Comments Add Comment
कोभिड-१९ :

देशभरका अस्पतालहरूमा अक्सिजनको हिसाबकिताब

घटना–१ : २८ वैशाख २०७८ मा राति अक्सिजन अभाव हुँदा रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भयो । सिलिण्डरमा भरेर ल्याइने अक्सिजन समयमा नआइपुग्दा आकस्मिक कक्ष र एचडीयूमा उपचाररत विरामीले ज्यान गुमाएका थिए । त्यही अस्पतालमा २९ गते थप ७ जनाले आक्सिजन अभावमै ज्यान गुमाए ।

घटना–२ : ३० वैशाखमा ट्रमा सेन्टर, काठमाडौंका निर्देशक सन्तोष पौडेलले सामाजिक सञ्जालमा लेखे, राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना बिरामी अक्सिजनको सहायताले उपचाररत छन् । एम्बुलेन्समार्फत अक्सिजन ओसार्दा पनि बिहान ७ बजेसम्मका लागि मात्र अक्सिजनको व्यवस्था गर्न सकियो । अब तत्काल अक्सिजन व्यवस्था गर्न नसकिए भगवान भरोसामा छौं !

घटना–३ : १३ जेठको मध्यरातिदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा अक्सिजन अभाव भयो । विरामीका आफन्तले भोलिपल्ट विहानसम्म अक्सिजन जोहो गर्न नसक्दा सुत्केरीसहित छ जनाले ज्यान गुमाए ।

०००

कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेका बेला देशभरका अस्पतालमा अक्सिजनको चरम अभाव भयो । कोरोना संक्रमण भएर गम्भीर अवस्थामा अस्पतालमा पुगेका थुप्रै संक्रमितले आईसीयू–भेन्टिलेटर सुविधा त धेरै परको कुरा, अक्सिजन समेत पाएनन् । चिकित्सकहरुका अनुसार त्यसबेला धेरै संक्रमितको मृत्यु हुनुमा हाई–फ्लोमा अक्सिजन दिन नसक्नु मुख्य कारण थियो ।

अक्सिजन अभाव कम गर्न चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दियो भने विदेशमा भएका नेपालीहरुले पनि सिलिन्डर किनेर पठाए । कतिपय देश र अन्तर्राष्ट्रिय संघसंस्थाले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराए । संक्रमण पनि क्रमशः घट्दै गएपछि दोस्रो लहरमा अक्सिजन अभाव टर्‍यो ।

तर अहिले फेरि अस्पतालहरुमा गम्भीर बिरामीहरुको संख्या बढ्न थालेको चिकित्सकहरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अर्को लहर आउन सक्ने सम्भावना आँकलन गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएको बताएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायका अनुसार केन्द्रीय, प्रादेशिक एवं जिल्ला अस्पतालहरुमा पठाइएका अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर लगायतका उपकरण चालु अवस्थामा राख्न भनिएको छ । उनी भन्छन्, ‘उपकरणहरु जडान नभएको भए तत्काल गर्नू भनेका छौं ।’

अस्पतालहरुले पछिल्लो समय गरेको स्तरोन्नतिबारे पनि तथ्यांक संकलन भइरहेको उनले बताए । विशेष गरी अक्सिजनमा अस्पतालहरु स्वयं आत्मनिर्भर हुने गरी अक्सिजन प्लान्ट जडानमा जोड दिइएको उनले बताए ।

‘अक्सिजन प्लान्ट जडान भएका अस्पतालहरुले अबको दिनमा सिलिण्डर बोकेर अक्सिजन भर्न उद्योगमा जान नपर्ने गरी काम अघि बढाएका छौं’ उनले भने, ‘केन्द्रीय, प्रादेशिक एवं जिल्लाका केही अस्पतालमा जडानको काम भइसकेको छ ।’

केन्द्रीय अस्पतालहरुको अवस्था के छ ?

