+
+

नाका खोल्न माग गर्दै वीरगञ्जमा प्रदर्शन

बाराको मटिअर्वा नाकामा पनि धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १३:०४

१ पुस, वीरगञ्ज । नाका खुलाउन माग गर्दै वीरगञ्जमा २० दिनदेखि धर्ना जारी छ । नेपाल-भारत खुला सीमा संवाद समूहमा आवद्ध मानिस सीमा क्षेत्रमा पुग्छन् । बिहान ९ बजेदेखि १० बजेसम्म धर्नामा बस्छन् ।

तर बुधबार आन्दोलनरत समूहले चक्काजाम समेत गरेको छ । चक्काजाममा टेम्पो, ई-रिक्सा चालकहरुले समेत समर्थन जनाएका छन् । शान्तिपूर्ण धर्नामा बस्दा सरकारले नसुनेकोले आन्दोलनको स्वरुप परिवर्तन गरिएको प्रदर्शनकारीको तर्क छ । शान्तिपूर्ण धर्ना बस्दा सरकारले नसुनेकोले आन्दोलनको स्वरुप परिवर्तन गरिएको संवाद समूहका कृष्ण पटेल बताउँछन् ।

सरकारले मंसिर मासन्तसम्म मात्रै नाका बन्द हुने बताएको थियो । तर आज पुस १ गतेपनि नाका खुलेको छैन । सुरक्षाकर्मीहरुले मुख्य नाका हुँदै आवागमनमा कडाइ गरेका छन् । वीरगञ्ज भन्सार कार्यालय नपुग्दै सशस्त्र प्रहरीले मोटरसाइकल, अटो रिक्सा र अन्य साना सवारी साधनलाई रोक्ने गरेको छ ।

सर्वसाधरण पैदल वीरगञ्ज– रक्सौल गर्छन् भने टेम्पो, अटो रिक्सा त्यहीँबाट फर्कन्छन् । मोटरसाइकल चालकहरु खेत खलियानको बाटो हुँदै रक्सौल पुगेर आउँछन् ।

संवाद समूहका संयोजक पटेल नाकाको विषयलाई सरकारले अनिर्णयको बन्दी बनाएर सीमा क्षेत्रका बासिन्दालाई दुःख दिने काम गरेको बताए । ‘भारत सरकारले नाका खोलिसकेको छ, नेपाल सरकारले मंसिर ३० गतेसम्म बन्द गर्ने भनेको थियो । आज पुस १ गते पनि नाका खुलेको छैन,’ उनले भने, ‘२० दिनदेखि शान्तिपूर्ण धनामा थियौं, नाका खोल्नुपर्नेमा सरकारले अनिर्णयको बन्दी बनाएको छ । त्यसैले आन्दोलनको स्वरुप बदलेर धर्नापछि एक घण्टा चक्काजाम समेत गरेका छौं ।’

सीमावर्ती क्षेत्रमा सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहेको र नाकामा आवागमन सहज नहुँदा सर्वसाधरणले सास्ती भोग्नु परेको उनीहरुको तर्क छ । सीमावर्ती क्षेत्रमा वारिपारि विवाह समेत हुने गरेको छ । विवाहको सिजनमा सवारी आवागमन निषेध गरिएका कारण दुवै देशका नागरिकले झनै सास्ती पाएको उनीहरुले बताएका छन् ।

भिजिट मधेस नेपाल अभियानका संयोजक ओम प्रकाश सर्राफ नाकामा आवागमन सहज नहुँदा भारतबाट पर्यटक नेपाल आउन नपाएको तर्क गर्छन् ।

‘रक्सौलमा आएपछि भारतीय गाडी उतै छोडेर पैदल नेपाल आउनुपर्छ, त्यसपछि अर्को गाडीमा चढ्नुपर्छ । भारतीय पर्यटक आउन पाइरहेका छैनन् ।’ उनले भने ‘ पर्यटक आएर यता किनमेल पनि गर्थे, पर्यटन क्षेत्रमा मात्रै नभएर बजारमा समेत नकारात्मक असर परेको छ ।’

९ महिनादेखि नाका ठप्प हुँदा वीरगञ्ज, कलैया, सिमरा, पथलैया क्षेत्रका होटल व्यवसाय ठप्प छ । नाका नखोले अनसन बस्ने चेतावनी वीरगञ्ज होटल तथा पर्यटन व्यवसायीहरुले दिइसकेका छन् ।

कात्तिक ६ गतेदेखि नै भारतले एकतर्फी नाका खोलेको छ । नेपालले एकतर्फी मात्रै बन्द गरेको छ । सर्वसाधरण यसकारण रुष्ट छन् । सरकारले समयमै निर्णय नगरेका कारण स्थानीय प्रशासन समेत अन्यौलमा छ । मंसिर मसान्तसम्म बन्द रहने भनेकोले पुस १ गतेबाट स्वतः नाका पुरानै अवस्थामा फर्कनुपर्ने हो । तर जिल्ला प्रशासन कार्यालयहरु सरकारी निर्णयको प्रतिक्षामा छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने अर्को निर्ण नआईसकेकोले पुरानै आदेश कार्यान्वयन हुने बताउँछन् । ‘ सरकारले यसअघि मंसिर मसान्तसम्म नाका बन्द राख्ने निर्णय गरेको हो । वीरगञ्ज सहित देशका १२ वटा नाकाबाट आवागमन खुल्ला गरेको थियो,’ उनले भने, ‘अर्को निर्देशन आइसकेको छैन । अर्को निर्देशन नआउँदासम्म नाकामा लागेको प्रतिबन्ध कायम रहन्छ ।’

बाराको मटिअर्वा नाकामा पनि धर्ना

संवाद समूहले बाराको मटिअर्वा नाकामा पनि धर्ना दिइरहेको छ । सदियौंदेखि खुल्ला रहेको सीमा नाका कोरोनाको बहानामा बन्द राखेर दुःख दिएको भन्दै उनीहरुले नाका खोल्न माग राखेर धर्नामा बसेका हुन् ।

उनीहरुले अपरान्ह ३ बजेदेखि ४ बजेसम्म मटिअर्वा नाकामा धर्ना दिने गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अन्सारीले रोटिबेटीको सम्बन्धमा आघात पुर्‍याउने उद्देश्यले नाका बन्द राखिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?