
३० जेठ, काठमाडौं । हङकङको प्रहरीले तीन वर्षअघि भएको प्रजातन्त्रवादी आन्दोलनमा सहभागी भएका तीनजनालाई पक्राउ गरेको छ । तीन वर्षअघि भएको प्रजातन्त्रवादी आन्दोलनको तीन वर्ष पुगेको अवसरमा उक्त आन्दोलनमा सहभागी तीनजना पक्राउ परेका हुन् ।
हङकङमा प्रजातन्त्रवादी आन्दोलन चर्किएसँगै चीनले राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो । सोही कानुनअन्तर्गत अहिले चीनमा धेरै प्रजातन्त्रवादी नेताहरु पक्राउ परिरहेका छन् ।
अहिले पक्राउ परेका तीनजनालाई अनुचित गतिविधिमा संलग्न रहेको र आफ्नो पहिचान लुकाउने प्रयास गरेको आरोप लगाइएको छ । त्यस्तै अन्य १० जनालाई भेला जम्मा गर्नमा लगाइएको प्रतिबन्ध उल्लंघनको आरोपमा अदालतमा बोलाइएको छ।
केही मानिसले फोहोर राख्ने भाँडो तथा अन्य सामग्रीहरु राखेर सडक बन्द गरेका थिए । प्रहरीले मानिसको स्वास्थ्य र सुरक्षामा असर पार्ने त्यस किसिमका कार्य निन्दनीय रहेको बताएको छ । अहिले पक्राउ परेका तीनजना मानिसहरु १५ देखि १९ वर्षको रहेको प्रहरीको भनाइ छ।
हङकङमा प्रजातन्त्रको माग गर्दै बेलाबेलामा आन्दोलनहरु हुँदै आएको छ । चीनले पनि हङकङको आन्दोलन दबाउन विभिन्न कानुन ल्याएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4