त्रका वैकल्पिक प्रमाणहरू

प्रादित्य आचार्य प्रादित्य आचार्य
२०७७ भदौ २३ गते १८:२०

पछिल्लो समय विभिन्न माध्यमबाट सोह्रश्राद्धको महिमा, यो कर्म गर्नुको औचित्य, यसका वैकल्पिक पक्षहरू र नगरेमा गर्नुपर्ने प्रायश्चित्तादिको शास्त्रीय विधानहरूका बारेमा भिडियो, अडियो, विभिन्न अनलाइन तथा सञ्जालका माध्यमबाट हामी सबैले थाहा पाइरहेका छौं ।

सनातन धर्म र संस्कारलाई जोगाउनुपर्छ भनेर अहोरात्र खट्नुहुने विभिन्न व्यक्तिहरूले जनस्तरमा उठेका प्रश्नहरूको यथोचित शास्त्रीय विवेचन गरी के गर्न हुने र के गर्न नहुने भनेर मार्ग निर्देशन गरिरहनु भएको छ ।

यो लेखमा अझै पनि जनमानसमा अन्यौल भएका विषयहरूको उठान गरि शास्त्रले त्यसमा दिएका विकल्पहरूका बारेमा संक्षेपमा केही चर्चा गरेको छु ।

भर्चुअल श्राद्ध गर्न हुन्छ कि हुँदैन भन्ने विषयले उठान गरेको यो बहसमा लब्धप्रतिष्ठित विद्वत्गणहरूले प्रमाणसहित गर्नहुँदैन भनेर गर्नुभएको तर्कलाई शास्त्रले नै दिएको विकल्पको प्रमाणसहित यहाँ प्रस्तुत गरेको छु ।

१. अपरपक्ष (पार्वण)श्राद्ध भनेको अग्नौकरण, ब्राह्मणभोजन र पिण्डदानको समष्टिगत कार्य हो । त्यसैले ब्राह्मणविना यो कर्म गर्न सम्भव छैन ।

कात्यायन श्राद्धसूत्रमा “पिण्डंदानर्बाह्मणभोजनाग्नौकरण त्रयाणांकर्मणां समुदायस्येत्यन्ये श्राद्धशब्दः स्फुटिकृतो” भनेर अपरपक्ष श्राद्धमा पिण्डदान, ब्राह्मणभोजन र अग्नौकरणको समष्टिगत कार्यलाई श्राद्ध भनेको छ ।

तर, व्याकरण शास्त्रमा श्राद्ध शब्दको निर्वचन “श्रद्धया कृतं सम्पादितमिदम् वा श्रद्धार्थमिदं श्राद्धम्” अर्थात् श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनिन्छ भनेर गरिएको छ ।

देश, काल, पात्रता र विधिसहित तिल, कुश र मन्त्रद्वारा श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनिन्छ भनेर भविष्य पुराणमा भनिएको छ ।

“देशे काले च पात्रे च विधिना हविषा च यत् ।
तिलैर्दर्भैश्च मन्त्रैश्च श्राद्धं स्याच्छ्रद्धया युतम् ।।”
-भविष्यपुराण

बृहस्पति र पुलस्त्यले पितृहरूको उद्देश्य गरेर श्रद्धापूर्वक जे दान दिइन्छ त्यसलाइ श्राद्ध भनेका छन् ।
श्रद्धया दीयते यस्माच्छ्राद्धं तेन निगद्यते ।

माथिका प्रमाणबाट के कुरा बुझ्न सकिन्छ भने श्रद्धापूर्वक पितृको उद्देश्यले गरिने कार्यलाई श्राद्ध भनिन्छ । यदि भोजन गराउन ब्राह्मण पाइएन भने शास्त्रले भनेका ब्राह्मणका अनुकल्पको प्रयोग गरी श्राद्धमा माथिका तीनै कुराहरू समष्टिगत रूपमा श्रद्धापूर्वक सम्पन्न गर्न सकिन्छ ।

यहाँ श्रद्धा प्राथमिक अवयव हो भने त्यस सँगै गरिने शास्त्रीय विधिहरू द्वितियक अवयवहरू हुन् ।

श्राद्धमा ब्राह्मण भोजन अनिवार्य हो ?

विभिन्न श्रुति,स्मृति, पुराणादिका आधारमा श्राद्धमा ब्राह्मण भोजन गराउनु मुख्य पक्ष हो । तर शास्त्रले यसमा पनि विकल्पहरू प्रदान गरेको छ ।

मनुस्मृतिमा ब्राह्मण नपाइएमा श्राद्धमा मामा, मातामह, भाञ्जा, ससुरा, गुरू, छोरीका छोरा, ज्वार्इं, बन्धुहरू, पुरोहित र यजमानहरूलाई  ब्राह्मणको रूपमा ख्वाउन हुन्छ भनेर अनुकल्पको व्यवस्था गरेको छ ।

अनुकल्पस्त्वयं ज्ञेयः सदा सद्धिरनुष्ठितः ।
मातामहं मातुलं च स्वस्नीयं श्वशुरं गुरुम् ।

दौहित्रं विट्पतिं बन्धुं ऋत्विग्याज्यौ च भोजयेत् ।-मनु.

विष्णुपुराणमा ब्राह्मणको अनुकल्पको रूपमा पितृहरू, गुरु, ज्वार्इं, ऋत्विक्, भाञ्जा, मामा आदिको व्यवस्था गरिएको छ ।
पितृव्यगुरूदौहित्रान् ऋत्विक्स्वस्नीयमातुलान् ।

पूजयेद्धव्यकव्येन वृद्धाननतिबान्धवान् ।।-विष्णुपुराण

याज्ञवल्क्यस्मृतिमा भाञ्जा, ऋत्विग्, ज्वाइँ, यजमान, ससूरा, मामा, त्रिणाचिकेत व्रतधारी, छोरीका छोरा, शिष्य, सम्बन्धी र बान्धव आदिलाई ब्राह्मणका रूपमा भोजन गराउन हुन्छ भनिएको छ ।

स्वस्नीयऋत्विजग्जामातृयाज्यश्वशुरमातुलाः ।

त्रिणाचिकेतदौहित्रशिष्यसंबन्धिबान्धवाः ।। याज्ञ. १।२२०

यसरी विभिन्न स्मृति, पुराण आदिमा ब्राह्मणको अनुकल्पको व्यवस्था स्वयं शास्त्रले गरेको छ । अतः श्राद्धमा यदि ब्राह्मणलार्इ भोजन गराउन सकिएन भने विकल्प गरिएका यि व्यक्तिहरूलाई भोजन गराएर पनि श्राद्धको एउटा अङ्ग ब्राह्मणभोजनलार्इ पूरा गर्न सकिन्छ ।

२. के यजमानले ब्राह्मणको अनुपस्थितिमा कुश आदिका वस्तुहरू बनाउन जान्दैनन् ?

ब्राह्मणको अनुपस्थितिमा पनि यजमानले कुशादिका वस्तुहरू निर्माण गर्न सक्छन् । यदि यस्ता वस्तुहरू निर्माण गर्न यजमानलाई आउँदैन भने प्रविधिको प्रयोग गरेर कसरी कुश आदिका पवित्र, मोटक आदि बनाउने भनेर सिकाउँदा अवश्य जान्दछन् ।

३. श्राद्धमा ब्राह्मणले यजमानलाई टीका लगाउनुपर्छ ?

धर्मशास्त्रले व्यवस्था गरे अनुसार स्वयं ब्राह्मणको उपस्थित यदि भएन भने कुशस्वरूप ब्राह्मणादिको कल्पना गरी कुशको ब्राह्मणलाइ नै निमन्त्रणा गरि, पाद प्रक्षालन, हस्तार्घ, भोजन आदि प्रदान गर्न सकिन्छ, जुन अहिलेसम्म पनि हामीले गरि/देखिआएका छौं भने कुशको ब्राह्मणबाट नै टिका आदि ग्रहण गर्न सकिँदैन भन्ने कुरा उठ्दैन ।

तसर्थ कुशको ब्राह्मणको अनुकल्प गरी टीका लगाउन नहुने पक्षको प्रमाण शास्त्रमा देखिँदैन ।

४. प्रचलित श्राद्ध पद्धति शास्त्र अनुकूल छ त ?

अहिले नेपालमा चलेका प्रचलित श्राद्ध पद्धति शास्त्रअनुकूल रहेको भने देखिँदैन । शास्त्रमा व्यक्तिले आफ्नो शाखासूत्र आदिको अवलम्बन गरि धर्मशास्त्रले बताएका कर्महरू गर्नुपर्छ ।

तर, अहिले प्रचलनमा रहेका/आएका श्राद्ध पद्धतिहरू शास्त्रमर्यादा अनुकूल रहेको देखिँदैन । आफ्नो शाखासूत्रले भनेका मूख्य पक्ष अवलम्बन नगरी तथा स्वशाखा प्रतिकूल हुने गरि अन्य शाखासूत्रको कुरा प्रयोगमा ल्याउनु शास्त्रविरूद्धको कार्य हो । तसर्थ व्यक्तिलाई अनुकूल हुँदा स्वशाखासूत्रका कुरा छोडी अन्य शाखासूत्रले प्रतिपादन गरेको मत अवलम्बन गर्ने र प्रतिकूल हुँदा स्वशाखासूत्र प्रयोग गर्नु शास्त्रीय आचरण होइन । विद्वद् गुरूहरूले यो पक्षमा गहन चिन्तन र कार्य गर्नुपर्ने आवश्यकता भने यहाँ देखिन्छ ।

५. प्रविधिको प्रयोग गरेर श्राद्ध गर्न सकिन्छ ?

माथि भनिएका विकल्पका प्रमाणहरू शास्त्रद्वारा नै निर्देशित प्रमाणहरू हुन् । देश, काल, परिस्थित अनुसार आपद् समयमा शास्त्रले दिएका विकल्पहरूको उपयोग गरेर आधुनिक प्रविधिको प्रयोग गरेर श्राद्ध गर्न सकिन्छ । श्राद्धका तिन महत्वपूर्ण अंगहरूमध्ये अग्नौकरण यजमानले गर्ने कार्य हो ।

ब्राह्मणभोजन अनुकल्पको प्रयोग गरेर माथि शास्त्रले निर्देश गरेका विभिन्न व्यक्तिहरूलाई भोजन गराउन सकिन्छ । पिण्डदान श्रद्धापूर्वक यजमानले पितृहरूलार्इ दिने कार्य हो । तसर्थ, प्रविधिको उपयोग गरी टाढा बसेर पनि व्याकरणादि संकल्प आदिको वचन मिलाउन सक्ने व्यक्तिले उच्चारण गरिदिएर पनि श्राद्ध गर्न सकिन्छ ।

यहाँ श्रद्धा पहिलो कुरा हो । तर, श्रद्धाले रहित भएर ब्राह्मणआदि स्वयं उपस्थित हुँदा गरेको कार्यलाइ पनि श्राद्ध भन्न सकिँदैन । तसर्थ प्रविधिको उपयोग गरेर श्रद्धापूर्वक पितृको उद्देश्य गरेर कार्य गरिन्छ भने श्राद्ध गर्न सकिन्छ ।

६. प्रविधिको प्रयोग गरी अहिले नै श्राद्ध गर्ने कि पछि विकल्पका रूपमा भनिएका अन्य तिथिमा श्राद्ध गर्ने ?

आर्ष ऋषिहरूले शास्त्रमा देश, काल आदि विभिन्न परिस्थितिमा उत्पन्न हुन सक्ने घटनाको कारणले यदि कुनै कर्म गर्न सकिएन भने ति समय र वस्तुहरूको लागि अनुकल्प/विकल्प आदिको व्यवस्था गरेका हुन् । तसर्थ विकल्पको प्रयोग आफूलाइ जे गर्दा सहज हुन्छ त्यसरी गर्ने हो ।

यदि विकल्पमा गर्न मिल्ने भनिएका तिथिहरूमा गर्न सहज हुन्छ भने ती तिथिहरूमा गर्दा हुन्छ र यदि विकल्पमा दिइएका तिथिहरूमा नगइकन अहिले गर्दा सहज हुन्छ भने प्रविधिको प्रयोग गरी अहिले नै गर्दा पनि हुन्छ । तर, जुनसुकै समयमा गर्दा पनि कर्म गर्ने व्यक्तिमा श्रद्धा भने हुनु नै पर्छ ।

धर्म र संस्कार भनेको आफ्नो लागिमात्र होइन, आफूभन्दा पछिका सन्ततीको लागि पनि हो । यदि शास्त्रले भनेको सबै नियमहरू अहिले हामीले पनि सर्वांशरूपमा अँगाल्न सकेका छैनौं भने भविष्यको पुस्ताले कसरी अँगाल्न सक्छन् । शास्त्रका कठोर नियमहरू पनि समयक्रमसँगै परिपालन नहुने/हुननसक्ने देखेर नै विभिन्न ऋषिहरूले स्मृति, पुराण आदि ग्रन्थहरूमा विभिन्न अनुकल्प/विकल्पहरूको व्यवस्था गरेका हुन् । श्राद्ध मात्र नभएर अन्य यज्ञ/पूजादिमा पनि हामी यस्ता विकल्पहरूको व्यवस्था गरेको देख्न सक्छौं ।

अहिले सनातन धर्म र संस्कार मान्ने धेरै व्यक्तिहरू विदेशमा पुगेका छन् । विदेश जाने व्यक्तिहरूले अहिले पनि विभिन्न प्रविधि आदिको प्रयोग गरेर आफ्नो संस्कारमा जोडिइ रहने प्रयत्न गरिरहेका छन् । त्यहाँ जन्मिएका सन्तानहरूलाई पनि आफ्नो संस्कार प्रविधिकै प्रयोग गरेर सिकाइरहेका छन् ।

विदेशमा भए पनि प्रविधिको प्रयोग गरेर जन्मदिन, न्वारान आदि कर्महरू अहिले पनि गरि नै रहेका छन् । यदि प्रविधिको उपयोग नहुने हो भने लामो समय पछि उनीहरूले आफ्नो संस्कार भुल्दै त्यही ठाउँको संस्कार अंगाल्ने छन् ।

तसर्थ, यदि विकल्पहरूको प्रयोग गर्दा अबको प्रविधिमैत्री पुस्ताले जुनसुकै स्थानमा बसेर पनि हाम्रो संस्कार र धर्म मान्न सक्छन् भने हामीले त्यसमा उदारमना भएर अघि बढ्नु नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?