Comments Add Comment

भारतसँगको रेलसेवा सम्झौता संशोधन, नेपाली रेललाई हल्दिया र कोलकातासम्म पहुँच

२५ असार, काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधन भएको छ । दुई देशबीच भएको सम्झौता संशोधनको एलओई (लेटर अफ एक्स्चेन्ज) शुक्रबार भर्चुअल माध्यमबाट आदान प्रदान भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल भारत रेल सेवा सम्झौता संशोधनमा नेपालले असार १४ र भारतले असार १५ गते हस्ताक्षर गरेको थियो । एलओईमा नेपालकोतर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका छन् भने भारतका तर्फबाट भारतीय रेल्वे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रको हस्ताक्षर छ ।

भातीय बन्दरगाहसम्म नेपाली रेल सेवाले हल्दिया र कोलकात्ता बन्दरगाहसम्म पहुँच पाउने तथा नेपालले तेस्रो मुलुकसँगको ब्यापारमा भारतीय रेलसेवा प्रयोग गर्न पाउनेसहितका सुविधा संशोधनमा छ । नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगञ्ज र विराटनगर देखि कलकत्ता र हल्दियासम्म रेल सेवा दिन सक्ने गरी रेल सेवा सम्झौतामा संशोधन भएको छ ।

रेल सेवा सम्झौताको संशोधनपछि नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्थाहरू गरिएका छन् ।

उक्त संशोधनबाट भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसका साथै भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो ट्रेन अपरेटरहरूले नेपालको पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्नेछन् ।

भारतमा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/वागनहरू नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिनेछ भने निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी हुनेछ ।

हाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलब्ध हुने गरी र नेपाल भारत सीमानाका अन्य पारवहन विन्दु तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने सहमति पनि भएको छ  ।

साविकमा नेपालमा हुने आयात निर्यातका लागि रेल सेवामा लाग्ने सेवा शुल्क अगि्रम रुपमा कलकत्तामा तिर्नुपर्ने व्यवस्था रहेकोमा नेपाली वाणिज्य बैक मार्फत सोझै भुक्तानी दिन सकिने व्यवस्था पनि गरिएको मन्त्रालयले जनाएको छ ।  संशोधनले दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ ।

एलओई आदान प्रदान कार्यक्रममा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालगायतको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment