
२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरबाटै माटोको गुणस्तर जाँच गर्न सकिने प्रविधि भन्दै गत फागुन १२ गते नै उद्घाटन गरे पनि अहिलेसम्म धेरै जिल्लाको माटोको नमुना अनलाइन प्रविधिमा राखिएको छैन ।
घरमै बसीबसी इन्टरनेटको माध्यमबाट माटो जाँच गर्न सकिने प्रविधि शुरु भएको सरकारले दावी गरे पनि सम्बन्धित निकायले तयारी नै पूरा नगरी हतारमा उद्घाटन गरेको पाइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले देशभरका ५६ जिल्लाका २३ हजार २७३ वटा माटोको नमूनालाई समावेश गरेर वेवसाइटमार्फत नक्सा प्रयोगमा ल्याएको छ ।
ती जिल्लाको स्याटेलाइट तस्वीरका आधारमा माटोको गुण निर्धारण गर्न भूमिका खेल्ने वातावरणीय कारक तत्वमध्ये १६८ वटा तत्वलाई ध्यानमा राखेर नक्सा बनाइएको छ । तर २१ जिल्लाको माटोको नमूना संकलन हुन नसकेका कारण परियोजना अझै अधुरो रहेको नार्कले जनाएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले माटोको डिजिटल नक्साको प्रभावकारी कार्यान्वयनमा कोरोना महामारीका कारण थप काम गर्न नपाएको बताएको छ ।
निषेधाज्ञाका कारण किसानसम्म पहुँचका लागि गर्नुपर्ने कामहरु प्रभावित भएको वरिष्ठ माटो वैज्ञानिक डा. श्रीप्रसाद विष्टको भनाइ छ । ‘हामीले लन्च गरेको पाँच महिना भयो तर प्रचार प्रसार र तालिमका कामहरु कोरोनाले प्रभावित भयो,’ उनले भने ।
वेवसाइटमा राखिएको नक्साबाट भौगोलिक स्थान विशेषका माटोका प्रकार थाहा पाउन सकिन्छ । साथै माटोमा रहेका अम्लीयपना, प्रांगारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा थाहा पाउन सकिने नार्कले जनाएको छ ।
माटोको सुक्ष्म पोषकतत्व, जिंक तथा बोरोन जस्ता तत्वको मात्रा पनि नक्सामार्फत किसानले जानकारी लिन सक्छन् ।
उक्त वेवसाइट प्रभावकारी रुपमा सञ्चालन गर्न भर्चुअल माध्यमबाट तालिमहरु दिइए पनि प्रभावकारी नभएको र आगामी आर्थिक वर्षबाट द्रुतगतिमा काम अघि बढ्ने वरिष्ठ माटो वैज्ञानिक विष्टले बताए । प्रदेशस्तरीय तालिमको योजना बनेको भन्दै उनले सबै कृषि ज्ञान केन्द्र, स्थानीय तह र कृषिमा काम गर्नेहरुसम्म नक्साको पहुँच विस्तार गर्न काम गरिने नार्कको तयारी छ ।
विकट भौगोलिक अवस्था र कोरोनाका कारण केही जिल्लाको माटोको नमूना संकलन गरेर नक्सामा समावेश गर्न नसकिएको राष्ट्रिय माटो विज्ञान केन्ऽका वरिष्ठ माटो वैज्ञानिक विष्ट बताउँछन् । यस वर्षको फागुनसम्म ती जिल्लाबाट नमूना संकलन गरेर नक्सालाई पूर्ण बनाउने तयारी भइरहेको उनले बताए ।
नार्कका अनुसार माटो परीक्षणबारे जानकारी लिने उक्त वेवसाइटमा हिजोआज दैनिक ३ हजार भिजिटर आउने गरेका छन् । तर भिजिटर किसान हुन भन्नेमा केन्द्रका अधिकारी नै निश्चिन्त छैनन् ।
‘वेबसाइटमा रियलटाइम ट्राफिक आएका छन् तर उनीहरु कृषक हुन् वा होइनन् भन्ने स्पष्ट हुन सकेको छैन,’ वरिष्ठ माटो वैज्ञानिक विष्टले भने ।
कृषककै तहमा पुग्नेगरी प्रचार नभइसकेकाले वेवसाइटमा आउने भिजिटर माटो अध्ययन गर्ने विद्यार्थी र यस विषयमा चासो राख्ने अरु सर्वसाधारण हुन सक्ने उनले बताए ।
किसानले कसरी फाइदा हुन्छ ?
सरकारले यो कार्यक्रम सुरु हुनुअघि माटोका गुणस्तर जाँच गर्न किसानहरु जिल्ला सदरमुकाम वा स्थानीय तहको केन्द्रसम्म धाउनुपर्ने बाध्यता थियो । तर, माटोको डिजिटल नक्सांकनको माध्यामबाट घरमै बसेर किसानले माटोका गुण जाँच गर्न सक्छन् ।
इन्टरनेट र मोबाइल एप प्रयोग गर्न जान्ने किसानले सोही माध्यम र नजान्ने किसानले फोन गरेरै आफ्नो जमिनमा कुन खेती लगाउने तथा जमिनको स्वस्थताबारे जानकारी लिन सक्ने राष्ट्रिय माटो विज्ञान केन्द्रको दाबी छ ।
ठूलो लगानीमा गरिने कृषि परियोजना सञ्चालन गर्न, नयाँ प्रविधि र बीऊ प्रयोग गर्न माटो सुहाउँदो खेती गर्नका लागि यो प्रविधि महत्वपूर्ण मानिएको छ । व्यवसायिक कृषि विकास गर्न, मलको आवश्यकता सम्बन्धमा नीति बनाउन तथा माटोको उपचार गर्न पनि माटोको डिजिटल नक्साले सहयोग गर्ने नार्कले जनाएको छ ।
प्रतिक्रिया 4