+
+

जलविद्युतको सेयर : पहिले हेला, अहिले खोसाखोस

चार महिनामा बदलियो परिदृष्य

रोयल आचार्य रोयल आचार्य
२०७७ मंसिर २६ गते १८:४४

२६ मंसिर, काठमाडौं । पछिल्लो ४ महिनामा जलविद्युत् कम्पनीहरुको सेयर मूल्यमा ठूलै उछाल आएको छ । अहिले लगानीकर्ताहरु जलविद्युतको सेयर किन्न हारालुछ गरिरहेका छन् ।

साउनसम्म साँवा जोगाउन पनि मुश्किल रहेको हाइड्रोपावरको सेयर मूल्य मंसिरसम्म आइपुग्दा अस्वाभाविक बढेको हो । आवेदन दिएर गोलाप्रथाबाट सय रुपैयाँ प्रतिकित्ता पाएको हाइड्रोपावरको सेयर मूल्य ५० रुपैयाँमा झरेको थियो । अहिले २ सय प्रतिशतसम्म बढेको छ ।

केही महिना अघिसम्म हाइड्रोपावरको सेयरमा किन्न लगानीकर्ताको आकर्षण न्यून थियो । सय रुपैयाँमै पाइने आईपीओ किन्न पनि उनीहरु हिच्किचाउँथे । तर अहिले अवस्था ठिक विपरीत छ ।

गत मंगलबार जलविद्यत् कम्पनीको मात्रै करिब एक अर्ब रुपैयाँको सेयर किनबेच भयो । जलविद्युत् समूहको ११ हजार ८५२ वटा कारोबारबाट ३० लाख ८९ हजार ५६४ कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८५ लाख ६० हजार ७६४ रुपैयाँको हरहिसाब भएको थियो ।

२६ साउनमा हाइड्रोपावर उपसमूहको परिसूचक ९४० दशमलव ९६ रहेको थियो । यस अवधीमा करिब दोब्बरले बढेर १ हजार ८२७.५२ अंकमा पुगेको छ । मंगलबारको कारोबारकै मात्रै कुरा गर्ने हो भने पनि यस उपसमूहको परिसूचक ८३ दशमलव ८९ (४.८१ प्रतिशत) बढेको छ ।

नेपाल स्टक ब्रोकर एशोसिएनका निवर्तमान अध्यक्ष भरत रानाभाट पछिल्लो समय जलविद्युत्को सेयर किनेबच निकै राम्रो भइरहेको बताउँछन् । केही समय अघिसम्म सबैको हेलामा परेको सेयरप्रति अहिले आकर्षण ह्वात्तै बढेको उनले बताए ।

‘पहिले साधारण सेयरको मूल्य सय रुपैयाँ हुँदा पनि दोस्रो बजारमा सस्तो भएका कारण त्यति आकर्षण थिएन’ रानाभाटले भने, ‘तर अहिले सबैको शतप्रतिशतभन्दा धेरैले सेयर मूल्य बढेकाले आकर्षण पनि बढेको हो ।’

पछिल्लो ४ महिनामा नेप्सेमा सूचीकृत भएका सबै हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । एकदमै कमजोर मानिएका कम्पनीहरुको पनि शतप्रतिशतसम्म सेयर मूल्य बढेको छ

अहिले बजारमा आकर्षण देखिनुको मुख्य कारण भने ब्याजदर नै भएको उनको भनाइ छ । ब्याजदर निकै सस्तिएका कारण ऋण लिएर लगानी गर्न सहज भएको रानाभाटको बुझाइ छ । ‘२ देखि ३ प्रतिशतसम्म ब्याजदर घटेको छ अर्बौको कारोबार गर्नेलाई यो निकै ठूलो सहुलियत हो,’ उनले भने, ‘ब्याजदर यस्तै रहने हो भने अझै आकर्षण बढ्छ ।’

दोस्रो बजारमै सस्तोमा पाइने भएका कारण जलविद्युत्को आईपीओमा पूरा आवेदनसमेत पर्दैनथ्यो । तर अब आउने कम्पनीहरुको आईपीओमा भने फरक अवस्था हुने उनले बताए । ‘अब आउने आईपीओ सबै सब्सक्राइब हुन्छ,’ रानाभाटले भने ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईं पनि पुँजीबजारमा जलविद्युत् क्षेत्रको उपस्थिति निकै बलियो देखिएको बताउँछन् । तर जलविद्युत् क्षेत्रमा भएका सुधारका कारण नभई पुँजीबजार क्षेत्रको कारण मात्रै यस्तो भएको उनको बुझाइ छ । ‘अहिले समग्रमा नै सेयर बजार बढिरहेका कारण जलविद्युत्को मूल्यमा पनि बढोत्तरी देखिएको हो,’ उनले भने, ‘सरकारी नीतिहरु जुन रुपमा सुधार हुनु पर्ने हो त्यो भने अझै हुन सकेको छैन ।’

सरकारी नीति स्वदेशी लगानीकर्तालाई विभेद गर्ने खालको रहेको भन्दै यसलाई सच्याउनु पर्ने निवर्तमान अध्यक्ष गुरागाईंको माग छ । ‘यहाँ त विदेशको नागरिकता बनाएर लगानी गर्नुपर्ने देखियो,’ उनले भने, ‘स्वदेशी लगानीकर्ताहरुलाई भन्दा विदेशीलाई सहज हुनु ठिक होइन ।’

पछिल्लो समय हाइड्रोपावरमा लगानीकर्ताहरु किन आकर्षित भइरहेका छन् त ? नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्, ‘छोटो समयमा धेरै कमाउँ भन्ने सोचले धेरै लगानीकर्ताहरु यता गएका छन्, यहाँ जोखिम पनि छ तर चाडो कमाउने सम्भावना पनि छ ।’

नेपाली पुँजीबजारमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा बीमा क्षेत्रको छ । दोस्रो ठूलो हिस्सा भने हाइड्रोपावरकै छ । बैंकिङ क्षेत्रमा प्रतिफलका लागि धेरै समय कुर्नुपर्ने भएका कारण पनि पछिल्लो समय लगानीकर्ताहरु अन्य क्षेत्रमा ‘मुभ’ हुने गरेको पोखरेलले बताइन् । तर नियामकीय हिसाबमा जलविद्युत् क्षेत्र कमजोर रहेका कारण भोलिका दिनमा कस्तो अवस्था आउँछ भनेर भन्न नसकिने उनको भनाइ छ ।

पुँजी बजारमा जलविद्युत्को हिस्सा

नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा पछाडिको ठूलो हिस्सा ओगट्ने क्षेत्र जलविद्युत् नै हो । २०७७ असोजमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको छ । यस अवधीमा सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् ।

पुँजीकरणका आधारमा पनि हाइड्रोपावरकै दोस्रो ठूलो हिस्सा छ । नेप्सेले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७५.४ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १३.१ प्रतिशत रहेको छ ।

कसको कति बढ्यो ?

पछिल्लो ४ महिनामा नेप्सेमा सूचीकृत भएका सबै हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । एकदमै कमजोर मानिएका कम्पनीहरुको पनि शतप्रतिशतसम्म सेयर मूल्य बढेको छ । बलिया कम्पनीको त यसै पनि बढ्ने नै भयो ।

साउन अन्तिम साता माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ रहेको थियो । अहिले यो बढेर प्रतिकित्ता ५०४ रुपैयाँ पुगेको छ । यस अवधिमा माथिल्लो तामाकोशीको १२५ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँबाट बढेर ४६५ रुपैयाँ पुगेको छ ।

यसैगरी खानीखोला हाइड्रोपावरको सेयर मुल्य ५० बाट बढेर ११५ रुपैयाँ पुगेको छ भने नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ प्रतिकित्ताबाट बढेर १२१ रुपैयाँ पुगेको छ । ५३ रुपैयाँ प्रतिकित्ता रहेको दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर बढेर ११५ रुपैयाँ पुगको छ । यसैगरी आँखुखोला जलविद्युतको ५३ बाट १४१ रुपैयाँ, घलेम्दी हाइड्रोको ५६ बाट १२६, युनियन हाइड्रोपावरको ५६ बाट बढेर १२१, जोशी हाइड्रोपावरको ५६ बाट बढेर १२३, युनिभर्सल पावर कम्पनीको ७० बाट बढेर १४१ रुपैयाँ पुगेको छ ।

तालिकामा हेर्नुस् कुन कम्पनीको सेयर मूल्य कतिले बढ्यो ?

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?