Comments Add Comment
कोभिड–१९ :

संक्रमण बढ्दा भौतिक उपस्थितिमा पढाइ अझ अनिश्चित

१३ साउन, काठमाडौं । देशभरका विद्यालय बन्द भएको तीन महिना पुग्यो । कोरोना महामारीको दोस्रो लहर आएपछि सरकारले १३ वैशाखदेखि विद्यालय बन्द गरिएको थियो ।

२८ वैशाखमा उच्च विन्दुमा पुगेको दोस्रो लहरको संक्रमण क्रमशः कम भएपछि विभिन्न तहका परीक्षाहरु सञ्चालन भए तर शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन पाठन भएको छैन । तर पछिल्ला दिनमा दैनिक संक्रमितको संख्या उकालो लागेको छ र मंगलबार झण्डै ४ हजार पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, कोरोना संक्रमणबाट हालसम्म १९ वर्षसम्मका ९१ बालबालिकाको मृत्यु भइसकेको छ । दैनिक १० प्रतिशतभन्दा बढी बालबालिकामा कोभिड–१९ को संक्रमण देखिने गरेको छ ।

संक्रमणको डरले लामो समय घरमै थुनिएका बालबालिकामा मानसिक असर पर्न सक्नेबारे अभिभावकहरु चिन्तित छन् । साथीसँगीसँग खेल्ने, रमाउने, सिक्ने, पढ्ने लगायत गतिविधि हुने मुख्य थलो विद्यालय कहिले खुल्छ भन्ने टुंगो छैन ।

तर जनस्वास्थ्य विज्ञहरुले भने संक्रमणको जोखिम कायमै रहेकोले भौतिक रुपमा विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन् । उनीहरुले सरोकारवाला पक्षसँग छलफल गरी प्रभावकारी ‘प्रोटोकल’ र ‘गाइडलाइन’ तयार गरेर मात्रै विद्यालय खोल्न सुझाव दिएका छन् । विद्यालय बन्द रहेकै अवस्थामा पनि दैनिक १० प्रतिशतभन्दा बढी बालबालिकामा संक्रमण पुष्टि हुने गरेको भन्दै हचुवाको भरमा विद्यालय खोल्न नहुने उनीहरुको चेतावनी छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन जोखिम कायमै रहेकोले विद्यालय खोल्न उपयुक्त नहुने बताउँछन् । ‘कोरोना संक्रमण दर २० प्रतिशतभन्दा माथि छ’, भन्छन्, ‘जोखिमको हिसाबले यो उच्च नै भएकाले अहिले विद्यालय खोल्नु हतार हुन्छ ।’

 धेरै वयस्क एवं प्रौढ मानिसहरु पहिलो तथा दोस्रो लहरमा संक्रमित भइसकेको र यही समूहका धेरैले खोप लगाइसकेकाले अब संक्रमणको बढी जोखिममा बालबालिका रहेको मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्याय बताउँछन् ।

नेपालमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सक्ने अवस्था उनी देख्दैनन् । त्यसैले सावधानी अपनाएर विद्यालय खोल्न सक्ने/नसक्नेबारे सरोकारवालाहरुले सुझबुझका साथ निर्णय लिनुपर्ने उनको सुझाव छ ।

डा. पुनका अनुसार पहिलो लहरको तुलनामा दोस्रोमा बढी संक्रामक र मृत्यु गराउन सक्ने भाइरसको नयाँ भेरियन्टका कारण बालबालिका धेरै प्रभावित बनेका छन् ।

निषेधाज्ञाका कारण लामो समयदेखि बालबालिका घरमै बस्नु, सामाजिक घुलमिल नहुनु र शैक्षिक संस्था पूर्ण रूपमा बन्द हुँदा समेत दैनिक झण्डै १० प्रतिशत बालबालिका संक्रमित हुनुलाई डा. पुन निकै खराब संकेत मान्छन् ।

अर्का संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला विद्यालयबाट बालबालिकाले भाइरस बोकेर घर–घरमा पुर्‍याउने ठूलो जोखिम हुने बताउँछन् । स्वास्थ्य मापदण्ड पालना गर्ने सवालमा बालबालिका त्यति गम्भीर पनि नहुने उनको भनाइ छ ।

अहिले देखिएको भेरियन्टले बालबालिकालाई त्यति गम्भीर नबनाएको भएपनि एक घरबाट ५० औं घरमा संक्रमण सार्ने उच्च जोखिम रहेको उनले बताए । ‘बालबालिकाका लागि भ्याक्सिनको व्यवस्था छैन, तर कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखा पर्ने सम्भावना प्रवल छ’, डा. कोइराला भन्छन्, ‘संक्रमण फैलिने क्रम पनि उच्च नै रहेको अवस्थामा विद्यालय खोल्दा गल्ती नै हुन सक्छ ।’

विदेशमा जस्तो पूर्ण स्वास्थ्य मापदण्ड पालन हुने अवस्था नेपालमा नरहेको उनको विश्लेषण छ । ‘सबै अभिभावकले खोप नपाइसकेको अवस्थामा बालबालिकाका लागि प्रयोग गरिने खोप अनुसन्धानकै अवस्थामा छ’, उनी भन्छन्, ‘जीवनभन्दा ठूलो कुरा अरु नभएकोले अहिले विद्यालय नखोली विभिन्न विकल्प अपनाएर पठनपाठनलाई निरन्तरता दिनु नै बुद्धिमानी हुन्छ ।’

अर्का संक्रामक रोग विशेषज्ञ डा. किरणराज पाण्डे भने भिडभाड हुने अन्य क्षेत्र खुला गरेर विद्यालय मात्र बन्द गर्नुलाई युक्तिसंगत देख्दैनन् । उनी स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड कम हुनेगरी माथिल्लो तहको कक्षा सञ्चालन गर्दा हुने देख्छन् । भन्छन्, ‘त्यसपछि देखिने असरको आधारमा तल्ला कक्षाहरु खोल्ने/नखोल्ने निर्णय गर्न सजिलो हुन्छ ।’

के भन्छन् विद्यालय सञ्चालक ?

निजी विद्यालयका प्रतिनिधिमूलक संगठन प्याब्सन र एन प्याब्सन पनि तत्काल भौतिक उपस्थितिमा विद्यालय खोल्ने पक्षमा छैनन् । संक्रमणको जोखिम कायमै रहेकोले अहिले नै विद्यार्थीलाई उपस्थिति गराएर विद्यालय खोल्ने पक्षमा आफूहरु नरहेको उनीहरुको भनाइ छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी संक्रमण १५ सयको हाराहारीमा आउँदा जोखिम युक्त ठाउँ पहिचान गरी आलोपालो प्रणालीमा विद्यालय खोल्ने तयारी थालेपनि अहिले संक्रमण बढेकाले भौतिक रुपमा विद्यालय खोल्ने अवस्था नरहेको बताउँछन् । महामारीमा भर्चुअल माध्यममा जोड दिन सरकारलाई उनको सुझाव छ ।

वैकल्पिक माध्यमबाट पठनपाठन निरन्तर गर्न सरकारले विद्यार्थीलाई सहुलियतमा इन्टरनेट, ग्याजेट, ल्यापटप, ट्याब्स लगायतका उपकरण उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने पुरीले बताए । नेपाल टेलिकमसँग समन्वय गरेर विद्यार्थीलाई १०–०४ बजेसम्म निःशुल्क इन्टरनेटको सुविधा दिने व्यवस्था मिलाउन सके प्रभावकारी हुने उनको भनाइ छ ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘जहाँ कम विद्यार्थी छन्, भौतिक दूरी कायम गर्न सकिन्छ, त्यहाँ जोखिम कम छ । त्यस्ता ठाउँमा विद्यालयहरु खोलेरै शैक्षिक गतिविधि गर्न सकिन्छ ।’

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा सबै क्षेत्रको जोखिम निस्तेज भएपछि मात्र विद्यालय खोल्नु उपयुक्त हुने बताउँछन् । विद्यालयहरुमा मात्र संक्रमणको जोखिम छ भनि ठान्नु गलत हुने भन्दै उनले बालबालिकासम्म संक्रमण पुग्ने अन्य क्षेत्रलाई पनि रोक्नपर्ने उनले बताए ।

के भन्छन् अभिभावक

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी ‘प्रोटोकल’ र ‘गाइडलाइन’ बनाएर मात्रै विद्यालय सञ्चालन गर्नुपर्ने बताउँछन् । विद्यालयमा तहगत, भूगोलगत स्वास्थ्य मापदण्ड बनाएर संक्रमणको आधार हेर्दै विभिन्न मोडालिटीका ‘प्रोटोकल’ र ‘गाइडलाइन’ बनाउनुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ), जनस्वास्थ्यविद लगायत सरोकार पक्षको सुझाव समेटेर ‘प्रटोकल’ र ‘गाइडलाइन’ तयार पार्नुपर्ने उनको भनाइ छ ।

सबै क्षेत्रलाई जोखिमको एउटै नजरले हेर्न नमिल्ने भन्दै अध्यक्ष भण्डारीले संक्रमण कम भएका जिल्लाहरुमा स्थानीय तहले त्यसको मूल्यांकन गरेर विद्यालय सञ्चालन गर्न सक्ने बताए । ‘जहाँ कम विद्यार्थी छन्, भौतिक दूरी कायम गर्न सकिन्छ, त्यहाँ जोखिम कम छ’, अभिभावक महासंघका अध्यक्ष भण्डारी भन्छन्, ‘त्यस्ता ठाउँमा विद्यालयहरु खोलेरै शैक्षिक गतिविधि गर्न सकिन्छ ।’

सरकारी तथ्यांकअनुसार, देशभर ३६ हजार विद्यालय छन् । तीमध्ये १५ हजारमा एक सयभन्दा कम विद्यार्थी छन् । १० हजार विद्यालयमा ५० जनाभन्दा कम विद्यार्थी छन् । ४ हजार विद्यालयमा २५ जनाभन्दा कम विद्यार्थी छन् । घनावस्ती नभएका, कम विद्यार्थी भएका विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने भण्डारीले बताए । भर्चुअल माध्यम प्रभावकारी नदेखेका अध्यक्ष भण्डारी अन्य मोडालिटीमा सरकारले तत्परता नदेखाएको बताए ।

‘मध्यमार्गी विधि अपनाऊँ’

शिक्षाविद डा. विद्यानाथ कोइराला भने कोरोना महामारीको समयमा शैक्षिक गतिविधिलाई चलायमान बनाउन मध्यमार्गी बाटो अपनाउन सुझाव दिन्छन् ।

शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय समझदारीविना विद्यालय खोल्नु उपयुक्त नहुने भन्दै उनले अनलाइन कक्षा जस्ता वैकल्पिक शिक्षण विधि त्यति प्रभावकारी नदेखिएकोले मध्यमार्गी अपनाउन सुझाव दिए । ‘विद्यालय खोल्दा संक्रमणको डर छ, समाधानको उपाय छैन । स्वास्थ सुरक्षाको ग्यारेन्टी नभएर शिक्षक, विद्यार्थी, अभिभावक डराए भने पनि विद्यालय खोल्न मिल्दैन’, उनी भन्छन्, ‘त्यसैले मध्यमार्गी उपाय अपनाएर शैक्षिक गतिविधि चलायमान बनाउँ भन्ने मेरो सुझाव छ ।’

शिक्षाविद कोइरालाले चारवटा मध्यमार्गी (पूरक) विधि सुझाएका छन्, जसमा पहिलो सिकाइलाई पढाइमा जोड्ने विधि छ । दोस्रो विधिमा सिकाइलाई पढाइमा जोडेर पाठ्यपुस्तकको पुनर्लेखन गराउने । तेस्रोमा, परम्परागत प्रविधिको अधिकत्तम उपयोग गरेर शिक्षण सिकाइ अघि बढाउने र चौथोमा आधुनिक प्रविधि प्रयोगबाट शिक्षण सिकाइ गराउने विधि छ ।

उल्लेखित शिक्षण सिकाइ विधि अपनाउँदा विद्यालय बन्द रहनु र खुल्ला हुनुले केही फरक नपार्ने बताउँदै कोइराला भन्छन्, ‘शिक्षकहरुले भने विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन विशेष तत्परता देखाउनुपर्छ ।’

उनले महामारीको समयमा परीक्षा सञ्चालन गर्ने विधि समेत सुझाएका छन् । विद्यार्थीलाई तह अनुसार प्रोजेक्ट वर्क र अनुसन्धान कार्य गर्न लगाएर पनि मूल्यांकन गर्न सकिने उनी बताउँछन् ।

अभिभावकलाई त्यही प्रोजेक्ट वर्क र अनुसन्धानको रिपोर्टमा आफ्नो बालबालिकाको शैक्षिक उपलब्धी वा कमजोरी हेर्न लगाउन सकिने शिक्षाविद कोइरालाको भनाइ छ । ‘पढाइ विद्यालयमा हुने हो, सिकाइ त जतिखेर जहाँ पनि हुन्छ’, शिक्षाविद् कोइराला भन्छन्, ‘सिकाइलाई पढाइमा जोड्न सकियो भने विद्यालय खोल्नु र नखोल्नुले खासै फरक पार्दैन ।’

उनका अनुसार, अहिलेका बालबालिका शिक्षकले पढाएको भन्दा आफू खुसी सिक्न बढी उत्साहित हुन्छन् । विभिन्न माध्यमबाट उनीहरुले सिकिरहेका हुन्छन् । त्यसैले पूरक विधि बढी प्रभावकारी हुन सक्ने उनको निचोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment