+
+

डिम्याट खाता भएका सबैले किन भर्दैनन् आईपीओ ?

रोयल आचार्य रोयल आचार्य
२०७७ फागुन २३ गते १०:३४

२३ फागुन, काठमाडौं । सेयर बजारमा पछिल्लो समय यतिधेरै आकर्षण देखिएको छ कि गल्लीका चिया पसलहरुमा पनि अहिले ‘आईपीओ’ का विषयमा छलफल हुन्छ । शुक्रबारदेखि खुलेको ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिन नै पौने तीन लाख जनाले आईपीओका लागि आवेदन दिएका छन् ।

सेयर बजारको प्राथमिक बजार आईपीओमा जोखिम कम हुने र नाफा कमाउने सकिने भएकाले सर्वसाधारणको आकर्षण बढ्दो छ । करिब १६ लाख जनाले आईपीओका लागि आवेदन दिने गरेका छन् ।

पछिल्लो पटक खुला भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओका लागि १५ लाख ८५ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य बताउँछन् । आईपीओका लागि आवेदन दिनेहरुको यो तथ्यांक हालसम्मै उच्च हो ।

आईपीओका लागि आवेदन दिनेहरुको संख्या भन्दा डिम्याट खाताको संख्या भने दोब्बरले बढी छ । हाल डिम्याट खाताको संख्या करिब ३१ लाख छ । उता दोस्रो बजारमा कारोबार गर्नका लागि अनलाइन सुबिधा लिनेहरुको संख्या भने ४ लाख ४५ हजारमात्रै छ ।

तीन तथ्यांकहरुबीचको खाडल चाहिँ कसरी भयो त ? सेयर बजारको सम्पूर्ण लेखाजोखा राख्नेसीईओ आचार्य यसमा मुलतः चार कारणहरु रहेको बताउँछन् । जसका कारण डिम्याट खाता, आईपीओ आवेदन दिनेहरुको संख्या र दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्यामा ठूलो खाडल देखिएको उनी बताउँछन् ।

दोहोरोपना

डिम्याट खाताको संख्या र आईपीओ आवेदन दिनेहरुको संख्याबीचमा यति ठूलो अन्तर हुनुको कारण केही कारणहरु छन् । त्यसमध्ये दोहोरोपना पनि एक हो ।

केही वर्षअघिसम्म सेयरधनीलाई प्रमाणपत्र दिने चलन थियो । सीडीएसले कागजे युगको अन्त्य गर्दै डिम्याट अनिवार्य गर्‍यो । भएको सेयरका लागि प्रमाणपत्र नचाहिने व्यवस्था भएसँगै सबैले (अपवाद बाहेक) डिम्याट खाता खोलेका छन् ।

आफूसँग केकति सेयर छ डिम्याट खाताबाटै हेर्न सकिन्छ । आईपीओ आवेदनका लागि पनि डिम्याट अनिवार्य छ । तर एक व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाउने नियम छ । आईपीओ आवेदन भने एक व्यक्तिले एउटा डिम्याटबाट मात्रै दिन सकिनेछ ।

एक व्यक्तिले २ वटा डिम्याट खाता खोल्न पाउने भएका कारण धेरैको २ वटा डिम्याट खाता रहेको सीडीएसका सीईओ आचार्य बताउँछन् । डिम्याटमा दोहोरोपना हुनेको संख्या २ लाख हाराहारीमा रहेको उनले बताए । एउटा कारण यो हो, जसले चाहेर पनि २ लाख डिम्याट खाताबाट आईपीओ दिन पाउँदैनन् ।

ठूला लगानीकर्ताको अनिच्छा

अहिले डिम्याट खाता हुनेहरु सबैले आवेदन दिँदैनन् । खासगरी ठूला लगानीकर्ताहरुले आईपीओ आवेदनका लागि अनिच्छा देखाउने गरेको सीईओ आचार्य बताउँछन् । आईपीओका लागि आवेदन दिनेहरुलाई अहिले गोलाप्रथाबाट कम्तिमा १० कित्ता सेयर पाउने सम्भावना हुन्छ ।

तर, पछिल्लो समय माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने भएकाले १० कित्ता पनि आईपीओ पर्ने सम्भावना अत्यन्तै कम हुन्छ । यसकारणले ठूला लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन छाडेको सीईओ आचार्य बताउँछन् । ठूला लगानीकर्ताहरुसँग धेरै सूचना हुन्छ ।

कुनै कम्पनी आउँदैछ भने ति कम्पनीहरुको संस्थापक समेत ठूला लगानीकर्ताहरु आफै हुन्छन् । हजारौं, लाखौं कित्ता संस्थापक होल्ड गर्ने ठूला लगानीकर्ताहरुलाई १० कित्ताले खासै अर्थ राख्दैन । सीईओ आचार्य भनछन्, ‘धनाढ्यहरुलाई किन १० कित्ता भर्नु पर्छ र ? यस्ता ठूला लगानीकर्ताहरुले १० कित्ता भर्न इच्छा देखाउँदैनन् ।’

दोस्रो बजारमा किन थोरै लगानीकर्ता ?

सेयरका दुई बजार प्राथमिक र दोस्रोबीचको अन्तर पनि निकै ठूलो छ । डिम्याट प्रयोगकर्ता ३१ लाख हुँदा १६ लाखले मात्रै आईपीओ भर्छन् । त्यसमध्ये जम्मा ४ लाख ४५ हजारले मात्रै अनलाइन प्रणालीमार्फत दोस्रो बजारमा कारोबार गर्छन् । अर्थात् साढे ११ लाख चाहिँ के दोस्रो बजारमा छैनन् त ?

सीडीएसका सीईओ आचार्य आईपीओ भर्ने अर्थात् प्राथमिक बजारमा भएका सबै दोस्रो बजारमा जान चाहदैनन् । तर अनलाइनमार्फत कारोबार गर्नेहरुको संख्या जुन रुपले बढेको छ त्यसले पछिल्लो समय दोस्रो बजारमा पनि निकै आकर्षण बढेको उनी बताउँछन् ।

गत असार मसान्तकै तुलनामा पनि सय प्रतिशत भन्दा धेरैले अनलाइन प्रयोगकर्ता बढेको उनले बताए । यसकारण अहिले अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताहरुको संख्यालाई सानो मान्न नहुने बताउँछन् । अर्को तफ अझै पनि केही लगानीकर्ताहरु अफलाइनबाटै समेत कारोबार गर्ने गरेको उनले बताए ।

‘पहिलो कुरा त आईपीओ भर्नेहरु सबैले दोस्रो बजारमा कारोबार गर्दैनन्, अहिले जतिले कारोबार गर्छन् ती दोस्रो बजारमा नै खेल्नेहरु हुन्’ उनी भन्छन्, ‘तर यो संख्या पनि क्रमशः बढ्दैछ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?