
हस्तिनापुर नरेश धृतराष्ट्र र महाप्राज्ञ विदुरबीच राज्यसञ्चालन सम्बन्धी भएको छलफल नै विदुर नीति हो । विदुरले आफ्ना जेठा दाजु धृतराष्ट्रलाई राजकर्तव्य तथा राज्य सञ्चालनका सम्बन्धमा बताएका कुराहरू नै विदुरका राजकर्तव्य सम्बधी विचारहरू हुन्। हुन त महाभारत आफैँमा राजनीति हो । यसका पदपदमा राजनीतिक चिन्तन एवं दृष्यहरू समाहित छन् । बुझेर भन्दा पनि प्रत्यक्ष रुपमै मन्त्री विदुरले राज्य सञ्चालनको नियम बताएको प्रसङ्गलाई यहाँ सामान्य चित्रण गर्न खोजिएको छ । विदुर नीति व्यापक छ विदुर नीतिमा राजधर्मको मात्र व्याख्या नभई सामाजिक, पारिवारिक, आर्थिक धर्महरूको पनि विवेचना रहेको पाइन्छ । विदुरले मूर्ख, पण्डित, विद्वान्, बुद्धिमान्, कस्ता हुन्छन् ? को आफ्नो मित्र हो ? कसरी चिन्ने ? जस्ता कुराहरू बताएका छन् । उनको यस किसिमको व्याख्या विवेचनाले विदुर नीतिमा राजनीति मात्र नरहेको कुरा स्पष्ट हुन्छ ।
राजा (राजा अर्थात् अहिले शासक)ले सर्वप्रथम कार्य र अकार्य छुट्याउनु पर्छ । मित्र, शत्रु र मध्यस्थलाई चिन्ने प्रयत्न गर्नुपर्छ र यी तीनैथरीलाई साम, दाम, दण्ड भेदको उपयोग गरेर भएपनि आफ्नो वशमा ल्याउनु पर्छ । गोप्यता राखिरहनसक्नु राजाको अर्को गुण हो । अर्थात् राजनीति गर्ने जो कोहीले पनि गोप्य कुरा राख्न सक्दैन भने त्यसको कान्ति क्षय हुन्छ । राजाको विनाश त हुन्छ नै त्यसले राष्ट्रलाई पनि घाटा हुन्छ। राष्ट्र, जनता र सत्ताधारी (राजा) सबैको विनाश गराउने कुरा राष्ट्रियस्तरको गोपनीयताको प्रकट हो । विदुरले फेरि महाराज धृतराष्ट्रलाई सम्झाउँदै भन्दछन् । काम, क्रोधलाई त्याग गरी सत्पात्रलाई धन दिने विशेषज्ञ, शास्त्रज्ञ अनि कर्तव्यपरायण त्यस्ता राजाको बोली र व्यबहार बल्ल प्रामाणिक हुन्छ ।
तसर्थ महाराज तपाईंको संगत राम्रोसँग होस् । जनतालाई खुसी राख्नु नै राजाको कर्तव्य हो । जसरी एउटा भ्रमरले एउटा सुन्दर पुष्पमा कुनै खोट नलगाइकन मकरन्द लिने गर्छ । त्यसैगरी नै राजाले पनि प्रजा वर्गबाट कर असुली गर्नुपर्दछ ।
फेरि राजनीति गर्ने व्यक्ति अर्थात् राजा कहिलै सन्तुष्ट नहोस्, आफ्नो लक्ष्य र कर्मबाट । तर प्रजालाई देख्दा हाँसीखुसी हुने, आफ्नो शक्ति नहुँदा पनि शक्तिशाली देखिन खोज्ने, प्रजाका अगाडि कहिलै हीनताबोध नदेखाउने राजा अर्थात् राजकर्मचारी मात्र अविनाशी हुन्छन् ।
तसर्थ राजाले त्यस्तो कुरामा धेरै ध्यान दिनुपर्छ । प्रिय बोली, प्रेममय नजर, उदार मन, विकासोन्मुख हँुदै प्रगतिशील कर्मगर्ने शासक सधैभरि जनताका प्रिय हुन्छन् । यस्ता काम गर्ने शासकलाई उनीहरूले सर्वदा सम्मान गरिरहन्छन् । संसारमा धर्म सबैभन्दा ठूलो कुरा हो । कुनै पनि राजाले राज्य सञ्चालन गर्दा धर्म अङ्गीकार गर्नैपर्छ । धर्मद्वारा नै राज्य प्राप्त गरेर धर्ममूलक तरिकाले राज्यको रक्षा राजाले गरोस् । धर्मयुक्त तरिकाद्वारा प्राप्त भएकी राज्यलक्ष्मीलाई सबैले प्रेम गर्छन् । उनलाई न राजाले त्याग्छन् न उनले राजालाई त्याग्छिन् ।
राजनीति गर्ने मान्छे, मन्त्री र स्वयं राजामा पनि षड्गुण हुनु आवश्यक हुन्छ । राजनीतिक षड्गुण नबुझ्ने मान्छे कहिल्यै राजनीतिज्ञ अथवा राजाहुन सक्दैन अर्थात् टिक्दैन ।
राजनीतिक षड्गुणहरू
१. सन्धि – शत्रु, छिमेकी वा अरू राष्ट्रसँगसहयोग लिनदिनको निम्ति गरिने सम्झौता नै सन्धि हो ।
२. विग्रह – शत्रुहरूसँग टाढा रहनु अर्थात् शत्रुहरूलाई एकआपसमा फुटाउने नीति नै विग्रह हो ।
३. यान – आफ्ना शत्रुलाई जुनसुकै तरिकाले आक्रमण गर्नु नै यान हो ।
४.आसन – युद्ध हाँक सुन्दा पनि आफ्नो पक्ष निर्बल भएको खण्डमा शक्ति सञ्चित गर्दै चुपचाप बस्नु नै आसन हो ।
५.द्वैधीभाव – भित्रीरूपमा शत्रुता राख्दै बाहिरी रूपमा मित्रता गर्नु नै द्वैधीभाव हो ।
६.समाश्रय – आफू पराजित भएको खण्डमा आफूभन्दा बलियो एवं सुयोग्य राजाको शरणमा जानु नै समाश्रय हो ।
वर्तमान समयमा पनि राजनीति गर्ने जो कोहीमा पनि राजनीतिक षड्गुण हुनु अनिवार्य हुन्छ । राज्य आक्रमण र राज्य विजय मात्र नभई आफ्नो पद प्रतिष्ठाको निम्ति पनि राजनीतिक षड्गुण अनिवार्य हुन्छ । जति बेला राजाले सत्य के हो ? भन्ने कुरासँगै समयको महत्व बुझ्न सक्दैनन् । त्यति बेलाबाट नै राजाको शासन सत्ता क्रमशः पतनोन्मुख हुँदै गइरहेको हुन्छ ।
जसरी एउटा शुक्ल पक्षपछि कृष्णपक्ष आउँछ । शुक्लपक्षमा शशिको उदय भो भनेर उज्यालो नखोज्नेले कृष्ण पक्षमा त्यहीँ भ्रममा पर्दा त्यो अवश्य दुर्घटनामा पर्छ । महाप्राज्ञ, महामन्त्री विदुर भन्नुहुन्छ “हे ! धृतराष्ट्र महाराज तपाईंले महान् धनुर्धर, अत्यन्त तेजस्वी, सत्य पथिक पाण्डवहरूलाई छाडेर यो महान् हस्तिनापुर राज्यैश्वर्यको भार दुर्योधन उपर राखिदिनुभयो । तीनै लोकबाट जसरी दानवीर बलीराजा पतन भएथे त्यसैगरी तपाईं स्वयंले नै त्यसैगरी हस्तिनापुरको साम्राज्यबाट दुर्योधनादि कौरवहरू पतन भएको देख्नुपर्नेछ ।’
ढकाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन्
प्रतिक्रिया 4