स्वास्थ्य मन्त्रालयले देशभरका ११ वटा अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा सूचीकृत गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, निजामती, नेपाल प्रहरी, परोपकार प्रसुति तथा स्त्रीरोग, धुलिखेल अस्पतालमा अक्सिजन प्लान्ट चालु अवस्थामा छ ।

वीर अस्पतालको पुरानो विल्डिङमा रहेको अक्सिजन प्लान्ट लामो समयदेखि बिग्रिएर थन्किएको थियो, जसलाई कोरोना महामारीका बेला मर्मरसम्भार गरिएको छ । दोस्रो लहर चलिरहेकै बेला लिक्विड र पीएसए अक्सिजन प्लान्ट जडान गरिएको कोभिड फोकल पर्सन डा. अच्युत कार्की बताउँछन् । पीएसए अक्सिजन प्लान्टबाट मात्र दैनिक ३०० सिलिण्डर अक्सिजन भर्न सकिने उनले बताए ।

यो पनि पढ्नुहोस अस्पतालमा बढ्न थाले बिरामी, दोस्रो लहर उत्कर्षकै झल्को

शुक्रराजमा कोरोना महामारी आउनु अगाडि नै लिक्विड अक्सिजन प्लान्ट जडान गरिएको थियो । अहिले दातृ संस्थाबाट प्राप्त भएको पीएसए अक्सिजन प्लान्ट जडानको अन्तिम तयारी चलिरहेको सूचना अधिकारी नवराज गौतमले बताए । दुवै प्लान्ट सञ्चालनमा आए उद्योगबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याउनु पर्ने बाध्यता हट्ने सूचना अधिकारी गौतमले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा चार वटा अक्सिजन प्लान्ट चालु अवस्थामा छन् । अस्पतालका फोकल पर्सन रामबिक्रम अधिकारीका अनुसार कोभिड महामारी आउनुभन्दा अगाडि दुई वटा पीएएस प्लान्ट सञ्चालनमा थिए । कोरोना महामारीमा अक्सिजन अभाव भएपछि लिक्विडसहित दुई वटा प्लान्ट थपिएको छ भने एउटा पीएएस प्लान्ट जडानको तयारी भइरहेको छ ।

नेपाल प्रहरी अस्पतालमा कोभिड–१९ को शोस्रो लहरका क्रममा डुअल अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालका सम्पर्क व्यक्ति डा. सुन्दर हैजुका अनुसार थप एउटा अक्सिजन प्लान्ट जडानको तयारीमा रहेको छ ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा दोस्रो लहरको सुरुआती समयमै अक्सिजन प्लान्ट जडान गरिएको थियो । पहिलो लहरपछि पीएएस प्लान्ट जडान गरिएको अस्पतालका सम्पर्क व्यक्ति डा. प्रविण नेपालले जानकारी दिए ।

निजामती कर्मचारी अस्पतालमा एउटा प्लान्ट सञ्चालनमा छ । यो प्लान्ट कोभिड महामारी अगाडि नै सञ्चालनमा थियो । अहिले अर्को एउटा प्लान्ट जोड्ने तयारी भइरहेको अस्पतालका फोकल पर्सन डा. सुमन मरहठ्ठाले बताए ।

धुलिखेल अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । अस्पतालका सम्पर्क व्यक्ति डा. रमेश मकाजु श्रेष्ठका अनुसार कोभिड महामारी अघि नै अक्सिजन प्लान्ट सञ्चालनमा छन् । महामारीको समयमा अक्सिजन अभाव झेल्नुपरेकाले थप एउटा प्लान्ट जडानको तयारीमा रहेको उनले बताए ।

यस्तै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा पनि एउटा अक्सिजन प्लान्ट चालु अवस्थामा छ । अस्पतालकी निर्देशक डा. संगीता मिश्राका अनुसार यो प्लान्ट पाँच वर्ष अगाडि जडान भएको छ । अक्सिजनको माग बढ्दै गएपछि लिक्विड अक्सिजन प्लान्ट पनि जडानको तयारीमा रहेको उनले जानकारी दिइन् ।

पाटन अस्पताल उद्योगकै भरमा

पाटन, उपत्यकामै कोभिड–१९ संक्रमितको उपचार गर्ने एउटा ठूलो अस्पताल हो । तर अस्पतालमा भएको अक्सिजन प्लान्ट दुई वर्षदेखि बिग्रिएको छ भने संक्रमितको उपचारका लागि उद्योगबाट सिलिण्डरमा भरेर अक्सिजन ल्याउनुपर्छ ।

अस्पतालका कोभिड फोकल पर्सन डा. विमल पाण्डेका अनुसार बिग्रिएको प्लान्ट मर्मत  भइरहेको बताउँछन् । यस्तै दैनिक २६० सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडानको काम छिट्टै सुरु हुने उनले बताए । दुबै प्लान्ट सञ्चालनमा आए अस्पताल अक्सिजनमा आत्मनिर्भर बन्ने उनको दावी छ ।

कोभिड अस्पतालको रुपमा सूचिकृत भक्तपुर अस्पताल र राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रले उद्योगबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याउने गरेका छन् । भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट जडानको प्रक्रिया अगाडि बढेको छ भने तालिम केन्द्रमा अक्सिजन प्लान्ट जडानका लागि कुनै काम अघि नबढेको केन्द्रका सम्पर्क व्यक्ति डा. जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

ठूला अस्पतालहरुमा दुवै थरिका अक्सिजन प्लान्ट जडान गर्नुपर्छ’

डा. सुवास आचार्य

क्रिटिकल केयर विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल

ठूला अस्पतालहरु उद्योगले उत्पादन गरेको अक्सिजनको मात्रै निर्भर रहनु उचित हुँदैन । लिक्विड र पीएसए अक्सिजन प्लान्ट जडान गर्न सकियो भने ठूला अस्पतालहरु अक्सिजनमा आत्मनिर्भर बन्न सक्छन् । उद्योगबाट आपूर्ति हुने सिलिण्डर अक्सिजन र अक्सिजन कन्सन्ट्रेटर पनि भइपरिआउने अवस्थामा प्रयोग गर्न भने सकिन्छ ।

साना अस्पतालहरुमा भने अक्सिजन प्लान्ट जडान गरिरहन आवश्यक हुँदैन । बिरामीको चाप पनि कम हुने भएकाले त्यहाँ खपत नै कम हुन्छ र उद्योगबाट आपूर्ति हुने अक्सिजनले पुग्न सक्छ । विकल्पको रुपमा अक्सिजन कन्सन्ट्रेटर प्रयोग चाहिँ गर्न सकिन्छ ।

यदि प्लान्ट जडान गरिहाल्यौं भने पनि उत्पादित अक्सिजन सधैँभरि प्रयोगमा नआउन सक्छ । जडान भएका प्लान्टलाई चालु अवस्थामा राख्न बढी खर्चिलो हुन्छ । अक्सिजन प्लान्टलाई प्रत्येक वर्ष सर्भिसिङ गरिरहनु पर्नेहुन्छ । दक्ष जनशक्तिको पनि आवश्यकता पर्छ । तसर्थ साना अस्पतालले सिलिण्डरको व्यवस्थापन गर्ने र उद्योगबाट उत्पादन हुने अक्सिजन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

दोस्रो लहरमा पनि अक्सिजन उत्पादनभन्दा वितरण र व्यवस्थापनमा समस्या बढी थियो । वैज्ञानिक ढंगले अक्सिजन वितरण र व्यवस्थापन गर्न नसक्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको थियो । त्यसैले अब पनि उद्योगबाट उत्पादित अक्सिजनको वितरण र व्यवस्थापनलाई वैज्ञानिक बनाउन सक्नुपर्छ ।

ठूला अस्पतालहरुले अक्सिजन प्लान्टको व्यवस्था आफैं गर्ने, लिक्विड प्लान्ट जडान भएका अस्पतालहरुमा सहज रुपमा लिक्विड अक्सिजन आपूर्तिको व्यवस्था मिलाउने र उद्योगबाट उत्पादित अक्सिजनको वितरण र व्यवस्थापनलाई वैज्ञानिक बनाउनु आवश्यक छ ।

के छ प्रदेशका अस्पतालहरुको अवस्था ?

सरकारी अधिकारीहरुले प्रादेशिक एवं जिल्ला अस्पतालहरुमा पनि अक्सिजन प्लान्ट जडान भएको दाबी गरेका छन् । अहिले पनि कतिपय अस्पतालमा अक्सिजन प्लान्ट जडान भएका छैनन् भने कतिपय जडानकै प्रक्रियामा रहेको पाइएको छ ।

प्रदेश–१

प्रदेश १ क पाँच अस्पतालमा अक्सिजन प्लान्ट छन् । प्रदेशका बायोमेडिकल इन्जिनियर कुशल दाहालका अनुसार धनकुटा, मेची, कोशी, भोजपुर अस्पताल र वीपी स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजन प्लान्ट चालु अवस्थामा छन् ।

धनकुटा, मेची र वीपी प्रतिष्ठानमा एक/एक वटा अक्सिजन प्लान्ट कोभिड महामारी अगाडि नै सञ्चालनमा थिए । ‘कोभिडको दोस्रो लहरमा कोशी अस्पतालमा पीएसए र वीपी प्रतिष्ठानमा लिक्विड अक्सिजन प्लान्ट जडान गरिएको छ’ इन्जिनियर दाहालले भने ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंका अनुसार केही अस्पतालमा प्लान्ट जडान प्रक्रिया अन्तिम चरणमा चलिरहेको छ ।

प्रदेश–२

संघीय सरकार मातहतमा रहेको नारायणी अस्पताल, वीरगञ्जमा तीन वटा अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ । दुई वटा पीएएस र एउटा लिक्विड प्लान्ट जडान गरिनेछ । पाइपलाइन जडानको काम पनि भइरहेको अस्पतालले जनाएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा असिक्जन प्लान्ट जडानका लागि टेन्डर भइसकेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा भन्छन्, ‘उपकरण आएर भदौको पहिलो सातासम्म प्लान्ट शुरु हुन्छ ।’ यो प्लान्ट जडान भएपछि प्रतिदिन दुई सय सिलिण्डरसम्म अक्सिजन उपत्पादन हुनेछ ।

यस्तै प्रदेश सरकार मातहतमा रहेका ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट चालु अवस्थामा छन् । प्रादेशिक अस्पताल जनकपुरधाम, सिरहाको लहान तथा सिरहा अस्पताल, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा र रौतहटको गौर अस्पतालमा पीएसए प्लान्ट २०७८ वैशाखयता जडान भएका हुन् ।

कलैया अस्पताल, बारामा पनि अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशका चार वटा अस्पतालमा अक्सिजन प्लान्ट चालु अवस्थामा रहेका अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशका प्रमुख वसन्त अधिकारीका अनुसार मकवानपुरको हेटौंडा अस्पताल, धादिङ जिल्ला अस्पताल, जिल्ला अस्पताल नुवाकोट र सिन्धुली अस्पतालमा अक्सिजन प्लान्ट चालु अवस्था छन् ।

भक्तपुर अस्पताल र दोलखाको चरिकोट अस्पतालले अक्सिजन प्लान्ट जडानको तयारी गरिसकेको छ । काठमाडौंको टोखा, ललितपुरको बज्रवराही, काभ्रेको मेथिनकोट, सिन्धुपाल्चोकको चौतारा, रसुवाको रसुवा अस्पताल, रामेछापको जिल्ला अस्पताल र चितवनको रत्ननगर अस्पतालमा अक्सिजन प्लान्ट जडानका टेण्डर प्रक्रिया सकिएको छ भने छिट्टै जडान हुने उनले बताए ।

गण्डकी प्रदेश

दोस्रो लहरका क्रममा अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने अक्सिजन प्लान्ट जडान भएको छैन । विदेशमा बसेका नेपालीहरुले रकम उठाएर प्लान्ट भने खरिद गरेर पठाएका छन् ।

