
१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सामाजिक सुरक्षातर्फको भार बढाउँदैछ । सामाजिक सुरक्षाअन्तर्गत जेष्ठ नागरिक भत्ता, अपांगता भत्ता तथा असहाय एकल महिला भत्ताको दायरा बढाउने तयारी गरेको हो ।
जेष्ठ नागरिक भत्ता वृद्धि गर्ने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । सरकारले सामाजिक सुरक्षा अध्यादेश २०७८ मार्फत समेत असहाय एकल महिला भत्ता र अपांगता भत्ताको समेत दायरा बढाउने तयारी गरेको छ । यसले आगामी आर्थिक वर्षमा चालु खर्चतर्फको भार बढाउने निश्चित छ ।
चालु खर्चमा कति हो सामाजिक सुरक्षाको भार ?
महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सरकारले सामाजिक सुरक्षाका लागि गरेको खर्चको भार कूल चालु खर्चको तुलनामा साढे १३ प्रतिशत हो । यो वर्ष सरकारले कूल ७ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँ चालु खर्च गरेको छ । यो रकममध्ये सामाजिक सुरक्षाका कार्यक्रमहरूका लागि मात्र १ खर्ब ४७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । यो कुल चालु खर्चको १३.५० प्रतिशत हिस्सा हो । यो भार आगामी आर्थिक वर्षमा अझ बढ्ने छ । किनकि सरकारले अहिले मासिक ३ हजार वितरण भइरहेको जेष्ठ नागरिक भत्तालाई मासिक ५ हजार पुर्याउने तयारी गरेको छ ।
चालु खर्चको बजेट केमा हुन्छ खर्च ?
नेपालको कुल बजेट खर्चको दुई तिहाई बजेट चालु शीर्षकमा खर्च हुन्छ । एक तिहाई मात्र पूँजीगत र वित्तीय व्यवस्थामा खर्च हुने गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु खर्चमध्ये सबैभन्दा ठूलो भार संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा जाने रकममा पर्छ ।
आव २०७६/७७ मा संघीय सरकारको कूल बजेट खर्च १० खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ थियो । यसमध्ये केन्द्रबाट तल्लो सरकालाई अनुदानमा ४ खर्ब ५४ अर्ब ६३ करोड दिइएको छ । यो चालु खर्चमा भएको कूल हिस्साको ४१.६७ प्रतिशत रकम हो । त्यसपछि दोस्रो स्थानमा सामाजिक सुरक्षा रहेको छ ।
तेस्रो स्थानमा कर्मचारी र पदाधिकारीको तलव–भत्ता पर्छ । २०७६/७७ मा कर्मचारीको तलव–भत्तामा मात्र १ खर्ब १७ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ खर्च भएको तथ्यांक छ । विभिन्न प्रकारको सेवा तथा वस्तु खरीदमा सो आर्थिक वर्षमा ३४ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खर्च भएको छ । बैंकको ब्याज भुक्तानीमा २६ अर्ब रुपैयाँ खर्च भएको तथ्यांक छ ।
यस्तो छ आव २०७६/७७ मा चालू खर्चको भार
चालु खर्च | खर्च भएको रकम | खर्च (प्रतिशत) |
---|---|---|
कर्मचारीको तलव–भत्ता | १ खर्ब १७ अर्ब ८३ करोड ७३ लाख | १०.८० |
सेवा तथा वस्तु खरीद | ३४ अर्ब ७५ करोड २६ लाख | ३.१८ |
ब्याज, सेवा तथा बैंक कमिसन | २६ अर्ब ६ करोड | २.३९ |
सहुलियत | १ अर्ब २७ करोड ७२ लाख | ०.१२ |
अनुदान | ४ खर्ब ५४ अर्ब ६३ करोड ३२ लाख | ४१.६७ |
सामाजिक सुरक्षा | १ खर्ब ४७ अर्ब ३२ करोड | १३.५० |
अन्य खर्च | २ अर्ब २६ करोड ८१ लाख | ०.२१ |
कूल चालु खर्च | ७ खर्ब ८४ अर्ब १४ करोड ८९ लाख | ७१.८७ |
स्रोत : महालेखा नियन्त्रकको कार्यालय
कसले पाउँछन् सामाजिक सुरक्षा भत्ता ?
जेष्ठ नागरिक, आर्थिक रुपले विपन्न, असक्त र सहहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिल, अपांगता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने र लोपोन्मुख जाति ।
प्रतिक्रिया 4