Comments Add Comment

दसैँ भत्ता नलिने निर्णय गर्न नेकपा अध्यक्षद्वयलाई दबाब

३ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसदहरूले दसैँ भत्ता नलिने निर्णय पार्टीबाट औपचारिकरुपमा गर्न संसदीय दलको नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएका छन् ।

नेता तथा सांसदहरूको दबाब आएपछि औपचारिक तथा अनौपचारिक रुपमा छलफल सुरु भएको तर, निर्णय भइनसकेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका सांसदहरूलाई दसैँ भत्ता फिर्ता गर्न निर्देशन दिइसकेका छन् ।

भीम रावल, जनार्दन शर्मा, सूर्य पाठक, प्रभुसाहलगायतका नेकपाका सांसदहरूले व्यक्तिगतरुपमै भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् । नेकपाका प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको महामारी नसकिँदासम्म तलब नलिने घोषणा गरिसकेका छन् ।

नेकपाकै तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष भएका गणेशप्रसाद तिमल्सिनाले पनि यसवर्षको दसैँ भत्ता फिर्ता गरिसकेका छन् । व्यक्तिगत भन्दा संस्थागतरुपमा निर्णय गरेर जाँदा जनतामा राम्रो संदेश जाने सुझाव र दबाब आएको र त्यसमाथि छलफल भइरहेको नेकपाका संसदीय दलका उपनेता नेम्वाङले बताएका हुन् ।

‘दसैँ भत्ता नलिने विषयमा आपसमा छलफल/सरसल्लाह गर्दैछौं, आवश्यक निर्णय छिट्टै आउँछ,’ उपनेता नेम्वाङले अनलाइनखबरसँग भने ।

तर, धेरै आरोप खेपेर, आलोचना सहेर निर्णय लिनुभन्दा छिटो निर्णय लिएर आउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’लाई नेकपाकै सांसद सूर्य पाठकको सुझाव छ ।

‘पार्टी र सरकारलाई मेरो विशेष आग्रह छ-तीन वटै तहमा नेकपाको उपस्थिति राम्रो छ । त्यसकारण कुनै पनि जनप्रतिनिधिलाई दसैँ या चाडपर्व खर्च नलिनु भनेर पार्टीले आन्तरिक सर्कुलर जारी गर्नुपर्यो । सरकारले संघीय जनप्रतिनिधिलाई भत्ता नदिने भनेर निर्णय गर्नुपर्‍यो’ पाठकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment