Comments Add Comment

मेयरको दुःखेसो- ‘रातभर एकपछि अर्को अस्पतालमा फोन गरें, आईसीयूमा बेड पाइनँ’

२५ वैशाख, काठमाडौं । आईसीयूमा बेड नपाउँदा बचाउन सकिने अवस्थाका एक कोरोना संक्रमितको मृत्यु भएको चाँगुनारायण नगरपालिकाका मेयरले बताएका छन् । मेयर सोमप्रसाद मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ४३ वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए ।

तर बेड पाउन सकेनन् र संक्रमितको मृत्यु भएको छ । मेयर मिश्रका अनुसार कोरोना संक्रमण भएर ती पुरुष ६ दिनअघि भक्तपुर अस्पतालमा भर्ना भएका थिए । उनको जेनेरल वार्डमा उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या आएपछि तीन दिनपछि हाई केयर युनिटमा सारियो । अस्पतालले अक्सिजन अभाव छ भनेपछि आफन्तले अक्सिजन खोजेर उपलब्ध गराए, संक्रमितको स्वास्थ्यमा सुधार आएन ।

अस्पतालले शुक्रबार बिरामीका छोरालाई आईसीयू बेड खोजेर अन्तै लैजान आग्रह गर्‍यो । ‘अस्पतालबाट शुक्रबार राति १२ बजेतिर फोन आयो । बिरामीका छोराले गरेका रहेछन्,’ मेयर भन्छन्, ‘चिकित्सकले बुबालाई तत्काल आईसीयूमा लैजान भनेका छन् । आईसीयू बेड भएको अस्पताल पुर्‍याउन सकिए बचाउन सकिन्थ्यो कि भनेर मलाई अनुरोध गरे ।’

‘त्यसपछि मैले मध्यपुर अस्पतालमा फोन गरें । आईसीयूमा सार्ने बिरामीहरु इमर्जेन्सीमा पालो कुरेर बसिरहेका छन् भन्ने जवाफ आयो । त्यसपछि कोरिया मैत्री अस्पतालमा फोन गरें । त्यहाँ पनि मध्यपुर अस्पतालको जस्तै रेडिमेड उत्तर पाएँ’ मेयर मिश्रले बितेको रातको तीतो स्मरण गरे ।

उनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई फोन गरे, आईसीयू बेड उपलब्ध गराइदिनू पर्‍यो भनेर अनुरोध गरे । तर कतैबाट पनि खाली छ भन्ने जवाफ पाएनन् । त्यही बीचमा अस्पतालबाट बिरामीका छोराको तारन्तार फोन आइरन्थ्यो । भन्छन्, ‘आईसीयू बेड पाउन सके बुबालाई बचाउन सकिने भन्दै मसँग सहयोगको याचना गरिरहन्थे । म आफ्नो लाचारीपन ढाक्दै प्रयास गरिरहेको छु भन्ने ढाडस दिइरहन्थें ।’

राति नै ह्याम्स, केएमसीलगायतका निजी अस्पतालहरुमा पनि फोन गरे । उनका अनुसार ह्याम्सले आईसीयू बेड खाली छैन भन्ने जवाफ दियो भने केएमसीले अक्सिजन अभाव भएकाले भर्ना लिन नसक्ने बतायो ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बर पनि डायल गरे । जति पटक गर्दा पनि फोन उठेन । ‘मेरो सारा प्रयास विफल बन्न पुग्यो । बिहान करिब साढे ७ बजेतिर उनको मृत्युको खबर सुन्नु पर्‍यो,’ चाँगु नारायण नगरका मेयर मिश्र भन्छन्, ‘बचाउन सकिने अवस्था रहँदा रहँदै एकजना छोराले आँखाकै अगाडि बुबालाई गुमाउनु पर्‍यो ।’

मेयर मिश्रका अनुसार बेड पाइने झिनो आशमा एकपछि अर्को अस्पताललाई फोन गर्दै गए । अबेर रात भइसकेकाले धेरैको फोन नै उठेन । फोन उठेका अस्पतालहरुमा पनि बेड खाली छैन भन्ने जवाफ दिए ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बर पनि डायल गरे । जति पटक गर्दा पनि फोन उठेन । ‘मेरो सारा प्रयास विफल बन्न पुग्यो । बिहान करिब साढे ७ बजेतिर उनको मृत्युको खबर सुन्नु पर्‍यो,’ चाँगु नारायण नगरका मेयर मिश्र भन्छन्, ‘बचाउन सकिने अवस्था रहँदा रहँदै एकजना छोराले आँखाकै अगाडि बुबालाई गुमाउनु पर्‍यो ।’

सरकारले उपत्यकाभित्र रहेका प्रत्येक अस्पतालको बेड क्षमता तथा बेडमा रहेका बिरामी संख्या, बेड खाली रहे÷नरहेको यथार्थ विवरण दैनिक सार्वजनिक गर्नुपर्ने उनको माग छ । सोही सूचनाको आधारमा जनताले पनि बिरामी उपचारको व्यवस्था मिलाउन सक्ने उनको भनाइ छ ।

रातिको घटनाले सबै अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा नआएको हो कि भन्ने प्रश्न उब्जाएको भन्दै उनले अनुगमन गर्न सरकारलाई सुझाएका छन् ।

अक्सिजन वितरण प्रणली वैज्ञानिक बनाउन सुझाव

मेयर मिश्र अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वैज्ञानिक बनाउनुपर्ने सुझाव दिन्छन् ।

काठमाडौं उपत्यकाका अक्सिजन उद्योगहरु २४ घण्टा सञ्चालनमा आउँदा पनि अस्पतालहरुमा अक्सिजन अभाव हुनु भनेको व्यवस्थापनको कमजोरी रहेको उनी बताउँछन् । ‘उद्योगहरु २४ सै घण्टा सञ्चालनमा छन् । तर पनि अस्पतालहरुमा अक्सिजन अभाव छ भन्ने गुनासो आइरहन्छ । यसो हुनुमा वितरण प्रणाली वैज्ञानिक नहुनु हो,’ उनले भने ।

२४ सै घण्टा उत्पादन भएका अक्सिजन कहाँ कति गए भनेर दैनिक रेकर्ड राखेर वितरण गर्न सके यसको अभाव टार्न सकिने उनको भनाइ छ । अहिलेकै अवस्थामा अक्सिजन वितरण गरिने हो भने अक्सिजनको कालोबजारी मौलाउने र जनता अक्सिजन नपाएर मर्नुपर्ने अवस्था रहने उनले बताए । ‘कुन–कुन अस्पतालले कति कति अक्सिजन सिलिण्डर लगिरहेका छन् । दैनिक माग कति हो । त्यो निर्धारण गरेर सबैलाई आवश्यकता अनुसार वितरण गर्नु अहिलेको मुख्य आवश्यकता हो । यसो हुन सके अक्सिजनको अभाव टार्न सकिन्छ,’ उनले भने ।

मन्त्रालयको दाबी : ४८ प्रतिशत आईसीयू बेड खाली छ

मेयरले आईसीयू बेड नपाएर संक्रमितको मृत्यु भएको बताइरहँदा स्वास्थ्य मन्त्रालयले भने अस्पतालहरुमा बेड अभाव नभएको तथ्यांक सार्वजनिक गरिरहेको छ । मन्त्रालयले सार्वजनिक गरेको दैनिक अध्यावधिक तथ्यांकमा शुक्रबार आईसीयू बेड ४८ प्रतिशत खाली रहेको देखाइएको छ ।

मन्त्रालयको बिहीबारको तथ्यांकमा देशभर १ हजार ४०६ आईसीयू बेड र ५६६ भेन्टिलेटर बेड संक्रमितका लागि छुट्याइएको देखिन्छ । तर मन्त्रालययले शुक्रबार आईसीयू र भेन्टिलेटरको बेड संख्या कति हो भन्ने यकिन तथ्यांक नखुलाई बिरामी रहेको संख्या मात्र सार्वजनिक गरेको थियो ।

मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार ५८ प्रतिशत आईसीयू र ५९.१९ प्रतिशत भेन्टिलेटर बेड खाली रहेको देखाउँछ । देशभर कोरोना संक्रमितका लागि छुट्याइएका १ हजार ४०६ आईसीयू बेडमध्ये ७२८ र ५६६ भेन्टिलेटरमध्ये २३१ वटा शुक्रबार भरिएका छन् ।  उपत्यकामा शुक्रबार १९४ जना आईसीयू र ८८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

चिकित्सक भन्छन्– बेड खाली छैन

बेड खाली रहेको भन्ने मन्त्रालयको तथ्यांकमा कुनै सत्यता नभएको अस्पतालहरुले बताएका छन् । ‘अस्पतालका सबै बेड भरिभराउ छन् । अस्पताल आइसकेका बिरामीलाई पालो कुराएर उपचार गराउनुपर्ने अवस्था छ,’ उपत्यकाका सबैजसो अस्पतालका अधिकारीहरुको जवाफ हुन्छ ।

स्थलगत अनुगमनका क्रममा पनि अस्पतालहरुमा पालो कुर्नेहरु प्रशस्तै भेटिन्छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी पनि बेड अभावमा अनेकौं सकस भोगेर संक्रमितको उपचार गराउनुपर्ने बाध्यता रहेको बताउँछन् ।

६० बेड क्षमता भएपनि ८२ जना संक्रमितलाई राखेर उपचार गरिरहेको भन्दै डा. राजभण्डारीले अनलाइनखबरसँग भने, ‘एकातिर बेड अभाव छ । अर्कोतिर सबैलाई अक्सिजन सपोर्टमा उपचार गराउनुपर्ने बाध्यता छ । समस्यै समस्यामा संक्रमितको उपचार गराइरहेका छौं ।’

मन्त्रालयले आईसीयू र भेन्टिलेटर बेड खाली रहेको तथ्यांक सार्वजनिक गर्ने, तर संक्रमितहरुले बेड नपाउने अवस्था कहिले अन्त्य होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

चेनस्मोकर भट्ट

Advertisment