Comments Add Comment

प्रकृतिसँग जीवनको लय मिलाउनुहोस्

बिहान सूर्य उदाउँछ । साँझ अस्ताउँछ । रात हुन्छ, फेरी दिन । महिना बद्लिन्छ । ऋतु फेरिन्छ । समयको एउटा चक्र पुरा हुन्छ । यही चक्रसँगै अन्न अंकुराउँछ, पालुवा पलाउँछ, फूल फुल्छ, फल लाग्छ, पाक्छ । कहिले जाडो याम सुरु हुन्छ, कहिले वर्षा ।

माटो, हावापानी अनुसार बोट–बिरुवा उम्रन्छ । फैलिन्छ । अन्नबाली, फलहरु फल्छन् । किराफट्यांग्रा, पशुपंक्षीले आ–आफ्नै जीवनचक्र पुरा गर्छन् । अर्थात प्रकृतिमा एकअर्कासँग निर्भर भएर, हातेमालो गरेर यो सृष्टि चल्छ ।

तर, हामी मान्छे ?

प्रकृतिसँग टाढिन्छौं । अलग भएर बाँच्ने चेष्टा गर्छौं । प्रकृति विरुद्ध जाने यत्न गर्छौं । सुत्ने, उठ्ने, खाने, बस्ने, हिँडडुल गर्ने, काम गर्ने, आरम गर्ने कुरामा क्रमभंग गर्छौं । हाम्रो यही उपध्रोले गर्दा अनेक किसिमको रोगव्याधि फैलिएको छ । हामी दिनदिनै रोगको चपेटामा परिरहेका छौं । नयाँ नयाँ भाइरसले हामीलाई आक्रमण गरिरहेको छ । हाम्रो शरीर जीर्ण हुँदैछ । शिथिल हुँदैछ । कमजोर हुँदैछ ।

आज विश्वमा फैलिएका कुनैपनि रोगको कारण खोज्नुहोस्, त्यसको एउटै निचोड पाउनुहुनेछ । निचोड हो, हाम्रो खराब जीवनशैली ।

खाने, बस्ने, सुत्ने, उठ्ने, काम गर्ने, आरम गर्ने तालिका नै भंग भएपछि हामी रोगी भएका छौं । चाहे मधुमेहको कुरा गरौं वा उच्च रक्तचापको, क्यान्सरको कुरा गरौं वा डिप्रेसनको । ति सबै रोगको जड एउटै हो, हाम्रो खराब खानपान र दिनचर्या ।

जब–जब हामी प्रकृतिबाट विमुख हुँदै जान्छौं, प्रकृतिबाट अलग्गिदै जान्छौं, हाम्रो जीवनशैलीमा विचलन आउँछ । त्यही विचलनले रोगको दलदलमा पु¥याउँछ ।

सूर्यअस्तपछि चराचुरुंगी, पशुपंक्षी, किराफट्यांग्रा विश्राम गर्छन् । सुत्छन् । सूर्योदयसँगै ब्यूँझन्छन् । प्रकृतिले दिएको खान्छन् । ऋतु अनुसार मैथुन, सन्तान उत्पादनको क्रिया गर्छन् । प्रकृतिसँग यसरी अभिन्न रुपले एकाकार भएर जीवनको घडी पुरा गर्छन् ।

बोट बिरुवा उम्रने, पालुवा लाग्ने, फूल फुल्ने, फल लाग्ने, पातहरु झर्ने उपक्रम पनि यसरी नै चलेको हुन्छ । धर्तीमा अस्तित्वमा रहेका सबै–सबैले प्रकृतिसँग लय मिलाएर जीवनको धुन खोजिरहेका हुन्छन् ।

हामी मान्छे मात्र यस्तो प्राणी हौं, जो प्रकृतिमाथि हावी हुन खोज्छ । प्रकृतिको मूल्यलाई लत्याउन खोज्छ । आधुनिकताको नाममा हामी यसरी पथभ्रष्ट भएर गएका छौं ।

हाम्रा पूर्खाहरु सूर्योअस्तपछि खाना खाँदैनथे । सूर्योदयअघि नै उठ्थे । अहिले हामी मध्यरातसम्म अनेकथरी खाएर बस्छौं । पार्टी गर्छौं । बिहान झलमल्ल घाम लाग्दा पनि ओछ्यानमा मस्त सुतिरहेका हुन्छौं । भनिन्छ, सूर्योदयपछि पनि सुतिरहनेहरुमा पेटसँग सम्बन्धित रोग लाग्ने संभावना अधिक हुन्छ ।

सूर्योअस्तअघि नै खाना खानु, राती चाडै सुत्नु, बिहान ब्रम्हा मुहूर्तमा उठ्नु स्वस्थ्य दिनचर्याको हिस्सा हुन् ।

हामीलाई समय अनुसार प्रकृतिले नै यो खानु, यो नखानु भनिरहेको हुन्छ । सागपात, अन्न, फलफूल आ–आफ्नै ऋतु अनुसार फल्छ, पाक्छ । हामीले सोही बेला खानु उचित हुन्छ । तर, हामीमा यस्तो धैर्यता छैन । पाक्नुअघि नै टिपेर पकाउने, खाने गर्छौं । बेमौसमी सागसब्जी, फलफूल उत्पादन गरेर, भण्डारण गरेर खाने गर्छौं ।

प्रकृतिले हामीलाई सबैकुरा दिएको छ । के गर्ने, के नगर्ने भनेर सूचित गरेको छ । तर, प्रकृतिको भाषालाई हामीले बुझ्ने प्रयास गरिरहेका छैनौं ।

तपाईं स्वस्थ्य शरीर चाहनुहुन्छ । जीवनभर तन्दुरुस्ती चाहनुहुन्छ । खुसी र सुखी जीवन चाहनुहुन्छ । मनलाई उमंग र उर्जाले हराभरा बनाउन चाहनुहुन्छ । यसो हो भने एउटा सर्त पालना गर्नैपर्छ, तपाईंले प्रकृतिसँग आफ्नो जीवनको लय मिलाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment