
२७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतको उत्तराखण्डको चमोलीमा हिमनदी फुट्दा गएको बाढीको कारण दुई दर्जनको मृत्यु भइसकेको छ भने डेढ सयभन्दा बढी सम्पर्कविहीन छन् । यद्यपि अझै एकिन तथ्यांक आउन बाँकी छ । यसअघि २०१३ मा केदारनाथमा आएको बाढीले पनि धनजनको ठूलो क्षति पुर्याएको थियो ।
तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुटेर त्यसबाट विशाल परिमाणमा पानी निस्किदा चमोलीमा घटना भएको हुन सक्ने भारतीय विज्ञहरुले बताएका छन् । विज्ञहरुले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालय क्षेत्रमा तीव्र गतिमा हिमनदी पग्लने हुँदा खतरनाक स्तरमा हिमतालहरू विस्तार भइरहेको र नयाँ हिमताल निर्माण भइरहेको पनि बताएका छन् ।
नेपालका हिमतालहरु पनि उही रेन्जमा भएकाले उत्तराखण्डको अवस्था नेपालमा पनि आउनसक्ने जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘हरेक दश वर्षजसोमा ठूला बाढीहरु आएका छन् । कुनै पनि समय नेपालमा ठूलो दुर्घटना नहोला भन्न सकिदैन ।’
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा तीन हजार बढी हिमतालहरु छन् । जसमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ बताउँछन् । त्यस्तै, तिब्बतका २६ वटा ताल अति जोखिममा छन् जसले नेपालमा कुनै पनि बेला असर पुर्याउन सक्छ ।
3624
अति जोखिमयुक्त तालमध्ये गत वर्ष च्छोरोल्पा र इम्जा तालको पानीको सतह घटाइ जोखिम न्यूनीकरण गरिएको पनि श्रेष्ठले बताए । त्यस्तै, प्रत्येक वर्ष चार वटा ताललाई जोखिम न्युनीकरण गर्ने योजना रहेको उनको भनाइ छ । पछिल्लो क्रममा हिमनदी पग्लिएर हिमताल बन्ने र पानीको सतह बढ्ने तर प्राकृतिक रुपमा ड्यामको प्रकृति कमजोर भएकाले नेपालका हिमतालहरु खतरामा रहेको उनको भनाइ छ ।
नेपालका ३ हजार मिटरभन्दा माथिका तालहरुलाई अति जोखिमको रुपमा लिने गरिन्छ । तर, अपवादको रुपमा कास्की जिल्लामा अवस्थित २५ सय मिटरको उचाइमा रहेको कोपुचे हिमताल उच्च जोखिममा छ ।
जोखिम न्युनीकरण र पूर्वसूचनाको प्रविधि विकास गर्न खर्चिलो भएकाले र सरकारी बजेट पनि प्रयाप्त उपलब्ध नभएकाले यस क्षेत्रमा काम गर्न कठिनाइ भइरहेको श्रेष्ठको भनाइ छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले सन् २०११ मा गरेको अनुसन्धान प्रतिवेदनले इम्जा ताल विस्फोट भए दूधकोशी नदीको एक सय किलोमिटर तलसम्मको तटीय क्षेत्रका ९६ हजार मानिस प्रत्यक्ष र पाँच लाख अप्रत्यक्ष रूपमा प्रभावित हुने देखाएको छ ।
‘२०१२ मा सेतीमा ठूलो बाढी आएर मानिसहरु मरे, भोटेकोशीमा घटना भयो, १९८४ मा विक्सो फुटेर पुल बस्तीहरु बगायो, च्छोरोल्पा फुट्न सक्छ’, अजय दीक्षितले भने, ‘पछिल्लो समयमा हिउ पग्लने डर बढ्यो र तालमा आयतन पनि बढ्यो । यस्ता घटनाहरु नेपालमा भइरहने देखिन्छ ।’
मनाङ र लमजुङ जिल्लाबीचको ठूलागी, सोलुखुम्बूको इम्जा, मकालु क्षेत्रको वरुण र दोलखाको च्छोरोल्पामा कुनै पनि बेला दुर्घटना हुन सक्ने तालहरुमा पर्छन् ।
विगतका केही दृष्य
२०१२ मा सेती जलधारको हिमतालमा चट्टान खस्दा सेतीमा आएको बाढीले १४ घर बगाएको थियो । यस्ता घटना थुप्रै भोग्नुपरेको छ नेपालले ।
चीनतर्फको हिमताल फुट्दा २०७३ असारमा भोटेकोशीमा आएको बाढीले १२५ भन्दा बढी घर बगाएको थियो भने तीन अर्बभन्दा बढी आर्थिक क्षति पुर्यायो । त्यसअघि, १९३५ मा तिब्बतको तारा च्छो हिमताल फुटेर भोटेकोशीमै आएको बाढीले साढे ६६ हजार वर्गकिमि खेतीयोग्य जमीन कटान गरेको इसिमोड बताउँछ ।
२०१७ मा लाङमाले फुट्दा बरुणमा बाढी आयो । सन् १९८१ मा तिब्बतको झाङजाम्बु हिमताल फुटेर सुनकोशीमा आएको बाढीले सयौं घरसहित १२ वटा पुल, २७ किमि सडक र सुनकोशी पावर हाउस बगाएको थियो । त्यस्तै, १९९८ मा तामपोखरी हिमताल विस्फोट भएर दूधकोशीमा बाढी आउँदा अहिलेको हिसाबमा रु. १ खर्बभन्दा बढी क्षति भएको थियो । यी केही प्रतिनिधिमुलक घटना मात्र हुन् ।
पूर्व तयारीमा ध्यान नपुर्याउने हो भने भविश्यमा झन् ठूलो क्षतिको सामना गर्नुपर्ने दीक्षित बताउँछन् । उनले भने, ‘कम्तिमा पनि हामीले खतराको सूचना दिने संयन्त्र जडान गर्नुपर्छ ।’
इसिमोडकै प्रतिवेदनले तल्लो बरुण हिमताल विस्फोट भए ५० हजार जनसंख्या प्रभावित हुन सक्छ । इम्जा हिमताल फुटे सोलुखुम्बुको छेवाङ र नाम्चे बजारसहित, ओखलढुंगा, उदयपुर, सिरहा, सप्तरी र महोत्तरीका ५० हजार बासिन्दा प्रभावित हुने सम्भावना छ । इम्जाजस्तै जोखिमयुक्त सन् १९५० पछि बनेका अधिकांश हिमताल फुट्ने खतरामा छन् ।
दुई तालमा मात्र पूर्वसूचना प्रणाली
इम्जा र च्छोरोल्पा तालमा खतराको पूर्वसूचना दिने प्रणाली जडान गरेको विक्रम श्रेष्ठले बताए । उनले भने, ‘त्यहाँ ताल फुट्नेवित्तिकै संसारको जुनसुकै ठाउँबाट पनि सूचना हेर्न सकिन्छ । हाम्रो त एलर्ट म्यासेज नै आउँछ र हामीले स्थानीयलाई सावधान गराउँछौं ।’ यस्ता खतराका सूचना दुईदेखि छ घण्टा पहिले नै आफूहरुले थाहा पाउने उनले बताए ।
त्यस्तै, आगामी वर्षमा तिब्बतका हिमतालबाट आउने सम्भावित बाढी सूचना दिनको लागि नेपालका बोर्डरहरुमा पनि त्यस्तो प्रणालीको जडान गर्न थालेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया 4