प्रदेश सरकारले बाग्लुङको धौलागिरि अस्पताललाई हब अस्पतालको रुपमा विकास गरेको छ भने केही जिल्ला अस्पतालमा पनि कोभिडकै समयमा अक्सिजन प्लान्ट जडान गरिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । मनाङमा भने अस्पतालको नयाँ भवन निर्माण भइरहेकाले अक्सिजन प्लान्ट जडान हुन नसकेको शर्माले बताए । ८/९ महिनाभित्रमा अस्पतालको भवन निर्माण भइसक्ने र त्यसपछि अक्सिजन प्लान्ट जडान गरिने उनले बताए ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट छन्, जसमध्ये एक कोभिडको दोस्रो लहरका क्रमा जडान गरिएको हो ।

बाँकेको भेरी अस्पतालमा लिक्विड प्लान्ट जडान गरिएको छ । दोस्रो लहर उत्कर्षमा पुग्दा जडान गरिएको र त्यही अक्सिजनबाट बिरामीको उपचार गराउँदै आएको अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पतालमा दोस्रो लहरका क्रममा एउटा पीएएस अक्सिजन जडान गरिएको छ । लिक्विड अक्सिजन प्लान्ट जडानका सबै प्रक्रिया सकिएको र छिट्टै सञ्चालनमा आउने प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुसालले बताए ।

बर्दिया र कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भइरहेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए । रुपन्देहीको भीम अस्पतालमा खरिद सम्झौता भएको छ भने रुकुम पूर्व, रोल्पा, पाल्पा लगायतका जिल्ला अस्पतालमा थोरै क्षमताको अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रिया चलिरहेको । नवलपरासी (पश्चिम), अर्घाखाँची, गुल्मी, प्युठान र रोल्पामा पनि पीएसए अक्सिजन प्लान्ट जडान गर्ने बताइएको छ ।

कर्णाली प्रदेश

कर्णालीमा प्रादेशिक र जिल्ला अस्पताल गरी ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट चालु अवस्थामा छन् । समाजिक विकास मन्त्रालय, स्वाथ्य महाशाखा प्रमुख बृषबहादुर शाहीका अनुसार कर्णाली प्रादेशिक अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान र हुम्ला अस्पतालमा कोभिड संक्रमण अगाडि नै अक्सिजन प्लान्ट सञ्चालनमा थिए । तर कालिकोट अस्पताल, मुगु अस्पताल र रुकुमको चौजाहरी अस्पतालमा भने कोभिडको समयमा अक्सिजन प्लान्ट जडान भएका हुन् ।

डोल्पा, दैलेख र सल्यान असपतालमा प्लान्ट जडानका लागि प्रक्रिया अगाडि बढेको शाहीले बताए ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका चार वटा अस्पतालमा पीएसए अक्सिजन प्लान्ट चालु अवस्थामा छन् ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा कोभिड अघिदेखि नै अक्सिजन प्लान्ट चालुमा अवस्था थियो । तर बझाङ अस्पतालमा भने अक्सिजन प्लान्ट कोभिडको समयमा स्थापना गरिएको हो ।

कार्कीका अनुसार सेती प्रादेशिक अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट थप्ने तयारी भइरहेको छ । सेती र महाकाली अस्पतालमा चालु अवस्थामा रहेको पीएसए प्लान्टको स्तरोन्नतिको काम पनि सुरु हुने कार्कीले बताए । जिल्ला अस्पतालहरुमा प्लान्ट जडानका लागि खरिद प्रक्रिया शुरु  भइसकेको उनले बताएका छन् ।

‘महामारीसँग जुध्न सक्ने गरी अस्पतालहरु तयार हुँदैछन्’

डा. मदन उपाध्याय

लामो समयदेखि कोरोना संक्रमण घट्न सकेको छैन । पछिल्लो केही दिनमा त बढेको देखियो । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही भइरहने हो भने संक्रमण अझ उकालो नचढ्ला भन्न सकिँदैन । अघिल्लो वर्षको अनुभवले पनि त्यही देखाउँछ । यही अवस्थामा तेस्रो लहर आइहाल्यो भने त्यसको सामना कसरी गर्ने भन्ने पूर्वतयारी गुर्नपर्छ ।

दोस्रो लहरमा विशेषतः अस्पतालहरुमा आईसीयू एवं भेन्टिलेटर शय्याको अभाव सिर्जना भयो । आईसीयू र भेन्टिलेटर बेड पाए पनि अक्सिजनको अभाव हुन पुग्यो । यसलाई मध्यनजर राखेर देशभरका ठूला अस्पतालहरुमा आईसीयू तथा भेन्टिलेटरसहितका बेडहरु थप गरिएको छ । अस्पतालहरुलाई बाइप्याप एवं सिप्याप मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायतका उपकरणहरु पनि उपलब्ध गराएका छौं ।

दातृनिकाय एवं मित्रराष्ट्रहरुले अति आवश्यकीय स्वास्थ्य उपकरणहरु उपलब्ध गराएका छन् । सरकारले पनि आवश्यकता हेरेर स्वास्थ्य उपकरणहरु खरिद गरेको छ । त्यसलाई देशभरका सानादेखि ठूला अस्पतालसम्म पठाएका छौं । संघ एवं प्रदेश सरकारमार्फत अस्पतालहरुमा अक्सिजन प्लान्ट जडानका लागि अनुदान पनि उपलब्ध गराएका छौं ।

अहिले यो शून्य समय हो । यही बेला पूर्वतयारी ग¥यौं भने अब आउने समस्यासँग सजिलैसँग जुध्न सकिन्छ । त्यसैले अक्सिजन प्लान्ट, भेन्टिलेटर लगायतका उपकरणहरु जडान भए कि भएन ? आवश्यक जनशक्ति परिचालन भए कि भएनन् भन्ने सोधीखोजी भइरहेको छ । केन्द्रीय अस्पतालहरु एवं जनशक्ति भएका अस्पतालहरुमा अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका उपकरणहरु जडान भएर सञ्चालनमा छ भन्ने जानकारी हामीले पाएका छौं ।

पछिल्लो अनुभवले अस्पतालहरुमा चार थरिकै अक्सिजनको उपयोग गर्नुपर्ने हुँदारहेछ । नेपालमा मात्रै होइन, बाह्य मुलुकको अनुभवले पनि त्यही भन्छ । लिक्विड ट्यांक, पीएसओ अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर र उद्योगबाट भरिने सिलिण्डरमार्फत अक्सिजन प्रायेग गर्न सकियो भने जस्तोसुकै अवस्थामा पनि अक्सिजन अभाव टार्न सकिन्छ । विशेषतः लिक्विड र पीएसए प्लान्टको प्रयोग अत्यन्तै प्रभावकारी हुँदोरहेछ । ठूला अस्पतालहरु, जहाँ आईसीयू एवं भेन्टिलेटर बेड बढी छन् । त्यहाँ बिरामीको चाप पनि बढी हुन्छ, । यस्ता अस्पतालहरुमा चारै थरिबाट अक्सिजन प्रयोग गर्नु उचित हुन्छ ।

देशभर लगभग १९÷२० वटा ठूला अस्पतालहरु छन्, जहाँ दुवै थरिका अक्सिजन प्लान्ट जडान गर्नुपर्ने आवश्यकता हामीले देखेका छौं । तसर्थ झण्डै आधा दर्जन ठूला अस्पतालहरुमा दुवै थरिका प्लान्ट जडान भएर चालु अवस्थामा छन् । केहीमा जडानको प्रक्रिया अघि बढेको छ ।

प्रादेशिक अस्पतालहरुमा पीएसए अक्सिजन प्लान्ट जडान भइसकेका छन् । बिरामीको चाप हुने अधिकांश जिल्ला अस्पतालमा पनि पीएस अक्सिजन प्लान्ट जडान भएका छन् भने कतिपय स्थानमा जडानको क्रममा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment