
१४ मंसिर,सुर्खेत । सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा-बालुवासंग्रही सडकको स्तरोन्नतीसहित कालोपत्रे गर्न सुुरु गरिएको छ । सडकको ट्रयाक खोलेको तीन दशकपछि कालोपत्रे गर्न सुरु गरिएको हो ।
३३ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले २०४५ सालमा सल्यान सदरमुकाम खलंगाबाट बनगाडक्षेत्र जोड्ने उक्त सडकको उद्घाटन गरेका थिए । अझै पनि यो सडकमा बाह्रै महिना सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
सल्यानलाई प्रदेशको राजधानी वीरेन्ऽनगर जोड्ने छोटो मार्गको रुपमा समेत यो सड्कलाई लिइएको छ । बहुवर्षीय आयोजनामा परेको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष लिइएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनले बताए ।
प्रमुख पुनका अनुसार सडकको नालीसहित आठ मिटर चौडा र साढे पाँच मिटर कालोपत्रे गरिने छ । १८ करोड १८ लाख ३६ हजार रूपैयाँ लागतमा गाल्वा धुलिखेल जेभिले सडक निर्माणको जिम्मा लिएको छ ।
उक्त सड्क निर्माणका लागि पूर्वाधार विकास कार्यालयले दुई चरणमा ठेक्का गरेको छ । बालुवासंग्रही-ढोरपिपल सड्क निर्माणका लागि चार कोरोडको लागत स्टमेट गरिएको दुई करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको छ ।
त्यस्तै लुहाम-काभ्रा-कालिकाटी सड्क निर्माण पनि अन्तिम चरणमा रहेको छ । यो सडकले जिल्लाका तीनवटा पालिकालाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने छ । यस्को २ किलो मिटर ट्रयाक खोल्ने काम बाँकी रहेको पूर्वाधार कार्यालयका प्रमुख पुनले बताए ।
साथै थारमारे-चौरजहारी सड्क निर्माणका लागि १० करोडको ठेक्का सम्झौता गरी निर्माण कार्य थालिएको छ । उक्त सड्कले सल्यानलाई रुकुम पश्चिमसँग जोड्ने बताइएको छ ।
पश्चिम रुकुम र सल्यानको पूर्वक्षेत्रलाई प्रदेशको राजधानी वीरेन्द्रनगरसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । यति मात्रै हैन सरकारले सार्वजनिक गरेको प्रमुख पर्यटकीय गन्तव्य मध्य एक कुपिण्डे ताल यही सडक खण्डमा पर्दछ ।
खलंगा-कुपिण्डे-बालुवासंग्रहीसम्म सडकको कुल लम्बाई झण्डै ३३ किलोमिटर छ । बालुवासंग्रहीदेखि कुपिण्डेतर्फको तीन किलोमिटर सडक कालोपत्रे गर्न हाल कटिङ्गको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
डेढ वर्षभित्र काम सक्न मन्त्री ज्वालाको निर्देशन
सडक कालोपत्रे कामको शिलान्यास गर्दै कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उक्त सडक प्रदेश महत्वको आयोजना रहेको भन्दै प्राथमिकतामा राखेर निर्माणलाई तीव्रता दिइने बताए ।
‘सल्यान र रुकुमपश्चिमका नागरिकहरु सिँधै प्रदेश राजधानी जोड्ने मार्ग पनि हो,’ मन्त्री ज्वालाले भने, ‘यस्ले प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कुपिण्डे ताल पुग्न पनि पर्यटकलाई रहज हुनेछ ।’
उक्त सडक निर्माणका लागि संघ र प्रदेश सरकारले बजेट विनियोजन गरेको मन्त्री ज्वालाले बताए । मन्त्री ज्वालाले डेढ वर्षभित्र सडक निर्माण सक्ने गरी काम गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिए ।
मन्त्री ज्वालाले सल्यानबाट प्रदेशको राजधानी वीरेन्द्रनगर जोड्ने लाइफ लाइनको रुपमा रहेकाले यस सडक प्रदेशको प्राथमिकतामा परेको बताए ।
प्रतिक्रिया 4