
२८ फागुन, काठमाडौं । भाषिक प्रतिगमनविरुद्ध शुक्रबार दिउँसो ललितपुर महानगरपालिका पुल्चोकदेखि मंगलबजारसम्म ‘मातृभाषा मार्च’ भएको छ । फरक–फरक भाषामा नाराहरू लेखिएका ब्यानरसहित प्रदर्शनकारीहरुले मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग गरे ।
जनकवि दुर्गालाल श्रेष्ठको कविता ‘जातिको ज्यान हो भाषा’ एकसाथ वाचन गर्दै भाषिक दमनको विरोधमा अभियन्ताहरूले ‘मातृभाषा मार्च’ गरेका हुन् ।
दुई साताअघि बालाजु प्रहरी वृत्तमा मातृभाषा बोलेकै कारण पक्राउ परेका अभियन्ता सुमन सायमी पनि शुक्रबारको मार्चमा सहभागी थिए । लेखक खगेन्द्र संग्रौला, तुलानारायण शाह, अमृत योन्जन, अरुणदेव जोशी, बालकृष्ण माबुहाङलगायत अभियन्ताहरू पनि मातृभाषा मार्चमा उपस्थित रहे ।
नेपाल मातृभाषका ८४ वर्षीय जनकवि दुर्गालाल श्रेष्ठको कविता वाचन गर्दै अभियन्ताहरु पुलचोकदेखि मंगलबजार पुगे । मंगलबजारमा कोणसभा परिणत भएको प्रदर्शनमा कविता वाचन, मन्तव्य र नाराहरू प्रस्तुत गरियो ।
बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार संघर्ष समिति, भाषिक अधिकार संघर्ष समिति, आदिवासी जनजाति महासंघलगायत एक दर्जन संस्थाले एकीकृत मार्च गर्ने तयारीअनुसार मातृभाषा मार्च भएको हो । मार्चमा बहुल भाषा, बहुल लिपिले लेखएिका प्लेकार्ड, ब्यानरमात्र होइन सुस्त श्रवण क्षमता भएका हरूका लागि सांकेतिक भाषाको पनि व्यवस्था गरिएको थियो ।
सभालाई सम्बोभन गर्दै मातृभाषा बोलेको अभियोगमा एक सातासम्म हिरासत बसेका उपत्यकाव्यापी सडक विस्तार संघर्ष समतिका अध्यक्ष सुमन सायमीले सरकारले सेना प्रहरी प्रयोग गरेरै नेवा सभ्यता विस्थापन गर्दै अस्तित्व समाप्त पार्न खोजेको जिकिर गरे ।
सायमीले भने, ‘आफ्नो मातृभूमिमा आफ्नै मातृभाषा बोल्न नपाउँदा मेरो मन दुखेको छ । यहाँको जनजाति र रैथानेमाथि त यति अत्याचार हुन्छ भने काठमाडौं बाहिरकालाई झन् कति अन्याय भएको होला !’
अर्का हिराकाजी महर्जनले बालाजुमा नियोजित ढंगले मातृभाषमाथि दमन गरिएकोमा आक्रोश पोखे । महर्जनले भने, ‘समान अधिकार र समान मातभाषा प्रयोगका लागि निरन्तर लागिपर्ने छौं ।’
यसपछि शोभा सुनावारले सुनुवार भाषाको कविता सुनाइन् भने अंकला बरामले बराम भाषा, अन्जु राजवंशीले राजवंशी भाषा, मुक्तान थेबाले तामाङ, राकेश बुढाले मगर भाषा, सोनाम याङ्की वा पेमा याङ्कीले मुगाली, इम्तियाज वफाले उर्दू भाषा र राजभाइ जकःमि नेपाल भाषाका कविता सुनाए ।
फरक–फरक भाषाका कविता प्रस्तुत भएपनि अधिकांश कविताले मातृभाषा नै जीवनको आधार भएकाले निशर्त त्यसलाई उपयोग गर्न पाउनुपर्ने भाव पाइन्थ्यो ।
शारीरिक अवस्थाका कारण आफू सहभागी हुन नपाएपनि जनकवि दुर्गालाल श्रेष्ठले प्रतिगमनविरुद्धको आन्दोलनमा निरन्तर समर्थन जनाइरहेका थिए । शुक्रबारको मातृभाषा मार्चमा पनि श्रेष्ठकै कवितालाई सामूहिक गानका रुपमा वाचन गरियो । भाषिक अधिकारका पक्षमा लेखिएको उक्त कविता यहाँ प्रस्तुत गरिएको छ :
जातिको ज्यान हो भाषा
मर्छ भाषा किन त्यसै ए, जातिको यो ज्यान हो
देश जप्दै नित्य फुल्ने, फूल हो अम्लान यो ।
जाति–फूलै फुल्न वञ्चित देश यो शमशान हो
शान्ति पनि आफैं छ बोल्दो, यो त केवल भान हो
तर थिचोस् जति उठ्नु उति नै प्रगतिको इतिहास हो
बाँच्नुको आधार पनि ता हो, यही विश्वास हो ।
ए मगर, तामाङ, मैथिल, लिम्बु, ए नेवार लौ
ए उपेक्षित जाति सारा लड्न लौ तयार हौ
हैन एकै जातिको, यो देश पेवा हैन है
जाति–भाषा मार्नु हो है रेट्नु घाँटी देशकै !
मर्छ भाषा किन त्यसै ए, जातिको यो ज्यान हो
देश जप्दै नित्य फुल्ने, फूल हो अम्लान यो ।
तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4