Comments Add Comment

राउटे समुदायमा कबिला समाजवादको अभ्यास

नेपालका एकमात्र घुमन्ते समुदाय राउटे विश्वका अन्य घुमन्ते वा फिरन्ते समुदायहरु जस्तै संकटमा छन् । उनीहरुको संरक्षण, प्रवद्र्धन र विकासबारे बहसमात्र होइन, समयमै व्यवस्थापनको आवश्यकता छ ।

विगत एकदशक बढी यही समुदायसँगै कार्यरत राउटे उत्थान प्रतिष्ठानले विशिष्टीकृत र समष्टिगत प्रजातीय अध्ययन बजारमा ल्याउँदैछ । यस आलेखमा संक्षिप्त एवं सरलीकृतरुपमा राउटे समुदायका केही विशिष्ट र चर्चा नगरिएका पक्षबारे विचार मन्थन गर्ने प्रयास गरिएको छ ।

यहाँ ट्राइवल, जनजाति, मौलिक, रैथाने, आदिबासी, कविला, राउटे गणलाई एउटै अर्थमा प्रयोग गरिएको छ । र, यहाँ प्रस्तुत तथ्य तथा तर्कहरु राउटे उत्थान प्रतिष्ठानको कार्यक्षेत्र, अध्ययन तथा राउटे समुदायसँग सम्वन्धित सामग्रीहरुको विश्लेषणमा आधारित छन् ।

राउटे समुदायको परिचय

नेपाललाई विश्वजगतमा चिनाउन र नेपालको सांस्कृतिक विविधता झल्काउन महत्वपूर्ण भूमिका खेलेका राउटेहरु दैलेख, जाजरकोट, सुर्खेत, अछाम, दाङ्घ, सल्यान, कालिकोट आसपासका जंगलका छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन् ।

आदिवासी–जनजाति प्रतिष्ठान तथा नेपालको जनगणना २०११ अनुसार राउटे समुदाय मेचे, राजी, लेप्चा, कुशवडीया, हायु, किसान, कुसुण्डा, वनकरीया तथा सुरेलसहितका १० लोपोन्मुख आदिबासीमा पर्छन् ।

नेपालका ५९ आदिवासी–जनजातिलाई विकसित, सुविधाबाट बञ्चित, सीमान्तकृत, अति सीमान्तकृत र लोपोन्मुख गरी ५ समूहमा विभाजन गरिन्छ । यस वर्गीकरणका अनुसार नेपालमा रहेका विभिन्न आदिवासी जनजातिहरुमध्ये सीमान्तकृत र लोपोन्मुख राउटे पनि एक हो । जनजातिमध्ये जनसंख्याका आधारमा राउटे सबैभन्दा थोरै जनसंख्या भएको अल्पसंख्यक मध्येकै एक हो ।

सन् २०११ को जनगणनामा करिब ६१८ राउटे उल्लेख भए पनि स्थायी बसोबास नगरी घुमन्ते—फिरन्ते जीवन बिताएका राउटे यथार्थमा निकै कम अथवा लगभग ४० घरधुरी छन् । उनीहरुको जनसंख्या लगभग १५० छ ।

निश्चय नै राउटेहरु पनि आ—आफ्नो पहिचान झल्काउने संस्कृति, परम्परा र पेशा अपनाउँछन् । मुख्यतः फिरन्ते जीवन, हिन्दु प्रभावित संस्कार तथा काठका भाडाकुँडाको काम गर्ने पेशा उनीहरुका मुख्य पहिचान हुन् ।

आधुनिकीकरण र विकासको प्रभावका बाबजुद पनि उनीहरुको विशिष्टता निकै महत्वपूर्ण छ । आदिमकालीन समाजका विशेषता बोकेका, समूहको प्रमुख व्यक्ति मुखिया भएका, प्रकृतिका पुजारी यो समुदायमा अझै पनि खेती गर्नुहुँदैन, आफ्नो जनसंख्या गन्नुहुँदैन वा भन्नुहुँदैन भन्ने मान्यता छ । त्यस्तै, एक ठाउँमा स्थायी बोसोबास गर्नुहुँदैन भन्ने मान्यता छ ।

राउटे समुदायमा अन्य स्थायी बसोबास गर्ने समाजमा जस्तो असमानता, शोषण, विभेद नहुनुका साथै संसारका मार्क्सवादीहरुले व्याख्या गर्ने समाजवादका अभ्यासहरु पाइन्छन् ।

कार्लमार्क्सले पुजीँवादको अन्त्यपछि समाजवादी व्यवस्था आउने व्याख्या गरेका थिए । संसारका समाजवादीहरु त्यसैअनुरुपका संघर्षमा लागेको परिप्रेक्ष्यमा राउटे समुदायलाई नजिकबाट नियाल्दा उनीहरु सामन्ती र साम्राज्यवादी समाजको थिचोमिचोमा परेको देखिन्छ । यही आतंकले राउटेहरुलाई सीमान्तीकरण गर्यो । त्यसैले आजसम्म उनीहरु आदिम, कबिला समाजवादको अभ्यास गरिरहेका छन् ।

राउटे समुदायको जीवन (आदिम) समाजवादी जीवन पुँजीवादी जीवनका क्रुरता, लालसा र असमानताबाट मुक्त हुन्छ भन्ने उदाहरण हो ।

स्थायी बसोबासबाट घुमन्ते जीवनतर्फको यात्रा

कार्लमार्क्स र एङगेल्सले समाज विकासको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी व्याख्या गर्दै वैज्ञानिक समाजवाद नै मानवीय समाजको सर्वोत्कृष्ट अवस्था भएको निष्कर्ष निकाले । आज पनि समाजबाद स्थापनाको अग्रसरता विश्वभर कायम छ । मार्क्सवादी मात्र होइन, स्वयम् पुँजीवादीहरु पनि समाजवादलाई उच्च र एक निर्विकल्प व्यवस्थाका रुपमा स्वीकार गर्दछन् । मार्क्सले आदिम समाजवादको (साम्यवाद) उदाहरण प्रस्तुत गर्दै कसरी व्यक्तिगत सम्पति र राज्यको उदयसँगै समाज असमान, अमानवीय र क्रुर बन्यो भन्ने तथ्य प्रस्तुत गरे ।

निकै महत्वपूर्ण कुरा के भने राउटेहरुको इतिहास संसारका अन्य कविला वा आदिम समुदायको जस्तो सामान्य छैन । न्युजिल्याण्डका माउरीदेखि अमेरिकी रेड इन्डिएनसम्म, चाहे कंगो नदीतटका होचो कदका पिग्मीहरु हुन् या नजिकै दक्षीणी भारतका टोडा, अफगानिस्तानका कोची, एन्डामान र निकोबार टापुका नेग्रितो र मंगोलोइल (सोम्पेन र निकोवारिज) आदि नै किन नहोउन्, अहिले पनि विश्वमा हजारौं घुमन्ते समुदायहरु छन् । उनीहरु जंगल, नदी तट, मरुभूमि आसपास आदि स्थानमा बस्ने समुदाय हुन् । यी सबैको अध्ययनले उनीहरुले हालसम्म शिकार गर्ने र बटुल्ने तथा फिरन्ते जीबन बिताएको पाइन्छ । तर, इतिहासमा कहिल्यै पनि स्थायी बसोबास गरेको वा खेतिपाती गर्ने गरेको पाइएको छैन ।

निकै रोचक देखिने राउटेहरुको इतिहास केलाउँदा हामी उनीहरुको विगतको यात्रा अत्यन्त फरक पाउँछौं । समाज विकासको नियमलाई चुनौति दिएका राउटेहरु सामन्ती र कृषि समाजवाट शिकार गर्ने र बटुल्ने समाजमा फर्किएको उनीहरुको विश्वास छ ।

यसरी स्थायी बसोबाटबाट फिरन्ते जीवनमा पुगे पनि फेरि यता नफर्कनु र त्यही जीवनलाई आदर्श जीवन मान्नुले साँच्चै नै सामन्ती र पुँजीवादी समाजको नकारात्मक पक्षहरु उजागर गरेको छ ।

राउटेहरु अन्याय, अत्याचार, शोषण, उत्पीडन, सम्पत्तिको लोभ, लालसाको जीवन त्यागेर एक समतामूलक समाजको अभ्यास गरेको प्रष्ट्याउँछ । यस संदर्भले मार्क्सले प्रस्तुत गरेको आदिम साम्यवादको व्याख्या र समाजवादको अनिवार्यतालाई प्रष्ट्याउँछ ।

राउटेहरुको इतिहास

राउटेहरुको इतिहासबारे विभिन्न किंवदन्तीहरु, विश्वास र तर्कहरु छन् । तर पनि जंगलका राजा भनिने राउटे समुदाय आफूलाई सूर्यबंशी राजाका सन्तान मान्छन् । राजा फिरन्ते समुदायमा पनि हुन सक्छ भन्ने लाग्न सक्छ । तर, उनीहरु राजतन्त्रात्मक शासन छाडेर जंगमा बस्न थालेको स्थानीय र आन्तरिक विश्वास छ ।

यो कुरालाई वरिपरिका समुदायले पनि नकार्दैनन् । युवराज लुइँटेलले भ्रमणशील राउटेमा उनीहरुलाई फुकोटमा बस्ने विष्णुका सन्तान ठकुरी मान्ने गरेको र तिनीहरुका सात भाइमध्ये माइलो छोरा परिवारको सजायको निर्णयअनुसार फुकोटको ओरालो झरेर जङ्गलमा बस्न थालेको किंवदन्ती व्याख्या गर्छन् ।

प्रमेश पोखरेल

जंगलका राजा राउटे भन्ने कृतिमा मानवशास्त्री जना फर्टिएरले अन्य कुरा पत्याउन नसकिने भनी भारतका विभिन्न फिरन्ते समुदायसँग राउटेको उत्पतिको इतिहास जोड्दछिन् । तर, राउटेहरु स्वयं बारम्बार आफू पहिले फुकोट राज्यमै शासन गर्ने राजा भएको ठोकुवा गर्छन् ।

राउटेहरुले आफ्नो उत्पत्तिस्थल पश्चिम नेपालको फुकोट क्षेत्र साविकको सेती अञ्चलको सेती नदी र पूर्वको प्युठानको माडी नदीको बीचको क्षेत्रलाई बताउँछन् । यो कुरा मधुसुधन पाण्डेको नेपालका जनजातिहरुमा मात्र होइन, अन्य विभिन्न अध्ययनमा पनि देखिएको छ । यदि यसो हो भने उनीहरुको भनाइमा सत्यता छ ।

अझ रोचक कुरा मुगुमा ठकुरी समुदायकै छत्याल थर भएका समुदाय छन् । छत्यालबाडामा बस्ने छत्याल र राउटेहरु समुदायमा पाइने गोत्र छत्यालमा समानता पाउन सकिन्छ । स्वयम् यिनीहरु पनि समानता भएको व्याख्या गर्छन् । राउटे उत्थान प्रतिष्ठानको प्रकाशनमा पनि राउटेहरु आदिम कालदेखि नै यही अवस्थामा छैनन् र राउटे समुदाय घरबार र राज्य छोडेर अझ भनौं, सम्पति र शासनको अन्यायपूर्ण व्यवस्था छोडेर जंगलमा फिरन्ते जीवनतर्फ गएको इतिहास पाइन्छ ।

स्थानीय जानकारहरु पनि आसपासका शाही ठकुरीहरुसँग राउटेहरुको शारीरिक तथा सांस्कृतिक विषय मिल्ने व्याख्या गर्छन् । राउटे मुखियाहरुले भन्ने कुरा के भने सूर्यबंशी राजाले राज्य चलाएको ऐतिहासिक समयमा राज्यहरुबीच बारम्बार र घनघोर युद्ध हुने गर्दथ्यो ।

आफूहरुले शासन गर्ने राज्यमा साम्राज्यहरुको आक्रमण र हस्तक्षेपका कारण तुलनात्मकरुपमा सानो र युद्ध नचाहने ठकुरीे राज्यका सामु विकल्प थिएन । बाध्यात्मकरुपमा राजाले लडाइँ गर्नुपर्ने हुन्थ्यो । यस्तै परिप्रेक्ष्यमा ठूला र साम्राज्यवादी राज्यको हस्तक्षेपका कारण विस्थापित भई राउटेहरु जंगलको जीवनमा पुगेको पाइन्छ ।

उत्तर अमेरिकी र अफ्रिकी आदिबासीहरुमा यस्ता केही समूह भएको प्रारम्भिक अध्ययनहरु भए पनि यो विषय नयाँ विषय नै हो । स्रोतको व्यवस्थापन तथा वातावरणीय कारण पनि केही समूह फिरन्ते जीवन अपनाएको मानवशास्त्री फ्रेन्च वाउस र जेम्स फ्रेजर लगायतले पनि व्याख्या गर्दछन् ।

नेपालमा उदयराज आले, निरज जोशी लगायतले कुसुण्डा समुदायको अध्ययन गर्दासमेत कसरी सीमान्तीकरण र अतिक्रमणबाट समुदाय जंगलमा खेदिन बाध्य हुन्छ तथा फिरन्ते जीवन अपनाउँछन् भन्ने देखाउँछ ।

तर, जना फर्टिएरले जंगलका राजा राउटे र जोहान रेनहार्डले राउटेहरु भन्ने कृतिमा भने उनीहरु भारतीय राजी समुदाय निकै नजिक देखिएको र एउटै इतिहास भएको इंगित गर्दछन्, जुन विश्वासयोग्य छैन ।

राउटे समुदायमा स्तरीकरण, असमानता, शोषण, विभेद र हिंसाका सम्पूर्ण मुख्य कारण छैनन् । आधुनिक समाजका केही प्रभावहरु देखिए पनि यो वर्गीय असमानतारहित समाज नै हो

विश्वमा साम्राज्यवाद र उपनिवेशको चरम शोषण, दमन र सीमान्तीकरणका कारण केही समुदाय यसरी विस्थापन भएको मानवशास्त्रीय व्याख्या छ । सामाजिक अत्याचारका कारण पनि केही समूह यसरी विस्थापित भएको मानिन्छ ।

राउटेको सन्दर्भमा बारम्बार युद्ध गर्नुपर्ने तथा ठूला राज्यसँग आत्मसमर्पण गर्नुपर्ने अवस्था आउने भएपछि राउटे राजाले नझुक्ने र नलड्ने निर्णय गर्न पुगे । यसकारण केही मात्रामा आफ्नो फौजका साथ जंगल पलायन र विस्तापन हुनुपर्ने तथा समाजबाट खेदिएर कसैले नदेख्ने गरी जंगलमा पसेको पाइन्छ । ती समुदाय नै आजका राउटेहरु हुन् भन्ने उनीहरु आफ्नो इतिहासको कुरा गर्दछन् ।

शाहवंशी र राजाका परिवार भएका कारण कसैको सामु आफ्नो शीर झुकाउनु र आत्मसमर्पण गर्नु भनेको शाहवंशको बदनाम हुनु हो, बरु यो राज्य नै छोडेर जंगलमा बस्ने, दुस्मनको साम्ने आफ्नो शीर नझुकाउने भनेर राउटे घना जंगलमा पसेका थिए भनी हालका मुखिया बताउँछन् । यो करीव २ हजार वर्षअघिको कुरा भएको उनीहरुले बताउने ‘राजा विक्रमादित्य’ का कथामा झल्किन्छ ।

यसरी जंगलमा लुकेर बस्दा जंगली जनावरको शिकार गर्ने अनि लुक्दै छिप्दै हिँड्ने गर्दा बिस्तारै सामाजमा आउन थालेको अभ्यास नै कृषि गर्ने, युद्ध लड्ने र राज्य गर्ने अभ्यासभन्दा सही लागेर हुनुपर्छ, उनीहरुले यस्तो अभ्यास रोजेको उनीहरुको तर्क छ । पूर्वजहरुदेखि यही नै सबैलाई भन्ने तथा आफ्नो समुदायको श्रुति रहेको उनीहरु बताउँछन् ।

राउटेहरुको इतिहास र उनीहरु कृषि समाज छाडेरै जंगलमा पसेको कुरालाई उनीहरुका केही विशेषताले जनाउँछ । उनीहरु कृषि नगर्ने, जनसंख्या नभन्ने तथा स्थायी बसोबास गर्दाका विविध नकारात्मक पक्षको अनुभवका श्रुतिले जनाउँछ ।

फिरन्ते जीवन अपनाउनुका तर्क र कारणहरु

किन राउटेहरु आफ्नो जनसंख्या भन्दैनन् ? किन यिनीहरु मुखियाको माध्यमबाट मात्र अन्य समुदायसँग सम्पर्क गर्छन् ? यी कुराहरु खोज्यो भने उनीहरुको जवाफ फेरि इतिहासकै बारेमा पाइन्छ–

उनीहरु आफू शासक भएको र राज्य चलाएको कुराबाट सुरुवात् गर्दछन् । जब उनीहरु त्यो छाडेर जंगलमा जीवन बिताउन थाले, त्यस समय राज्य चलाएका शासकबाट उनीहरुलाई जता भेटायो, उतै मार्ने खतरा थियो । यसकै कारण उनीहरु स्थायी समाजको सम्पर्कमा कम आउन थाले । र, शत्रुलाई आफ्नो शक्ति आँकलन नहोस् भन्ने हेतुले आफ्नो जनसंख्या कति छ गन्नुहुँदैन र भन्नुहुँदैन भन्ने मान्यता विकास गरे । साथै अत्यावश्यक परिस्थितिमा स्थायी समाजसँग सम्पर्क गर्नुपरेमा व्यक्ति–व्यक्ति गएर होइन, मुखियामार्फत जाने प्रचलन चलाए । एक–एक गरी समाजमा जाँदा उनीहरुको ज्यान जाने, भाषाको समस्या पर्ने तथा अन्य जोखिम आउने ठानी राउटे मुखियाले सबै आफ्ना जनतालाई मुखियाबाहेक अर्काको कुरा नपत्याउने र मुखियाले भनेको मात्र मान्नुपर्छ भन्ने जस्ता कुरा राखेको उनीहरु बताउँछन् ।

किन राउटेहरु खेती गर्दैनन् र एकै स्थानमा लामो समय रहँदैनन् भन्ने जिज्ञासामा पनि राउटेहरु आफ्नो इतिहास नै कोट्याउछन्–

फेरि पनि घरबार र राज्य छोडेर जंगल पसेकाले उनीहरुको रुची नै कृषितर्फ गएन भन्ने तर्क छ । अझ उनीहरुको घुमन्ते जीवन र कृषि मेल खाँदैन पनि भन्छन् । अन्य देशमा भएका अध्ययनले पनि कबिला समुदाय एकै स्थानमा नबस्नुका कारणहरु यस्तै देखाउँछन् । जब कृषि गर्न थालिन्छ, त्यसपछि घुमन्ते हुन सक्दैन भन्ने मानवशास्त्रीय व्याख्या छ । स्थायी समाजका बेफाइदा तथा असहजता बुझेका राउटेहरु खेती गर्नुलाई पाप सम्झन्छन् ।

त्यसैगरी किन यिनीहरु एकै स्थानमा बस्दैनन् भन्ने बारेमा विभिन्न अध्ययनले मुख्य दुई कारण प्रस्तुत गर्छन् । स्रोतको व्यवस्थापन तथा प्राकृतिक कारण र दोस्रो सत्रुको त्रास तथा मानवीय कारण ।

राउटे जातिको थर नै शाहवंशी भएकाले हुनुपर्छ, सोगोत्री तथा शाही ठकुरीहरुको गोत्रसँग यिनीहरुको गोत्र मेल खान्छ । राउटे समुदायका तीन प्रकारका थरगोत्रहरु रहेको पाइन्छ । १. सूर्य वंशी छत्याल गोत्र (आत्रेय), २. रास्कोटी गोत्र (आत्रेय) र ३. कल्याल गोत्र (केशल्मा) । र, थरहरुमा कल्याल, रास्कोटी, छत्याल रहेको पाइन्छ ।

जना फ्रर्टीएरले भाषिकरुपमा राउटे र मध्यपश्चिमका शाहीबीच भाषिक समानता भएको देखाएका छन् ।

राउटे समुदायका केही विशिष्ट पक्षहरु

जोसुवा प्रोजेक्टको अध्ययनले उनीहरुलाई अन्य लोपोन्मुख समुदायहरु जस्तै– राजी, रावत, चेपाङ्गसँग सम्वन्धित ठान्छन् । यो गलत र अपत्यारिलो छ । अझ यिनीहरु जाजरकोटमा राउटे र अन्य दलित समुदाय मुख्य गरी कामी दमाईहरुबीचमा विवाह भएको बताउँछन्, जुन निकै गलत व्याख्या हो ।

राउटे समुदायलाई फोहोरी दुब्ला, ख्याउटे, र जंगली भएकाले उनीहरुलाई अपहेलनाको शब्दमा बाह्य समाजले राखिएको नाम राउटे हुनुपर्छ । जंगलसँग नै घुलमिल भएरपछि उनीहरुले हाम्रो भागमा जंगल मात्रै हो भन्ने कुरालाई विश्वास गरेका थिए । ठाउँ सर्ने प्रविधिले उनीहरुलाई सबैले राउटे भन्दै जाँदा त्यही कुराको विकास भएर राउटे भएका हौँ भन्ने राउटे मुखियाको भनाइ छ ।

राउटे समुदायमा गोत्रका आधारमा मुख्यतः तीन उपजातिहरु रहेका छन् । उनीहरुमध्येका एकजना महामुखिया हुने गर्छन् भने तीन जातिका तीन मुखिया रहेका छन् । हाल महामुखिया

एकजना मैनबहादुर शाही रहेका छन् भने मुखिया ३ जनामध्ये कल्याल थरका बीरबहादुर शाही, राशकोटी थरका सूर्यनारायण शाही राशकोटी र छत्याल जातिका डीलबहादुर शाही हुन् ।

राउटे समुदायको भाषा फरक छ । तर, उनीहरु नै यो भाषा अनुकुलनको प्रकृयामा विकास भएको मान्दछन् । यिनीहरुले आफू जंगलभित्र प्रवेश गरेपछि मात्र परिवर्तन गरेको मान्दछन् । हाम्रा पुस्ताले जंगलमा पलायन हुनुपर्ने भयो, तब दुश्मनबाट बँच्न र आफ्नो परिवारलाई सुरक्षा दिने हिसाबले ईसाराका लागि बोलिने गर्दागर्दै सम्पूर्ण परिवारका सदस्यले यो खाम्चीलाई नै मातृ भाषाको रुपमा लिने गरेका हुन् भन्ने राउटेहरु बताउँछन् ।

मुख्यतः खाम्ची भाषा पूर्ण विकास नभएको संकेत भाषा हो । यसमा धेरै शब्द वा विविधता छैन । पछि संकेतबाट खाम्ची भाषा विकास भएको हो भन्ने विश्वास छ ।

राउटे समुदायमा मुखियाको प्रथा अझै पनि चलेको छ । पहिला पहिला राजा नै भएर आफ्ना जनतालाई परिचालन गर्ने गरेका राउटे बताँउछन् । पछि जंगलमा बस्दा सायद यो प्रचलन लोप भएको हुनुपर्छ । खेती नगर्नु र सम्पति नहुनु राजा नरहनुको मुख्य कारण भएको र शिकार गर्ने र बटुल्ने गरी घुमन्ते जीवन बिताउँदा सामाजिक व्यवस्था पनि त्यसैअनुसारको रहन गएको हुनुपर्छ ।

अन्त्यमा : राउटेहरुमा समाजवादको अभ्यास

यस्तो फिरन्ते जीवनको अध्ययन मानवशास्त्रको महत्वपूर्ण विषय हो । अनौपचारिक अर्थतन्त्र, समतामूलक समाज, वर्गीय असमानताबाट मुक्ति यिनीहरुका प्रमुख विशेषता हुन् ।

जेम्स उडवर्ग (१९७४) लगायतका मानवशास्त्रीहरु यी समुदायलाई समतामूलक वा समतावादी भन्न रुचाउँछन् तथापि हामी आदिम समाजवादकै अभ्यासका रुपमा व्याख्या गर्दैछौं ।

राउटे समुदायमा स्तरीकरण, असमानता, शोषण, विभेद र हिंसाका सम्पूर्ण मुख्य कारण छैनन् । आधुनिक समाजका केही प्रभावहरु देखिए पनि यो वर्गीय असमानतारहित समाज नै हो ।

ब्रोनिस्ल मेलिनोस्कीदेखि डेभिड ग्रेइबरसम्मका मानवशास्त्री उनीहरुको जस्तै अर्थव्यवस्थालाई अनौपचारिक, पारस्परिक र आदान–प्रदानमा आधारित भन्दछन् । यहाँ माग, आपूर्ति, नाफा, अतिरिक्त मूल्य र लगानीका नियमहरु चल्दैनन् । आफ्नो बस्तु आफंै बनाउने र प्रयोग गर्ने उनीहरुको जीवन प्रकृतिसँगको समन्वयमा चल्छ । उमेर र लिङ्गका आधारमा उनीहरुका श्रम विभाजन पाइन्छ । मानवीय होइन, प्राकृतिक नियम प्रधान हुन्छ ।

मार्सल सालिन्सले भनेझैं अन्य फिरन्ते समुदायजस्तै राउटेहरुको जीवन निकै धनी छ, चाहे त्यो खाद्यान्नको विविधता होस् या परम्पराको । प्रकृतिका रक्षक राउटेहरुमा वंश तथा गोत्रका आधारमा बनेको समूह छ र त्यसैअनुसारको सामाजिक व्यवस्था ।

राउटेहरुका अनुसार उनीहरुले समाजमा समतामूलक समाज (समाजवाद) को अभ्यास निकै लामो समयको योजनावद्ध प्रयास हो । फिरन्ते जीवन अपनाउन थालेपछि उनीहरुले राजतन्त्रको अन्त्य गरेको बताउँछन् । राजतन्त्रको अन्त्य भएपछि केही समय मुखियाका सन्तान नै मुखिया हुने प्रचलन रहे पनि विस्तारै समुदायले नै मुखिया चुन्ने प्रचलनको विकास भएको मान्दछन् ।

अहिले मुखिया जाने बुझेको र समुहलाई नेतृत्व दिन सक्ने व्यक्ति हुनेगर्छ । भाषिक तथा अन्य अनुभव र ज्ञानका कारण मुखियाकै छोरा नातिले नै पुनः मुखिया हुने सम्भावना बढी भए पनि प्रकृया सहभागितामूलक र सहमतिमा आधारित पाइन्छ । मुखिया पनि सबैको रायका आधारमा चल्ने गर्छन् ।

अन्त्यमा, राउटे समुदायको इतिहास तथा अन्य विविध पक्षबारे भाषिक, आनुवंशिक र अझ गहन वैज्ञानिक अध्ययनको आवश्यकता देखिन्छ । तर, जनविश्वास र आन्तरिक बुझाइमा राउटेहरु स्थायी बसोबासबाट फिरन्ते जीवन अपनाएको मानिन्छ र यो अभ्यास संसारमा नौलो नै हो । यसले समतामूलक समाजको महत्वलाई दर्शाउँछ ।

(लेखक त्रिविअन्तर्गत मानवशास्त्र प्राध्यापन गर्दछन् । साथै उनी राउटे उत्थान प्रतिष्ठानका सल्लाहकारसमेत रहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment