Comments Add Comment

‘जनचेतना अभावले मानसिक रोगप्रति गलत दृष्टिकोण’

२० चैत, काठमाडौं । जनचेतना अभावका कारण नेपालमा मानसिक रोगप्रति गलत दृष्टिकोण रहेको विज्ञहरुले बताएका छन् ।

गैरसरकारी संस्था ओरेकले गरेको ‘विद्यमान लैङ्गिक भूमिका र मानसिक स्वास्थ्यकोे सवाल’ कार्यक्रममा सहभागीहरुले मानसिक रोगीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा समस्या सिर्जना भएको बताए ।

वरिष्ठ मनोचिकित्सक प्रा.डा. सरोजप्रसाद ओझाले नेपालमा मानसिक रोगीहरु खुल्न संघर्ष गरिरहेको बताए । ‘त्यही कारण आत्महत्या गरिरहेका छन् । आत्महत्या रोक्न सरकारले राष्ट्रिय नीति बनाउनुपर्छ’ उनले भने ।

वरिष्ठ मनोविद प्रा. डा. गंगा पाठकले सामाजिक लाञ्छना र भेदभावका कारण मानसिक रोगीले आवश्यक सहयोग पनि पाउन नसकेको बताइन् । उनले भनिन् ‘मानसिक रोग भनेको एक अस्वस्थता हो र यो कुनै लज्जास्पद कुरा होइन । मानसिक स्वास्थ्य समस्या भएकालाई हामीले बुझ्न जरुरी छ ।’

अर्थविद डा. कुसुम शाक्य कोरोना महामारीको समयमा गरिएको लकडाउनका कारण तनाव र चिन्ता बढेको बताइन् । उनले भनिन् ‘लकडाउनले सामाजिकसँगै आर्थिक रुपमा महिला वर्गलाई बढी असर पारेको छ । महिलाको कामको बोझ ३ गुणाले बढेको अवस्थाले गर्दा महिला वर्गमा मानसिक तनाव संगै आत्महत्याको संख्यापनि बढेको छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आत्महत्या गर्नु विकल्प होइन भन्ने जनचेतना नफैलिएसम्म यसलाई न्यूनीकरण गर्न कठिन हुने बताइन् । आत्महत्यालाई रोक्न सरकारी नीति बनाउनुको साथै मानसिक तनाबबाट गुज्रिरहेकाहरुलाई सहयोग गर्नुपर्ने उनले बताइन् ।

ओरेकको ३० औं वार्षिकोत्सवको अवसरमा आत्महत्यासम्बन्धी एक अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment